✍️ इन्दिरा प्रसाई

‘आज साँझको लागि टाइम मिलाऊ है…! सधैँ झैँ… सियू…!’ सतीको भाइबरमा मेसेज थियो । प्रायःजसो साउण्ड अफ गरेर राखिने उसको मोबाइलमा मेसेज भने सधैँ झैँ उसले आँखा खुल्नासाथ चेक गरेकी थिई । मेसेज पढेपछि उसका ओठ स्वतः खिसिक्कमुस्कुराएका थिए ।

उसले घडी हेरी, विहानको ६बज्दै थियो । छेऊमा लोग्ने सपना देख्दै थियो । ‘….टिनिनिनी… निनी !’ सासूको पूजा सकिएको घण्टीको आवाज सुनियो ।

दौडिँदैजसो वाथरुममा पसेकी उसले झाट्झुट् नुहाइसकेकी थिई । अर्कोपल भान्छामा ग्यास बलिसकेको थियो ।

‘अघिसम्म त सुतिराखेकी थियौ, लौ कति छिटो …!’ दूध मज्जाले हालेको, चियामसलाले गम्केको, चियारङ पनि पुगेकोएक स्टिलगिलास चिया र एक कचौरा सुक्खा भुटेको ताइचीन चिउरा बोकेर आफू अघि नियमित झैँ उभिएकी सतीलाई देखेपछि सधैँ जस्तै उसकी सासूको अनुहार खुसीले धपक्क बलेको थियो ।

सती हाँसी मात्र रही; सधैँ जसरी नै ।
‘भाग्यमानी भए !’

चिया टेबुलमा राखेर सासूका गोडामा टाउको राखेकी सतीले आशीरवाद पनि थापिसकेकी थिई ।

***

‘सञ्जू, उठ्उठ्, भोलिदेखि टर्मिनल होइन ?’
सतीले छोरीको कोठाको ढोका खोली ।
‘उँ…उँ.. मम्… पर्सीदेखि हो, म राती ढिलोसम्म पढेर सुत्या हो… । …प्लिज अहिले सुत्न देऊ न…उँ..उँ..!’

‘…ठक्…ठक्…!’

छोराको कोठाको ढोका भित्रबाट लाएको रैछ। छैन कुनै प्रतिक्रिया छैन ।
‘यसले ढोका भित्रबाट किन लाउँछ ? जति भने पनि मान्दैन, म त हैरान भइसकेँ । नउठाई उठ्ने हैन, उठाइदिऊँ भनेको…ढोका लाएर सुत्छ …!’
‘के भो तिमीलाई, विहान विहानै किन चिच्याएकी ?’

शायद सतीकै उच्च आवाजका कारण हुनुपर्छ उसको लोग्नेको निद्रा पनि खुलेको थियो ।
‘आज अलि छिटो भात खान्छु है । नयाँ मन्त्री अफिस भिजिटमा आँउछ रे …!’ कोठामा पुगेकी सतीलाई हेरेर लोग्ने बोलेको थियो ।
सतीले घडी हेरी— बिहानको ६.४५ भएको थियो ।
‘भई हाल्छ नि…!’

‘आमा कता हुनुहुन्छ ?’ लोग्नेले साउती मारेर सतीलाई सोधेको थियो ।
‘आफ्नै कोठामा …!’ उसले पनि विस्तारै जवाफ दिएकी थिई ।
‘चिया दियौ ?’
‘दिई सकेँ…!’

‘एकै छिन आउ न त… ढोका खुसुक्क लगाएर …!’सती लोग्नेका नगिच पुगेकी थिई; सतीका हातमा समातेर लोग्नेले निवेदनको भाकामा भनेको थियो ।
‘आउ न !’ उसले आग्रह नै गरेको थियो ।

‘मैले नुहाई सकेँ, अनि आफूलाई नै भात पनि छिटो खानु पर्ने रे… ! कस्तो मान्छे हौ ..! भरे… हुन्न…? यस्तो मान्छले…राति चैँ किन छिट्टै सुत्नु परेको नि …!’ उसले लोग्नेको आँखामा आँखा जुधाएर लाडिँदै भनेकी थिई ।

‘हिजो क्या.. ! त्यै आज मन्त्री आउने भनेर सचिवले ‘सबै पेण्डिङ सिध्याऊँ’ भन्यो; अनि दिनभरि एकैछिन नबसी काम गरेर थाकेको थिएँ नि डार्लिङ ! प्लिज आऊ न है… ! दिनभरि फ्रेस हुन्छु क्या… तिमीलाई थाहै छ नि…!’
‘… हजुर पनि… अब फेरि नुहाउनु पर्छ … । आमाले बोलाउनु भो भने …!’
… …. … … . … … … ।

‘थ्याङ्क्यू डार्लिङ… ! संसारमा तिमीजस्ती मायालू स्वास्नी पनि कसैका हुँदैनन् बुझ्यौ…! अनि तिम्रो टेष्ट…वाऊ! वन्ली वन पीस इन दीस यूनिभर्स…!’ पसिना आउनु अघिको लोग्नेको परमानन्द पुनः तृप्त भावमा सागर झैँ उर्लेको थियो ।
‘लौ… लौ… भयो अब फुर्काउनु पर्दैन… ।’ लुगा बोकेर वाथरुम तिर लम्कँदै गरेकी सतीले आफ्नो लोग्नेलाई भनेकी थिई ।
‘… हो भन्या…!’ हलुङ्गो हुन पाएको लोग्नेको थप कृतज्ञ आवाज वाथरुमसम्म पुगेको थियो ।

***

सधैँ ९ बजे अफिसजाने लोग्नेलाई आज छिट्टै जानु पर्ने भयो ।
भान्सामा पसेर सतीले घडी हेरी ७.१५ भइसकेको थियो ।
‘सी….. सी….!’ इण्डक्सनको प्रेसरकुकरले सिट्ठी फुक्यो ।
‘खिट्ट…’ राईस कुकुरको रातोबत्ति पहेंलो भयो ।

‘झ्वाईँ…झ्वाईँँ…झ्वाईँ…!’ काउली आलु भुटियो, साग ओइरियो, आलुकाँक्रोको अचार पनि झानिँसकियो ।’
यसवीच सतीको लोग्नेले व्ल्याक टी र उसले भान्छामै काम गर्दागर्दै मिल्क टी तन्काइसकेकी थिई ।
‘… छोरोलाई हजुरले उठाइस्योस् न है…!’ लोग्नेलाई चिया दिँदा सतीले भनेकी थिई ।
‘… म बोलाई दिँउला…; तर मलाई टेर्दैन डार्लिङ… ! मलाई दारी पनि बनाउनु छ…., नुहाउनु छ…।’ लोग्नेले मुसुक्क हाँसेर व्ल्याक टी सुरुप्प पार्दै भनेको थियो ।

‘…लौ भै गो नि त, आफ्नो काम गरिस्योस् । मै उठाउँला, हजुरले पुल्पुल्याएपछि कसरी टेर्छ त हजुरलाई? यस केटाले पनि हैरान पार्छ… । आज यसको कोठाको चुक्कुल नबिगारी छोड्दिन । बढो भित्रबाट चुक्कुल लाएरसुत्नु पर्ने तँलाई ! स्वास्नी लेराएपछि सुत्लास् चुक्कुल लाएर, खुरुक्कन उठछस् कि ढोकै भत्काई दिऊँ हँ ?’ लोग्नेको कुराले पनि रन्केकी सतीले छोराको ढोकामा निकै जोरसँग ड्याङ ड्याङै गरेकी थिई ।
‘मम्मी…प्लिज… म उठेँ नि…!’ भित्रबाट छोराको आवाज आएको थियो ।

‘तँलाई प्लिज… ! छिटो ढोका खोल…!’ सतीको रौद्र रुप र कठोर आवाज घरभरी घन्केको थियो ।
‘के भयो ?.. केलाई विहान विहानै केटाकेटीलाई यसरी कराएकी तिमीले…!’ सतीको आवाज सुनेर हस्याङ्फस्याङ् गर्दै नातिको ढोका अघिल्तिर आइपुगेकी सतीकी सासूले भनेकी थिइन् ।

‘… आमा हजुरको यो नाति अब केटाकेटी होइन, तन्नेरी भइसक्यो । हेरिस्योस् न, ढोका थुनेर सुत्न थालिसक्यो । आज यस्को ढोकाको चुक्कुल नभत्काई त कहाँ छोडुँला र ! तँलाई… ! ढोका खोल्भन्या सुनिनस् तैँले… ?’

