✍️ पुष्प अधिकारी अञ्जलि
गजल – १
कसरी हेर्लान् बुद्धका आँखा, लाश हिडेको सहरमा
खै किन देख्दै देख्दैनन् नेता, लाश हिँडेको सहरमा ।
खाडीमा पुगेर अचेल यस्तै यस्तै सोचिरहेको छु म
बस्नु भएको होला बाआमा, लाश हिँडेको सहरमा ।
चोकमा उभिएको सालिकले पनि सोचिरहेको होला
सम्मान गर्नै जान्दैन झण्डा, लाश हिँडेको शहरमा ।
जबदेखि निषेध गरियो यहाँ अप्सराहरूलाई पो हेर्न
केले मन बुझाउँदो हो ऐना, लाश हिडेको शहरमा ।
जब लाशहरू जलाइन्छन् र फर्किन्छन् मलामीहरू
केवल धुवाँ फिंजाउँछ हावा, लास हिँडेको शहरमा ।
गजल – २
पवित्र त्यो मनले पूजा गर धाम तिमी मै छ
खोज्नु पर्दैन देवता कहीँ राम तिमी मै छ
भौंतारिहिँड्नु पर्दैन अर्थ खोज्दै जिन्दगीको
साधना गर हरदिन उज्यालो घाम तिमी मै छ
केही पाइन्न ईर्ष्याले केवल आफ्नै पतन मात्रै
सिर्जना रोप कृति फैलाउ नाम तिमी मै छ
केही गर देशका लागि उत्साहको पाइला चाल
स्वाभिमानी भै बाँच्न सक्ने काम तिमी मै छ
श्रम सीप र जाँगर यही माटोमा सिंचित गर
थाप्नु पर्दैन हात कसैसँग दाम तिमी मै छ
प्रतिक्रिया
-
४