✍️ जनक कार्की
आकाशका सबै तारा धरतीमा खसेर चम्किए जस्तै हुन्छ– तिहारका रात । भुइँ मान्छेले पनि भुइँ छोडेर, मच्चिन पाउँछन् लिङगे पिङमा । सेलले रोटे पिङझैँ फन्का मारेर गोलाकार वृत्त बनाउँछ । सयपत्री र मखमलीले वातावरणलाई अत्तर छर्किदै हिँड्छन् । देउसी भैंलोको सुरिलो भाकाले हृदय लठ्ठिन्छ ।
साँस्कृतिक पक्षबाट मात्र होइन मनोरञ्जनात्मक हिसाबले पनि तिहार प्रायः मानिसका लागि प्रेमिका चाड हो । झिलिमिली दियो घरमा मात्र होइन मनमा पनि बल्छन् । दशैँको ह्याङओभर सकिन लाग्दा नलाग्दै तिहारको रौनकले मनमा आनन्दको वर्षा गराउँछ ।
तिहारको यो रमझममा साहित्यकारको चमकझमक के कसो होला भनेर साहित्यप्रेमीलाई कुतूहलता हुनु स्वभाविक हो । तिहारको रौनकमा लेखकको मनको दियो कसरी जल्दैछ ? भनेर सेतोमाटो डटकमका लागि सहकर्मी जनक कार्कीले केही साहित्यकारसँग गरिएको वार्ताका आधारमा तयार पारिएको आलेख प्रस्तुत छः
तिहारमा दुई दिनको विदा यता न उता – राजा पुनियानी

जोसिला, रसिला, हँसिला राजा पुनीयानी भारतका प्रशिद्ध नेपाली भाषी कवि हुन् । उनको कवितामा माटोको सुगन्ध त पाइन्छ नै वाचनमा अग्र्यानिक स्वाद पनि हुन्छ । उनी सिलिगुरीको सुरेन्द्र इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजमा सहायक प्राध्यापकको रूपमा आवद्ध छन् ।
यसपालिको तिहारमा भने उनले आफू केही थाँती किताबका पाण्डुलिपिमाथि काम गर्ने सोचमा छन् । भन्छन् “मलाई सधैँ सताउने कुरा भनेको थाँतीमा रहेका सितिमिति कामकुरा हुन् । हुन त सास फुस्किञ्जेल पनि जिन्दगी नै आफै थाँती रहि रहने रहेछ । बाँकी रही रहने रहेछ ।” मानिसहरू जिएर पनि जिउनै भुल्ने गरेको उनी बताउँछन् । उनले थपे “बाँचेर पनि बाँच्नै नभ्याएको जिन्दगी हाम्रो । सन्यास लिनुअघि केही थाँती किताबका पाण्डुलिपिमाथि काम गरौँ कि भनेको नि यसपालि ।”
बाल्यकालको तिहार भने उनले बिर्सन सकेका छैनन् । बालखामा देउसी खेलेर पैसा बाँड़्दाको क्षण भने उनको लागि अविस्मरणीय बनेको छ । भन्छन् “ देउसी खेलेर पैसा बाड्दा ठूलै कमाइ गरिएको अनुभव हुने । उबेला ५०–६० रूपियाँको कमाइ । हतार हतार आलुदम, मिठाइ किनेर खाइएको स्वाद – वाह ! अनि खाएर उब्रिएको पैसा चाहिँ कन्तुरमा हालिने किताब किन्नलाई ।”
यसपालि तिहारको फुर्सदिलो समयको सदुपयोग गरेर राजाले लिजेण्डरी कवि–लोक शोधकर्ता वैरागी काइँलाद्वारा सङ्कलित तङसिङ मुन्धुममा रमाउने विचार गरेका छन् । काइँला सङ्कलित अरू पाँच मुन्धुमको खोजीमा रहेको पनि बताएँ । कवि मामा स्वप्निल स्मृतिले प्रज्ञामा आउट अफ स्टक छ भन्ने जनाएका कुरा पनि सेयर गरेँ । “कसैले मलाई मुन्धुम समग्र उपहार दिएदेखि त कति गज्जब हुने !” उनी लोभिए । भ्याएसम्म ‘हरारी’ पनि मुसारिहाल्ने चाह राखेका छन् । “‘हरारी’ मिलेन भने ‘निकोनार पार्रा’, ‘न्गुगी बा थ्योङ्ग्यो’, ‘साल्भोज जिजेक’हरू झिकेर यसो कोट्याउने सोच छ –” उनले भने ।
तिहारले दसैंको लगत्तै रमाउने फेरि एक मौका दिने हुनाले तिहारको यो पक्ष राजालाई मनपर्छ । पानी मुनि र माथिका भनिनेहरूको भाँजो देख–अनदेख, जान–अन्जान यस्तै उज्यालोको चाड़पर्वमा झन् चहकिलो गरी उज्यालिएको भने उनलाई मन पर्दैन । तिहारमा दुई दिनको विदा यता न उता भएकोले सिर्जनात्मक बनाउन पहल नगर्ने उनले बताए ।
पढ्नको लागि दशैं तिहार आउनु पर्दैन – निरूपा प्रसून

निरूपा प्रसून आख्यानकारको रूपमा परिचित नाम हो । उनी जनता मिडिया नेटवर्कमा आवद्ध छिन् । यसपटकको तिहार निरूपाले दाइलाई टिका लगाइदिएर आफ्नो मूलघर चितवनमा मनाउदै छिन् । तिहार उनको मनपर्ने चाड हो । केही वर्ष अगाडि सबै दिदीहरू र दाइहरू सागै भएर ठुलो बुवाको परिवारसँगै टिका लगाउँदा धेरैजना हुने र बिशेष रमाइलो हुने भए पनि अहिले परिवार छरिएकाले दुई जनामा मात्रै सीमित हुनु परेको उनले गुनासो गरिन्छ । ठूलो परिवारबीच टिका लगाइने भएकोले नै उनलाई त्यसैले त सानो बेलाको तिहार सम्झना भइरहन्छ ।
तिहारमा उनले कुनै पनि पुस्तक पढ्ने योजना बनाएकी छैनन् । उनका अनुसार पुस्तक पढ्नको लागि दशैं तिहार आउनु पर्दैन ।
तिहारमा काग पूजा गर्ने देखी कुकुर पूजा, गाइ पूजा गोरु पूजा, लक्ष्मी पूजा अनि दाइहरुलाई टिका लगाउने, देउसी भैली खेलेको हेर्न मज्जा आउने उनको भनाई छ । भन्छिन् “जताततै सयपत्री, मखमलीको माला र झिलिमिलीले खुब मन लुट्छ तर पटका पट्काएको मन पर्दैन ।” उनी तिहारको समयमा पढेर सोचेर लेखेर बस्न रुचाउदिनन् ।
दशैं तिहार पारिवारिक चाड हो – राजेन्द्र थापा

वरिष्ठ गीतकार राजेन्द्र थापा जनजिब्रोका लागि लोकप्रिय नाम हो । सायद सबै पुस्ताका जिब्रोले उनका गीत एक न एकचोटी गुनगुनाएकै हुनुपर्छ । कालजयी गीत देखि समकालीन गीतमा समेत योगदान पुर्याएका गीतकार थापा अहिले पनि उत्तिकै सक्रिय छन् । उनको सक्रियतालाई नियाल्दा ‘बाघ कहिले बूढो हुन्न’भन्ने उखानलाई स्मरण हुन्छ ।
उनका अनुसार तिहारको अर्थ हो ‘त्योहार’ अर्थात जुनसुकै पनि चाड तिहार हो । तर यो नेपाली तिहारका तिथिमिति हिन्दुस्थानी दिवालीसङ्ग समान भए पनि गाउँ घरमा रमाइलोको तरिका पशुपुजा, देउसी भैलो र भाइटिकामा नेपाली सामाजिक मनोविज्ञानको झलक आएकोले यो हिन्दुचाडमा मात्रै सीमित नभएको उनको दावी छ ।
काठमाडौँकै भएकोले दशैं तिहारमा कतै गाउँ परिवार जाने भेटघाट आदि कुनै चलन नै हुने कुरो नभएकोले जेजस्तो छ त्यसरी नै तिहार बित्ने गरेको उनले बताए । उपत्यकामा लक्ष्मीपुजामा साना केटीले भैलो र गोरुपुजामा साना केटाले मात्र देउसी माग्ने हुँदा अन्यको लागि यो पाच्य भएन भनेर भन्ने गरेको उनी सुनाउँछन् । दियो बाल्ने र सेल मात्र अरुसङ्ग मिल्ने कारण कुनै बिशेष कार्यक्रम नभएको बताउँछन् ।
वली र हिंसा निषेध गर्ने तास जुवा नछुने कारण दशैं तिहार या अन्य दिन उस्तैउस्तै लाग्छ उनलाई ।
तिहारमा मात्र नभई मन लागेको समयमा सदैव लेख्ने भएकोले उनी यसलाई निरन्तरको कर्म भन्छन् । उनी भन्छन् “बिदामा किताब पढ्छु भनेर सार्बजनिक गर्नु र यो खान्छु भन्नु भनेको मानसिक रूपमा हिनता बोधक लक्षण हो जो समाजमा खाएको लाएको पाएको कमाएको देखाउनु हुन्न भन्ने मर्यादाको बिपरित परेको कुरा व्यक्त गर्छन् ।”
मुसलमानी कल्चरको नक्कल पटका पड्काउने कार्य गर्ने कार्यलाई निषेध घोषणा गरे पनि मिडिया मार्फत गार्जियनलाई सचेत गराउने कार्य हुनुपर्छ भन्ने मान्यता राख्छन् ।
दशैं तिहार पारिवारिक चाड भएकोले पारिवारिक रूपमा मनाइनुपर्ने हुँदा सृजनात्मक या अध्ययनात्मक बनाउने सोच नै भ्रमित हो भन्छन् उनी ।
एकजना साथीले इँजारभित्र पैसा लुकाएको मैले देखें…– युवराज नयाँघरे

युवराज नयाँघरेले नेपाली साहित्यलाई दर्जनभन्दा बढी कृति उपहार दिइसकेका छन् । ‘एक हातको ताली’ निबन्ध सङ्ग्रहका लागि ‘मदन पुरस्कार २०६५’ बाट सम्मानितसमेत भएका नयाँ घरे लेखन कर्ममा आज पनि उत्तिकै सक्रिय छन् ।
युवराज नयाँघरेले यसपटकको तिहारमा इलामका केही पश्चिमी भुभाग घुम्ने योजना बनाएका छन् । कुनै समय यी ठाउँमा पैदल हिँडेको र अचेल गाडी पुगेको सुनेकाले त्यता पुगेर परिवर्तन हेर्ने मन बनाएको बताउँछन् ।
तिहारको स्मरणीय पल सम्झिदै नयाँघरे भन्छन, “केटाकेटीमा देउसी रातभर खेलिन्थ्यो । गाउँ गाउँ घुमेर देउसी खेल्दाखेल्दै एकजना साथीले इँजारभित्र पैसा लुकाएको मैले देखें । त्यसो नगर्न भनें । उसले मानेन । मलाई नि त्यसै गर्न भन्यो । मैले इन्कार गरें । पछि उसको कुरा नमानेको निहुँमा मलाई वनभात खान लगिएन । त्यो बेला देउसीको कमाइले वनभोज जाने चलन थियो । अति इमान्दारी हुँदा सानैदेखि सजाय पाएको सम्झना हरेक तिहारमा सम्झन्छु ।”
यसपालिको तिहारमा फुर्सदको समयलाई सदुपयोग गरेर नयाँघरेले वैरागी काइँलामाथि तयार भएको ग्रन्थ साथी बनाउने मन गरेका छन् । “यसमा कृष्ण धरावासीको त्यो मिहिनेत हेर्नु छ ।” उनले भने ।
तिहारको फूल, मसला र सेलरोटीको मगमग मन पर्छ उनलाई । साथै झिलिमिली बत्तीको प्रकाश विशेष मन पर्ने उनले बताए । “तर अत्याधिक पटका पड्केको मन पर्दैन । पञ्चक लागेदेखि नै पटका पड्कन थालेपछि मन बेचैन हुन्छ । त्यतिबेलाको काठमाडौँको वातावरण कोलाहलमय लाग्छ । त्यसैले यसबाट उन्मुक्ति पाउन गाउँ गएर धानबारीतिर डुल्न पराउँछु ।” उनले भने ।
