‘आमा बुहारी’ क्याम्पसका रूपमा पहिचान बनाएको पूर्वी पाल्पाको पहिलो शहीद बहुमुखी क्याम्पसमा अब एमबिएस तहमा पढाइ हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को गत असार २८ को बैठकले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनका लागि स्वीकृति प्रदान गरेपछि यहाँ कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त देशैभरका २३ वटा सामुदायिक क्याम्पसलाई शैक्षिक वर्ष २०७८÷०७९ देखि व्यवस्थापन सङ्कायमा एमबिएस सञ्चालन अनुमति दिने क्रममा रामपुरको शहीद बहुमुखी क्याम्पसले पनि स्वीकृति पाएको क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले जानकारी दिए ।
“एमबिएस तहको अनुमति पाएसँगै यसैवर्षदेखि कक्षा सञ्चालन गर्ने तयारीमा छौँ, भौतिक व्यवस्थापन सबै बन्दोबस्त गरेका छौँ, अब केही दिनमै विद्यार्थी भर्नाको विज्ञापन आह्वान गरेर कक्षा चलाउने कार्यमा क्याम्पस प्रशासन लागेको छ”, क्याम्पस प्रमुख काफ्लेले भने ।
व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको कक्षा सञ्चालन हुने भएपछि पाल्पाको पूर्वी भेगसहित स्याङ्जा, तनहुँ, नवलपुरलगायतका जिल्लाका विद्यार्थीलाई सजिलो हुने भएको छ ।
स्नातक तहसम्म व्यवस्थापन सङ्कायमा अध्ययन पूरा गरेका विद्यार्थीलाई एमबिएस तहको शिक्षा आर्जन गर्न बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने अवस्था थियो । कतिपयले परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण गाउँमा पढाइ नभएपछि बीचमै पढाइ छाड्नुपर्ने समस्या पनि थियो ।
विशेषगरी जागिरमा आबद्ध, घरायसी कामले बाहिर जान नपाउने तथा बाहिर बजारमा गएर पढ्नसक्ने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गाउँमै एमबिएस तहको शिक्षा आर्जन हुने भएपछि ठूलो राहत मिल्ने रामपुरका दीपेन्द्र भट्टराई बताउछन् ।
विसं २०४६ को जनआन्दोलन पश्चात् गण्डकबेँशीका नागरिकलाई शिक्षाको अवसर प्रदान गर्न यहाँका स्थानीयवासीको जोडबलमा चन्दा उठाएर क्याम्पस सञ्चालन गरिएको थियो । साविक रामपुर गाउँ विकास समितिको मातहतमा रहेको ५० रोपनी सार्वजनिक जग्गामा क्याम्पस सञ्चालन गरिएको हो ।
मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको मात्र पठनपाठनबाट शुरु भएको यस क्याम्पसमा हाल स्नातकोत्तर तहसम्म पठनपाठन भइरहेको छ । एमएड तहमा नेपाली र शिक्षा योजना तथा व्यवस्थापन (एपिएम) विषय सञ्चालन भइरहेकामा अबदेखि एमबिएस तहसम्मको पठनपाठन हुनु गण्डकीबेँशीको शैक्षिक विकासमा ठूलो योगदान भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा संस्थापक देवराज ढकाल बताउछन् ।
विसं २०४८ मा स्थापना भई त्रिविबाट सम्बन्धन प्राप्त गरी मानविकी सङ्कायको प्रवीणता प्रमाणपत्र तहको मात्र पठनपाठन भएको यस क्याम्पसमा कक्षा ११÷१२ देखि स्नातकसम्म शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा पठनपाठन हुँदै आएको छ भने शिक्षा सङ्कायमा २०६७ देखि स्नातकोत्तरसम्मको पढाइ हुँदै आएको छ ।
विसं २०५४ मा स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, नेपाली विषयका कक्षा शुरु गरियो भने २०५५ सालमा तत्कालीन उच्च माध्यमिक तहको पठनपाठन शुरु गरियो । विसं २०६० मा स्नातक तहमा शिक्षा सङ्काय विषय, २०६६ मा व्यवस्थापन र २०६७ मा स्नातकोत्तर तह शुरु गरियो ।
हाल राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी, शिक्षा विषय समूह, त्रिभुवन विश्वविद्यालयतर्फ स्नातक तहमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्काय, स्नातकोत्तर तहमा शिक्षाशास्त्र सङ्कायतर्फको नेपाली शिक्षा र शिक्षा योजना तथा व्यवस्थापन विषय सञ्चालन भइरहेको छ ।
विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत रु ६० लाख बजेट सहयोगमा चारकोठे भवन र सामाजिक विकास मन्त्रालय लुम्बिनी सरकारबाट प्राप्त रु ४० लाख सहयोगमा दुईतले चारकोठे भवन निर्माण गरिएको छ । यस भवनको करिब १०० मानिस अट्ने क्षमता छ ।
पूर्वी पाल्पामा क्याम्पस नहुँदा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि गण्डकीबेँशीका नागरिकलाई पाल्पा सदरमुकाम तानसेन, बुटवल, पोखरा, नारायणगढ, काठमाडौँसम्म जानुपर्ने बाध्यता थियो । आर्थिक अवस्था राम्रो भएका परिवारले मात्रै अन्यत्र गएर पढ्ने गरे पनि धेरैजसोले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता थियो । त्यसैले पनि रामपुरमा क्याम्पस सञ्चालनका लागि त्यतिबेला समुदाय नै लागि परेको थियो ।
विसं २०४६ को जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका रामपुरका शहीद सूर्यप्रसाद घिमिरेको नामबाट क्याम्पस सञ्चालन गरिएको हो । यस क्याम्पसमा हाल कक्षा ११ देखि स्नातकोत्तर तहसम्म करिब ९०० विद्यार्थी अध्ययनरत छन् ।
शहीद बहुमुखी क्याम्पसलाई स्कुलको पढाइ सकेका अधिकांश छोरी बुहारी तथा आमा यसै क्याम्पसमा अध्ययन गर्ने भएका कारण ʿबुहारी–आमाʾ क्याम्पसका रूपमा पनि यसलाई चिन्ने गरिएको छ । यहाँ भर्ना भएका कुल विद्यार्थी सङ्ख्यामध्ये ८१ प्रतिशत छात्रा छन् ।
विशेषतः गाउँघरको पुरानो सोचाइ र संस्कारले गर्दा माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि तत्कालीन समयमा छोरी तथा बुहारीलाई उच्च शिक्षाका लागि अन्यत्र नपठाउने चलन थियो । कमैले मात्र छोरी बुहारीलाई बाहिरै पठाएर भए पनि शिक्षा दिनुपर्छ भन्ने सोचाइ राख्थे । आर्थिक समस्याका कारण पनि बाहिर बसेर पढ्न सबैले सक्दैनथे ।
यही कारण पनि क्पाम्पस सञ्चालनका साथै स्नातक र स्नातकोत्तरसम्मको पठनपाठनका लागि यहाँको समुदाय नै लागिपरेको हो ।
गुणस्तरीय शिक्षा, धेरै विषयको पठनपाठन हुनु, राम्रो भौतिक सुविधा, क्याम्पसमा हुने मित्रवत व्यवहार, बिहान पढेर दिउँसो रोजगार या घरको काम गर्न पाइने कारण पनि अहिले यो क्याम्पस धेरैको रोजाइमा छ । यस्ता धेरै कारणले यस क्याम्पसले एक दशक यता शैक्षिक तथा भौतिक विकासमा फड्को मार्न सफल भएको छ ।
प्रतिक्रिया
-
४