‘कत्ति कराइसिन्छ मम्मी पनि… ! मैले ढोकै लाको छैन, हेरिस्योस न आमा…!’ ढोका खोलेर नाति फेरि विछ्यौनामा घुस्रिसकेकोथियो । अनि नजिकै पुगेकी हजुरआमासँग लाडिएर उ बोलेको थियो ।

‘मेरो राजा, केटाकेटीले भित्रबाट ढोका लगाएर सुत्नु हुन्न नि ! राति निद्रामा ऐठन हुन्छ, के हुन्छ…। अबदेखि नलाऊ है ज्ञानीबाबा…!’ हजुरआमा नातिको मायामा लपेसिएकी थिइन् ।

‘आफूलाई ह्वाँ कत्ति बितिसक्यो, उसको बुवालाई आजै छिटो भात चाहिने रे । हजुरको नातिलाई हजुरले राम्ररी सम्झाइस्योस् है आमा ! नत्र म आजै यो ढोकाको चुक्कुलसुक्कुल बिगारिदिन्छु… ।’ सती फतफताउँदै भान्छातिर लागी ।

***

‘डार्लिङ, आज आलु भुटिनौ ?तिमीले भुटेको आलु…आहा !… दिनभरि अफिसमा पनि त्यसकै स्वाद आइरहन्छ …’ लोग्नेले भनेको थियो ।
‘घरी छोराको ढोका खोल्नु पर्ने, घरी बाउको ढोका लाउनु पर्ने … ! अनि हजुरलाई नै छिट्टै भात पनि खानु पर्ने … ! कस्तो मान्छे हजुर पनि…! यत्ति छिट्टै हजुरका लागि आलु भुट्नु कि आमाका लागि काउलीआलु …?’

‘… मलाई काउलीआलु नभए नि हुन्थ्यो नि…! बाबुलाई आलु भुटिदिएकी भए हुने… तिमी पनि…!’ भात खाँदै गरेकी सासूले वेस्वादगरी भनेकी थिइन् ।
‘…भैगो नि आमा… मैले त सतीलाई यत्तिकै जिस्काएको पो त… । मलाई त काउली आलु पनि मन पर्छ, बरु हजुर नै आलु भुटेको खाइसिन्न नि ! आज हतारमा सतीले ठीक गरेकी हो… ।’ लोग्नेले हतारहतार आमाको मुख थुनेको थियो । नत्र फेरि आमाका कुराले स्वास्नी रिसाउली भन्ने उसलाई डर…थियो ।

‘तिमी कुन बेला खाने ?’ लोग्नेले मायालु पाराले सतीलाई सोधेको थियो । ‘हजुरका लालाबालालाई खुवाउनु प-यो नि… ! स्कुल पठाउनु प¥यो… ! अब उनीहरूका लागि खाजा बनाई दिन्छु… अनि…!’ सती लोग्नेसँग अलि झर्केरै बोलेकी थिई ।

‘यी हजुरको फ्रुट्स र ड्राईफ्रुट्सको टिफिन लगिस्योस् है …!’ लोग्नेका अघिल्तिर राखेको बट्टा देखाउँदै सतीले बिग्रेकै मुडले भनेकी थिई ।
‘… डार्लिङ, आज तिम्रो किट्टी पार्टी छैन ?’ लोग्नेले स्वास्नीको मुड अन गर्ने उपाय जानेको थियो ।

‘ए साँची त मैले भन्नै विर्सेको… ! छ नि आज… हजुर बेलुका कुन बेला आउने हो ?… म अलि ढिलो होला कि ?’ सतीको आवाज तुरुन्तै सप्रिएको थियो । सम्झनामा विहानैको मेसेज झुल्केर सतीको मन फुरुङ्ङ परेको थियो ।

‘मेरो पनि टुङ्गो छैन नि सती आज त… ! कुन बेला मन्त्री आउँछ…, अनि कुन बेला फर्किन्छ…!, केके हुने हो…? सचिवको पीए हुनु पनि बाहिर हेर्दा मात्रै केके न देखिन्छ, भित्र त केही छैन । आमदानी पनि सुक्को हुँदैन… । उही कहिलेकाँही विदेशतिरको चान्स हुन्छ भनेरमात्र…। नत्र सुक्खा तलबको भर छ… । तिमीले यो किट्टीको खेल नखेलेको भए त… खोई परिवारै पाल्न पनि ….!’ लोग्नेको विरक्तिएको आवाज निस्किएको थियो ।

‘किन तिमीहरु रुन्छौ, म छँदै छु नि ! सतीले खाने कुरा राखिदिएकै हुन्छिन्, केटाकेटी आएर खाइहाल्छन् नि ! म बाँचेर मेरा हात खुट्टा नबसुञ्जेल मैले घर त रुँग्छु नि हौ ! बुहारीले पनि किन पो आज पिर गरेकी हुन्, तिम्रो आजै मात्र हो र ? कतै न कतै कुनै न कुनै पार्टी त तिम्रो सधैँ नै हुन्छ नि, हैन र ?

तिमीहरु आआफ्ना काममा जाओ न… !’ भात खाइसकेकी सासूले पनि मौकामा नजानिदो गरी बुहारी लक्षित व्यङ्ग्यवाण जोसिएरै छोडेकी थिइन् ।
‘आमा सतीले यताउती नगरी कसरी घर चलेको छ र ? तपाईँलाई के थाहा र अहिलेको बजार भाऊ ! एउटाको कमाईले दुईटा केटाकेटीलाई राम्रो स्कूलमा पढाउनु पर्ने ! अनि तपाईँको औषधी उपचार ! पाउनापासा, चेलीबेटी, चाडपर्व सबै धान्नु पर्ने ! धन्न भन्नुस् न आमा ! धन्न !’ भात खाइसकेको लोग्नेले चुठ्न उठ्दै स्वास्नीको तरफदारी गरेको थियो ।

‘मैले के भनेकी छु र ? तर यो पार्टीसार्टी भन्दा बरु छोरा जत्तिकै पढेकी बुहारीले पनि एउटा ढुक्कको जागीरै खाएकी भए पनि हुन्थ्यो नि भन्ने चाहीँ लाग्छ है मलाई । तर पनि तिमीहरुले मैलेभन्दा बढी जानेका छौ । के भा‘ छ र हामीलाई… बुहारीले बाहिर पनि भ्याएकी छिन्, भित्र पनि हाम्रो हेरविचार गरेकै छिन्, मैले भन्ने केही ठाउँ छैन।’ बुहारी लक्षित आफ्नो व्यङ्ग्यवाणको जवाफ आमाले छोराको मुखबाटैभेटेकी थिइन् । आफ्नो कुरा भनेर छोरो त्यहाँबाट हतारहतार आफ्नो कोठामा पसिसकेको पनि थियो । त्यसपछि बुहारी समक्ष नै अलि भारी र गलेको स्वरमा सासूले आफूलाई रित्याउने उपक्रम गरेकी थिइन् ।

‘आमा, एक त भनेजस्तो जागीर पाइँदैन । उमेर छँदै, पढ्दापढ्दै जाँच दिएर, पास भएर,मैले पनि हजुरको छोराको जस्तै सरकारी स्थायी जागीर खाएको भए हुन्थ्यो । तर हजुरको छोरालाई पो मैले पढ्न पनि सघाएँ । छोराछोरी, घरपरिवार सबै सम्हाल्दा सम्हाल्दै म चाहीँ पढेर जाँच दिनै नसक्ने भएँछु । अनि मैले यस्तै किट्टि पार्टी तिर लागेर नकमाउँदा के गरी घर चलाउनु ?हजुर नै भनिस्योस् न.. !’ आँखाभरि आँसु भरिँदै गरेकी सतीको आद्र स्वर निस्केको थियो ।

‘… नत्र मलाई पनि त इज्जतिलो सरकारी जागीर खान मन थिएन होला र …?’
‘… सासू बुहारीको गन्थन अझै सकिएन ? लौ म त हिँडेँ है !’ सरकारी पोसाकमा सजिइसकेपछि निस्किनै लागेको भान गरेर लोग्नेले स्वास्नीलाई कोठामा सधैँ झैँ डाकेको थियो ।

***

‘… आज पनि थाकेरै आउँछु होला नत्र…!’ स्वास्नीसँग विदाईको चुम्वन लिँदै गरेको लोग्नेले अँगालोमा बाँधिएकी स्वास्नीका रसिला आँखामा हेरेर भनेको थियो ।

‘…हजुर पनि किन बूढो नभाको होला …?’ सती लोग्नेलाई आफूबाट छुटाउने उपक्रममा लागेर बोलेकी थिई ।
‘.. तिमीजस्ती स्वास्नीको लोग्ने कहिले बूढो हुँदैन क्या…!’ लोग्नेले फु-क्याउन खोजेको थियो ।
‘… लल अझै पुगेन फु-क्याउन ? अहिले ड्राइभरले फोन गर्छ ।’
‘…जय हनुमान….!’ सतीले भनिनसक्दै लोग्नेको मोबाइल बजेको थियो ।
‘…सन्तबहादुर, म आइपुगेँ, ढोकैमा छु, एक मिनेट…!’ सतीको अनुहारमा हाँसेर हेर्दै लोग्ने ढोकातिर लागेको थियो ।
‘आमा… सञ्जु… सरिन.. सती.. बाई..’ आवाजसँगसँगै सतीको लोग्ने त्यहाँबाट निस्केको थियो ।
***

