आर. मानन्धरको वास्तविक नाम राजेन्द्र मानन्धर हो । २०२३ मंसिर २३ मा काठमाडौँमा जन्मिएका मानन्धरले नेपाली साहित्यमा एम. ए र शिक्षामा एफ.फिल.गरेका छन् । नेपाल भाषामा विभिन्न कथा, लघुकथा, निबन्ध, कवितामा कलम चलाइसकेका मानन्धरले आफ्नो साहित्यिक प्रेरणा मानेका दुर्गालाल श्रेष्ठको जीवनी पनि लेखेका छन् । जुन, छिट्टै नेपाली भाषामा पनि प्रकाशित हुँदैछ । विभिन्न पत्रपत्रिकामा स्तम्भकारको रूपमा कलम चालएका मानन्धर अनुवाद पनि गर्छन् । नेपाली भाषामा उनको पहिलो कृति ‘क्षितिजको स्पर्श’हो । जुन पुस्तक दर्शन चिन्तनमा आधारित नौलो प्रयोग पनि हो । अङ्ग्रेजी भाषामा ‘कन्सियस लिडरशिप : अ जर्नी विद इन’नामक पुस्तकसमेत प्रकाशित छ । उनको नयाँ कृतिको रूपमा कवितामा आकाश (कविता, चिन्तन, दर्शन) प्रकाशोन्मुख कृति हो । आज हामीले यसै कृतिमा आधारित भएर विविध कुराकानीसहित उनको साहित्यिक कर्म र जीवनलाई नजिकबाट नियाल्ने कोशिस गरेका छौँ । प्रस्तुत छ सेतोमाटोका लागि सहकर्मी जनक कार्कीले गर्नुभएको पुस्तक वार्ताको सम्पादित अंशः
यहाँ नेपालभाषामा दशकौंअघिदेखि लेख्दै आएका लेखक । नेपालीमा ‘क्षितिजको स्पर्श’ पुस्तकबाट यहाँ देखिनुभयो । सो पुस्तकलाई शताब्दी पुरुष सत्य मोहन जोशीज्यूले ‘अलग धारको नौलो शैली (दर्शन–साहित्य) को कृति’ भन्नुभएको छ । तेजेश्वर बाबु ग्वंगःले यसलाई ‘गद्यात्मक पद्य वा पद्यात्मक गद्य’ दुवै भन्न सकिने बताउनुभएको छ (मधुपर्क २०७४ चैत्र) । आफ्नो कृतिको शैलीबारे आफैं भनिदिनुहुन्छ कि ?
‘क्षितिजको स्पर्श’ दर्शनकै पुस्तक हो, पूर्वीय अर्थमा । पाश्चात्य अर्थमा फिलोसफी बौद्धिक विषय हो । पूर्वमा ‘दर्शन’को अर्थ हुन्छ ‘देख्नु’ वा साक्षात्कार गर्नु । अझ भनौं भने लीन हुनु, एकाकार हुनु हो । हाम्रा महर्षीहरूले सत्यको चिन्तन गर्ने कहिल्यै भनेनन्, सत्यको दर्शन गर्ने भने । पाश्चात्य अर्थमा भए त दर्शनको काव्यात्मक प्रस्तुति सम्भव नै हुँदैन ।
म पहिला नेपालभाषामा वार्णिक छन्दमा कविता गीत लेख्थेँ । एकाध नेपालीमा पनि लेखेको छु । यो पुस्तकका रचनाहरू पद्यमा छैनन्, तर पद्यमा पाइने स्वर–लयको रसमाधुर्य गुण गद्य शैलीमै प्रस्तुत गर्ने प्रयास गरेको छु । यही कुरा ग्वंगःज्यूले ठम्याउनुभएको हो । हो, यसलाई ‘गद्यात्मक पद्य’ वा ‘पद्यात्मक गद्य’ दुवै भन्न सकिन्छ । पुस्तकले प्रस्तुत गर्न खोजेको विषयलाई यही शैली सुहाउँदो देखेर अङ्गालेको हुँ ।
यहाँको पहिलो नेपाली भाषाको कृति “क्षितिजको स्पर्श” जसलाई दर्शन-साहित्यको विधाका रुपमा यहाँले पुस्तक प्रकाशन गर्नुभयो । “क्षितिजको स्पर्श” वेदका ऋचाहरू जस्तै सुरम्य छन्, आध्यात्मिक चेतनाका झिल्काहरू छन्, ध्यानको सागरको गहिराइमा डुबेर टिपेर ल्याउनु भएका मोती जस्तै अमूल्य शब्दहरू सङ्ग्रहित छन् । यो पुस्तक कसरी जन्मियो यसमा तपाईंले पढेका आध्यात्मिक दर्शन छन् कि अनुभूत गरेका ज्ञान छन् ?
वेदका ऋचा पढ्ने सौभाग्य त मैले पाएको छैन । उपनिषद्सम्म केही पढ्न भ्याएको छु । दर्शन र अध्यात्ममा केही लागेको त हूँ । ‘क्षितिजको स्पर्श’ को प्रत्येक रचना अनुभूत नै हो । तर, ती अनुभूतिहरू झिल्काजस्तै आउँछन् र जान्छन् । झिल्का झिलिक्क हुनासाथ केही टिप्ने कोसिस गर्छु । कैयौं पल्ट समयमै टिप्न नभ्याएर त्यत्तिकै बिर्सेका पनि छन् । टिपिएका खेस्रालाई परिमार्जन गर्ने, सौन्दर्यीकरण गर्ने क्रम चलि नै रहन्छ, चित्त नबुझुञ्जेल ।
अस्थायी झिल्काहरू स्थायी भएर बसिदिए हुन्थ्यो । त्यस्तो अहिलेसम्म भएको छैन । त्यसैले म चञ्चल छु । तर, पहिलाभन्दा परिमार्जित पनि हुँदै छु । रचनाले जस्तै सौन्दर्य र स्थायित्व मैले कहिले पाउने हो थाहा छैन । नभए त यो ज्ञान, मसाने बैरागमै सीमित रहला ।
‘क्षितिजको स्पर्श’ मैले पनि पढेँ । आध्यात्मिक चेतनाका कविताहरूमा आनन्दित भई डुबें । अध्यात्ममा निकै गहिरो भिजेर मोती निकालेर कविता रच्नु भएको रहेछ । मलाई लाग्यो, कविता–चेतको हिसाबले एकदम बलियो छ, तर कविताको शिल्प अलिक कम भेटाएको छु । प्रायः कविता कथ्य शैलीमा छ । कविता कमजोर भएको महसुस भएन र ?
यो कुरा यहाँले मात्र होइन, अन्य साहित्यिक पाठकहरूले भनेका छन् । पहिलो कुरा त, मैले यी रचना कविता भनेर रचेको होइन । कतै पनि मैले कविता भनेको छैन । तर साहित्यिक पाठकले आठ–दश वा दश–बाह्र पङ्क्तिका रचना देखेपछि कविता भनेर ठम्याउन पुग्दो रहेछ । अनि काव्यात्मक शैली भेटेपछि त झन कविताजस्तै लाग्नु स्वाभाविक हो ।
पुस्तकका रचना मैले विधा सोचेर रचेको पनि होइन । जस्तो प्रवाह खुल्यो, त्यसैमा बगेको थिएँ । पुस्तक निकाल्दा आफैं पनि अलमलमा परेको थिएँ, यसलाई कुन विधाको छाप लगाउने हो । अन्तिममा ‘दर्शन–साहित्य’ भनि दिएँ (केही न केही भन्नै पर्ने भएकोले) । साहित्य र कलामा एन्टि–जेनर पनि चलेको थियो । तर एन्टि–जेनर पनि भन्न मन लागेन, किनभने यसले विधागत लेखनको विरोध पनि गर्दैन, बरु अन्तरविधात्मक भन्न सकिन्छ ।
कवितात्मक भइकन पनि कविता वा साहित्यको आग्रहबाट मुक्त भएकोले पनि होला, गैर–साहित्यिक पाठकले पनि यस पुस्तकका रचनाहरूको प्रचूर आनन्द लिएका छन् । गद्य कविताको शैली पक्रें भने त सीमित पाठकको लागि मात्र हुन जान्छ नि !
यो साहित्य हो, दर्शन यसको विषय । म कुनै विधाको संरचनामा सीमित भइन । कतै यो कथात्मक, कतै कवितात्मक, कतै निबन्धात्मक छ । जे–जस्तो आउँछ, त्यसैमा रमाउनु होला । पूर्वीय दर्शन भनेकै वर्गीकरण, खण्डीकरणमा नभई समष्टिमा बुझ्ने चेतना हो । साहित्यिक पाठकले पनि पारम्परिक विधाको पूर्वाग्रहबाट मुक्त भई, साहित्यको समष्टिमा ग्रहण गरिदिनु होला ।
यहाँको नयाँ कृति ‘कवितामा आकाश’ प्रकाशित हुँदैछ । यसमा पाठकले के आश गर्न सक्छन् ?
‘कवितामा आकाश’ पुस्तकमा तीन खण्डमा विभाजित छ — कविता, चिन्तन र दर्शन । पहिलो खण्डमा छोटा छोटा कविता पाउनुहुन्छ । सबै कविताको विषय छ — आकाश । यी निख्खर कविता हुन् । केही मधुपर्क मासिकमा पनि प्रकाशित भइसकेका हुन् ।
चिन्तन खण्डमा जीवन, समाज र मृत्युको विषयमा चिन्तन गरिएका छोटा छोटा रचना पाउनुहुन्छ । यस खण्डका रचनाले विसङ्गतिलाई बढी केन्द्रित गरेका छन् ।
दर्शन खण्डमा आध्यात्मिक रचना छन् । यी समष्टिको सङ्गतिमा केन्द्रित छन् ।

सबै दार्शनिक कवि हुँदैनन् तर सबै कवि दार्शनिक हुन् पनि भनिन्छ, तपाईं के हो, कवि वा चिन्तक कि दार्शनिक ?
सबै दार्शनिक कवि हुँदैनन् । सबै कवि पनि दार्शनिक हुँदैनन् । पे्रम र विरहकै कविता लेखेर पनि उत्कृष्ट कवि बन्न सकिन्छ । सामाजिक विषयमा मात्रै चोटिला कविता लेखेर पनि उत्तम कवि बन्न सकिन्छ । कविता कलात्मक शैली हो, विषय होइन ।
म आफू पहिला दार्शनिक र त्यसपछि मात्र कवि भएको पाउँछु । किनभने, मेरो अन्तस्करणमा पहिला दर्शन पलाउँछ, त्यसपछि त्यसको साहित्यिक प्रस्तुतिको चाँजोपाँजो मिलाउँछु । दर्शनका झिल्का सहजै चम्किन्छ, तर तिनलाई अभिव्यक्तिमा ढाल्न निक्कै मेहनत पर्छ । भित्र महसुस भएको कुरा अभिव्यक्तिमा अझै पूरापूर नआएको अनुभव भइरहन्छ । अनि कतिपय रचना शिल्प अपुग भएर छोडिदिएको पनि छु ।
चिन्तन र दर्शनले समाजलाई उन्नत बनाउँछ र कविताले उच्च चेतनाको बिस्तार गर्छ, यहाँको विचारमा कविता र दर्शन भनेको के हो ?
कवितालाई परिभाषित गर्न गाह्रो छ । ‘कवि’मा ता जोडिएकोले यो कविप्रधान शव्द हो कि जस्तो लाग्छ । व्यक्ति कविको गुणधर्मबाट पलाएको रचना हो कि जस्तो लाग्छ । कवि पनि थरिथरिका जन्मेका छन् । भोलि कस्ता कस्ता जन्मने हुन् । त्यसैले कविताको सीमा नहोला ।
दर्शनको विषयमा त माथि पनि केही भनिसकेँ । दर्शन वास्तवमा प्रश्नबाट सुरु हुन्छ । जिज्ञासाबाट सुरु हुन्छ । प्रश्नमा घोत्लेर चिन्तन र विश्लेषण गर्दै पनि प्रश्नको उत्तर खोज्नेतिर लाग्छ सकिन्छ । प्रश्नमै आफूलाई भिजाएर, डुबाएर पनि जिज्ञासाको प्यास मेट्न सकिन्छ । मलाई दोश्रो उपागम मन पर्छ ।
यहाँले ‘चिन्तन र दर्शनले समाजलाई उन्नत बनाउँछ र कविताले उच्च चेतनाको बिस्तार गर्छ’ भन्नुभयो । तर कविता, चिन्तन र दर्शनले यस्तै गर्छ, उस्तै गर्छ भनेर भन्न सकिँदैन ।
मानिसको जीवनको खोज भनेको आनन्द र मोक्ष हो भनिन्छ, यहाँले कविता लेख्दा पाउने आनन्दको व्याख्या गर्न सक्नुहुन्छ ?
मानिसको जीवनको खोज भनेको आनन्द र मोक्ष नै हो, यद्यपि हामी आनन्दको लागि दुःख पनि खोज्छौं, र मोक्षको लागि बन्धन पनि ।
कविताको कुरा गर्ने हो भने, कविता त आनन्दकै लागि लेखिन्छ, आनन्दकै लागि पढिन्छ । दर्शन र चिन्तनलाई पनि काव्यात्मक शैली दिनु नै पाठकले रसानन्द पाओस् भन्नको लागि हो ।
कविता फुर्दा आनन्द आउँछ, लेख्दा पनि आनन्द आउँछ । तर, अभिव्यक्तिलाई सटिक र कलात्मक बनाउन मेहनत गरिरहँदा कष्टको पनि अनुभव हुन्छ, भारी बोकेर उकाली ओराली गरेजस्तै । कहिले त निराशै पनि भइन्छ । अनि कति रचना रद्दीको टोकरीमा फाल्नुपर्ने पनि हुन्छ । मैले आकाशलाई विषय बनाएर सयभन्दा बढी कविता लेखेको थिएँ, तर पचास मात्र समावेश गर्न लायक पाएँ । चिन्तन र दर्शन खण्डका धेरै रचना पनि त्यतिकै खेर गएका छन् ।
अमर कविता र दर्शन त्यही हो जसले मानिसलाई सकारात्मक परिवर्तन गराउन सक्छ, यहाँको कृति ‘आकाशमा कविता’मा सङ्ग्रहित कविता, चिन्तन र दर्शनले पाठकमा चेतनाको दियो बाल्न कत्तिको सक्षम होला जस्तो लाग्छ ?
‘कवितामा आकाश’ पुस्तकमा तीन खण्ड छन् — कविता, चिन्तन र दर्शन । तर, कविता खण्डका रचनामा पनि चिन्तन र दर्शन छन् । चिन्तन र दर्शन खण्डका रचनामा पनि कविता छ । रचनामा केले प्रधानता पाएको छ भन्ने मात्र हो ।
यसका रचना पढ्दै गर्दा कतै भावना डुबिन्छ, कतै सोच्न मजबूर भइन्छ । त्यसपछि पाठकले आफैंले आफैंलाई डो-याउने हो । रचना आफैंले निर्दिष्ट गर्दैन । सकारात्मक भनेको त सापेक्ष विषय हो । सिद्धार्थले गृहत्याग गरेको घटनालाई सकारात्मक भन्ने कि नकारात्मक ?
यहाँ नेतृत्वसीप, माइन्डफुलनेशका प्रशिक्षक रूपमा काम गरेर विभिन्न प्रेरणादायी कक्षा पनि लिनुभयो । यहाँले आफ्ना आलेखहरूको सङ्कलन गरेर पुस्तक पनि निकाल्नुभएको छ, ‘कन्सियस लिडरशीप–अ जर्नी विदइन’ । यो असल नेतृत्व विकास गर्ने प्रेरणादायी पुस्तक हो । यसरी समाजप्रति जिम्मेवार बन्न यहाँलाई के कुराले प्रेरित गर्छ ?
‘कन्सियस लिडरशीप–अ जर्नी विदइन’ नेतृत्वसीप विकासको पुस्तक हो । यस पुस्तकले भने निर्दिष्ट गर्छ किनभने यो साहित्यिक होइन, सेल्फ–हेल्प हो । यो खास गरी कलेजका विद्यार्थीको लागि लक्षित गरेर सरल भाषामा लेखिएको हो । यसका रचनाहरू द हिमालयन टाइम्स दैनिकको लागि लेखिएकोले यो नेपाली परिप्रेक्षमा छ । यो मनोविज्ञान र नेतृत्व–सिद्धान्तका आधारमा लेखिएको प्रेरणादायी पुस्तक हो । नेतृत्व सीप विकास गर्न चाहने व्यक्ति माइन्डफुल (सजग) हुनै पर्छ ।
तपाईं बौद्ध धर्मलाई अनुशरण गर्ने पारिवारिक पृष्ठभूमिमा जन्मिनुभयो, बाल्यकालदेखि नै बुद्ध दर्शन, संस्कार र वातावरण बुद्धमय नै पक्कै रह्यो होला, यहाँलाई आठ वर्षको उमेरमै भिक्षु बन्ने सौभाग्य मिल्यो । भिक्षु परम्परा र स्कूलिङले तपाईंको बाल मस्तिष्कमा के कस्तो फूल फुल्न सहयोग मिल्यो ?
आठै वर्षको उमेरमा भिक्षु बन्ने विचार कसरी आयो बुझ्नै सकिनँ । अहिले फर्केर हेर्दा त्यो अर्थपूर्ण नै थियो भन्ने लाग्छ । बुझेरभन्दा पनि रमाएरै बुद्धका शिक्षा ग्रहण गरियो । धर्मका कथाहरू पढियो । तिनले दिने अर्थ अहिले प्रज्ज्वलित हुँदै छ ।
हामी साना भिक्षु (श्रामणेर)लाई विहारभित्र खेल्ने, कुद्ने स्वतन्त्रता थियो । विहारभित्रै ठूला ठूला चउरहरू थिए । हामी फुटबल लगायत अनेक खेल खेल्थ्यौं । म बसेको विहार समुद्र किनारमै थियो । कुनै पनि बेला समुद्रमा पौडिन पुग्थ्यौं । बेलुका टिभि हेथ्र्यौं । घरमा त्यति स्वतन्त्रता र अवसर हुँदैन थियो होला । एक किसिमले स्वर्णिम बालापन थियो । त्यसैले पनि मस्तिष्क ताजा र स्वस्थ रह्यो ।
यहाँ करिब पाँच वर्षसम्म थाइल्यान्डको स्कूलमा पढ्ने अवसर पाउनुभयो, त्यहाँ यहाँले बुद्ध दर्शन नै पढ्नुभयो, थाइल्यान्डको त्यो सिकाइले यहाँको जीवनमा कस्तो उल्लेखनीय प्रभाव पा¥यो र त्यहाँको परिवेश अलिकति सेयर गर्दिनोस् न ?
बौद्ध जातक कथा र अभिधर्म (दर्शन) पढ्थ्यौं नै । कालान्तरमा त्यसले हिन्दू दर्शन लगायत अन्य दर्शन पनि बुझ्न सघायो । बुद्ध शिक्षाको अलावा त्यहाँ थाई भाषामै बाल साहित्य प्रचूर पाइन्थ्यो । बाल कथादेखि बाल उपन्यास प्रशस्त पढियो । त्यसले साहित्यतिर आकर्षित ग-यो । १३ वर्षको उमेरमा नेपाल फर्केपछि पनि साहित्यका पुस्तक खोज्नतिर लागियो । यद्यपि त्यसबेला (२०३६ सालतिर) नेपालको बालसाहित्यको अवस्था एक किसिमले दरिद्र नै थियो । अनि हिन्दीमा रामायण, महाभारत र पुराणका कथा किताब खोजेर पढें । सोह्र–सत्रको हुँदै नेपालभाषाका कथा उपन्यास पढ्नतिर मोडियो । अनि हिन्दी, नेपाली साहित्य पनि पढ्न थालियो ।
थाइलैण्डमा त राष्ट्रिय अन्तर्राष्ट्रिय बालसाहित्यका पुस्तक बाकसमा बोकेर घरघरै पनि बेच्न ल्याइन्थ्यो । हाम्रो विहारमा पनि ल्याइन्थ्यो । त्यसले किताब किनेर पढ्ने बानी बस्यो । यसले बाल साहित्य, किशोर साहित्य कति महत्त्वपूर्ण छ भन्ने कुरा जनाउँछ ।
यहाँ ओशो सन्न्यासी पनि बन्नुभयो, धेरै कम नेपालीमा यहाँ गनिनुहुन्छ जसले ओशोलाई जिउँदै भेट्ने अवसर प्राप्त गर्नुभयो । ओशोलाई भेटेपछि यहाँले के कस्तो महशुस गर्नुभयो र ओशोलाई भेट्दाको समयलाई अलिकति वर्णन गर्दिनोस् न ?
म सायद उन्नाइस वर्षको उमेरमा ओशो (तत्कालीन भगवान् श्री रजनीश) को प्रवचनमा आकृष्ट भएँ । त्यस बेला म ज्ञानको खोजीमा आश्रमहरू धाउँथेँ । महर्षी महेश योगीको भावातीत ध्यान पनि गरें । ब्रम्हकुमारी, बालयोगेश्वर, इस्कोनमा गएँ । कल्याण मित्र गोयन्काज्यूबाट सञ्चालित विपश्यना शिविरमा भाग लिइसकेको थिएँ । नियमित विपश्यना गर्थें । साथै खोज पनि जारी थियो ।
त्यसबेला पुल्चोकमा रजनीश आश्रम थियो । म ओशोका पुस्तक पढ्ने र प्रवचन सुन्ने भएँ । सायद पाँच वर्षसम्म बिहान डाइनामिक ध्यान र साँझ कुण्डलिनी ध्यान नियमित गरेँ हुँला । उहाँ नेपाल आउँदा चार पल्ट दर्शन पाएँ । एक पल्ट त एकान्तमै दर्शन पाएँ ।
उहाँ नेपाल आउँदा उहाँको अमेरिका स्थित रजनीशपुरम् ध्वस्त भइसकेको थियो । तर उहाँ अमेरिका जानअघि पूनाको आश्रममा जुन आनन्दित मुद्रामा देखिनुहुन्थ्यो, रजनीशपुरम् जस्तो विशाल शहर नै ध्वस्त हुँदा पनि उहाँ त्यही प्रफुल्लित मुद्रामा हुनुहुन्थ्यो । प्रवचनले भन्दा पनि बढी यस गुणले मलाई गहिरो प्रभाव पा-यो ।
यहाँले विपश्यना ध्यानको पनि अनुभव लिनुभएको छ । विपश्यनामा ध्यान गरिसकेपछि यहाँको जीवनमा के परिवर्तन आयो ?
१७ वर्षको उमेरमा सिकेको विपश्यना अभ्यास मात्र भयो । विपश्यनामा अभ्यस्त भएको थिएँ, तर त्यसबाट सिकाइ भएको थिएन । अहिले पचपन्न वर्षको उमेरमा बल्ल त्यसबाट सिकाइ लिँदै छु । कतिले ध्यान गर्न गाह्रो हुन्छ भन्छन् । हुन त हामीले गिटार मात्र बजाउन सिके पनि अभ्यस्त हुन धेरै समय लाग्छ । धेरै अभ्यासपछि मात्र राम्रो सांगीतिक धुन निस्कने हो । ध्यान पनि त्यस्तै हो । त्यस बेलाको अभ्यासले अहिले सजिलो भएको छ ।
यहाँको जीवनलाई हेर्दा कताकता फिल्मी पनि लाग्छ, बौद्ध शिक्षा, ओशो सन्न्यासी हुँदै यहाँ अध्यात्मबाट भौतिक दुनियाँमा आउनुभयो । भौतिक दुनियाँमा यहाँले विभिन्न एनजीओ, आइएनजिओमा पनि लामो समय काम गर्नु भयो, आध्यात्मिक र भौतिक जीवनबीचको फरक के रहेछ ?
मेरो जीवन अहिले फर्केर हेर्दा हिन्दू वर्णाश्रम धर्मअनुसार चलेको देखिन्छ । पहिलो पच्चीस वर्ष ज्ञान आर्जनमा बित्यो, अर्थात् ब्रम्हचर्याश्रम । कहिले भिक्षु त कहिले ओशो सन्न्यासी । कहिले विपश्यना त कहिले योग ।
२६ वर्षको उमेरमा भने प्रेममा परियो । जागीर खाइयो । बिहे गरियो । बुबा भइयो । झण्डै २० वर्ष जति अध्यात्मतिर फर्केर पनि नहेरी गृहस्थाश्रममै रमाइयो । जागीरमा प्रगति गरियो । त्यो नगरेको भए आमा, श्रीमती, छोरालाई राम्ररी पाल्न पनि सकिँदैन थियो होला । मैले राम्रै गरेँ भन्ने लाग्छ ।
४५ वर्षको उमेरमा होला, भारतको एउटा युवा बौद्ध भिक्षुलाई काठमाडौंमा भेटेँ । उनी पनि छ वर्ष थाइलैण्ड र श्रीलंकामा विपश्यनामा गरी फर्केका थिए । उनलाई भेटेपछि बाल्यकालमा पढेका बौद्ध कथा र दर्शन सम्झन पुगेँ । तिनका अर्थ झलमल्ल खुल्न थाले । फेरि साधनातिर मन मोडियो । अनि जति सकिन्छ छिटो जागीर टुंग्याएर साधनामै समर्पित हुने उत्प्रेरणा जाग्यो ।
यहाँले वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठसँग निकै लामो समयदेखि सङ्गत गर्दै आउनु भएको छ, नेपाल भाषामा यहाँले दुर्गालाल श्रेष्ठको जीवनी पनि लेख्नुभएको छ, सुन्दै छु यस कृतिलाई नेपाली भाषामा पनि ल्याउँदै हुनुहुन्छ । यसको बारेमा केही बताइदिनोस् न ?
कवि दुर्गालालको सानिध्यमा रहनु भनेको कविताको सानिध्यमा रहनुसरह हो । त्यस्तो भाग्यमानी परेँ म ! उहाँकै जीवनीमा मैले स्नातकोत्तरको लागि शोधग्रन्थ तयार गरेँ । उहाँका कृति र उहाँसँग सम्बन्धित सम्पूर्णजसो सामग्री समेटेर ‘कवि कविता’ नामको सीडी तयार गरी उहाँको सम्मान कार्यक्रममा चढाएँ ।
तिनै अनुसन्धानको नतिजा हुन गयो, ‘कविया बाखं: कविया भासं’ जीवनी नेपाल भाषामा । केही परिमार्जित भएर सोही जीवनी ‘कवि— कविताको छवि’ नामबाट नेपालीमा आउँदै छ । चाँडै नै पाठकको हातमा पर्ने आशा गरेको छु ।
यहाँले आध्यात्मदेखि भौतिक दुवै जीवन जिउनु भएको छ, यो युगमा पुरै आध्यात्मिक भएर पनि बाँच्न गाह्रो छ र एकदम सांसारिक भएर बाँच्दा पनि जिन्दगी अप्ठ्यारो छ । आध्यात्मिकता र भौतिकवादलाई सन्तुलन गरेर बाँच्न के गर्नुपर्छ ?
