
✍️ जनक कार्की
कवि, लेखक, गीतकार, अनुवादक, कलाकार र चित्रकार हुन् राजा पुनियनी । उनको पहिलो शृङ्खला कविता सङ्ग्रह ‘अर्को लस्कर’ प्रकाशित छ । उनको पर्यावरण कविता ‘टेल अफ अ नम्ब प्लानेट’ जलवायु परिवर्तनको सन्दर्भ सामाग्रीको रूपमा डेनमार्कको कोपेनह्यागेन बिजनेस स्कूलमा समावेश गरिएको छ ।
उनले केही नेपाली र अङ्ग्रेजी दैनिकमा काम गरिसकेका छन् । उनका लेखहरू नेपाल र भारतका विभिन्न पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । उनले अन्तर्राष्ट्रिय साहित्य महोत्सव ‘साङ्ग्रिला दार्जिलिङ साहित्य महोत्सव सिलगढी – २०१९मा संयोजकको भूमिका निभाएका थिएँ । उनी अनलाइन पोर्टल पब्लिकनामा का सम्पादक पनि हुन् । उनले ‘मल्टिमिडिया पोएट्री’द्वारा भ्युजयल कविता प्रस्तुतिको नयाँ शैलीको पनि सुरुवात गर्ने श्रेय ओगटेका छन् ।
उनी दार्जीलिङको सुकुनामा कर्म गर्छन्। उनको दोस्रो कविता सङ्ग्रह तङसिङ (इको पोएट्री) सम्भवत अर्को महिना लोकार्पण हुँदै छ। उक्त सङ्ग्रहलाई भारतको सम्बोधन प्रकाशन गृहले प्रकाशित गर्दैछ भने ‘तङसिङ’को नेपाल वितरक बुकहिल रहेको छ। आजको पुस्तक वार्तामा सेतोमाटो डटकमका लागि जनक कार्कीले कवि राजासँग उनको आउन लागेको कविता सङ्ग्रहमा केन्द्रित भएर जलवायु परिवर्तन र कविताका बारेमा कुराकानी गरेका छन् । प्रस्तुत छ पुस्तक वार्ता :
कवि समाजको जिम्मेवार व्यक्ति हो, समयमा पानी नपर्दा, खेतीबाली भनेजस्तो नहुँदा सबैभन्दा ठूलो असर माटोमा मिहिनेत गर्नेलाई नै पर्छ । वातावरण बिग्रँदा सबैभन्दा ठूलो असर विपन्न वर्गलाई नै पर्दछ । तपाईंको आउन लागेको इको-कविता सङ्ग्रह ‘तङसिङ’-मा ती सिमान्तीकृतका जीवनमा जलवायु परिवर्तनले ल्याउने असरमा केन्द्रित भएर कत्तिको कविता कोर्नुभएको छ ?
भूगोलको कुनै पनि चपरीमा समाजको सबैभन्दा उपेक्षित, उत्पीड़ित तब्कामा सबैभन्दा अघिल्लो दस्तामा पर्छन् : आदिवासी, वनवासी, शरणार्थी, अनाथ बालक-बालिका, किसान, मछुवा, हस्तशिल्पकार, नारी । यी सिमान्तीकृत मानिस नै जलवायु परिवर्तनको पहिलो भिक्टिम हुने गर्छन् । त्यसपछि त्यो प्रभाव सिटी हुँदै मेट्रोपोलिटन सिटीतिर सर्छ, अवश्यै ।
अर्कोतिर, फ्याक्ट के पनि हो भने मासिभ स्केल-को प्राकृतिक आपदा वा जलवायु परिवर्तनले समाजको सुरक्षित र असुरक्षित दुवै तब्कालाई नै एकैचोटि सोहोरिदिने हो । सुनामी, अतिवृष्टि, बाढ़ी, खड़ेरी यसका उदाहरण हुन् ।
‘तङसिङ’-मा यस्तै मासिभ स्केलको प्राकृतिक विनाशको प्रभावको व्यापक प्रतिफलको जेनेरलाइज्ड अवस्थातिर सङ्केत भएको छ । तरै पनि यी किनारीकृत मानिसहरूको पक्ष बढ़ी लिइएका कविता धेरै छन् ।
सिक्किम-दार्जीलिङको ऐतिहासिक धरोहर नदी टिस्टा । यसले यस भेगको सिङ्गै कथा बोकेको छ । अहिले यो नदी आधुनिक मानव विकासको शोषणको पर्याय भएर रहेको छ । आम मानिसले दशकौँ कष्ट भोगिरहेका छन् टिस्टामा चलिरहेको जल विद्युत परियोजनाको कारण । नेपालमा कालीगण्डकी संरक्षण आन्दोलन आर के अदीप्त गिरीहरूले थालिसकेका छन् । यता टिस्टा बाँध परियोजना रोक्न उत्तर सिक्किममा लाप्चे दाजुदिदीहरू बाटो छेकेर बसेका बसेकै । यता टिस्टाको पीड़ा र उता कालीगण्डकीको पीड़ा । लगभग एउटै एउटै। नदीसँग जोड़िएर बाँचिरहेका आम मानिस यस्ता भौतिक विकासका नाममा हुने सत्ता प्रायोजित कर्पोरेट चलखेलको पहिलो सोझो शिकार हुने गर्छन् । उनीहरूको उहापोह ‘तङसिङ’-मा टिप्ने कोशिश अवश्यै छ ।
माधव प्रसाद घिमिरेले लेखे, “लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमालचुलीमुन्तिर पानी भर्ने पँधेरो” । यस कवितामा जसरी प्रकृतिको महिमा कहिएको छ, अब हाम्रा पुस्ताले पाखा पखेरो नाङ्गै देख्न थालेका छन्, हिमालका हिउँ पग्लिएर पत्थरमात्र देखिन थालेका छन् अनि पँधेराका पानी सुक्न थालेका छन् । यस्तै अवस्था रह्यो भने यो कविताका शब्द किंवदन्ती बन्न सक्ने सम्भावना छ । हिजो प्रकृतिलाई लिएर जस्तो कविता लेखियो आज हाम्रो समयमा पर्यावरण बचाऔँ भन्ने कविता लेखिँदै छ। भोलिको आउने पुस्ताले पर्यावरण सम्बन्धी कस्तो कविता लेख्नु पर्ला, केही सोच्नुभएको छ यसबारेमा ?
स्थिति त आज नै भयावह छ । भोलिबारे अड़कल काटिहाल्नु गाह्रो । साँच्चै अड़कल काटिहेर्दा आङै सिरिङ्ग हुने । तै भोलिको पुस्ताले कविता हामीले जस्तो नलेख्ने त पक्का छ । भोलिपर्सि-कानाकोर्सि-निकोर्सी । उनीहरूको आफ्नै अभिव्यक्ति-भाषा हुने हो । त्यो भाषा उनीहरू बाँचेको जटिल परिस्थितिले निर्माण गर्नेवाला छ । कविताकै कायापलट हुने समेत निश्चित छ ।
माधवप्रसाद घिमिरे, लेखनाथ पौड्यालहरूदेखि अविनाश श्रेष्ठ, मनप्रसाद सुब्बा, सरुभक्तहरूसम्म आइपुग्दा फरक समयमा एउटै विषय प्रकृतिमाथि लेखिएका कविता एउटै होइनन् ।
त्यतिबेला प्रकृतिमा मानवीय पूँजीवादी हस्तक्षेप उस्तो थिएन, जस्तो आज छ । इन्डस्ट्री अन्धो भएर हाँकिएको थिएन । प्रकृतिमा सदा परिवर्तन त हुन्छ । आफ्नै अर्ग्यानिक चालमा । यो सामान्य निश्चित परिवर्तनमा पनि अप्राकृतिक कारणले थपिने परिवर्तनलाई डेभिएसन वा विचलन भन्छौँ । प्रकृतिमा उबेला उस्तो साह्रो विचलन भइसकेको थिएन । प्रदूषणै थिएन । आज प्रदूषण पूर्वानुमानभन्दा बढ़ी उकासिएर गएको छ । भोलिका कवितामा भोलिका कविले गर्ने सृजनात्मक हस्तक्षेप अझ बोल्ड भएर जानेछ यसैले । रूपान्तरित कवितामार्फत् ।
एउटा अर्को एक्सट्रिमको कुरा : भोलि पनि मानवीय हस्तक्षेप यस्तै रह्यो र कथित विकासको चक्कामा ब्रेक लागेन भने प्रदूषण नै ‘मासिएर’ जानेछ । किनभने प्रदूषण गराउनलाई पनि मान्छेकै चलखेल चाहिने हो नि त । वनस्पति र जानवरले प्रदूषण गराउने होइनन् ।
एउटा प्रश्न जनकलाई नै अब : आखिर मानव समाजै नरहे कस्तो प्रदूषण ?
तपाईंको कविता सङ्ग्रहको नाम `तङसिङ´ सुन्दा युनिक लाग्छ । मलाई पनि यसको अर्थ खोज्न मन लाग्यो । तपाईंले उपलब्ध गराउनु भएको सामग्रीबाट क्लियर भएँ । मुन्धुमलाई नियमपूर्वक वाचन गरिने अनुष्ठान समष्टिलाई तङसिङ भनिने रहेछ । यसमा विशेष गरी विश्व ब्रह्माण्डको उत्पत्तिको कथा, मान्छेको सृष्टिको कथा, वनजङ्गल, खोलानाला, चराचुरूङ्गी, जानवरलगायत प्रकृतिको वर्णन, पुर्खाको स्मरण, मान्छेको विकाससँगै लोकाचार, पापाचार, दुराचार, लोभ, छलकपट, आँखीडाही, धर्म-अधर्म, नर्क, परिवार-समाजको कल्याणको आख्यान गाइन्छ । तपाईंको कवितामा मुन्धुम मिथकीय विम्ब कतिको प्रयोग भएका छन् र ‘तङसिङ’ नै सङ्ग्रहको नाम जुराउनुको खास कारण के हो ? साथसाथै ‘तङसिङ’-बारे अरु केही व्याख्या गर्न चाहनुहुन्छ कि ?
यसै पनि लोकजीवन, आदिवासी जीवनले नजानिँदो पाराले अघिदेखि नै तान्ने गरेको हो मलाई । एउटा विषय कलेजमा पढ़ाउनु पर्ने भयो – एसेन्सियल्स अफ इन्डियन नलेज ट्र्याडिसन । आदिवासी पारम्परिक (इन्डिजिनियस) ज्ञानको छुटपुट खोजखाजको मौका पाएँजस्तो । इन्लाइटन भएको हल्का अनुभव भएझैँ ।
केही सालअघि गान्तोकका मामाको घरुवा लाइब्रेरीबाट वैरागी काइँला सम्पादित ‘तङसिङ-तक्मा-मुन्धुम’, किन हो कुन्नि, मागेर ल्याएको थिएँ । त्यो फेरि दोहोराइ-तेहेराइ पल्टाएँ । लिम्बू भाषाज्ञान नभए पनि नेपाली अनुवाद र पाठ छिचोल्ने सङ्घर्ष गरिरहेँ ।
सानैदेखि चिन्तामा फेदाङ्माले फलाकेको सुनेको त संसारकै उत्कृष्ट ‘फोक-न्यारेटिभ’ पो रहेछ भन्ने अनुभूति भयो । मुन्धुमको प्रकृति-दर्शनले चुम्बकलेझैँ खिँच्यो । यसै पनि हरेक ट्राइबल दर्शन इको-कन्सियसनेसकै नाभिबाट पैदा भएको हुने रहेछ । मुन्धुममा मैले त्यही पाएँ । मैले खोजिरहेको इको-कविताको प्रतीक तङसिङमा पाएँजस्तो लाग्यो । ठानेँ – किताबको नाम ‘तङसिङ’ राखुँ ।
‘तङसिङ’ यस कविता किताबको मिथकीय प्रतीक हो । किताबमा भएका कविताहरूमा यदाकदा मुन्धुमका मिथकीय विम्ब प्रयुक्त भए पनि समग्रमा लिम्बू मिथको प्रयोग साङ्केतिक रूपबाहेक कथात्मक रूपमा छैन भन्दा हुन्छ । ‘तङसिङ’ नै सङ्ग्रहको नाम जुराउनुको आंशिक व्याख्या त यहाँको प्रश्नमै पनि आइहालेको छ ।
तपाईंको पहिलो कृति शृङ्खला कविता सङ्ग्रह `अर्को लश्कर´ प्रकाशित छ । तपाईंका कविताहरू सिमान्तीकृतको आवाज बोकेर हस्तक्षेपी साहित्यिक धारामा उभिएका छन् । तपाईं कहिले र्याप शैलीमा म्युजिकल कविता पनि बनाउनुहुन्छ । वाचनमा पर्फर्मिङ आर्ट झल्किरहेको हुन्छ । यसपालि विश्वकै चिन्ता भएको विषय पर्यावरण सम्बन्धी कविता सङ्ग्रह लिएर आउनु भएको छ । तपाईं केही फरक गर्ने सर्जकमा पर्नुहुन्छ । पर्यावरण सम्बन्धी कविता सङ्ग्रह निकाल्ने सोच कसरी पलायो? साथमा पर्यावरणमा देखिएका परिवर्तन के कति महसुस गर्नुभएको छ ?
पर्यावरण सम्बन्धी कविता सङ्ग्रह निकाल्ने सोच कसरी पलायो ? म आफै पनि सोच्दैथिएँ जब ‘तङसिङ’-को ले-आउटको काम सम्बोधन प्रकाशनका मित्र-भाइ सूरज गुरुङ स्वयंले गरिरहेका थिए ।
‘अर्को लश्कर’ निस्किएपछि नौ साल म हाइबर्नेसनमा गएछु । किताब निकाल्नु पर्छ-को हतारो थिएन । जाँगरै नचल्ने । मोटिभेसन ओइलाउने । “योपालि लु गरौँ है किताब” भन्ने मित्रसल्लाहहरू हुँदै गर्दा दार्जीलिङ जिल्ला पुस्तकालय अधिकारी मित्र अमृत सुब्बाले मेरो हैंसेमा होस्टे थपे। लगानीकर्ताको खोजी अमृतमा गएर टुङ्गियो ।
तर मेरो योजना अचम्मले फेरिएको थियो । कम्प्युटरका ड्राइभहरूमा छरिएर बेसका फाइलहरूबाट सम्भावित पाण्डुलिपिहरू ठोकठाक जोड़जाड़ पार्दै थिएँ । पहिला एउटा शृङ्खला कविता निकाल्ने निधो गरेको थिएँ। तर घटनाले अर्कै मोड़ लियो । अचानक दशैँमा महावृष्टि भयो । महापैह्रोहरू आए । टिस्टा नदी हाइवेमै बग्न थाल्यो । मैले सम्झिएँ निक्कै सालअघि इकोमल डट कम-मा प्रकाशित मेरो अङ्ग्रेजी कविता ‘टेल अफ अ नम्ब प्लानेट’ । केही सालअघि ‘कान्तिपुर’-मा प्रकाशित ‘4D कविता’ । र अरू पनि कविता ।
दशैँको अतिबर्खामा उपन्यासकार-कवि लेखनाथ छेत्रीको बस्तीमा भएको घरको डिल ताछिएर लड़्नै लागेको खबरले डिस्टर्ब गर्यो। अनि लेखेँ – ‘अब घरमात्र छ टक्रक्क’। खोतल्दै जाँदा केही सालदेखि अन्जान अवचेतनको इलाकाबाट स्वत:स्फूर्त -यान्डम लेखिएका इको-कविताहरू (इको-कविता नै हुन् कि होइनन् – समालोचकले भन्ने हुन्) फेला पारेँ। यसरी एक दिन ‘तङसिङ’ नै पहिले निकाल्ने फसेला गरेँ। पर्यावरणमा देखिएका परिवर्तनबारे किताबका प्राय: सबै कवितामा जिकिर छ।
दार्जीलिङ पाहाडकी रानी भनेर चिनिन्छ । त्यसै पनि त्यहाँको वातावरण सधैँ हाँसिरहेको हुन्छ । दार्जीलिङलाई जलवायु परिवर्तनले कतिको स्पर्श गरेको छ ? तपाईंले बालापनमा देखेको दार्जीलिङ र अहिलेको दार्जीलिङमा वातावरणको हिसाबले के के फरक पाउनुहुन्छ ?
