काठमाडौँ – नेपाली साहित्य लेखनमा क्रियाशील ३० को दशकका कविहरू आज गोकर्णेश्वर नगरपालिका, उत्तरगयास्थित हिमाली घरमा भेला भई नेपाली कवितामा ३० को दशकको योगदानबारे विचार–विमर्श गर्दै सो समय कोशेढुंगा रहेको बताएका छन् ।
एपेक नेपाल नामक व्यावसायिक गृहको आतिथ्यमा भएको उक्त भेलामा सहभागी करिब २० कविले पञ्चायतकालको चरम नियन्त्रितावस्थामा कवि–लेखकले भोग्नुपरेका समस्या र अहिलेको संघीय लोकतान्त्रिक नेपालमा नेपाली कवितामा देखिएका विभिन्न प्रवृत्तिबारे अनुभव आदानप्रदान गरेका थिए ।
सो अवसरमा ६० वर्षको उमेर नाघेका र धेरैपछि यसरी पुनर्मिलन भएका उनीहरूको निजी, पारिवारिक र आजीविकाको अवस्थाबारे पनि अवगत गराइएको थियो । समग्र नेपाली समाज र लोकतान्त्रिक संस्थाहरू अझै पनि राजनीतिक हिंसाको चक्रबाट मुक्त हुन नसकेका सन्दर्भमा भेलामा उपस्थित कविहरूले चिन्ता र चासो व्यक्त गरे ।
कविता संख्यात्मक वृद्धिका लागि गरिने हतारको कर्म नभएकाले उच्च गुणस्तर र शैलीगत विविधतामा ध्यान दिन उनीहरूले नयाँ पुस्ताका कविलाई सल्लाह दिए ।
कतिपय प्रारम्भिक अभ्यासकर्तामा अध्ययन र साधनाविनै तत्काल पुस्तक निकाल्नुपर्ने, ख्याति आर्जन गरिहाल्नुपर्ने, पुरस्कार पाइहाल्नुपर्ने र विश्वविद्यालयका पाठ्यक्रममा समावेश भइहाल्नुपर्ने खालका महत्त्वाकांक्षा रहने गरेको अनुभव सुनाउँदै उनीहरूले यसरी हतारिनु आवश्यक नभएको बताए ।
विक्रमको ३० को दशकका सुस्थापित कविमध्ये अविनाश श्रेष्ठ, विष्णुविभु घिमिरे, श्यामल, दिनेश अधिकारी, महेश प्रसाईं, ज्ञानुवाकर पौडेल, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, स्नेह सायमी, विधान आचार्य, कृष्ण प्रधानलगायत उपस्थित थिए । संयोगले २० वर्षदेखि क्यानडामा रहेका साहित्यकार गोविन्दसिंह रावत पनि भेलामा जोडिएका थिए ।
अन्तरक्रियामा ४० र ५० को दशकमा नेपाली कवितामा देखापरेका राजकुमार बानियाँ, मणि लोहनी, मनोज आदित्य, राजेश खनाललगायत युवा पुस्ताका कविले ३० को दशकका महत्त्वपूर्ण कविका कविताका जगमा आफूहरूले कविता लेखिरहेको बताए ।
उनीहरूका अनुसार ३० को दशकका कविहरूले कवितालाई आन्दोलनका रूपमा विकास गरी व्यापक मात्रामा लोकप्रिय बनाएका थिए र नेपाली साहित्यको कविता विधामा नयाँ मोड ल्याएका थिए ।
नेपाली कविता यसै बेला दुरुहताबाट सरलतातर्फ, व्यष्टिबाट समष्टितर्फ र यथास्थितिबाट क्रान्तिकारी परिवर्तनतर्फ उन्मुख भएको विचार उनीहरूले व्यक्त गरेका थिए ।
सो अवसरमा गीतकार युवराज अधिकारी पनि उपस्थित भई आफ्नो रचनाकर्म र प्रेरणाबारे बताएका थिए । अधिकारी हाल नेपाल वायुसेवाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
आयोजक संस्थाले राजेन्द्र शलभका निर्देशनमा प्रत्येक कविलाई मन परेको आफ्नै एक कविता र आफूलाई मन परेको अर्को कविको एक कविता वाचन गराई छायांकनसमेत गरेको थियो । रासस
प्रतिक्रिया
-
४
