✍️ जनक कार्की
वि.सं. २०३२ साल दाङमा जन्मिएकी सीमा पुरी पेशाले सहकारीकर्मी हुन् । पहिलो उपन्यास परीबाट साहित्यिक यात्रा सुरु गरेकी पुरीको ‘अपरिचित’ दोस्रो उपन्यास हो । आज शनिबार उनको दोस्रो उपन्यास लोकार्पण हुँदैछ । उपन्यास ‘अपरिचित’को विषयमा केन्द्रित भएर लेखक सीमा पुरीसँग सेतोमाटो डटकमका लागि जनक कार्कीले गर्नुभएको कुराकानीको सारांश प्रशस्तुत छ :
आज शनिवार तपाईंकोको दोस्रो उपन्यास लोकार्पण हुँदैछ, यो उपन्यासमा कस्तो खालको विषयवस्तु समेटिएको छ ?
यो समाजिक उपन्यास हो । एउटा अनाथको जीवनकथा यसमा समेटिएको छ । एउटा अनाथ जसले आफ्नो सत्कर्मबाट समाजमा बलियो परिचय बनाएर पनि अनाथ भएको कारण कसरी अपरिचित नै छ भन्ने विषयमा उपन्यास केन्द्रित छ । एउटा अनाथले बाल अनाथ आश्राम खोल्छ र त्यहीँ अनाथ आश्रमको कथा पनि हो यो उपन्यास । उपन्यासमा समाजिक उतार चढाव र प्रेम पनि छ ।
यहाँलाई अपरिचित उपन्यास लेख्न के कुराले प्रेरित गर्यो ?
काठमाडौंको गल्ली र सडकपेटीमा देखिने तमात सडक बालबालिका र अनाथको कारुणीक दृश्य नै यो उपन्यासको स्रोत हुन् ।
आजको दुनियाँ निकै व्यस्त छ, यो व्यस्त दुनियाँमा मानिस चाउचाउ संस्कृतिमा अल्झिरहेको छ, हरेक कुरा तातै खाऊ, जल्दै मरौ भन्ने सिद्धान्तले अभिप्रेरित छ, यस्तो अवस्थामा एउटा साहित्यको भूमिका, महत्व र पठन सदस्य बढाउन के गर्नु पर्ला ?
अहिलेको यो भागमभाग र अस्तव्यस्त दुनियाँमा मानिससँग समयको अभाव भएको कुरा साँचो हो । समय भनेको सधैँ हतारमैँ हुन्छ । समयलाई हामीले व्यवस्थापन गर्न सक्नुपर्छ । हामीहरू आफ्नो अमूल्य समयलाई कतिपय अवस्थामा खराब ठाउँमा पनि व्यतित गरिरहेका छौँ । मोबाइल, भट्टी, अनुत्पादक क्षेत्र र सस्तो मनोरञ्जनमा हाम्रो समयको हत्या भइरहेको छ ।
यसको साटो जति हामीसँग समय छ त्यसलाई सहि ठाउँमा प्रयोग गर्नु जान्न पर्दछ । आफ्नो समयलाई साहित्य पठनमा लगाउन सकियो भने हाम्रा सन्तानले पनि त्यो असल गुण सिक्ने अवसर प्राप्त गर्दछ्न् । साहित्यिक कृतिहरूमा हाम्रा समाजका कुरालाई लेख्न थालियो भने पाठकलाई जागरुक र रुचिकर गराएर पठन संस्कृतिको विकास गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
आफैले मुल्याङ्कन गर्दा पहिलो उपन्यास देखि दोस्रो उपन्यासको यात्रासम्म आइपुग्दा, के कस्तो परिस्कृत भएको अनुवभव गर्नुभएको छ ?
पहिलो उपन्यास लोकार्पण भएको तीन वर्षपछि दोस्रो उपन्यास लिएर आएकी छु । पहिलो उपन्यासमा धेरै कमजोरीहरू थिए होलान । त्यसलाई त्यती मेहनत गरेर पनि नलेखेको हुनसक्छ । दोस्रो उपन्यासम्म्म आउँद साहित्यिक कृति पठनपाठनमा एकदमै धेरै समय व्यतीत गर्ने गरेकी छु ।
पहिलो उपन्यासले जे जति चिनायो । त्यसले मलाई जिम्मेवार लेखक बन्नुपर्छ भन्ने बोध गराइरह्यो । दोस्रो उपन्यासमा मैले सकेसम्म पहिलो उपन्यासका गल्तीहरू दोहोर्याएकी छैन । लेख्ने शिल्प, भाषा, कला र प्रस्तुतिलाई पनि विशेष महत्व दिएकी छु ।
आख्यान कुनै पनि विचार र विषयवस्तुलाई लिएर लेखिने काल्पनिक विधा हो, यसलाई कलाको लेपले रंगाइन्छ, तपाईं विचार र कला कुन कुरा बढी महत्व दिनुहुन्छ ?
विचार भनेको शरीर हो । जो स्वस्थ,आकर्षक र बलिस्ठ हुनैपर्छ । कला भनेको श्रृङ्गार हो । कुनैप पनि शरीरलाई सुन्दर श्रृङ्गार गरियो भने त्यो सबैको प्रिय हुनसक्छ । त्यसैले दुबैको महत्व उत्तिकै छ ।
लेख्दा के प्राप्त हुन्छ जस्तो लाग्छ ?
लेख्दा आफू जिम्मेवार नागरिक भएको महसुस हुन्छ । सन्तुष्टि मिल्छ । जसको आवाज दबेको छु उसको आवाज बन्न पाउँदा गर्व पनि लाग्छ ।
अहिलेलो नेपाली साहित्यको माहोल कस्तो देख्नुहुन्छ ?
नेपाली साहित्यको माहोल फराकिलो बन्दै छ । जसरी पुराना लेखकले मात्र एकाधिकार जमाइरहेको बेला अब पाठकले नयाँ लेखकलाई पनि पत्याउन थालेका छन् । यदि विषयवस्तु र लेखन उत्कृष्ट छ भने नयाँ पुरानो भनेर भेदभाव कमै हुन थालेछ । नयाँ लेखकलाई अवसरको भने कमी अझै पनि छ । साहित्यलाई पेशा बनाउन अहिले पनि सकिएको छैन । अरु समान्यतय सबै राम्रो हुँदै छ जस्तो मलाई लाग्छ ।
यहाँको पहिलो उपन्यास एकदमै मनपराएर कुनै पाठकले अवस्मरणीय प्रतिक्रिया दिएको सम्झना छ ?
एकजना पाठकले यो पुस्तक पढ्दै जादा रुन थाल्नु भयो र अन्त्य सम्म रुनु भयो रे । कारण उहाँ कुमारी आमाको सन्तान भएको र आफ्नी आमाले यहि कस्ट सहेको कुरा बताउनु भयो । मेरो कथा हो यो र यो कथाले अन्त्यमा न्याय पाए झै मेरी आमाले पनि न्याय पाएको भए भन्नू भयो । उहाँको आँखाको आँसु देख्दा मेरो पनि आँखा आँसुले भरीएको थियो ।
पुराना साहित्य सर्जकबाट नयाँ लेखकलाई के कस्तो सहयोग र हौसला मिल्ने गरेको छ ?
साहित्य एकदमै विशाल फाँट भएको क्षेत्र हो । म नयाँ पाहिला सारिरहेको साहित्यिक श्रष्टा भएको नाताले मैले अग्रजहरूबाट साथ सहयोगको चाहना राख्नु स्वभाविक पनि हो । मैले पहिलो उपन्यास लेखिसकेपछिको यो अन्तरालमा विभिन्न अग्रज साहित्यकारलाई आफ्नो उपन्यासको बारेमा चर्चा गर्दा उहाँहरूले हौसला र समर्थन नै गर्नुभएको छ ।
यस उपन्यासको कुनै एउटा अंश प्रस्तुत गरिदिनुस् न जुन हजुरलाई एकदमै मनपरेको छ ?
साधनाजी म मेरो आमाको खुसीको लागि हजुरलाई छोडन सक्छु तर हाम्रो खुसीको लागी म मेरो आमालाई छोड्न सक्दिन भनी रहँदा हजुरको आँखाभरी टिलपिलटिलपिल आँसु देखिन्थ्यो १ आकासजी १यसैको प्रतिउत्तरमा म भन्छु एउटी केटिको लागि जन्मदिने आमालाई छोड्न सक्ने मान्छेले कहिल्यै सुख पाउदैन १ संसारमा सबै भन्दा निश्चल स्वार्थरहित माया केबल एउटी आमाले आफ्नो सन्तानलाई गर्न सक्छिन र सन्तानले आमाको मायालाई बुझ्नुपर्छ जस्तो लाग्छ ।
तपाईँलाई मनपरेको पाँचवटा आख्यानका कृति ?
- सेतो धर्ती
- योगमाया
- झोला
- बल्ली
- शिरीषको फुल
तपाईंलाई मनपर्ने पाँचजना लेखक ?
- कृष्ण धाराबासी
- बिष्णु कुमारी वाइबा (पारीजात)
- नगेन्द्र न्यौपाने
- हरीमाया भेटवाल
- बुद्धि सागर
यो अन्तिम प्रश्न चाहिँ स्वतन्त्र प्रश्न हो यसमा तपाईंले जे उत्तर दिन मन छ दिनसक्नुहुन्छ ?
आज मेरो उपन्यास लोकार्पण हुँदैछ । तपाईँहरुको फुर्सद भए दिउँसो एक बजे एपेक्स लाइफ स्कुल का.म.न.पा-६ सरस्वती नगर काठमाडौमा हार्दिक निमन्त्रणा छ । आज यो उपन्यास लोकार्पणसँगै मैले अब मेरो तेस्रो उपन्यास पनि आउने कुरा पनि घोषणा गर्ने छु । तेस्रो उपन्यासको नामलाई आज सार्वजनिक गर्ने छु । उपन्यासलाई माया गरेर सरसल्लाह र हौसलाको अपेक्षा गरेकी छु ।
प्रतिक्रिया
-
४
