जनक कार्की
बीएन जोशी नेपाली साहित्यमा निरर्थक (२०६१, उपन्यास) र मोर्डन बेली (२०७३, उपन्यास) जस्ता कृतिले परिचित छन् । उनको पछिल्लो कृति संस्मरणात्मक निबन्ध ‘श्रमाटन’ (वैदेशिक रोजगारीको वृतान्त) हो । उनले वैदेशिक रोजगारीमा भोगेका कति घटना कुनै आख्यान भन्दा कम लाग्दैनन् । आजको पुस्तक वार्तामा जनक कार्कीले सोही कृतिसँग सम्बन्धित भएर गरेको कुराकानीको वार्ताको सारांश प्रस्तुत छः
‘श्रमाटन’ एउटा संस्मरणात्मक कृति हो, यसमा तपाईंले वैदेशिक यात्रामा भोगेका विभिन्न घटनालाई प्रस्तुत गर्नुभएको छ, कतिपय अवस्था पाठकले पढ गर्दा मन सिरिङ्ग हुने घटनाहरू पनि छन्, मलेसियाको जङ्गलको घटना हेर्दा तपाईंले वास्तवमै दोस्रो जुनि पाएको हो भन्ने अनुमान लगाउन सकिन्छ, आज तपाईंले साहित्य मार्फत आफ्ना विगतका जीवनलाई कोट्याउँदै हुनुहुन्छ, कस्तो लाग्छ ती दिनदेखी आजको दिनसम्म आइपुग्दा ?
तपाइँले भनेजस्तै यो संस्मरणले तत्कालिन परिवेश र परिस्थितिको प्रतिनिधित्व गर्दै हमेसा झस्काइरहन्छ । जुन परिघटनाहरूको विगत वास्तवमै कहालीलाग्दो थियो । त्यस्तो परिस्थितिबाट सामान्य जीवनमा फर्कनु भनेको पक्कैपनि दोस्रो जुनी प्राप्त गर्नु हो । त्यसैको उपज हो पुस्तकभित्रको पहिलो खण्डमा राखिएको पुनर्जीवन शीर्षक । यस्तै अनेकन अनुभूतिहरूबाट नै सायद संस्मरण, कथा, कविता हुँदै मिथकमा परिणत हुने होला अनन्तकालमा । मेरो हकमा चै पहिलेदेखि नै लेखनमा रुची भएकोले आज आएर साहित्यको माध्यमबाट आफ्नो भावनाहरू पोख्न पाउँदा सुखद नै लाग्छ ।
मलेसियाको जङ्गलमा जब नेपालमा बनेको ब्राइटर टुथपेस्ट देख्नुभयो, त्यतिबेला तपाईंको अप्ठ्यारो समयमा त्यो ब्राइटर टुथपेस्टले कत्तिको मुस्कान ल्याउन सफल भयो ?
त्यतिबेलाको चल्तिको टुथपेष्ट थियो त्यो ब्राइटर । ठ्याक्कै सम्झना त भएन, सायद उतिबेला मेरो झोलामा पनि त्यही टुथपेष्ट थियो कि जस्तो लाग्छ । अनकण्टार र पिडादायी परिस्थितिमा एउटा निर्जिव वस्तु समेत आफन्त जस्तो लाग्ने रहेछ । भनिन्छ नि, माइतीको भुस्याहा कुकुर समेत प्यारो लाग्छ । तत्क्षण मनमा नेपाल र नेपालीहरुको बारेमा धेरै कुराहरू खेलेथ्यो । मुस्कानै त आएन होला तर चिरपरिचित चिज भेटिदा मनमा साहस र कतै यतै वरपर आफ्नो मान्छे छन् कि भन्ने आभाष हुँदो रहेछ ।
आज कोरोनाले गर्दा मर्दा लास उठाउने मान्छेको अभाव पनि देखियो, लास आफन्तलाई नबुझाई सिधै दाहसंस्कार गरेको पनि देखियो तर, तपाईंले यस किताबमा आफ्नो बालापनको घटना सम्झाएर कसरी एउटा पुरै गाउँ हैजाका कारण विस्थापित भयो भन्ने कुरा बताउनुभएको छ, त्यो घटनलाई अलिकति तन्काएर भन्दिनोस् न ?
