– मौनव्रत
तिम्रो यौटा एउटा बानी थियो-
हरेक दिन भान्सा र जुठेल्नो सफा गरेर मात्र सुत्न जाने
तिम्रो अनुपस्थितिमा, त्यो एउटा राम्रो बानीको म स्वामित्व लिन सक्छु
तिम्रो यौटा ‘खराब’ बानी थियो- बोलेकोबोल्यै गर्ने
तिमी नभएको बेला, म आफैसँग बोलेकोबोल्यै गर्न सक्छु
तिम्रो यौटा ‘नराम्रो’ बानी थियो- दराज खुल्ला छाडेकोमा झर्किने
तिमी नभएको बेला, तिमीलाई सम्झिएर, म दराजलाई खुल्ला नछाड्न सक्छु
तिम्रो यौटा बानी थियो जसको म विरोध गर्थें- पर्दा खोलेर बस्ने
तिमी नभएको बेला, तिम्रो स्मृतिमा, म दिनरात पर्दा खोलेरै बस्न सक्छु
फोटो खिच्दा, पुट्ट निस्केको मेरो भुँडी लुकाउन भन्थ्यौ
तिमी नभएको बेला, तिमीलाई सम्झिदै, म सबेरै बाटो-बाटो दगुरिरहेको हुनसक्छु
जसो गर, जति प्रयास गर
हृदयभरि म छु भने
जाने तिम्रो शरीर मात्र हो
हृदयभरि तिमी छौ भने
जाने तिम्रो शरीर मात्र हो
परन्तु त्यो शरीर पनि मेरो स्मृतिमा छ
बच्चा निकालेर सिलाईएको लामो दाग, त्यो तिम्रो मात्र होइन
कदाचित बिर्सिहाल्यौ भने पनि
त्यो दागमा तिमीले मलाई छुन्छौ होला
तिमी गईहाल्यौ भने पनि
मेरो सिरानीछेउ झल्कोको यौटा कालो नदी बगिरहनेछ
जम्मै त कुनै पनि प्रेमीले आफ्नो प्रेमलाई जान दिदैनन्
जम्मै तिमी मबाट जान सक्दिनौ ।
***
प्रतिक्रिया
-
४