तिहारको समयलाई सिर्जनात्मक बनाउन के कस्तो प्रयत्न गर्नुपर्ला भन्ने प्रश्नमा उनले भने “प्रकृतिको अत्यन्तै हार्दिक र सुन्दर रूप हेर्ने समय हो तिहारको बेला । उज्याला हिमाल, सङला खोला, निलो आकाश हेर्दै आफ्ना ललित निबन्धहरु सम्पादन गर्ने मन हुन्छ यो बेला । पहाडको कुनै गाउँ घुमेर आनन्दित हुन्छु तिहारको समयमा ।” यसपटक लेख्नभन्दा पढ्न मन गरेको उनले बताए ।
दशैं तिहार जस्ता चाडपर्व पढ्नका लागि अनुकूल समय होइन – विप्लव ढकाल

विप्लव ढकाल समसामयिक नेपाली कविता धाराका एक सशक्त हस्ताक्षर हुन् । उनका कवितामा विद्रोहको चेत निकै गम्भीर ढङ्गले आएको हुन्छ । उनका हालसम्म विभिन्न विधाका ८ वटा पुस्तकाकार कृति प्रकाशित छन् । उनको ‘भोजपुरको साहित्यिक रूपरेखा’ नामक अनुसन्धानात्मक कृतिले भोजपुर जिल्लाको साहित्यिक इतिहासलाई सूक्ष्म र सघन रूपमा समेटेको छ । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका ढकाल लामो समयदेखि प्राध्यापनमा संलग्न छन् ।
कवि विप्लवले यसपटकको तिहार परिवारसँग रमाइलो गरेर मनाउँदै छन् । भर्खरै बुबाआमा अमेरिकाबाट फर्किएकाले, पारिवारिक जमघट गरेर तिहारलाई रोचक बनाउने योजना बुनेका छन् ।
तिहार सम्झिदा उनलाई किशोरवयको तिहार विशेषगरी सम्झनामा आउँछ । उनले भने “किशोर कालमा गाउँमा रातभरि देउसी खेलिन्थ्यो । एउटा तिहारमा पानी निकै परेको थियो । जमिन मज्जाले भिजेको थियो । मध्यरातमा १०–१२ जना देउसेहरू अम्बाको रुखमा चढेर अम्बा टिप्दै थियौँ । अचानक रुख जरैसमेत ढल्यो । सबै जना भुइँमा पछारियौँ । प्रायः सबै घाइते भए । मेरो खुट्टामा पनि चोट लागेको थियो । यो घटना तिहारमा सधैं सम्झिन्छु ।”
उनी दसैं–तिहार जस्ता पर्वमा म पुस्तक पढ्न चाहदैनन् । पढ्ने योजना पनि बनाउँदैनन् । भन्छन् “फेस्टिव मुडमा हुन्छन् । भीडमा हुन्छन् । पढ्नका लागि यो अनुकूल समय होइन भन्ने लाग्छ । पढेको अभिनय पनि गर्न चाहन्न ।” पढ्नका लागि चाडपर्वभन्दा अरू नै समय रोज्ने गरेको बताउँछन् । धेरै मित्रहरू दसैंतिहारमा पढ्न भनेर थुप्रै किताबका चाङ देखाउँछन् तर उनीचाहिँ बौद्धिक थकाइबाट पनि विश्राम लिन चाहन्छन् ।
उनलाई तिहारका प्रायः सबै पक्षहरू सुन्दर र सकारात्मक लाग्छन् । जीवनको उच्च मूल्यसँग जोडिएका, प्रतीकात्मक अर्थ बोकेकाले तिहार उनको विशेष मन पर्ने चाड हो ।
तिहारलाई सिर्जनात्मक बनाउनको लागि कवि विप्लवले फ्रि भएर सोच्न र सूक्ष्म रूपमा अनुभूत गर्ने सुझाव दिन्छत् । उनी भन्छन् “भावनात्मक ऊर्जा सँगाल्ने र पछि फुर्सदमा, एकान्तमा उपयुक्त समयमा त्यही ऊर्जालाई सिर्जनात्मक रूपान्तरण गर्ने कोसिस गर्नुपर्दछ ।”
साँस्कृतिक हस्तान्तरण चाहि हुन नसकिरहेको देख्दा दुःख लाग्छ – सरस्वती प्रतीक्षा

