पोखरा – कवि एबम् लेखक अजित उत्सवको कविता सङ्ग्रह “आकाशगङ्गाको किनार” को शनिबार पोखरामा बिमोचन भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रहको बिमोचन गरेका हुन् ।

बिमोचनपछि बोल्दै पूर्व कुलपति श्रेष्ठले कविता लेखनमा युवाहरू जुर्मुराएको देखेर आफूलाई खुसी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने बिश्वास व्यक्त गरे । अर्का कवि एवम् प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणिय कृतिको लागि बधाई दिँदै सङ्ग्रह भित्रका कविताले आफू प्रभाबित भएको बताए ।

बिमोचित पुस्तकको समीक्षा युवा कवि एकम् समालोचक सञ्जीव पौडेलले गरे । उपप्राध्यापक पर्शुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारे । कार्यक्रममा लघुकथा समाज प्रदेश नंबर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दिपक समीप, गजलकार आवाज शर्मा, कवि शिव त्रिपाठी, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुञ्जकी अध्यक्ष मनु शर्मालगायत चार दर्जन बढी साहित्यकारको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी शाखा सचिव कवि लिली अधिकारीले गरेकी हुन् । कार्यक्रममा उपस्थित सबै दर्शकलाईनै सभापति बनाईएको थियो र समापन पनि सबै दर्शकले ताली बजाएर गरिएको थियो ।

बिमोचन कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले गरिन् ।

बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि उत्सवको यस कविता संग्रहमा ५६ वटा कविता सङ्ग्रहित छन् । कृतिको बिक्रि मूल्य २ सय पचास रहेको छ । बिमोचनसँगै पुस्तक देशभरिबाट बितरण सुरु भएको कवि अजित उत्सवले सेतोमाटोलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर