
✍️ मनु विद्रोही
गजलकार वसन्त ओली वसन्ती साहित्य क्षेत्रमा सक्रिय रूपमा कलम चलाइरहनु भएको छ । २०६४ सालमा एन्फा एकेडेमी सातदोबाटो लतितपुरमा फुटबल खेलाडी बन्ने सपना बोकेर पहिलोपटक दाङबाट राजधानी पुगेका वसन्तलाई समयले फुटबल खेलाडी, देशको सिपाही र आज आएर गजलकार बनायो । उनलाई आफ्नो जीवन भोगाइबाट नै साहित्यमा लाग्ने प्रेरणाको मिलेको हो । उनले आख्यानबाट आफ्नो साहित्य यात्रा सुरु गरेका ओली गजल, मुक्तक र उपन्यास विधामा कलम चलाउछन् ।
पुष्प पराग वर्षको सर्वोत्कृष्ट गजलकार सम्मान– २०७४(भक्तपुर), गोदावरी गजल साधना सम्मान –२०७५ (ललितपुर) र सारथि साहित्य प्रतिष्ठान सम्मान–२०७६ बाट सम्मानित भइसकेका उनी देश विदेशमा भएका विभिन्न प्रतियोगिताहरूमा पुरष्कृतसमेत भएका छन् । ओलीको ‘तिर्सना’ (उपन्यास–२०६९), ‘कोशेली’ (संयुक्त मुक्तक सङ्ग्रह), ‘इन्द्रेणी –४’ (संयुक्त गजल सङ्ग्रह) प्रकाशन भइसकेको छ भने केही समयअघि मात्रै हजुरआमाको सम्झनामा गजल सङ्ग्रह ‘बोई’ बजारमा आएको छ । उनै साहित्यकार ओलीसँग सेतोमाटोका लागि मनु विद्रोहीले गर्नुभएको भलाकुसारी यस्तो छ:
तपाईंको विचारमा साहित्य के हो ?
समाजमा जे देखिन्छ वा काल्पनिक विषयवस्तुलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नु साहित्य हो ।
तपाईंको विचारमा पहिला असल पाठक बन्नु पर्छ कि कुशल पाठक किन ?
दुवै हुनुपर्छ लाग्छ एकै पटक । बढी कुशल हुनुपर्छ लाग्छ । पाठकले कुनै विषयमा लेखिएको कुनै विधालाई केही बुझेकै हुनुपर्छ अनि मात्र उसले सही ढङ्गले केलाउन सक्छ ।
तपाईंलाई कस्ता–कस्ता पुस्तक पढ्न मनपर्छ ? पढेको मध्य तीन उत्कृष्ट पुस्तक तपाईंको नजरमा कुनकुन हो ?
मलाई गजल सङ्ग्रहहरू बढी पढ्न मन लाग्छ, सिद्धान्तका, जीवनीमूलक पुस्तक बढी मनपर्छ । मैले पढेको तीन उत्कृष्ट पुस्तक छान्न गाह्रो बनाइ दिनुभयो, भन्नैपर्छ भने एउटा भन्छु है गजल सिद्धान्तको किताब अरु विज्ञान गजल लेख्नेलाई महत्त्वपूर्ण किताब हो ।
सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?
राम्रैको पनि कहिलेकाही चर्चा हुन्छ, भने कहिले सामान्यको पनि पहुँचको कारण चर्चा बढी हुन्छ । स्तरियता कम छ अहिले चर्चामा आएका पुस्तकमा पनि ।
साहित्यलाई समाजको ऐना मानिन्छ, कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?
असल कार्यमा उत्प्रेरित गर्ने, सन्देश दिनसक्ने खालका लेख्न सकियो भने सहयोग पुग्छ ।
साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?
लेखकको स्तर हेरेर, उसको योगदानलाई मूल्याङ्कन गरेर, लेखनको मूल्य दिन सकियो भने गज्जब हुन्छ । कति उत्कृष्ट लेख्नेहरू आर्थिक कारण अनि प्रकाशकले अनुहार हेरेर नपत्याउने हुँदा त्यस्ता लेखकको राम्रो लेख भएको पुस्तक छापिदिएमा र केही भएपनि पारिश्रमिकको व्यवस्था भएमा राहत महसुस हुने थियो ।
गजल सङ्ग्रहको नाम ‘बोइ’ नै किन राख्नु भो ?
म हजुरआमालाई ‘बोई’भनेर हुर्किएको हुँ । उहाँले छाडेर गएपछिको प्रण हो मेरो, उहाँको लागि केही गर्ने । बोईका लागि मैले गर्ने सोचेका केही सपना थिए, जसलाई पूरा गर्न ‘बोई’ नै राखेँ ।
पुस्तकहरूको भिडमा गजल सङ्ग्रह ‘बोइ’ किन पृथक छ ?
यो अरू गजल सङ्ग्रह जस्तै हो । त्यस्तो पृथक होइन । अरूले झैँ रचनालाई गजलकै बाटोमा हिँडाउने प्रयास ‘बोई’मा गरेको छु ।
१०१ गजलहरूलाई बहरमा ढाल्ने कोसिस छ । केही नयाँ नियमहरू, नयाँ लयहरू ७०% भन्दामाथिका गजलहरूमा छ्न् । जसलाई नामाकरण गर्नुपर्ने छ । साथै यसमा १५ जना भन्दामाथिको संख्यामा अग्रज गुरूको पाण्डुलिपि पढेपछिको प्रतिक्रिया छ ।
कम्तिमा १० जना गजलकारहरूबाट मोटामोटी सम्पादन भएको हो । गजलका सेरहरू प्रायः १२ –१–२ बजे राती लेखिएका हुन् । ‘बोई’ र मेरा सत्य किस्साहरू १०/११ पृष्ठको सङ्ख्यामा राखिएको छ । जो मैले रुँदै लेखेको र रुँदै सम्पादन गरेको हुँ । जसको प्रोमो भिडियोले धेरैको मन छोएको छ ।
तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
एकपटक ‘बोई’ पढिदिनु होला । मलाई गाली खान मन लागेको छ । गाली गर्न आउनेलाई म सबैभन्दा बढी सम्मान गर्नेछु । सल्लाह, सुझावको लागि सदा खुल्ला रहने छु । एकपटक बोईको लागि ‘बोई’ पढिदिन अनुरोध गर्दछु ।
प्रतिक्रिया
-
४