मलाई बुद्धले सुझाएको मध्यम मार्ग ठीक लाग्छ । मैले आध्यात्मिक जीवन पनि जिएँ, सांसारिक जीवन पनि । अनि दुवैलाई एकसाथ समेटेर पनि जिएँ । मध्यम मार्ग भनेको बीचबाट हिँड्ने भनेको होइन । अवस्थाअनुसार कहिले एकातिर बढी ढल्कनु पर्ला, कहिले अर्कोतिर । दुवै बुझेपछि भने आफैं सन्तुलनमा आइन्छ ।
अहिले यहाँले आफ्नो जागिरे जीवनलाई ‘टाटा’ गरिसक्नुभएको छ, यहाँको वर्तमान दिनचर्या भनेको रिम्पोचेको सङ्गत, ध्यान साधना र लेखन हो । नेपाली साहित्यमा आउने दिनमा के कस्तो साहित्यिक सिर्जनाहरू रचना गर्ने सोच्नु भएको छ ?
म अहिले ‘कमलजस्तो जीवन’ लेख्दैछु । यो साहित्यिक नभएर बुद्ध दर्शनमा आधारित जीवन जिउने कला हो । त्यस्तै बालकथा ‘कलाकार बाँदर’ पनि परिचय प्रकाशनबाट निस्किँदै छ । अन्य बालकथा पनि प्रकाशनको तयारीमा छन् ।
भविष्य त कसले भन्न सक्छ र ? तर आउने समयमा कविता कम पनि हुनसक्छ र आख्यानतिर पनि मोडिन सक्छ । मैले साँचेर राखेका केही आख्यानका कथानक छन् । ती यथार्थवादी नभएर स्वैरकल्पनामा आधारित छन् । हेरौं, लामो आख्यान लेख्न निक्कै समय र शक्ति लाग्छ । त्यसैले नलेख्न पनि सक्छु । वा, सहलेखनमा पनि लेख्न सक्छु ।
विश्व स्वास्थ सङ्गठनले निरोगी हुनको लागि राखेको मापदण्डमा आध्यात्मिक शान्तिलाई पनि जोडेको छ, यहाँ लामो समयदेखि आध्यात्मिक संगत र साधना पनि गर्नुभएको व्यक्ति, वास्तवमा आध्यात्मिक रूपमा स्वस्थ हुनको लागि के कस्ता कार्य गर्न जरूरी छ ?
म त आफैं सिक्दै छु । आफैंमाथि परीक्षण गर्दै छु । तर मनोविमर्शकर्ता पनि भएकोले भन्छु, समाजमा स्वस्थ भएर बाँच्न व्यावहारिक मनोविज्ञानका केही कुरा बुझ्न जरुरी हुन्छ । अध्यात्म भने त्यसभन्दा गहिरो कुरा हो । आध्यात्मिकको व्यवहार सामाजिक नहुन पनि सक्छ, वा भनौं समाजले नबुझ्न पनि सक्छ । विश्व स्वास्थ संगठनले भनेको अध्यात्म मनोवैज्ञानिक तहको मात्रै हो, साँच्चिकै आध्यात्मिक तहको होइन ।
अन्त्यमा एउटा स्वतन्त्र प्रश्न जसमा यहाँले मन लागेको उत्तर दिन सक्नुहुन्छ ?
मलाई पाठकलाई के भन्नु छ भने पुस्तक किन्नु भनेको आफ्नो फाइदाको लागि मात्र होइन, लेखकको फाइदाको लागि मात्र पनि होइन, यसले समग्र समाजलाई नै फाइदा गर्छ । मुख्य कुरा के भने यसले समाजलाई बौद्धिक रूपमा जीवन्त राख्छ ।
पाठकले सोच्ला, “मैले पाँच सय रूपैँयाको किताब किनेँ ।” तर त्यसले समाजमा बौद्धिक विमर्श जीवित राख्न पाँच लाखको काम गरिरहेको हुन्छ । बौद्धिक विमर्श नभएको समाज त मुर्दा हुन्छ नि !
प्रतिक्रिया
-
४
