✍️ जनक कार्की
कथाकार केशवराज ज्ञवाली पेशाले सिभिल इन्जिनियर हुन् । गुल्मीमा जन्मिएका ज्ञवाली हाल अमोरिकामा छन् । कथा, कविता र संस्मरणमा कलम चलाउने उनको सम्पादनमा १७ इन्जिनियरहरूको संस्मरण सङ्ग्रह ‘आँगन छोडेपछि’ प्रकाशित भएको छ भने संयुक्त रूपमा कथा र कविता सङ्गहहरू प्रकाशित भएका छन् । उनको कथा सङ्गह ‘अर्को भोर’मा आधारित रहेर सेतोमाटो डटकमका लागि जनक कार्कीले गरेको कुराकानीको सारांश यस्तो छः
अमेरिकाको व्यस्त जीवनको केही अमूल्य समय चोरेर नेपाली साहित्यलाई प्रेम दर्साउनु भएको छ, नेपाली साहित्यसँग तपाईंको प्रेम कहिले देखिको हो ?
मैले कविता लेख्ने कोसिस गरेको कक्षा ४ पढ्दा देखि नै हो। कथाप्रतिको रुझान भने अलिपछि , १२ कक्षा पछि मात्रै हो।
जब मानिस आफ्नो देशबाट टाढा हुन्छ, त्यतिबेला उसले सबैभन्दा धेरै आफ्नो भाषालाई मिस गरिरहेको हुन्छ । भनिन्छ नि मर्मको कुरा भन्न गर्भको भाषा चाहिन्छ भनेर, के तपाईंको यहि भाषाप्रतिको छटपटाहटले साहित्य सिर्जनामा लाग्नु भएको हो ?
साहित्य प्रतिको लगाब त निकै पुरानो हो। केहि फुटकर लेखन नेपालमै हुदा पनि भैरहेकै थियो । पुस्तककै रुपमा बाहिर आएको अमेरिका आएपछि मात्रै हो। यता आउदा एकदम धेरै मिस हुने कुरा मध्ये भाषा पनि एउटा हो। तर भाषाप्रतिको प्रेममात्रै सिर्जनाको प्रेरणा होईन। यसमा अवचेतन मनबाट उठ्ने कथा भन्ने चाहना अझ बढी हो कि जस्तो लाग्छ।
अब तपाईं पछिको पुस्ता जो नेपाल बाहिर बस्छन् उनीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिलाई बिस्तारै बिर्सदै जाने संभावना बढेको छ, यसको लागि तपाईं जस्तै सर्जकले आफ्नो साहित्यबाट के कस्तो पहल गर्नुपर्ने देख्नुभएको छ ?
तपाईले भनेको कुरामा निकै सत्यता छ भन्ने लाग्छ। लामो समय नेपाल बाहिर बसेका र बाहिर जन्मेकाहरूमा नेपाली भाषा प्रतिको लगाव र जानकारी कम हुदै जानु स्वाभाविक प्रक्रिया जस्तो पनि देखिन्छ। यदि यो क्रमलाई कम गर्ने हो वा ढिला गर्न खोज्ने हो भने, बिदेशमा बसेका नेपालीहरूले आ आफ्नो ठाउमा नेपाली भाषा लेख्ने , पढ्ने र पुस्तान्तरण गर्ने कोसिस गरिरहनु पर्छ जस्तो लाग्छ। साहित्यकार / वा सर्जकहरुले पनि गर्न सक्ने एउटा कुरा त्यो पनि हो।
`अर्को भोर´ कथा सङ्ग्रहमा कस्ता खालका कथा समेटिएका छन र यो कथाले पाठकमा के कुराको महशुस गराउँला ?
अर्को भोर मुलत नेपाली अमेरिकी भोगाईका कथाहरू हुन्। यो कथा संग्रह भित्र रहेका १४ वटा कथा मध्ये , झन्डै १० वटा नेपाली अमेरिकी भोगाईकै वरिपरि बुनिएका छन्। केहि कथाहरु पूर्णरुपले नेपालीकै परिवेशमा बुनिएका पनि छन्। यो कथामा अमेरिकी समाजका केहि अप्ठेरा पाटाहरू र नेपालकै पनि मूलधार देखि ईतरका पात्रहरुको कथाहरु छन्।
तपाईंको विचारमा कथा के हो, कथामा शिल्प र कलाको के महत्व छ र कथा हुनको लागि कम्तिमा के कस्तो तत्व चाहिन्छ ?
