✍️ जनक कार्की
सराङ्कोट, कास्कीमा जन्मिएका रोशन तिमिल्सिना पछिल्लो केही वर्षदेखि कविता लेखनमा सक्रिय छन् । सरल रूपमा मौलिक कविता लेख्न सक्ने अब्बल क्षमता रहेका कवि तिमिल्सिना राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थामा आवद्ध भई नेपाली भाषा, साहित्यको प्रवर्द्धन र संरक्षणका लागि क्रियाशील छन् । अनेसास कविता महोत्सव २०२१ र एफएनबि नेपाल कविता प्रतियोगितामा प्रथम हुनुका साथै उनका दर्जनौं कविता पुरस्कृत भएका छन् । ‘चिरिएका पैताला’ तिमिल्सिनाको पहिलो कविता सङ्ग्रह हो । आजको पुस्तक वार्तामा सेतोमाटो डटकमका लागि ‘चिरिएका पैताला’ र कविताका विषयमा जनक कार्कीले कवि तिमिल्सिना गर्नुभएको पुस्तक वार्ताको सारांश यस्तो छः
अब्दुल कलामले भनेका छन्, ‘कविता अग्लो खुसी र गहिरो दुखमा जन्मिन्छ।’ ‘चिरिएका पैताला’ गहिरो दुःखमा जन्मिएको कविताको शीर्षक हो भनेर हामीले अनुमान लगाउन सक्छौं । यो कृतिमा कस्ता कविता अटाएका छन् ?
५२ वटा कविता सङ्ग्रहित यस कृतिमा ‘चिरिएका पैताला’ शीर्षक भएको कविता नै कृतिको शीर्षक भएको छ । समाज र यो युगका हरेक समस्या, समाजमा भएका विकृति , यो समयका परिवर्तनशिल घेरादेखि अस्वतन्त्रताका खोंचसम्म, नारीका संवेदना, यात्रादेखि पर्खाइसम्म सबै खालका कविताहरू अटाएका छन् ।
कविता चिन्तन र विचारको उच्च विन्दुको उपज हो भनिन्छ, त्यसलाई कलाको लेप लगाएर सिङ्गार्नु कविको सीपमा भर पर्दछ, तपाईंका कवितामा आएका विचारलाई कलाको रङ्ग भर्न कत्तिको प्रयत्न गर्नुभएको छ ?
कवितामा विभिन्न सैद्धान्तिक, संरचनात्मक पक्षका कुरा हुन्छन् । कवितामा कला र बिम्व सबैभन्दा महत्त्वपूर्ण कुरा हुन् । म भाषाको विद्यार्थी नभइकन इन्जिनियरिङ् पढिरहेको विद्यार्थी भएकाले पनि धेरै अध्ययनको अझै आवश्यकता छ भन्ने लाग्छ । मैले आफ्नो तर्फबाट सक्दो विचारलाई कलात्मक बनाउने प्रयास गरेको छु ।
कविता लेख्नु एउटा परिचयको खोज र अस्तित्वको उपस्थिति पनि हो, कविताकृतिको बजार छैन भन्छन्, यो अवस्थालाई कसरी हेर्नु भएको छ ?
कविता कृतिको बजार छैन भन्न मिल्दैन तर आख्यानको तुलनामा भने बजारमा कविता कृतिको माग कम छ । कविता पढ्ने पाठक अलि कम भएकोले पनि हुनसक्छ कविता कृतिको चर्चा अलि कम हुन्छ ।
कविता लेख्नु भन्दा प्रकाशन गर्नु जटिल कुरा हो र प्रकाशन गर्नुभन्दा जटिल विषय भनेको कृति जनमानसमा पुर्याउनु पनि हो, तपाईंको कविता कृति प्रकाशनको कथा सुनौ न ?
पक्कै पनि कविता कृति प्रकाशन गर्नु जटिल काम हो तर मेरो लागि त्यस्तो जटिल भने भएन । कलम प्रकाशनले पूर्ण सौजन्यमा यो कृति प्रकाशित गरेको हो । प्रकाशकबाट अन्य ठाउँमा किताब पुग्ने क्रम जारी छ । मेरो लागि निकै सहज रूपमा नै कविता प्रकाशन भएको महसुस भएको छ जसका लागि मैले आफैंलाई भाग्यमानी ठानेको छु ।
तपाईंको विचारमा कविताको महत्त्व के छ ?