सरस्वती प्रतीक्षा सफल कवि तथा आख्यानकार हुन् । पोखराले नेपाली कला, साहित्य र संगीतलाई सदैव उपहार दिइरहन्छ, त्यहीँ परम्पराको निरन्तरताको अमूल्य उपहार हुन्, सरस्वती । सरस्वती प्रतीक्षासँग कुरा गर्दा यो प्रश्न व्यर्थमा सोधेजस्तो भयो । तपाईंको यसपटकको तिहार कस्तो हुँदै छ ? भन्ने प्रश्नले सरस्वती घाउँ पुनः बल्झियो । यसपालिको तिहार उनको जिन्दगीको सबैभन्दा पिडादायक तिहार भएको उनले बताइन् । जन्मेर यो उमेरसमम्म आइपुग्दापुग्दा दुईजना भाइलाई टिका लगाइदिएको, अघिल्लो बर्ष जेठो भाइको दुर्घटनामा देहावसान भएपछि यतिबेला जीवनकै खल्लो तिहार मनाउने पूर्वाधमा आफू रहेको उनले बताइन् ।
हाम्रा कति अवैज्ञानिक परम्परा र संस्कारलाई उनले चुनौती पनि दिएकी छिन् । भाइहरूको एकल दिदी भएकोले यतिका बर्षका कयौ पटक तिहारमा महिनावारी भएर पनि भाइहरूको टिका रोकिनन् र उनीहरूले थाहा पनि नपाएको उनले बताइन् । आफ्नो महिनावारीले भाइहरूको निधार खाली नभएको सम्झदा आफूलाई खुशी लागेको उनले सुनाइन् ।
यतिबेला पुस्तकको मुडमा नभएको पनि बताउँछिन् । उनलाई तिहारको उज्यालो र रंग सबैभन्दा मनपर्ने कुरा हो । तर चाडबाड मनाउदै गर्दा साँस्कृतिक हस्तान्तरण चाहि हुन नसकिरहेको देख्दा दुःख लाग्छ उनलाई । सृजनाका लागि तिहार नचाहिने उनको विचार छ । उल्लासले उर्जा थप्ने र तिहारमा प्राप्त हुने उल्लासले केहि बल चाहि थप्छ भन्ने कुरामा उनको भने उनी विश्वास गर्छिन् ।
सृजनात्मक समयको लागि कुनै उत्सव कुर्नु पर्दैन – आचार्य प्रभा

आचार्य प्रभा करिव दुई दशक देखि अमेरिकामा बसेर साहित्यका विभिन्न विधामा कलम चलाउँछिन् । छिट्टै समय अनुकुल हुनसाथ लघुकथा सङ्ग्रह निकाल्ने तयारीमा पनि छिन् । उनी यसपालीको तिहार मनाउने परिस्थिति छैनन् । उनी भन्छिन् “यी बर्षहरूमा धेरैले आफ्नो सन्तान गुमाउनु परेकोको छ । त्यस्तै प्रारब्धमा म पनि गुज्रिएकी छु ।”
तिहारका स्मरणीय घटनाहरू छन् ? भन्ने प्रश्नमा उनले भनिन् “तिहारको स्मरणीय र रोचक घट्नाहरू नहुने त कुरै भएन नि ! अनगिन्ति छन् । म प्रवासमा निक्कै बर्षदेखि रहेकीले बिगतका घर, आँगनमा मनाएका सबै तिहारलाई स्मरण गर्छु । प्रवासमा भए पनि हामी जहाँ रहे पनि आफ्नो रितीरिवाजलाई कायम राख्दै तिहार मनाउँछौं त्यसैले सबै ठाउँमा मनाईएका तिहारहरु स्मरणीय र रोचक नै भन्नु पर्छ ।”
तिहार र पुस्तक पठनको कुरामा उनी पुस्तक पढ्नलाई समय र साइत नै जुर्नु पर्छ भन्ने नभएको बताउँछिन् । पुस्तक भेट्दा समय मिलेसम्म अरूबेला पनि पढिने तर, प्रवासमा पुस्तक प्राप्तिको सहजता त्यति नभएकोले अनलाइन पत्रिकाहरूका लेख रचना पढ्न बाहेक अर्को विकल्प नरहेको उनको गुनासो छ । पाएसम्म जे भेटिन्छ पढ्ने उनले बताइन् ।
प्रभालाई तिहारको मनपर्ने पक्ष भनेको पीर, चिन्ताले बर्षैभरी अन्धकारमा रूमलिएको वातावरणमय घर पनि तिहारमा उज्यालो र हाँसीखुशीले भरिदिनु हो । सयपत्री, मखमली, गोदावरी फूलहरू ढकमक्त फुलेर घर, आँगन मग्मगाएर सुगन्धमय हुँदा मन प्रफुल्लित हुने उनले बताइन् । उनी भन्छिन् “बर्षौंबर्ष चेली माईतीको भेट् नभए पनि भाइटिकाको माध्यमले भेट् गराई दिन्छ । देउसी, भैलोले घर, आँगनमा खुशीयाली छरी दिन्छ ।”
यद्यपि, चाडबाडमा विकृति हुन नहुने उनको भनाई छ । उनी भन्छिन् “तिहारको वाहानामा धेरै मादक पर्दाथ खाएर होहल्ला गर्ने, रात रातभर जुवा, तासमा अल्मलिएर घर, व्यवहार र दैनिकी बिर्सिने बानी कसैकसैको हुन्छ त्यस्ता यावत कर्महरू मलाई मात्र के कसैलाई पनि मन पर्दैन । बस् चाड्बाड मनाऔं रमाएर आफ्नो परिधिभित्र रहेर नकि उच्छृंखलताको पराकाष्ठा नाँघेर ।”
उनी तिहारको समय मात्र होइन समय मिलेसम्म हर समय नै सृजनामा रम्ने गरेको बताउँछिन् । सृजनात्मक समयको लागि कुनै उत्सव कुर्नु पर्दैन । उनले भनिन् “तर तिहारको समयलाई सृजनात्मक बनाउँन म आफूलाई सक्दो नयाँ, रचनाहरूको सृजनामा समर्पित गर्नेछु । तिहार सम्बन्धी गजल, कथा, कविता रच्नेछु र रच्दै पनि छु ।”
महिलाले समय नचोरी पढुलाँ भन्ने नसोचे नि हुन्छ – विना थिङ

कथा र कवितामा उस्तै सशक्त कलम चलाउने कवि तथा कथाकार विना थिङ ब्राहखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा प्रथम भएर थप चर्चा बटुलेकी स्रष्टा हुन् ।
यसपालिको तिहार सधैं जस्तै रहेको उनले बताइन् । उनले भनिन् “तिहार उज्यालोको पर्व हो । झ्यालबाट याम्बुको झिलिमिली हेर्दै परिवारसँग समय व्यतित गर्नेछु ।”
बाल्यकालको तिहार भने उनले बिर्सन सकेकी छैनन् । “सानोमा भैलो खेल्न खुब मन पर्थ्यो । भुराभुरीलाई ठूलाहरुले सँगै लादैँनथे । हामीसँग स्रोत साधन ( क्यासेट प्लेयर, मादल, खैचडी ) थिएन ।” उनी नोस्टाल्जिक भइन् ।
“सम्झना मिश्र (मितिनी बहिनी ) राम्रो नाच्थिन् । त्यतिबेला ‘मोहनी लाग्ला है लाहुरेको बोलीले’ बोलको गीत चर्चित थियो । मैले त्यसै गीतको भाकामा ‘तिहारै आयो है’ शब्द रचेँ । हामी चार÷पाँचजनाले त्यही गीत गायौँ । ताली बजायौँ । सम्झना नाचिन् । यसरी भैलो खेल्यौं । त्यो समय अझै याद छ ।” उनले थपिन् ।
तिहारमा कुनै पुस्तक पढ्ने योजना भने उनको छैन । उनले भनिन् “पूरा नहुने योजना बनाइनँ । यसै पनि चाडबाड महिलाको लागि बोझिलो हुन्छ । तिहार त झन् व्यस्त हुने पर्व हो । रातरातभर देउसी भैलो आउँछन् । भाइटिकाको तयारीले भ्याइनभ्याइ हुन्छ । समय चोर्नै पाइन्न । हाम्रो संस्कृतिको ताल्चा यसरी लागेको छ कि, महिलाले समय नचोरी पढुलाँ नसोचे नि हुन्छ ।”
तिहारको उज्यालो उनलाई एकदम मन पर्छ । बत्तीहरुको झिलिमिली झनै मन पर्छ । देउसीभैलोको नाउँमा रातरातभर दुःख दिएको चै पटक्कै मनपर्दैन उनलाई ।
बिदाको समयमा सधैंको कुदाकुदबाट केही दिन राहत पाउने भएकोले सन्तानहरूलाई समय दिने उनले बताइन् । “सन्तानहरूसँग पूरा दिन बिताउन पाउनु पनि सिर्जनात्मक समय हुनेछ–” उनी भन्छिन् ।
प्रतिक्रिया
-
४
