– प्रदीप रोदन

१,
फूलहरू झारेको जिम्मा कसले लिन्छ?
अन्धकार पारेको जिम्मा कसले लिन्छ।

बनाएको जस लिन तँछाडमछाड गर्छौ,
बाँकी बिगारेको जिम्मा कसले लिन्छ।

हजुरले जितेको लाभ त लिनु भयो नि,
जनताले हारेको जिम्मा कसले लिन्छ।

सुनाउँछौ आफू कसरी बचेँ भन्ने कहानी,
अनि मान्छे मारेको जिम्मा कसले लिन्छ।

२,
म जान्दिन के सम्झिएर जिन्दावाद भन्नुहुन्छ।
कसैले दिने सराब पिएर जिन्दावाद भन्नुहुन्छ।

आँखा खोल्दा देश रित्तिसकेको हुनेछ भोलि,
अझै आँखा चिम्लिएर जिन्दावाद भन्नुहुन्छ।

आफ्नाहरू भेटिए के भन्नुहुन्छ होला तपाईं?
दुश्मनहरुसँग मिसिएर जिन्दावाद भन्नुहुन्छ।

ज-जसले काँडा राख्दैछ हजुरको पैतलामा,
उसैलाई फूलमाला दिएर जिन्दावाद भन्नुहुन्छ।

के रिसाउनु र हजुरसँग आज मुर्दावाद भन्दा,
भोलि सबैकुरा बिर्सिएर जिन्दावाद भन्नुहुन्छ।

****

प्रतिक्रिया

सम्बन्धित खवर