कविता मनमा उब्जिएका भावनाको लिखित रूप हो । कुनै समाज, भुूल र विश्व परिवेशको ऎना बन्ने साहित्य इतिहासको पाना पनि हो । विभिन्न वेथिती, भेदभाव न्यूनीकरण गर्न प्रयास गर्ने विगुल आवाज पनि हो । भाषाको संरक्षण गर्नेदेखि परिवर्तनका आवाज फैलाउने साहित्यको महत्त्व अवर्णनिय छ ।
कविको लायसेन्स भनेको कृति पनि हो भन्छन, कृति नभएका कविहरूलाई कवि मान्न किन हिचकिचाहट मान्छ यो समाजले ?
मलाई यो गलत लाग्छ । निरन्तर काव्यिक क्षेत्रमा साधना गरेपछि कुनै व्यक्ति कवि हुन्छ । कृति एउटा लिखितम् रूपमात्र हो, यो नै सबैथोक हो जस्तो लाग्दैन । किताब एउटा अमिट रूप भएर पनि हुनसक्छ तर कृति प्रकाशित हुनु र नहुनुले कोही कवि हुने / नहुने भने होइन ।
पोखराले नेपाली साहित्यलाई धेरै कालजयी कृति दिएको छ, तपाईंको उपस्थितिले त्यो परम्परालाई कायम राख्न सक्ला वा नसक्ला ?
यो त नितान्त पाठकमा निर्भर रहन्छ । मैले आफ्नो तवरबाट सक्ने मिहिनेत गरेको छु हेरौं कतिलाई मनपर्छ । मेरो उपस्थितिले केही नयाँ पुस्ताका समकालिन कविलाई भने पक्कै हौसला मिल्नेछ ।
अहिलेको पुस्तालाई साहित्यमा भन्दा अन्य सस्तो मनोरञ्जनमा रुचि छ, पठन संस्कृति विकासको लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
अहिले डिजिटल युगको विकाससँगै पठन संस्कृतिमा रुचि न्यूनीकरण भएको देखिन्छ । यसका लागि माध्यमिक तहबाट नै साहित्यलाई मनोरञ्जनात्मक रूपमा हरेक विद्यालयले कविता, कथा, उपन्यास ,गजल, मुक्तक आदि। उपलब्ध गराउनुपर्छ । जन्मदिनको उपहारमा साहित्यिक किताब दिने परम्परा बसाउन सकिन्छ कि । यस्ता क्रियाकलापले पठन संस्कृति विकासका लागि सहयोग गर्छ ।
तपाईको कविताकृति ‘चिरिएका पैताला’बाट एउटा कवितांश यहाँ राख्न मिल्ला ?
हुन्छ एउटा छोटो कविता ‘चिरिएका पैताला’ कृतिबाट ।
धुवाँ
नसल्किएका दाउराबाट
विछोडको मुस्लो छुटेर
यतिबेला फोक्सोमा बसेको छ धुवाँ ।
कुनैबेला
गल्ती नै नहुँदा पनि गल्ती हुनसक्छ ।
तपाईंले कविताको सिर्जना कसरी कस्तो वातावरणमा गर्नुहुन्छ ?
साहित्य सिर्जना यस्तै वातावरणमा गर्छु भन्ने त छैन । कुनैबेला खाँदाखाँदैको गाँस छोडेर कविता टिप्छु , कुनैबेला यात्रामा हुँदा । मलाई अलि साँझमा लेख्न मनपर्छ । कविता लेख्न एकान्त नै चाहिन्छ भन्ने पनि मेरो हकमा छैन ।
तपाईंलाई मनपर्ने पाँच नेपाली कवि ?
म पुराना किताब अलि पढ्छु त्यसैले नि मलाई पहिलेका कविता औधी मनपर्छ । नाम नै लिनु पर्दा मलाई लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल, माधवप्रसाद घिमिरे, भूपी शेरचनदेखि अहिलेका अग्रज, समकालीन सबै कवि मनपर्छ ।
तपाईंलाई मनपर्ने पाँचवटा कविता कृति ?
कविता कृति हातमा आएपछि सबै राम्रो लाग्छ । पाँचवटा नाम लिनुपर्दा हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, तीर्थ श्रेष्ठको ‘जिन्दगीको कुरुक्षेत्रबाट’, भूपिनको ‘ सुप्लाको हवाइजहाज’ र असीम सागरको ‘क’ हुन् ।
प्रतिक्रिया
-
४