उहिलेको दार्जीलिङ र अहिलेको दार्जीलिङमा वातावरणको हिसाबले निक्कै फरक आएको छ। दार्जीलिङको तापमान विगत एक सय सालको अन्तरालमा एक डिग्री सेल्सियस बढ़िसकेको आधिकारिक रिपोर्ट छ । ग्लोबल वार्मिङको प्रभावले निचोरेको छ । वर्षाको प्याटर्न फ्लक्चुएट भएको छ ।
लामो टाइमलाइनमा हेर्नु हो भने दार्जीलिङे शिला नवजात पाललिक शिला हो । मेगा विद्युत प्रकल्पहरू नगरिनु पर्ने हो, गरिए पनि माइक्रो ड्याम्सको याजना लागू गरिनु पर्ने । इको फ्रेन्ड्ली विकासको मोडलमा राज्यसत्ता र स्थानीय दोगापाप-जीटीए प्रशासनले मिलेर ठूलो ब्लन्डर गरिरहेका छन् । इको फ्रेन्ड्ली टुरिजमको सट्टा अन्धा टुरिजम मोडल छ । यो मुद्दाको विस्तृत वृत्तचित्रीय प्रस्तुति ‘तङसिङ’-भित्रको ‘अब घरमात्र छ टक्रक्क’-मा राखेको छु । यो कविता कवितै भएन भन्ने कन्ट्रोभर्सी पनि आउन सक्ला ।
यतिबेला पृथ्वी आइसियुमा छ । ज्वरो आएको छ । ग्लोबल वार्मिङको चेतावनी जीवित छ । मान्छे आफूमात्र जिउने अभिलाषाले प्रकृतिलाई प्रहार गरिरहेको छ । प्रकृतिले पनि बेलाबेला भयंकर रूप देखाएर चेतावनी दिन नखोजेको पनि होइन तर मान्छेले मनन गर्न सकेका छैनन् । तपाईंका कवितामा पर्यावरण महत्त्व र आवश्यकतालाई बोध गराउने कविता कत्तिको लेखिएको छ ?
स्त्री, दलित, किनारा, वर्ग, कुअर-जस्तै पर्यावरण पनि एउटा ज्वलन्त मुद्दा हो । मुद्दा आधारित कविताको काम गर्नुमा एउटा ठूलो चुनौति हुन्छ – कवितामा कविता कम र नारा बढ़ी त हुने होइन? मेरो पहिलो किताब ‘अर्को लश्कर’-ले पनि पटक-पटक यही कन्ट्रोभर्सीको सामना गर्न परेको हो । ‘तङसिङ’-का कविताहरूले कलापक्षलाई नमारी ‘पर्यावरण महत्त्व र आवश्यकतालाई बोध गराउने कविता’ हुने कोशिश गरेका होलान् । तरै पनि ‘तङसिङ’-का केही कविता चुके होलान्। यस्तो चुक भएको खण्डमा त्यसको जिम्मेवारी म मेरो शिरमा लिँदछु।
रुख काटेर बनाएको कागजमा, वनस्पति मासेर बनाएको मसीले हरियो वनको कविता लेखेको कत्तिको अनुभूति हुन्छ तपाईंलाई ?
गिल्टी फील हुन्छ नि यार!
