✍️ जनक सन्याल

गजल – एक

भन्न त आफ्नो हुँ भन्छ अपमान गर्न यस्तो जाल गर्छ
थाहा छ जसको जवाफ मसँग छैन त्यही सवाल गर्छ

अझै यही समाजमा बसेर म आफ्नोपन खोजिरहेछु
जहाँ जसले मार्छ उसैले मृत शरिरलाई अंकमाल गर्छ

बा-आमालाई वृदाश्रम राखेको छोराले फोन गर्दै भन्यो
अचेल ढुङ्गा पुजिरहेछु बिश्वास छ ढुङ्गाले मेरो ख्याल गर्छ

छोरा राज्यले हामीलाई देख्दैन हाम्रो पुग्ने हैसियत छैन
आफ्नो सबथोक भन्नु यही हो, हाम्रो सुरक्षा त्रिपाल गर्छ

दुश्मनले बरु तेरो दुश्मन हुँ भन्छ बच्न बचाउन मद्दत गर्छ
आफ्नोले पीडा अरुलाइ दिन्छ आफैलाई दुखेको चाल गर्छ

गजल – दुई

गर्छु, देखाउछु भनेर पनि कुनै सार हुँदैन
चरित्रको प्रामाण हुँदैन, शंकाको उपचार हुँदैन

मेरो प्रगतिमा जल्यौ मैले यही सोचेँ मन बुझाएँ
कुन फलेको हाँगो छ जसमा कैलै प्रहार हुँदैन ?

छोरा ! जिम्मेवारी बढ्यो भनेर पीर नगर यस्तै हो !
जीवन सार्थक हुँदैन जसको टाउकोमा भार हुँदैन

नाम एक हुन्छ भुमिका अर्को हुन्छ बुझ्न सकिन्न
काट्छ, चिर्छ, धुजाधुजा पार्छ वचनमा धार हुँदैन

सक्छौ भने बाटो बनाउ गन्तव्य खोज महोदय !
चोकमा बसी अरुको खेदो खनेर स्वप्ना साकार हुँदैन

प्रतिक्रिया

सम्बन्धित खवर