✍️ अविनाश भट्टराई
कहिलेकाँही मलाई झोँक चल्छ
उठाएर एक चिम्टी धुलो
लगाउँछु निधारबीचमा टीका
सम्झिन्छु माटोको माया, श्रद्धा
किन एकाएक पोल्न थाल्छ – टीकाभरिको निधार
कस्तो आश्चर्य ? यो माटोको धुलो हो या आगोको झिल्को ?
झ्यालको काँच छेडेर एकहोरो बगिरहन्छ आँखा आकाशतिर
किन उडिरहन्छ त्यो जहाज आगो बोकेर माथिमाथि
किन उडिरहन्छन् ती चराहरु झिल्को बोकेर बताससँगसँगै
पार्टी कार्यालयतिर
अध्यक्षको टेबुलमा आरामले सुस्ताइरहन्छ नेपाली झण्डा
उसै हृदय झण्डाको रङमा पोतिन खोज्छ
सुम्सुम्याउँन भ्याइहाल्छु
आथ्था ! पोल्छ नमज्जाले हत्केलाहरू
जब त्यहाँ गुलाब फुल्छ
लाग्छ मौजुद छ एउटा स्वर्णिम साम्राज्य
पिटिक्क बनाउँन मन लाग्छ
कसैको ओंठमा फुलाईदिउँझैं लाग्छ
कसो कसो छोईहाल्छु
ओहो ! डाम्छ पत्रले औँलाहरू
सायद मलाई ‘पाईरोफोबिया’ छ
कि त मेरो मस्तिष्क केही विचलित छ
नत्र किन देख्छु म हरेक कुरामा आगो ?
‘लिपिस्टिक’मा आगो
सिन्दूरमा आगो
टोपीमा आगो
धोतीमा आगो
अचेल यी माहुरीहरु कुन्नी के खान्छन् ?
घारमा आएर आगो ओकल्छन्
बेवारिसे पत्करहरु एकैठाउँ बटुलिन्छन्
र आँफै झोसिन खोज्छन्
के लेख्छन् यी लेखकहरू ? अक्षर बलिरहन्छन्
अरे म त यात्री न हुँ
हिँडिरहन्छु जिन्दगीको पूर्व–पश्चिम राजमार्ग
थाक्छु अनि सुस्ताउँछु – चौतारीतिर
आजभोलि मलाई घामले मात्र पोल्दैन, छहारीले पनि पोल्छ
आगोले मात्र पोल्दैन, पानीले पनि पोल्छ
फेरि पनि
म आगोबाट बच्नँ आगो नै समाउँछु ।
प्रतिक्रिया
-
४