‘… तिमीलाई त मान्नु पर्छ यार, कसरी घर परिवार र बाहिरी दुनियाँ पनि मज्जाले ह्याण्डल गरेकी छौ ?’ उसले भनेको थियो ।
‘… सबै कुरा जीवन र परिस्थितिले सिकाउँदो रहेछ, बुझ्यौ ललित…!’ भित्री लुगा लगाउँदै गरेकी सतीले भनेकी थिई ।
‘… अनि तिम्री श्रीमतीले पनि त गज्जब म्यानेज गरेकी छिन् नि …!’ फेरि पनि सतीले नै भनेकी थिई ।

‘… उसँग तिम्रो तुलना गर्नै मिल्दैन सती ! ऊ भनेकी जागीरे हो । सम्मानीत जागीरे !’ ललितले स्वास्नीप्रतिको गौरव अभिव्यक्त गरेको थियो ।
‘ … महिनामा एकहप्ता विदेशी कन्फ्रेन्समा भाग लिनजाने सम्मानीत जागीरे भन न…!’ सतीले व्यङ्य मिश्रित हाँसोका साथ जवाफ फर्काएकी थिई । स्वास्नीभिमानमा गमक्क परेको ललितको यो स्वरुप त्यसबेला सतीले सहनै सकिरहेकी थिइन ।

‘… मिस्टर, एकपटक उनको कन्फ्रेन्स र मेरो किट्टि पार्टी एउटै होटलमा परेको थियो । मलाई तिम्रो दुनियाँमा आगो लाउने ईच्छा त थिएन, ललित! तर आज तिमीलेआफ्नी स्वास्नीलाई मसँग तुलनै गर्न नसक्दा मैले सत्य खोलिदिएकी हुँ । सोध्न सक्छौ भने तिम्री स्वास्नीलाई सोध– ‘आजभन्दा एक महिना अघि धुलिखेल होटलको १०५ नम्बर कोठामा कोसँग बसेकी थियौ?’ र सोध–‘त्यहाँ तिमीलेहोटलको लवीमा सती पराजुली नामकी कुनै आइमाईसँग परिचय गरेकी थियौ ?’ प्रिय ललित ! अब तिमी मसँग सोधौला–‘त्यो मेरी स्वास्नी नै हो भनेर तिमीले कसरी भन्न सक्छ्यौ?’ मैले कुनै दिन तिम्रो फेसबुक एकाउन्टको प्रोफाइल पिक्चर र तिम्रो फ्रेण्ड लिस्टबाट सलिनाको समेत प्रोफाइल हेरेकी थिएँ । मेरो कुरामा तिमीलाई विश्वास नलागे तिम्री सलिना यसपालीको बिजिनेश कन्फ्रेन्सवाट घर फर्केपछि उनैको मोबाइलमा सेभ भएको मेरो नम्बरमा कल गर न है !’

केही अघिमात्र सलिनाको गर्वमा चुलिएको उसको लोग्नेको शिर सतीका अघिल्तिर लत्रेको थियो । शायद उसका मनमा सतीले बोलेको सत्यले स्थान लिँदै थियो ।

‘छि… कस्तो जिन्दगी…?’ ललितको निराश भाव चोपलिएको पराजितप्रश्न सती लक्षित थियो ।

‘…हा..हा..हा…!’ त्यतिखेर फेरि सती निक्कै मज्जाले हाँसेकी थिई ।

‘… चरित्रहीन मानिसहरू साह«ै निर्लज्ज पनि हुने…!’ सतीको हाँसोले थप घाइते ललितले आफूभित्रको डाहा र जलन पोख्न खोजेको थियो ।

