✍️ मनु विद्रोही

नरेन्द्रकुमार नगरकोटी मूलतः कवि हुन् । उनी लेखन, सम्पादन, पुस्तक प्रकाशन र शिक्षण सिकाइका कार्यशालामा प्रशिक्षण जस्ता क्षेत्रमा सक्रिय छन् । स्कुले जीवनमै कविता, कथा लेखेर साहित्यमा प्रवेश गरेका नगरकोटी आफ्नो लेखनको स्रोत समाज, यात्रा, जीवनको निजी अनुभव, अग्रज र समकालीन साथीहरूको सङ्गत नै भएको बताउँछन्।

उनी कविता, गीत, गजल, शैक्षिक निबन्ध, संस्मरणात्मक लेख र बालसाहित्यमा कलम चलाउँछन्। हाल उनी कलम प्रकाशन, पाइला फाउण्डेसन नेपाल, बाल उदयमा आबद्ध छन् । ‘सन्नाटाको लय’ (२०७६) उनको पहिलो कवितासङ्ग्रह हो भने उनी बालसाहित्य र शैक्षिक साहित्यका पुस्तक प्रकाशनको तयारीमा छन् । सेतोमाटोका लागि नगरकोटीसँग मनु विद्रोहीले गरेको भलाकुसारीको अंशः

तपाईं आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

अचेल फुर्सदमा छु तर फुर्सदको समयमा केही न केही काम गरिरहेको हुन्छु । त्यसैले म व्यस्त छु । अचेल कोभिड महामारीका कारण उत्पन्न भएको सङ्कट न्यूनिकरण गर्ने र अवसरलाई परिणाममुखी बनाउने प्रयत्नमा छु ।

लेखन, सम्पादन, पुस्तक प्रकाशन, शिक्षक तालिम, कार्यशाला, बाल उदयको आगामी यात्राको तयारी, आफ्नै लेखन र नियमित अध्ययनमा नै लागिपरेको छु ।

तपाईँको विचारमा साहित्य के हो ?

साहित्य के हो भन्ने प्रश्न मलाई नसोधियोस् जस्तो लाग्छ जहिले पनि । अब प्रश्न सोधिसकिएपछि भन्नैपर्दा, एउटा कलात्मक अभिव्यक्ति साहित्य हुनसक्छ । मेरो निजी विचारको कुरा हो, साहित्य कुराकानी गरेजस्तो होइन।

भाव, विचार र कलाको संयोजन भएको सिर्जनात्मक अभिव्यक्ति नै साहित्य हो । साहित्य जीवनलाई प्रतिनिधित्व गर्ने जीवनका लागि रचिएको एउटा शाब्दिक जीवन हो ।

तपाईंको विचारमा पहिला असल पाठक बन्नु पर्छ कि कुशल पाठक, किन ?

पहिला त असल व्यक्ति हुनु जरुरी छ तर हामीले समाजबाट ग्रहण गरेका कमजोरीहरूलाई कसरी व्यवस्थापन गर्ने महत्वपूर्ण हुन्छ । किताब पढ्नु अत्यन्त सुन्दर कर्म हो । एक प्रकारको साधना हो, ध्यान हो ।

तपाईँलाई कस्ता–कस्ता पुस्तक पढ्न मनपर्छ ? पढेकामध्य तीन उत्कृष्ट पुस्तक तपाईँको नजरमा कुनकुन हुन् ?

सर्वप्रथम, जुन उमेर र समयमा मैले पुस्तक पढ्न पाउनुपर्थ्यो त्यतिबेला बञ्चित हुनुपरेको कुराले जहिले पनि घोच्छ । र, जब किताब पढ्नका लागि म आफैँ व्यवस्थापन गर्न सक्षम भएँ तब मसँग समय नहुने र पढ्नैपर्ने किताबको संख्या बढी हुने साथै उमेरका हिसाबले पहिल्यै पढिसक्नुपर्ने पुस्तकहरू पनि पढ्नुपर्ने भएकाले पढ्न समय नपुग्ने जस्ता असजिला भोग्नु परेको छ । त्यसैले, बाल्यकालमा पुस्तक पढ्ने अवसर सिर्जना गर्नुपर्छ भन्ने कुरा सबैमा अनुरोध गर्दै सकेको पहल गरिरहन चाहन्छु, गर्दै पनि छौँ ।

टप थ्री बनाउने, ¥याङ्क निकाल्ने जस्ता ज्ञानलाई प्रतिस्पर्धा गराउने काममा मेरो रुचि छैन । तर, मेरो रुचिको कार्यक्षेत्र बालबालिका र शिक्षा भएकाले पढ्नका लागि मैले सिफारिस गर्ने किताबहरूमा १. उडान, किशोर उपन्यास (विजय सापकोटा), २. दिवास्वप्न (गिजुभाइ), ३. तोत्तोचान (तेच्चुको कुरियानागी), ४. असफल स्कूल (जोन हल्ट)जस्ता किताब पर्छन् । त्यसो त किताब उमेर, रुचि र आवश्यकताका आधारमा छनौट गरिन्छ ।

सामाजिक सञ्जालमा चर्चाले उचाइमा पुगेको पुस्तक पढ्दा त्यत्तिकै उत्कृष्ट र स्तरीयता पाउनुभएको छ ?

