✍️ सुमन सिंगल

मुक्तक- १
ढङ्गमरु कहलिए पश्चात् अनौठो ढङ्ग देखायौ
कुरुप थियौर,फेरी सौन्दर्य भन्दै अङ्ग देखायौ
ढङ्गमा देवी देख्थेँ म,अङ्ग देख्दा सुर्पनखा झैँ
न देवी न राक्षसी,केवल छेपारोझैँ रङ्ग देखायौ !

मुक्तक – २
धेरै कर्तव्य पनि हो, थोरै असफलताको अर्थ बुझ्छु म
साथको महत्त्व, त्यसपछिको समर्थ असमर्थ बुझ्छु म
मैले जो पाईन न्यायो साथ प्रथम गुरू अर्थात् बुबाको
म टुटेर तिमीलाई जोडछु छोरी, किनकि अनर्थ बुझ्छु म !

मुक्तक – ३
जिम्मेवारीबोध पछि त रहर पनि रहर रहेन
लाग्यो बुढै गोरु भयो जिन्दगानी बहर रहेन
रोक त थिएन भाग्नु भने कर्तव्यपथबाट पनि
तर विषहीन भयो मानौं जहर पनि जहर रहेन !

मुक्तक – ४
म सम्मानमा उभिन्छु, तिमी अपमानमा उभिएर हेर
म तिम्रो नाममा, तिमी मेरो पहिचानमा उभिएर हेर
हरेक ती प्रश्नहरूको उत्तर तिमीले स्वयं प्राप्त गर्नेछौ
मलाई आफु मानेर, आफु मेरो स्थानमा उभिएर हेर !

मुक्तक – ५
मान्छे हुन् या जनावर कुनै , मान्छे जस्तै बन्नेहरू
स्वार्थको आडमा सम्बन्ध ठड्याई,नाफा गन्नेहरू
छेपारो देख्दा लाग्यो कतै तिनै आफन्तै त होईनन् ?
काम नहुन्जेल मामा,काम हुनासाथ गधा भन्नेहरू !

प्रतिक्रिया

सम्बन्धित खवर