‘… युगौँदेखि तिमी पुरुषहरूले आइमाईको चरित्रको ठेक्का लियौ । त्यसबेला तिमीहरूलाई केही भएन । तिमीहरूले खुब रमाएर जीवन बितायौ ।अब हामीले पनि तिमी पुरुषहरूको चरित्रको ठेक्का लिन थालेपछि तिमीलाई गाह«ो भयो ? हा.. हा.. हा.. ! निरीह पुरुष…! अब तिमीहरू मात्र निरीह पुरुष हौ …!’ सतीले आफूसँग आँखा जुधाउन नसकेको अवस्थामा रहेको ललितको अनुहारमा आँखा गाडेर हेर्दै, उसको पीडामास्वाद लिँदै,आफ्नो पीडा घटाउन खोजेकी थिई ।

‘… अनि यस्तो कर्म गर्ने तिमीहरुजस्ता आइमाईहरूले बिहे चाहीँ किन गर्छौ हँ…?’ आखिर युगौँदेखि बोकी आएको पुरूष स्वाभिमान शिर झुकाएरै भए पनि हार्ने पक्षमा थिएन । त्यसैले सतीलाई ताकेर अन्तिम चोट दिने लक्षमा थियो– ललित ।

‘… हा…हा…हा…!’ सतीको त्यसबेलाको उन्मुक्त विजयी भावको हाँसो सहन होटलको ठूलो भव्य कोठाको भित्तालाई पनि कठिन होलाजस्तोभएको थियो ।

‘… तिमी लोग्नेहरू फगत् लाइसेन्स हौ, लाइसेन्स् । बुझ्यौ ललित… ! तिमी पनि सलिनाको लाइसेन्समात्र हौ…!’ पराजित लोग्ने सतीको जवाफ सुनेर थप पराजित भावमा सतीका अनुहारमा ट्वाल्ल परेर हेरिरहेको थियो ।

‘… ओहो.. ८ बजिसकेछ… । खोई त तिम्रो पर्स…!’ सतीले नारी घडीमा हेरेपछि उसलाई सोध्दा नसोध्दै ललितले सधैँ झैँ आफ्नो पर्स सतीका हातमा थमाई दिएको थियो ।

‘… आज २० के. लगेँ है… ! भोलि छोरीको फि तिर्नु छ । पछि मिलाउनु परे मिलाउँला है…! डोन्ट ओरी यार… ! टेक इट इजी…! इफ आई हर्ट यू सरी ! तर आज तिमीले मलाई हेपेको मैले सहन सकिन यार । कुनबेला घर जान्छौ ?’ उसको पर्स फिर्ता गर्दै अझै झोक््रयाइरहेको ललितलाईसतीले सामान्य बनाउने प्रयत्न गरेकी थिई ।

‘म आज यतै बस्छु, भोलि पनि अफिस विदा छ, तिमी आज यतै बस्न मिल्दैन है ?’ अनुनयको भावमा ललित बोलेको थियो ।
‘ हैट…! तिमीले पनि यो कस्तो कुरा गरेको होला यार…ललित ! म परिवारवाला मान्छे हुँ भन्ने तिमीलाई थाहा छैन र ?’

‘… तर आज मलाई तिम्रो धेरै खाँचो छ सती….! मसँग पनि त तिमीले यत्तिको समय बिताएकी छौ…आज… ।’ ललित आद्र श्वरमै बोलेको थियो ।
‘… हो तिमी र मवीच पनि गीभ एन टेकको रिलेशन भएको लामो समय भएको एकदम ठीक हो । वट आई मीन, माई फस्र्ट प्राइरिटी ईज माई फेमेली,यार ललित ! ट्राई टु अण्डरस्ट्याण्ड माई सिचुएशन । टेक केयर डियर …; लभ यू डियर… !’ सतीले ललितको निधारमा चुम्वन गरेर उसलाई आफ्नो छातीमा टाँसेरै भनेकी थिई । आफूले ललितलाई आज यति धेरै दुखी तुल्याएको एककिसिमको पछुतोले पनि उसलाई तत्क्षण गाँज्न खोजेको थियो ।

‘…त्यसो भए भोलि पनि आजकै समयमा तिमी आऊ न त है, म कतै नगई तिमीलाई नै पर्खेर बस्छु ।’ ललितले अनुनय कै भाखामा भनेको थियो ।
‘… म अहिले केही भन्न सक्तिन, आउने भएँ भने भोलि विहान भाइबर गर्छु नि है …!’ सती अनि फुत्केकी थिई ।

***

… सतीले त्रिपुरेश्वरबाट जोरपाटीको नयाँबस्तीका लागि नाइट ट्याक्सी लिएकी थिई ।

प्रतिक्रिया

सम्बन्धित खवर