– केशवराज अर्याल
नेपालमा चुनाव भनेको मौसमजस्तै हो—आउँछ, गड्याङ्ग गुडुङ्ग हुन्छ, पोस्टर उडाउँछ, भाषण बर्सिन्छ, अन्तिममा सपनाहरू बाढीले बगाएर लैजान्छ । फेरि शान्त हुन्छ। तर, यो शान्ति पनि धेरै टिक्दैन असारको घामपानीजस्तै—छिनमै घाम फेरि छिनमै बादल, परिवर्तन निरन्तर ।
चुनाव घोषणा हुनासाथ गाउँदेखि सहरसम्म नेता–कार्यकर्ता अचानक सक्रिय हुन्छन्। हिजोसम्म “जनता कहाँ छ?” भनेर गुगल म्याप खोज्नेहरू आज “जनताकै बीचमा छु” भनेर फेसबुक लाइभमा देखिन्छन्। अनि जितेपछी फेरि नेतालाई पो गूगल सर्च गर्नुपर्छ कता छन् भनेर । पाँच वर्षसम्म मुख नदेखाउने नेताहरु पनि ‘हजुर त आफ्नै मान्छे पो हुनुहुदोरहेछ’ भन्दै गफ जित्न तम्सिहाल्छन । चिया पसलमा पहिले जसलाई उधारो पनि नदिने, त्यही नेताजी आज त्यही पसलेलाई “दाइ, तपाईँकै आशिर्वादले देश बनाउँछु” भनेर मुस्कुराइरहेका हुन्छन् । चुनाव आउँदा घोषणापत्र यस्तो हुन्छ कि पढ्दा लाग्छ—अब नेपाल सिंगापुरभन्दा अगाडि र अमेरिकाभन्दा अलिकति मात्रै पछाडि छ । दिन अमेरिकालाई पनि उछिन्न बेर छैन ।
चुनाव जितेको पाँच वर्षपछि हाम्रै करले किनेको गाडी सडकको खाल्डोमा धस्दै र धुलो उडाउदै आएका नेता बेफ्वाकको भाषण छाँट्न थाल्छ, – अब हामी सुरु गर्छौं “हरेक युवालाई रोजगारी”, “हरेक घरमा निःशुल्क वाइफाइ”, “सडक यस्तो कि खाल्डाखुल्डी आफैं भाग्छ।” कति बेला मासु र भात पाक्छ भन्दै घरी भान्सामा घरी भाषणमा पुग्ने हामीले पनि मनमनै सोच्छौँ—“उहिलेको भन्दा राम्रो भाषण गर्यो, यसपटक त काम गर्छ जस्तो छ । तर अघिल्लो चुनावमा पनि त्यही भनिएको थियो। घोषणापत्र भनेको कविता जस्तै हुन्छ—सुन्न मिठो, पढ्न रमाइलो, तर कार्यान्वयनमा भने आकाशको फलजस्तै । चुनावको बेला नेताहरूको माया देख्दा लाग्छ—हामी त उनीहरूको नातेदार रहेछौँ। पाँच वर्षसम्म नदेखिएका नेताजी अचानक ढोकामा आइपुग्छन् । कोही, उखु बोक्ने, कोही बन्दै गरेको घरमा इटा थपिदिने, कोही मकै भुट्ने । तर, विचरा जनताहरुलाई के थाहा ? जितेपछि उनीहरुको एउटै उद्देश्य हो देश लुट्ने ।
पहिले चुनाव भनेको गाउँको चौतारो र मञ्चमा सीमित हुन्थ्यो। अहिले त चुनाव फेसबुक कमेन्ट सेक्सनमा जितिन्छ। कसैले केही लेख्यो भने तल ५०० कमेन्ट—“देश बचाउने यही पार्टी!” सत्य कुरा के हो भने, कमेन्ट लेख्नेहरू मध्ये आधाले त मतदान केन्द्र पनि भेट्दैनन् ।
युवा भन्छन्—“देश बदल्नुपर्छ।” तर मतदानको दिन आएपछी भने कोही घुम्न जान्छन् , कोही सुत्छन् , कोही भन्छ—“मेरो एक भोटले के हुन्छ?”
त्यसपछि परिणाम आयो भने—“देश किन यस्तो?”
देशले पनि भन्छ होला—“तिमीले मतदान नगरेपछि म कस्तो हुन्छ ?
मतदानको दिन मतदान केन्द्रमा लाइन लाग्छ। केही त फोटो खिच्नमै व्यस्त—इंक लागेको औँला फेसबुकमा राख्न। क्याप्सन—“आज मैले देश बनाउने काम गरेँ।”देशले मनमनै सोच्छ—“ठिक छ, अब पाँच वर्ष म पनि तिमीहरूलाई हेर्छु।” परिणामपछि जसले जित्छ, ऊ भन्छ—“यो जनताको विजय हो।”
जसले हार्छ, ऊ भन्छ—“यो जनताको गल्ती हो।”
जनता भने चिया पसलमा बस्छन् र विश्लेषण गर्छन्—“हामीले त सोचेरै भोट दिएका थियौँ।” अनि भोलिपल्ट औंलाको मसी नसुक्दै छोराछोरीको पासपोर्ट बनाएर उनीहरुलाई त्रिभुवन विमानस्थल कटाइन्छ । रोएको नाटक गर्दै एउटा सेल्फी खिच्छन, फेसबुकमा हाल्छन् । अनि हिजो भोट दिएको नेतालाई गाली गर्न थाल्छन् ।
चुनाव त फेरि आउँछ, पोस्टर फेरि टाँसिन्छ, भाषण फेरि गुञ्जिन्छ। अन्तिममा चुनावी बाढीले लाखौं युवाहरुको सपनाहरू बगाइदिन्छ । तर, यदि जनताले पनि आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिए भने—साँचो परिवर्तन सम्भव छ।
***
प्रतिक्रिया
-
४