यो सवाल सवाल होइन, महासवाल हो। सन्तुष्टिजनक उत्तर जनकलाई दिन सक्तिनँ भन्ने थाहा छ ।
तैपनि यति भनिहालुँ : यो एथिकल अड़ानको कुरा पनि हो । जीवन गुजार्न मान्छेले चलाउने बहुलांश प्रकृतिको थोक प्रकृतिको यावत संसाधन प्रयोग गरेरै ल्याएको हुन्छ । खानेपानीदेखि भात, भातदेखि लुगा, लुगादेखि मासु, मासुदेखि टुथपेस्ट, टुथपेस्टदेखि मोबाइल, मोबाइलदेखि जुत्ता, जुत्तादेखि काठ, काठदेखि दबाइ – सबैथोक बनाउन प्रकृतिबाटै संसाधन लिइने (प्रयोग गरिने) हो । तर सवाल ‘कति लिइने हो ‘ र ‘कहाँबाट कसरी लिइएको हो’ भन्ने पनि त छ।
हेर्नुहोस् जनक, प्रकृतिबाट केही नचलाई जनक, यो अन्तर्वार्ता पढ़िरहनु भएको पाठक र राजा – कसैको पनि अस्तित्व सम्भव छैन । र जब प्रकृतिको केही थोक चलाउँछौँ नि, त्यसपछि हामीले प्रकृतिलाई केही फर्काउँछौँ कि फर्काउँदैनौँ क्षतिपूरणस्वरूप – यो पनि अर्को टड़कारो सवाल हो। जनवर र वनस्पतिले फर्काउँछ, मान्छेले फर्काउँदैन। उसले रिजेनेरेट गर्दैन। तर मानवले कम से कम संसाधन चलाएपछि सन्तुलनमा चलाउन सक्नुपर्छ भन्ने दर्शन संसारको कुनै पनि ट्राइबको फिलोसफी हो। बुद्धको ‘सरलवाद’-को गुदीमा यही दर्शनको छाया छ। सुफी-दर्शन, रस्ताफेरियन-कल्ट, बाउल-कल्ट, गाइने-कल्ट यस्तै जीवन-दर्शनको सांस्कृतिक प्रस्फुटन हुन्। इएफ सुमेकरले प्रतिपादित गरेको इन्टरमिडिएट टेक्नोलोजी-को कन्सेप्ट यही मिनिमलिजमको द्योतक हो।
कसरी पूँजीवादले मानिसले चाहिनेभन्दा बढ़ी शोषण गरेको छ र कसरी यो सिङ्गो मानव जातिकै लागि जोखिम हुन गएको छ? पूँजीको सबैभन्दा आधिकारिक चारित्रिक पोस्टमोर्टम गर्न सेकेका हुन् कार्ल मार्क्सले। मार्क्सिस्ट इकोलोजीको दर्शनमा यही डाइलेक्टिक्सको चर्चा पाए पछिल्ला समयका समकालीन दार्शनिकहरूले। वर्तमान समयका सबैभन्दा अब्बल दार्शनिकद्वय अमेरिकाका नोम चम्स्की र स्लोभेनियाका स्लाभोज जिजेक यही अवधारणाका लागि पनि चिनिएका हुन् ।
इकोलोजी क्राइसिसमाथिको पहिलो सचेत व्यक्तिगत पहल हो सन् १९६८-मा स्थापित ‘क्लब अफ रोम’ । दुइ व्यक्तिले थालेको संस्थाको सदस्य आज ३५ -वटा देशहरू भएका छन् । सन् १९७२-को रिपोर्टमा मानवीय हस्तक्षेपले पृथ्वी चाँड़ो-चाँड़ो विनाशतिर धकेलिरहेको डेटा दियो । सन् २०५०-देखि स्थिति गम्भीर हुँदै गएर सन् २१००-मा लगभग मानवीय अस्तित्व नै नामेट हुने चेतावनी छ ‘क्लब अफ रोम’-को चारवर्षे अध्ययनको रिपोर्ट ‘लिमिट्स टु ग्रोथ’-मा ।
मानवले प्रकृति नचलाई त अस्तित्वमा रहनै सक्तैन । तर चलाउँदा चाहिएको जति चलाउने हो, अति बढ़ी चलाउँदा पारिस्थिकी सन्तुलन भत्किने हो। जुन अहिले भइरहेको छ। ‘तङसिङ’-को एउटा कविता ‘हङ्ग्रायोले निलेको पाङ्ग्रा’-ले यही दर्शनको पैरवी गरेको छ।
विज्ञहरूले भनेका छन, “यो पृथ्वीलाई मानव नभए केही फरक पर्दैन तर, यदि भाइरस भएन भने असर पर्छ ।” हामी मानवहरू आज आफू मात्र जिउने अकाँक्षामा प्रकृतिको विनाश गर्दैछौँ । यो समयमा कोरोनाले मान्छे मारिरहेको छ, वैज्ञानिकले कोरोनालाई मार्ने भ्याक्सिन बनाउँदै छन् । के भाइरसहरू पनि यो पृथ्वीमा बाँच्न पाउन पर्ने होइनन् र ? किन उनीहरूलाई दुश्मन सम्झिरहेका छन् मानिस ?
