काठमाण्डौ – खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानद्वारा हरेक बर्ष प्रदान गरिने पद्मश्री साधना सम्मान भजन शिरोमणी भक्तराज आचार्यलाई प्रदान गरिएको छ । चितवनमा आज आयोजित एक समारोहबीच भजन शिरोमणि श्री भक्तराज आचार्यलाई उक्त सम्मान अर्पण गरिएको हो।

त्यस्तै, प्रतिष्ठानद्वारा यस बर्षको पद्मश्री पुरस्कार मोक्षमूमि उपन्यासका लागि केशव दाहाललाई अर्पण गरेको छ।

‘मोक्षभूमि’ उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन, जहाँ युद्ध र अपराध, पाप र प्रायश्चितदेखि प्रेम र यौनसम्मका उपकथा छन् । सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथाले मोक्षभूमि उपन्यास ओजिलो बनेको छ।

सम्मान कार्यक्रम समारोह पश्चात प्रतिष्ठानले आज एक बिज्ञप्ती जारी गर्दै उक्त साधना सम्मान उहाँलाई अर्पण गरेको जानकारी गराएको छ। प्रतिष्ठानका संस्थापक एवं संरक्षक जीवा लामिछानेले पद्मश्री साधना सम्मान प्रदान गरेपछि सामाजिक सञ्जालमा भजनशिरोमणिका बारेमा भने,

“भजन शिरोमणि भक्तराज आचार्य गायक, सङ्गीतकार तथा गीतकार समेत हुनुहुन्छ । बाल्यकालदेखि नै उहाँको गीत रेडियोमा सुनेर म हुर्केको हुँ । आफ्नो किशोरावस्था र युवावस्था सम्झन्छु, रेडियो नेपालको धार्मिक कार्यक्रममा बज्ने ‘तन मन वचनले प्रभु नाम गाऊँ… ’ ‘एक दिन मैले प्रभुसँग सोधें… ’ जस्ता भजनसँगै मेरो बिहानी सुरू हुन्थ्यो । हजार सपनाहरुको माया लागेर आउँछ…… जस्ता काव्यात्मक गीतसँगै दिन सुरू हुन्थ्यो । जहाँ छन् बुद्धका आँखा… जस्ता शान्तिवादी गीतसँगै साँझ सुरू हुन्थ्यो । र मुटु जलिरहेछ, यो मन गलिरहेछ… जस्ता दर्द भरिएका गीतसँगै रात सुरू हुन्थ्यो । यस्ता महान् गायक तथा सङ्गीतकारलाई सम्मान गर्न पाउँदा प्रतिष्ठान स्वयम् सम्मानित भएको छ । शब्दलाई तौलीतौली, ह्रस्वदीर्घको समेत असाध्यै ख्याल गरेर गाउने सुगम सङ्गीतका एक नायक, जो २०४६ सालमा दुर्घटनामा पर्नुभयो र जिब्रो गुमाउनुपर्यो । एउटा गायकलाई यो जस्तो पीडा के होला !

आदरणीय श्री भक्तराज आचार्यलाई हार्दिक बधाई, शुभकामना तथा म उहाँको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दछु।”

त्यसैगरि पद्मश्री पुरस्कार अर्पण गर्दै लामिछानेले स्रष्टा दाहालको प्रशंसा गर्दै भनेका छन –

“ओजिलो उपन्यास नेपाली साहित्यलाई दिनुभयो र प्रतिष्ठानले पुरस्कृत गर्ने अवसर पायो। केशवजी, यहाँलाई धेरैधेरै बधाई तथा शुभकामना। आगामी दिनमा अझ ओजिला पुस्तकहरु यहाँको कलमबाट लेखिऊन्।”

नेपाली भाषा साहित्यमा वर्षभरि प्रकाशित पुस्तक र स्रष्टामध्ये उत्कृष्ट ठहरिएका पुस्तक तथा स्रष्टालाई खेमलाल-हरिकला पद्मश्री साहित्य सम्मानले सम्मानित दिइने गरिन्छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यो पुरस्कार प्रदान गर्दै आईरहेको छ।

प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएकोमा वि. सं. २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिलाई यो पुरस्कार प्रदान गर्दै आएको हो। पद्मश्री पुरस्कार पहिलोपटक पाउने स्रष्टा गणेश रसिक हुन्। उनलाई वि.सं. २०६३ मा ‘दसगजामा उभिएर’ भन्ने कृतिका लागि प्रदान गरिएको थियो भने वि. सं. २०७६ सालको पद्मश्री पुरस्कार भने साहित्यकार सञ्जिव उप्रेतीलाई उनको कृति हंसको लागि प्रदान गरिएको थियो भने पद्यश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई दिइने घोषणा भएको थियो ।

प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले आफ्ना मातापिताको सम्मानमा यो पुरस्कार स्थापना गरेका हुन्। पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर