– डिएनके कुवँर
गजल १,
शाखा अधिकृत नासु खरिदार के पढ्नुहुन्छ ?
बिज्ञापन खुलेको छ शहर बजार के पढ्नुहुन्छ ?
योग्यता अनुसारको रोजगार छैन हाम्रो देशमा
जानु नै छ आखिर दुबई कतार के पढ्नुहुन्छ ?!
अस्पताल पुग्न नसकेर भाउजुको ज्यानगयो
ए साँईलादाई रेल आउने समाचार के पढ्नुहुन्छ ?
कर्म गर सफल हुन्छस भन्नुहुन्छ हजुर-आमा
कम्मर कँस्छु सफल हुन्छु निधार के पढ्नुहुन्छ ?
के-को तयारी छ ? कोठाबाट बाहिर निस्कनुहुन्न
एकदिन त आराम गर्नुस् शनिबार के पढ्नुहुन्छ ?
गजल २,
अब के के कुरा हुन्छ भनिदिनुहोला
मेरा दुई कानले सुन्छ भनिदिनुहोला
उ त पागल छ यार भट्टिमा जान्छ
गिलास ठोक्छ रुन्छ भनिदिनुहोला
घर छोडेर डेरा बस्न शहर गएपछि
माकुरोले जालो बुन्छ भनिदिनुहोला
विद्या र धनलाई एकठाउँमा राख्दा
कस्ले कस्लाई चुन्छ भनिदिनुहोला
कसैप्रति दिल गएको छ मेरोपनि
आज धर्तीमा जुन्छ भनिदिनुहोला
***
प्रतिक्रिया
-
४