भाइरस शब्दोत्पत्तिमा जानु हो भने ग्रीक भाषामा यसको अर्थ विष हो । विष नै पनि तर होइन भाइरस। यो जीवित पनि हो, अजीवित पनि । भाइरोलोजी र माइक्रोबायोलोजीले भर्खर-भर्खरै मात्र यसबारे अलि-अलि जान्न सकिरहेको हो । मेडिकल साइन्सले पूरै नजानिहालेको विषयमा एक भाइरस पनि हो ।
भाइरस उत्पत्तिबारे परस्पर विरोधी मान्यताहरू छन् । परापूर्वकालदेखि विद्यमान फ्री सिङ्गल सेल अर्ग्यानिजमबाट भाइरसको गमन मानवमा भएको सिद्धान्त प्रायले मानेका छन् । कतिपय भाइरससँगै मानव समाजले जिउने क्षमता विकसित गरिसकेको हो – जस्तै फ्लु । कोरोना भाइरस हराइहाल्दैन र यो फ्लुजस्तै भएर जानेछ भन्ने एउटा विज्ञान पेपर मैले केही दिनअघि पढ़ेँको थिएँ ।
अब आयो कुरा भ्याक्सिनको । जनावर वा मान्छे मारेकोजस्तो भ्याक्सिनले भाइरसलाई ‘मार्ने’ होइन । भाइरसकै स्याम्पल हुलेर ‘टी’ मेमोरी सेललाई त्यो भाइरससँग चिनापर्ची गराइदिँदछ भ्याक्सिनले । भविष्यमा सोही भाइरसको सङ्क्रमण भएछ भने टी सेलले शरीरको इम्युन सिस्टमलाई सचेत गराइदिने गर्छ । अनि शरीरको एन्टीबडी सचेत बनी भाइरससँग लड़्दछ । यसरी भ्याक्सिनले शरीरलाई भाइरस नियन्त्रण गर्न मद्दत गर्नेमात्र हो । यसर्थ वैज्ञानिकले भाइरस ‘मार्न’ भ्याक्सिन बनाएका होइनन् ।
यहाँ यति स्पष्ट भएपछि भाइरसको अस्तित्व विमर्श गरौँ । भाइरसको उत्पत्ति-इतिहास हेर्ने हो भने के थाहा लाग्छ भने मान्छेले चाहेर वा नचाहेर भाइरस प्रकृतिमा रहने वा नरहने होइन । प्रकृतिको इकोलोजी-इक्वेसनले तय गर्ने हो यो । हाम्रो शरीर नै लाखौँ भाइरस, ब्याक्टेरिया, फङ्गस, कार्बन र प्रोटिनको संयोजनमात्र हो । जसरी शरीरलाई चाहिने र नचाहिने ब्याक्टेरिया हुन्छन्, त्यसरी नै चाहिने र नचाहिने भाइरस पनि छन् । रिसर्चले फेला पारेको छ – फोक्सो सङ्क्रमित गर्ने र फोक्सोलाई सास फेर्न मद्दत गर्ने दुवै थरी भाइरस शरीरमा छन् । यसो र भाइरसलाई ‘बाँच्ने’ हक छ वा छैन – यो सवाल सवालै होइन कि !
अनि यो सवाल आफैमा एथिक्सको सवाल समेत हो। ह्युमन एथिक्सको ठाउँबाट हेर्दा अनि प्रकृतिको सर्भाइभल स्ट्र्याटजीको थ्योरीबाट हेर्दा मान्छेले आफूलाई सर्भाइभ गारउन मेडिकल साइन्स बनाएको हो। भ्याक्सिन मानवले मानवमात्रको अस्तित्वको लागि बनाउने हो। मान्छे त बाँच्नै चाहने हो, जसरी भाइरसले मान्छेलाई नै होस्ट बनाएर बाँच्न चाहन्छ। त्यही भाइरस – जो जीवित होइन (पनि)।
वर्तमान अवस्था कस्तो छ भने, प्राकृतिक पर्यावरणलाई मासेर मानव निर्मित कृत्रिम पर्यावरणलाई विकासको नाम दिइएको छ, यसो हुनुको मुख्य कारण के हो जस्तो लाग्छ र यसमा समाजिक पार्यावरणको भूमिका के हो ?
पर्यावरणलाई मासेर मानव निर्मित कृत्रिम पर्यावरणलाई विकासको नाम दिइएको यथार्थ मानव समाजका लागि एउटा भयानक यथार्थ हो । यो यथार्थको मुहानमा साम्राज्यवादी पूँजीवाद छ । जनता निरपराध छ । पूँजीको होड़ ‘स्टार वार’-को पराहिंसात्मक कन्सेप्ट हुँदै ‘बायोलोजिकल विपन’-सम्म पुगेको अवस्था छ । ‘स्काइ इज द लिमिट’ – बजारको यो मन्त्रजस्तै लाग्ने क्याचवर्ड प्रकृतिहिंसामै गएर ठोक्किन्छ । अतिसङ्ग्रहको ‘सरप्लस क्यापिटल’ प्राप्तिका लागि अन्धविकासको फर्मुला देश देशमा लागू भयो । यसमा सबैभन्दा बढ़ी चीन, अमेरिकाजस्ता साम्राज्यवादी देशहरूले रोल मोडलको भूमिका निर्वाह गरे । मझौला र साना देशले उनीहरूलाई पछ्याए । र प्रतिफल तपाइँको प्रश्नमै उल्लिखित छ ।
जलवायु परिवर्तन सम्बन्धी राष्ट्र सङ्घको पछिल्लो महासभामा एउटा भिडियो बनाइएको थियो, जसमा डायनोसर आएर मानिसलाई सावधानी गर्छ । उक्त भिडियोमा डाइनोसरले मानिसलाई आफ्नो विनाश आफै निम्त्याएको लज्जास्पद कुराको बोध गराउँछ । पृथ्वीलाई जोगाउन आह्वान गर्छ । मानिसले जलवायु परिवर्तनबारे अहिलेदेखि नै चिन्ता नगरे भोलि हाम्रो हालत डायनोसरको जस्तै अस्तित्वविहीन हुने खतरा कत्तिको देख्नुहुन्छ ?
