– अविनाश भट्टराई

के हो त्यो-
किनारै किनार हिँड्न बिर्सिएको नदीजस्तो
के हो त्यो-
लय बिग्रिएको गीतजस्तो
हरियो इस्टकोट खोलेर बसेको पहाडजस्तो
सेतो ह्याट् फुकालेर फ्याँकेको हिमालजस्तो

मलाई जवाफ दिनोस्,
कसले काट्यो पखेँटा चराहरूको?
र भिराईदियो पखेँटा पासपोर्टको
के हो त्यो-
विमानस्थलमा आँखाको बाँध भत्काएर
बगेको खोलाजस्तो
त्यही खोलाको भेलमा
बगेको सपनाजस्तो

अचेल जहीँतहीँ देख्छु म-
माटोको खून चुसिरहेका जुकाहरू
झाडीमा रगत लत्पतिएका सलबारहरू
सुदूर गाउँका आदिम भोकहरू
सिटामोल पनि नदेखेका रोगहरू
के हो त्यो-
गरीबको छालाबाट बनेको कोटजस्तो
गरीबकै छालाबाट बनेको नोटजस्तो

सायद मलाई स्किजोफ्रेनिया हुन सक्छ
नत्र किन देख्छु म अनौँठा दृष्यहरू
म देख्छु-
मसानघाटमा शहीदको कंकालबाट झरेको आँशु
इतिहासको काँधमा फर्फराईरहेको क्रान्तिको झण्डा
त्यही झण्डाले बेरेर लुकाइएको
महँगो मदिराको बोतल
म देख्छु-
कालो इनामेल पोतिएको आकाशको छाती
दम लागेको बतासको फोक्सो
कहिले म देख्छु-
तलाउ हेरेर कपाल कोरिरहेको जून
रातको भित्तामा पहेलो रङ्ग पोतिरहेका जूनकिरीहरु
फेरि तिनै जूनकिरीलाई नै कालो पोतिरहेका अन्धकारहरू

मलाई सोध्न मन लाग्छ,
के हो त्यो-
झलमल्ल हुन नपाएको
अध्याँरोले पनि छोपी नभ्याएको
के हो त्यो-
अगाडि दौडन नसकेको
पछाडि पनि सर्न नजानेको
गियर फसेको गाडीजस्तो
कस्तो कस्तो
मेरै देशजस्तो ।

***

प्रस्तुत कविता राष्ट्रिय कविता महोत्सव, २०८१ रोल्पामा प्रथम भएको कविता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर