✍️ जनक कार्की
अजित उत्सव सञ्चारकर्मी, सम्पादक हुँदै हाल वैदेशिक रोजगारीको सिलसिलामा युएई छन् । केही साता अघि उनको पहिलो कविता सङ्ग्रह ‘आकाशगङ्गाको किनार’ लोकार्पण भएको छ । उउनी विभिन्न समसमायिक विषयमा आलेखको साथमा कथा विधामा पनि कलम चलाउँछन् । पनि लेख्छ्न् । सगरमाथा साहित्य प्रतिष्ठान केन्द्रीय कार्यसमितिका उपाध्यक्षसमेत रहेका उत्सवसँग सेतोमाटो डटकमका लागि जनक कार्कीले गर्नुभएको पुस्तक वार्ताको सारांश यस्तो छ:
साहित्यको प्राचीन विधा काव्यलाई मानिन्छ । पूर्विय साहित्यमा महानग्रन्थहरू काव्यमै सिर्जना भएका छ्न् । महाभार र रामायण लगायत अन्य थुप्रै कृति काव्यमै लेखिएर कालजयी भयो । आजको समयमा काव्यको महत्व र उपस्थिति कस्तो देख्नुहुन्छ ?
जीवन नै कविता हो । मानव जीवन नै एउटा सुन्दर काव्य हो भन्छु म । हाम्रो शास्त्रीय जीबनशैली नै कवितामय छ । मानिस जन्मँदा देखि मरेपछिका कृयाकर्ममा पनि कालजयी पुराणका स्लोक उच्चारण गरिन्छन् । समाजमा लेखिने, गाईने गीत पनि काव्य अंश नै हुन् । कविता या काब्यमा डुब्ने मानिस प्राय सिधा, इमान्दार र प्रतिबद्ध हुन्छन् जस्तो लाग्छ । समग्रमा काब्यचेतले मानव जीबनलाई लय दिन्छ । आजको भत्केको समाज र भड्किलो जीवनशैलीलाई गति र लयमा टिकाईराख्न काब्यको अझ महत्व बढेको महसुस गरेको छु मैले ।
कविता वास्तवमै किन लेखिन्छ र पढिन्छ जस्तो लाग्छ ?
कविता अभिव्यक्तिको सुन्दरतम शैली हो । विचार प्रवाहको काव्यतात्मक प्रस्तुती हो । कविता लेख्नेलाई पनि लेखिसकेपछी सन्तुष्टि मिल्छ भने पढ्ने र सुन्नेलाई पनि उत्तिकै आनन्द मिल्छ । खारिएका थोरै शब्दमा गहन प्रस्तुती दिन सकिने हुनाले नै म कविता लेख्छु, आत्मसन्तुष्ट हुन्छ । त्यसैले मलाई लाग्छ साहित्य लेखन या श्रुति परम्पराको सुरुवातदेखि आजसम्म सबैभन्दा रुचाईएको र प्रयोग गरिएको बिधा नै कविता हो ।
जसरी जीवनको परिभाषा भोगाइको आधारमा भिन्न हुन्छ । कवितालाई पनि कविले आफ्नो हिसाबले परिभाषित गर्ने गर्छन् । तपाईं कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?
केही हदसम्म कविले आफ्नो जीवन भोगाई पनि कवितामा लेख्न सक्छन् यो सत्य हो तर कविका सबै कवितामा ब्यक्त कुराहरु उसका आफ्नै भोगाई मात्र हुन् भनी सोच्नु गलत हुन्छ ।
कविले समाजमा देखेको, समाजले भोगेको, उ बाँचेको समयको प्रतिबिम्ब र कतिपय अवस्थामा उसको मनमा उब्जिएका भावनाहरु कवितामा कोर्न सक्छ । आफ्नो सोंचको विशाल समुन्द्रबाट कविले कति अञ्जुली पानी उगाउन सक्छ र त्यसलाई कला भरेर कविता बनाउँछ त्यो कविको लेखनमा भर पर्छ । कवितालाई परिभाषित गर्ने मेरो क्षमता त नहोला तर पढेको र सुनेको आधारमा भन्न सक्छु अभिब्यक्तिको उच्चतम् प्रस्तुती हो कविता ।
समकालीन साहित्यमा कवितालाई कला भन्दा नाराको रंग पोतेर रंगाइन्छ । यस विषयमा के भन्नुहुन्छ ?
यो आरोप आरोप मात्र होइन सत्य पनि हो । समकालीन कवितामा केही कविहरूले प्रयोगको नाममा कविता परम्परालाई भताभुङ्ग गराएको देखेको छु । कला नै कविताको प्राण हो । अनावश्यक शब्द भरेर भद्दा बनाएपछि त्यो कविता बन्दैन लेख बन्छ । नारा पनि सुन्दर बनाएर लेख्न सके कविता जस्तो बन्छ तर कहिलेकाहिं केही कविका कविता पढ्दा लाग्छ त्यो कविता होइन कुण्ठा हो ।
तपाईंले केही साता अगाडि आफ्नो पहिलो कृति लोकार्पण गर्नुभयो । यस सङ्ग्रहभित्र कहिलेदेखि लेखिएका रचना समाविष्ट छन् ?
मेरो कविता लेखनले औपचारिक रुपमा छापा माध्याममा प्रबेश गरेको २०५८ सालदेखी भए पनि पुस्तकको रुपमा कवितासंग्रह ल्याएको अहिले भर्खर हो । यसमा संग्रहित ५४ कविता मध्य आधा जसो कविता २०६५ देखि २०७० बिचमा लेखिएका छन् । पहिले लेखिएका कवितालाई मेहनतका साथ पुनर्लेखन गरेको हुँ । आधाजसो कविता चैं २०७५ पछि लेखिएका ताजा र समसामयिक कविता हुन् ।
कविता मञ्चमा वाचनको लागि अत्याधिक सुन्न रुचाइने तर किताबै किनेर पढ्ने प्रचलन हराउँदै गएको सन्दर्भमा कविता कृति पढ्ने संस्कृति कसरी बढाउन सकिएला ?
यो अहिलेको समयको गहन प्रश्न र चुनौती हो । वास्तबमै पुस्तक किन्ने र किनेर पनि पढ्ने संस्कृती लोप हुँदै गएको छ । यस्तै हो भने कविता सुन्ने परम्परा पनि लोप हुने त होइन भन्ने चिन्ता पनि लागेको छ । बिद्यालय र कलेजला बिद्यार्थीमा पुस्तक किन्ने, पढ्ने र लेख्ने अभ्यास गराउनु जरुरी छ । पुस्तक किन्ने, किनेका पुस्तक साटेर पढ्ने परम्पराको बिकास गर्नु र लेखकले पनि पाठकको रुचि अनुसार लेख्नु पर्छ । पठन संस्कृतिको बिकास गराउन राज्य र स्थानिय स्तरमा पहल हुनु जरुरी छ ।
कवितामा विचार र कलामा के बढी हुनपर्ला ?
कवितामा कला नभए त्यो कविता बन्नै सक्दैन । त्यसमा बिचार पनि हुनै पर्छ । तर बिचार मात्र जबर्जस्ती लादिएर कलालाई मार्न खोजियो भने त्यो कविता जिवन्त बन्न सक्दैन । यसर्थ कवितामा आएको बिचार पनि कलात्मक हुनैपर्छ ।
कुनै पनि कविता सिर्जना गर्दा, त्यसको सुरुआतदेखि अन्त्यसम्म के कस्तो प्रक्रियाबाट गुज्रिएको अनुभव छ ?
रोईरहेको कविले खुसीको कविता लेख्न सक्दैन । प्रेममा परेको कविले सायद बिछोडको कविता लेखेर आफ्नो कवित्व माथी न्याय गर्न नसक्ला । पत्नी बियोगको गहिरो पिडामा नपरेको भए माधव घिमिरेले गौरी काव्य लेख्न सक्नुहुन्थेन । जन्त हिँड्दै गरेको कविले मृत्युको कविता होइन प्रणयकै कविता लेख्छ । यसैले कविको मानसिक अवस्था, लेखनको वातावरण, कवि बाँचेको समयको राजनितिक र सामाजिक बस्तुस्थितिले पनि कविको लेखनमा प्रत्यक्ष प्रभाब पार्छ । म आफू पनि बैदेशिक रोजगारीको समयमा लेखिएका कवितामा देशप्रेम, पीडा, बेदना, अनुभूति यस्तै समेटिएका छन् ।

एउटा कविता लेख्नको लागि चाहिने अवधि कति हो तपाईको लागि ?
कविता यति समयमै लेखी सक्छु भन्ने समय सीमा हुन्न मेरो लागि । कहिलेकाहिँ एक बसाईंमै एक कविता लेखी सकिन्छ भने कहिले एउटा कवितालाई पुर्णबिराम दिन महिना दिन पनि लागेको छ । आज म एउटा कविता लेखेर सक्छु भनेर लेख्न बसेको याद छैन ।
के कुराले कविता लेख्न अभिप्रेरित गर्छ ?
म भित्रको कवि मनले नै खासमा मलाई कविता लेख्न अह्राउँछ । प्रायजसो कुनै सुन्दर पुस्तकहरु पढेपछी या कतै यात्रा गरेर फर्केपछी कविता लेखुँलेखुँ जस्तो हुन्छ । म बाँचेको बर्तमान, अब्यवस्थित जीबन, अनिश्चित भबिष्य, परिणामशुन्य संघर्ष, परिवारबाट टाढा हुनुपरेको पीडा यी सबै कुराले मलाई आफ्ना अभिब्यक्ति कविता मार्फत दिन उत्प्रेरित हुन्छु ।
तपाईंको कृति आकाशगंगाको किनार सङ्ग्रहको कवितांश जुन तपाईलाई एकदमै मनपरेको ?
मलाई आफ्ना सबै रचनाप्रती उत्तिकै माया छ तैपनी केही हरफहरु छन् जसले साँच्चिकै मलाई छोएका छन् । जस्तो कि ।।।।
अचेल सरकारलाई देखेर भन्छ रे लाजले
मेरो त मुख मात्र देखिएको थियो
सरकार, तेरो त सर्बाङ्ग नै देखियो
मुख छोप्छस् कि मलद्वार ?
(लाज)
भिडमा हराउनुभन्दा सुखद् हुँदोरहेछ
पहाडको टुप्पोमा एक्लै उभिनु
लहराउनु बिजयको झण्डा
रफहराउनु खुसीको कुसुमे रुमाल
(एक्लो बिजेता)
तिमिले लगाएका नियम कानुनको
बस्त्र फुकालेर
तिम्रा असमान सन्धिका धारा च्यातेर
म बग्न चाहन्छु स्वतन्त्र भएर
र, पखाल्न चाहन्छु
मेरा बिरुद्ध गरिएका
तमाम सन्धी सम्झौताका काला मसी
जोगाउन चाहन्छु डुबानबाट बस्ती
भत्काउन चाहन्छु छिमेकीले लगाएका बाँध ।
(नदीको सीमा)
मनपर्ने पाँच कविता ?
बिसे नगर्चिको बयान – श्रवण मुकारुङ्
प्रतिबन्ध – कृष्णसेन इक्च्छुक
काल महिमा – लेखनाथ पौड्याल
घुम्ने मेचमाथी अन्धो मान्छे – भुपी शेरचन
स्टील आई राईज – माया एन्जेलो
मनपर्ने पाँच कविता सङ्ग्रह ?
गौरी – माधव घिमिरे
मुनामदन – लक्ष्मीप्रसाद देबकोटा
च्याउको जंगल – बिप्लब ढकाल
घुम्ने मेचमाथी अन्धो मान्छे – भुपी शेरचन
गीताञ्जली – रबिन्द्रनाथ टैगोर
कविता लेख्न सुरू गरेका नयाँ कविलाई केही टिप्स ?
धेरैभन्दा धेरै पुस्तक पढ्नुस् । मनमा आएका कुरा लेखिहाल्नुस् । त्यस्लाई दसौं चोटि पुनर्लेखन गर्नुस् । आफुलाई नै सुन्दर नलागेसम्म कसैलाइ नदेखाउनुस् ।
सङ्ग्रहको प्रतिक्रिया कस्तो पाइराख्नु भएको छ ?
उत्साहित छु । ठाउँठाउँबाट प्रतिक्रिया आईरहेको छ । कविता लेख्न थप हौसिएको छु ।
तपाईंका कवितामा आएका आलोचनात्मक टिप्पणीलाई कसरी लिनुहुन्छ ?
म मेरो लेखनमा स्वच्छ आलोचना चाहन्छु । आलोचना नभएसम्म आफ्नो कमजोरी थाहा पाउन सकिन्न । मलाई तारिफ भन्दा आलोचना बढी प्राप्त भैदिए हुन्थ्यो जस्तो लाग्छ ।
प्रतिक्रिया
-
४