त्यो मानिसले जलवायु परिवर्तनबारे अहिलेदेखि नै चिन्ता नगरे भोलि हाम्रो हालत डायनोसरको जस्तै अस्तित्वविहीन हुने खतरा निक्कै प्रबल छ । लगभग हातबाट फुत्किसकेको अवस्था समेत हो यो । प्रकृतिले प्रत्युत्तर दिनथालेको अवस्था हो । देशहरूको राज्यसत्ताले प्रकृतिमुखी पोलिटिकल विल-पावर विकसित नगरे खतरा त अझ बढ़्ने नै हो ।
नेपाल, भोटाङ, बङ्गलादेशजस्ता आर्थिक रूपले पछ्यौटे राष्ट्रहरूसँग त समय अझ छ । किनभने त्यहाँ प्रकृतिको विनाश त्यति भइहालेको छैन, जति विकसित मुलुकहुँदी भइसके । चीन, अमेरिकाजस्ता अतिविकसित राष्ट्रहरूको गोहो नपछयाएर यी देशका राज्यसत्ताले सही समयमै राष्ट्र स्तरमै इको-फ्रेन्डली स्वनिर्भर अर्थनीतिको विकास योजना (विकास त चाहिन्छ नै) निर्माण गरे स्थिति सहज होला कि !
प्राकृतिक संरक्षणको कड़ी देश चलाउने राज्यसत्ताको राजनीतिमा निहीत छ । चाहे नारीवादी आन्दोलन होस् वा दलित आन्दोलन होस् वा आदिवासी आन्दोलन होस् वा वनवासी आन्दोलन होस् वा शरणार्थी आन्दोलन होस् वा खानी मजदुर आन्दोलन होस् वा किसान आन्दोलन – अब पब्लिकले हरेक आन्दोलनको चुरो खुँखार राज्यसत्ताको प्रकृतिभक्षी प्रपञ्चमा नै गुम्फित भएको फेला पार्नेछन् । सत्तालाई नरोके उसले प्रकृतिको अतिशोषण गरिरहने हो । उसलाई भविष्यको चिन्ता छैन । कमिशन, पावर र चौकीको छ । उसको अस्तित्वको अर्थनैतिक स्रोत कर्पोरेटको क्यापिटल-कोख हो । कर्पोरेट र सत्ताको यो अटुट आपराधिक नेक्सस नै प्रकृतिको सबैभन्दा ठूलो समस्या हो । मुद्दा यतातिर कड़ा गरी गाड़िएको छ ।
तपाईंको इको कविता सङ्ग्रह ‘तङसिङ’-ले पर्यावरणलाई कसरी सम्बोधन गरेको छ ?
‘तङसिङ’-ले पर्यावरणलाई कसरी सम्बोधन गरेको छ – यसको सटीक उत्तर त किताब बजारमा आएपछि पाठकले दिने हुन् । क्रिटिकले दिने हुन् । मैले यस प्रश्नको उत्तर दिइहाले लेखकीय मोनोटोनस मोनोलगमात्र होला कि !
भन्नै पर्दा, ‘तङसिङ’-ले पर्यावरणलाई केन्द्रमा राखेर सम्बोधन चाहिँ गर्न खोजेको छ । मानवीय अतिहस्तक्षेपले बलात्कृत प्रकृतिको छटपटी ‘तङसिङ’-का कवितामा कोर्ने कोशिश छ । रूख रोपौँ, प्रकृति बचाऊँ – भन्नेखाले स्टेरियोटाइप्ड नाराबाजीबाट जोगिने सक्दो कन्सियस एफर्ट छ । सफल कति भएछु – त्यो त सुधी पाठकले खुट्याउलान्। भन्लान्। वा नभन्लान् पनि।
हरित गृह ग्यासको उत्सर्जन दिनप्रतिदिन बढिरहेको छ । त्यसै गरी कार्बन डाइअक्साइड, मिथेन र नाइट्रोस अक्साइडको मात्रा पनि उकालो लागेकै छ । यस्तो अवस्थामा पनि इको-कविताको उत्सर्जन किन निकै कम छ होला ?