सञ्जालमा जाल हुनसक्छ । सञ्जालमा पूर्णतः विश्वास गर्नु हुँदैन र गर्दिनँ पनि । किताबको चर्चा केका आधारमा हुन्छ त्यो सबैलाई थाहै हुनुपर्छ, जस्तो कि पहुँच, पद, पहल । पढ्दै नपढी किताबको बारेमा चर्चा गरेर पोष्ट गरिने कुरा कत्तिको उपयोगी र विश्वसनीय होला ।

किताब जस्तो भए पनि आआफ्नो पाठक त हुन्छन् नै । त्यसलाई भने म सम्मान गर्छु । तर यसअघि यस्तो कहिल्यै लेखिएन र अब कसैले यस्तो लेख्न सक्दैन जस्तो गरेर उचाल्नु भनेको समयक्रममा उसैलाई पछार्नु पनि हो भनेर शुभचिन्तकले बुझिदिनु पर्दछ ।

साहित्यलाई समाजको ऐना मानिन्छ, कस्ता कस्ता विषयमा जोड दिने हो भने समाज परिवर्तनको लागि सहयोग पुग्ला ?

समाजको अनुहार साहित्यमा आउन सक्छ तर ऐनाले जस्तै दुरुस्तै चाहिँ देखाउँदैन । केही सङ्केत, बिम्व र चरित्र उतार्छ । मानवीय मनमा स्पर्श गरेर अनूभुतिको तहमा मानिसलाई पु¥याउँछ । मनको उपचार गर्नसक्छ साहित्यले । आनन्द प्रदान गर्छ र सकारात्मक बन्न प्रेरित गर्छ । संवेदनशील भाव विकास गराउँन भूमिका निर्वाह गर्छ । कोमल भावको माग गर्छ । यसले नै परिवर्तनका लागि भूमिका खेल्छ होला ।

त्यस्तै, साहित्यले आवाज उराल्न प्रेरित गर्छ । मुठ्ठी कस्न र अधिकार प्राप्तिका लागि उठ्न आँट दिन्छ । मुक्ति र समानताका लागि अक्षरहरू जाग्छन् । अनि मानिसमा वागी चेतना अङ्कुराउँछ । यसले प्रगतिका लागि उठाउँछ । क्रान्ति यसरी पनि हुन्छ होला । जसरी समाज र व्यवस्था परिवर्तनमा साहित्यले अग्रणी भूमिका खेलेको इतिहास साक्षी छ ।

साहित्यमा दीगो विकासका लागि राज्यस्तरबाट कस्तो कदम चालिदिए राहत महसुस गर्न सकिएला ?

मेरो काम नेपाली साहित्यमा मन लगाउनु हो । म सरकारबाट केही कदम चालिए राहत महसुस हुन्छ भन्ने ठान्दिनँ । एक त विश्वास पनि लाग्दैन कि त्यस्तो कुनै कर्म हुन सकोस् । हामी स्वयम् निरन्तर लागिरहने हो । मैले बुझेको यत्ति हो ।

अब केही भन्नैपर्छ भने, चालिएका कदम इमान्दार हुनु जरुरी छ । निश्पक्ष हुनु अपरिहार्य छ । साहित्यिक प्रतिष्ठानहरूबाट धेरै काम हुनसक्छन् जसले नेपाली साहित्यलाई सर्लक्कै माथि उठाउन बल प्रदान गर्छ । बालबालिकालाई नेपाली भाषा साहित्यको क्षेत्रमा आकर्षण गर्नु गराउनु आवश्यक हुन्छ त्यसका लागि राज्य र निजीस्तरबाट धेरै सकारात्मक प्रयास हुनुपर्दछ ।

बालबालिकाले पढ्न छाडे । नेपाली साहित्यको पाठक घटे । नेपाली साहित्यका किताबको बिक्री कम भयो । मानिसहरूले भन्दै गरेका यी र यस्ता वाक्यहरू गलत साबित गर्नु हामी सबैको जिम्मेवारी हो ।

बाल उदय के हो ? बालबालिकाहरूको सर्वाङ्गीर्ण विकासका लागि साहित्यको कस्तो भुमिका रहन्छ ?

बाल उदय बालपत्रिका हो । बालबालिकाका लागि नेपाली भाषामा तयार पारिएको अध्ययन सामग्री हो । हाल यसको मोबाइल एप्लिकेसन उपलब्ध छ । डाउनलोड गरेर अनुभव गर्नुहोस् र सुझाव लेख्नुहोस् baal.uday@gmali.com मा ।

मैले आफ्नै अनुभवबाट पनि सिकेको कुरा के हो भने बाल्यकाल किताब पढ्ने उमेर हो । गर्भमै रहँदादेखि नै कथा, कविता सुनाउने अभ्यासले बाल विकासमा टेवा पुगेको विभिन्न अध्ययनबाट प्रष्ट भइसकेको छ भने हामी चाहिँ बालबालिकालाई कोर्सबुक मात्र थमाइरहेका छौँ । किताब पढ्न उमेर पुगेको छैन भनेर पन्छाउने तर स्वास्थ्यलाई नकारात्मक असर पुग्ने खानेकुरा र खेलौनामा चाहिँ हामी लगानी गरिरहेको हुन्छौँ ।

माया गर्ने नाउँमा हामी दुःख दिइरहेका छौँ जुन हामीलाई थाहै भइराखेको हुँदैन । यसर्थ, किताब किनिदिने, किताब उपहार दिने, किताब पसलमा सँगै लैजाने, किताब पढेर सुनाउने, किताबबारे कुराकानी गर्ने, घरमा किताबलाई मूल्य दिने, उनीहरूसँगै पढ्ने जस्ता काम गरेर केटाकेटीलाई माया गरौँ भन्न चाहन्छु ।

तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?

मन, वचन र कर्म मिल्ने सबैसँग अनुरोध, आउनुहोस् मिलेर केही गरौँ । इमेल गर्नुहोस्, nakun.aastha@gmali.com

प्रतिक्रिया

सम्बन्धित खवर