महामारीको प्रकार उस्तै हुन्छ सायद । अहिले मानिसमा आएको सचेतना र प्रविधिका कारण लास उठाउनेहरूको अभाव देखियो । तर, त्यतिखेर अहिलेको जस्तो अवस्था हैन नजिक पर्दैमा संक्रमण भइन्छ भन्ने । परिवारका सदस्यहरू सबै समाप्त हुँदै जाँदा मलामी जानेहरूको अभाव सिर्जना भएको थियो । आम ग्रामीण भेगमा सरुवा रोग हो भन्ने सामान्य जानकारी समेत नहुँदाको परिणाम थियो त्यस बखत । हैजाका कारण एउटा चलायमान र गुलजार वस्ती छाङ्ग हटियाको छोटो समयमै अवसान भयो । बँचेखुचेका व्यक्तिहरू बेसी फाँटतिर झरे । तिनै मध्येबाट म र मेरो पुस्ताको जन्म भएथ्यो । हामी त्यही महामारीको कथा सुन्दै हुर्कदै आयौं । आज आएर अर्को यो आधुनिक प्रकारको महामारीलाई आत्मसात गर्दैछौं ।
१२ दिन मलेसियाको जेलमा बस्दा तपाईंले त्यहाँका प्रहरीको अमानवता देख्नुभयो, नेपालमा प्रहरी संस्था बदनाम छ, तुलनामा कहाँको प्रहरी बढी खराब लाग्यो ?
नेपाल, भारतमा त सामान्य जस्तै लाग्थ्यो । मैले कल्पना पनि गरेको थिएन कि त्यस्तो विकसित मुलुकमा समेत त्यतिसम्म भ्रष्ट प्रहरी हुन्छन् भन्ने । पचास, सयका लागि समेत मरिहत्ते गर्ने । सटहीमा नेपाली रुपैयाँको बारेमा पनि के कति पाइन्छ भनेर बुझ्न लागिपरेको देख्दा म अवाक बनें । समग्रमा तिनले पैसाकै लागि अमानविय व्यवहार देखाएका हुन् भन्ने लाग्छ । अझैसम्म हाम्रो देशमा पनि अधिकांश प्रहरीलाई जनताले हेर्ने दृष्टिकोण अविश्वसनीय नै देखिन्छ । तर यसो भन्दै गर्दा यसै किताबभित्र रहेको आउट जेल अध्यायमा कतारको प्रहरीहरूसँगको मेरो साक्षात्कार भने नमुना रहयो ।
यसभन्दा पहिले नेपाली साहित्यमा आख्यान लिएर आउनु भयो, पछिल्लो कृति संस्मरण गैर आख्यान लिएर आउनुभयो, तपाईंको संस्मरणले नेपाली पाठकलाई के कस्तो शिक्षा दिन सफल छ ?
आख्यान, गैर आख्यान जे भएता पनि देश देशावर र समाजमा भए गरेका परिघटनाहरुकै उत्पत्ति हो । बिधा भनेको त खाली त्यसलाई प्रस्तुत गर्ने मार्गमात्र हो भन्ने लाग्छ । सबैको गन्तव्य एउटै हो । पाठक भन्नाले साहित्य अनुरागी मात्र हैन भन्ने लाग्छ । नेपाल जस्तो वैदेशिक रोजगारीको भरमा रहेको मुलुकका वेरोजगारी परदेशोन्मुख युवाहरुको लागि समेत ‘श्रमाटन’ले सुःसूचित हुने र सम्हालिने सन्देश अवश्य दिन्छ ।
बेरोजगारीको समस्या नेपालमा दिनानुदिन बढ्दै गइरहेको छ, अझै पनि ज्यानै जोखिममा राखेर नेपाली विदेसीनु बाध्य छन्, तपाईंले सन् १९९८ मा अवैधानिक रुपमा मलेसिया छिर्न खोज्नु र आजका दिनमा विभिन्न युरोप लगायत अमेरिका जस्ता देशमा अवैधानिक रूपपा छिर्न खिज्ने नेपालीको जमात टन्नै छ, यो समस्यालाई कसरी हेर्नु भएको छ ?
सरकारका उच्च ओहदामा बसेका योजनाविद् र नेतृत्व हर्ताकर्ताहरूको अक्षमताको परिणाम जनताले त भोग्नुपरेकै छन् । देशले एउटा स्वर्णिमकाल विकासको अवसर समेत गुमाइरहेको छ । दक्ष जनशक्तिहरूको अभावमा विकसित राष्ट्रहरूले तीब्रगतिमा युवाहरू आयात गर्दैगर्दा हामी भने अझै पनि मालसामान जसरी माान्छेको निर्यात गर्दैछौं । अनि अस्थायी आम्दानीको स्रोत तिनै विप्रेषणबाट मुलुक चलाइरहेका छौं । अहिलेसम्म कुनै पनि राजनीतिक दल, नेतृत्व अनि योजनाविद् देखिएन जसले स्वदेशमै रोजगारीको खाका कोरेको होस् । अर्को प्रमुख समस्या भनेको नेपालको भ्रष्ट कर्मचारीतन्त्र हो, जसले स्वदेशमा बसेर कामगर्ने वातावरण नै बनाउन दिंदैन । चुस्त र दुरुस्त प्रणालीको घोर विरोधी हुन् यिनीहरू ।
नेपालमा पाइला पाइलामा पाइने सास्तीका कारण र विदेशको तिव्र गतिको विकास र सुविधाले पनि नेपाली युवाहरू विदेशतिरै लाग्न लालायित छन् । जसले गर्दा वेरोजगारीको समस्या उबेलादेखि अहिलेसम्म ज्यूँका त्यूँ छ । अरबमा कुनै पनि संगठन बनाएर त्यसको नेतृत्व गर्नु अपराध मानिन्छ, तपाईंले पनि मजदुरको हकको लागि लड्न खोज्दा त्यसको सजाय पाउनुभयो, अन्तर्राष्ट्रिय श्रम कानुन विकर्षित देशमा पनि लागू हुन नसक्नु कारण के लाग्छ ?
हो , तर म कार्यरत कम्पनीमा हज्जारौं विभिन्न मुलुकका मानिसहरू भएको र उक्त कम्पनी प्रशासनले नै त्यसको सहजीकरणका लागि प्रत्येक देशको प्रतिनिधि रूपमा सुरुमा एक एकजना छनौट गरिएको थियो । त्यसमा नेपालीहरूको तर्फबाट म थिएँ । पछि गएर कम्पनीले नै सम्झौता अनुरूप नियमित सुविधा दिन नसकेपछि विस्तारै त्यसैले आन्दोलन र नेतृत्वको स्वरूप लिन पुग्यो । विकसित मुलुकभन्दा पनि तानाशाही देशहरुमा अन्तर्राष्ट्रिय कानुन लागू गर्न अलिक कठिन भएको दृष्टान्त छ । खासगरी अरब मुलुकमा अन्तर्राष्ट्रिय श्रम कानुन अलिपछि मात्र क्रियाशिल रूपमा अगाडि बढेको हो ।
अब नयाँ कृति कुन विधामा आउँदै छ ?
आख्यान र गैर आख्यान । दुबै । सायद । तर, तत्काल योजना हैन ।
वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?
मैले अघिनै पनि भने प्रश्न नं ६ को उत्तरमा, वेरोजगारी बढ्नुको कारणको बारेमा । सर्वप्रथम तिनै समस्याहरूलाई निर्मुल पार्नु अनिवार्य छ । सहज वातावरण सँगसँगैै नेपालमा कलकारखाना र उद्योगधन्दा सहज रूपमा फस्टाउने छ । त्यसपछि सरकारले स्वदेशमा उत्पादित वस्तुलाई निर्वाध रूपमा निर्यातका लागि सहजीकरण गर्नु पर्दछ । यति गर्न सकेमा बेरोजगारीको न्युनीकरण हुने र देश विकासले समेत स्वतः सिंढी चढ्ने छ ।
अन्त्यमा, एउटा स्वतन्त्र प्रश्न यसमा तपाईंले मन लागेको उत्तर दिन सक्नुहुन्छ ?
‘श्रमाटन’ एउटा कालखण्डको दस्तावेज हो । कल्पनाभन्दा बाहिरको तीक्ष्ण पराख्यान । जसले आम पाठक र ‘श्रमाटन’मा जान बाध्य पिंढीहरूलाई निरन्तर सुःसूचित गराउनेछ । तत्कालिन परिवेश र परस्थानको मुहार प्रस्फुटित गरेको छ । यो पुस्तक जति पुरानो भयो त्यति नै इतिहास बन्दै जानेछ । आम पाठकहरूले पढेर दिनुभएको यस प्रकारको धारणाप्रति म आभारी छु । अन्तमाः मेरो भनाइहरूलाई सम्प्रेषण गर्ने अवसर दिनुभएकोमा सेतोमाटो टिमलाई धन्यवाद ।
प्रतिक्रिया
-
४