कथा भनेको मूलत: भन्ने कुरा वा कथ्ने कुरा हो। हाम्रो दैनिक जीवनमा पनि कहिलेकाही हामीले वा अरुले बुझ्यौ आज यस्तो भयो , वा म एकपटक फलाना ठाउमा जादा यस्तो भयो। यस्तो ठुलो संकट परको थियो, यसरी टारे वा यस्तै अनेकानेक प्रसंग सुनिरहेका वा सुनाईरहेका हुन्छौ। सामाजिक वा यथार्थवादी कथाको गुदी त्यति नै हो जस्तो लाग्छ। यसबाहेक कल्पना वा स्वैर कल्पना , अत्यन्तै प्राचिन वा सुदुर भविष्यका कुरा पनि कथामा आउन सक्छन्। भन्ने कुरा भएपछि , त्यो कुरालाई कसरि भन्ने , त्यतिबेला शिल्प र कलाको कुरा आउछ। शिल्प नपुग्दा राम्रा कथ्यहरु पनि सुन्न लायक नहुन सक्छन्। वा शिल्पको कमीले भन्न खोजेको कुरा पाठक वा श्रोतासम्म नपुग्न सक्छ।
तपाईंलाई मनपर्ने पाँचवटा नेपाली कथाका पुस्तक ?
नासो , रमेश विकलका कथाहरु , श्वेत भैरवी ( बिपीका सबै ), झोला , बिचारको लाश , अरु पनि धेरै छन्। पाचवटा मात्रै भन्दा छुटाएकाहरुको सुची झन् लामो भयो।
तपाईंलाई मनपर्ने पाँचजना नेपाली कथाकार ?
– भवानी भिक्षु
–बिपी कोइराला
– पारिजात
– रमेश विकल
–ध्रुब सापकोटा
( फेरी पनि धेरैलाई छोडे जस्तो कि नारायण ढकाल र अरु कयौ )
तपाईंको विचारमा एउटा साहित्यकारलाई बचाइराख्न उसले के कस्तो कुरामा ध्यन दिनपर्छ ?
बैचारिक सुस्पस्टता , निरन्तरको अध्ययन , आफ्नो वरिपरिको समाज बुझ्ने चाहना र समबेदनाले लेखक मनलाई जोगाईरहन्छ जस्तो लाग्छ। प्रशंशाको तिब्र चाहना वा आलोचना प्रतिको अससहिष्णुताले पनि लेखकलाई हानी गर्छ भन्ने लाग्छ।
लेख्नु कसैका लागि लत हुनसक्छ, कसैका लागि अस्तित्वको खोज हुनसक्छ, कसैका लागि परिचय र आफ्नो उपस्तिथि हुनसक्छ, वास्तवमा तपाईं किन लेख्नुहुन्छ ?
यो प्रश्नको उत्तर चेतनाको विभिन्न तहमा उभिएर दिन सकिन्छ होला। सुरु सुरुमा कोहिजस्तो बन्ने वा अरुको ध्यान आफूतिर तान्न पनि लेखिन्छ होला। बिस्तारै कुनै कथा भन्ने तिब्र इक्षा हुन् सक्छ। यस्ता धेरै चरणहरु पार गरेपछि, अचेल आफैलाई चिन्ने कोसिशमा पनि लेखिरहेको हुन्छु जस्तो लाग्छ। तर यसको उत्त्तर विभिन्न मुडमा फरक फरक पनि आउन सक्ला।
तपाईं कथा कसरी टिप्नुहुन्छ र त्यसलाई पूर्णता दिँदासम्मको यात्रा कस्तो रहन्छ ?
कहिले कुनै घटना बिशेषले वा कुनै बिचारले प्रभाव पर्छ। आफुलाई छोएका बिषयमा , आफ्नो सिर्जनात्मक क्षमताले भ्याएसम्मको अभिव्यक्ति दिने क्रममा कल्पना , प्लट , पत्र जोडिदै आउछन। एकपटक लेखे पछि , फेरी लेख्ने / सम्पादन गर्ने / पुनर्लेखन गर्ने कुरा त भैहाल्छ।
प्रतिक्रिया
-
४