इको-कन्सियसनेस वास्तवमा अघोषित रूपमा लेखनको अवचेतन संरचनामा व्याप्त नै छ । कसैले राजनातिक चेतनामा केही लेख्छ भने उसको लेखनको जरा इको-कन्सियसनेससम्म घुम्दैफिर्दै पुग्छ नै । घोषित रूपमा इको कविता भनेर लेख्नेको सङ्ख्या चाहिँ थोरै हो ।
इको-कविता भनेजस्तो सङ्ख्यामा नलेखिनुका कारण लेखनको समाजशास्त्रीय अध्ययनले ठोस गरी खोतल्ला । नेपाली लेखकले अहिले मानवकेन्द्रित लेखनमै फोकस गरिरहेको अवस्था हो । समाजमा इम्मिडियट क्राइसिस बढ़ी देखिएर पनि होला ।
लेखक समाजको अतिसंवेदनसील तब्का हो । पावरफुल मान्छेले पावरलेस मान्छेलाई गर्ने गरेको अटुट शोषण लेखकले सबैभन्दा पहिले देख्ने हो । पावरफुल मान्छेले प्रकृतिलाई गरेको शोषणको विषय प्रायोरिटीमा नपर्नुको कारण चाहिँ सत्ताको अति-मानवशोषण पनि हो । लेखकलाई लाग्दो हो – यो शोषणको चिरफार गरिहालुँ पहिले, अनि अरू थोक हेरिएला ।
कवि अविनाश श्रेष्ठको इको-कविताको पुरोधीय कविता किताब ‘करौड़ौँ सूर्यको अन्धकार’-को ताजा संस्करण आउने भएको सुनिएको छ । नेपालका पत्रपत्रिकामा इको कवितामात्र नभएर इको-निबन्धहरू समेत अचेल लछेप्रै आउन थालेका छन् ।
भारततिर कवि मनप्रसाद सुब्बा, रेमिका थापाहरूको किनारा लेखनकै समानान्तर इको- चेतनाका कविताहरू मनग्गे आएका छन् । असमबाट ड. देवेन्द्र सापकोटाको इको-कविता किताब आएको छ । ब्रायन हितानहरूले विदेशी माटोबाटै नेपाली साहित्यमा भर्चुअल्ली इको लेखनको खुँड़ा जगाएका छन् । युवा सर्जकहरूमा पनि यसको प्रभाव बिस्तारो देखिएको छ ।
एन्थ्रोपोसेन्ट्रिक राइटिङ पनि चाहिने नै हो। त्यताबाट फोकस प्रकृतितिर सर्ने दिन आउँछै आउँछ तर। नसरी धरै छैन।
नेपाली साहित्यमा इको-पोएट्री कतिका लेखिएका छन् र कविहरू पर्यावरण सम्बन्धी कत्तिको चिन्तिन देखिन्छ्न् ?
नेपाली साहित्यमा इको-पोएट्री कति लेखिएको हो, मैले पूरै यसको खोजी गरिहालेको छैन । यो त खासमा सुधी समालोचकहरूको काम हो ! यति चाहिँ भनुँ – यथेष्ट मात्रामा चाहिँ लेखिएका छैनन् । कविहरू पर्यावरणबारे चिन्तित त अवश्यै देखिन्छन् । प्रकाश्य रूपमा भने त्यो नदेखिएको हुन सक्ला । आख्यानको कुरा गर्नु हो भने भर्खरै प्रकाशित संजीव उप्रेतीको ‘हंस’ यो इको-लेखनको उत्कृष्ट पाठ हो ।
कवि लेखनाथ पौड्यालले प्रकृतिको महिमा गाएर कविता लेखे, त्यतिबेला प्रदूषण थिएन । अहिले कवि राजाले प्रकृतिको विनाशको चिन्तामा कविता लेख्नुभएको छ । जलवायु परिवर्तनलाई गम्भीर भएर सोचिएन भने भोलिको पुस्ताले पर्यावरण सम्बन्धी कविता कस्तो कविता लेख्नुपर्ने स्थिति आउला ?
लाग्छ, यस प्रश्नको उत्तर मैले दोस्रो प्रश्नको उत्तरमा दिइसकेको छु ।
अन्तिममा एउटा प्रश्नविहीन प्रश्न जसमा स्वतन्त्र भएर तपाईंले आफ्ना मनका कुरा भन्न सक्नुहुन्छ ?
खै, मनको कुरा के भन्ने र ? भन्नै त गाह्रो !
यत्तिखेर पल साइमन-आर्ट गार्फुङ्केलको फेमस गीतको केही पङ्क्ति स्मरण भइरहेको छ। ‘साउन्ड अफ साइलेन्स’-मा उनीहरूको लिरिकले भन्छ – ‘पिपल टकिङ विदाउट स्पिकिङ’। (नबोलिकन बात गरिरहेका छन् मानिसहरू।)
कम्युनिकेसन साइन्समा रेभोल्युसन छ। सम्पर्कका माध्यम विकसित हुँदै गए । मान्छे एलियनेसनको शिकार छ । समाजशास्त्रमा कार्ल मार्क्स र एमिल दुर्खिमले गरेको सबैभन्दा महत्त्वपूर्ण डाइसेक्सन नै हो ‘एनोमी’ । एनोमी अर्थात् अलगाव । मानिसको महाबस्ती टापूहरूको कलोनीमा फेरिँदैछ । ग्लोबलाइजेसनको नाममा देश-देशको सिमाना मेटिए । मान्छे-मान्छेको मनको साँघु भत्काइने मूल्यमा । कत्ति बोलेर पनि मान्छे बोल्नै नसकेको अवस्थाको सङ्कटकालमा छौँ । कत्ति कत्ति लेखेर पनि हामी सर्जकले केही भन्नै नसकिरहेको पो हौँ कि !
यसो र अब केही भन्नु-बोल्नु गाह्रो पो छ कि ! अबको मान्छेको लड़ाइँ यही बोल्नु नसक्नुको अवस्थासँगको लड़ाइँ पो हो कि ! ‘तङसिङ’-पछि आउने अर्को किताबमा मान्छेको यही यान्त्रिकताको विषयमाथि काम गरेको छु ।
प्रतिक्रिया
-
४