✍️ टुका देवी पौडेल आचार्य

सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकीको पहिलो भौतिक उपस्थितिको कार्यक्रममा नदीपुर पोखरामा भेटिएका कवि शम्भु अर्याल शारीरिक कदजस्तै उचाईका कविका रूपमा स्थापित कवि भन्न अत्युक्ति नहोला । त्यसो त उनलाई उद्योग बाणिज्य संघ शुक्लागण्डकी बजार इकाईद्वारा आयोजित महोत्सवमा शुक्लासाहित्य सङ्गमले सञ्चालन गरेको ‘राष्ट्रिय गजल प्रतियोगिता’मा प्रतियोगीका रूपमा पनि भेटेको व्यक्तित्व हुन् उनी जुनबेला मैले कार्यक्रम सञ्चालन गरेकी थिएँ । तथापि उनीसँगको औपचारिक चिनजान भने सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकीले नै गरायो । ‘सेतो सुनखानी’भने मेरो लघुकथा सङ्ग्रह ‘बार्दली’को विमोचन समारोह मिति २०७८/०५/१० मा उपहार स्वरुप प्राप्त भयो र अध्ययन गर्ने अवसर मिल्यो ।

नेपाली साहित्यमा बढी फस्टाएको विधाको रूपमा परिचित कविता विधाले विभिन्न अवस्थालाई आयामका सन्दर्भमा प्रस्तुत गरेको छ । नेपाली कविताको इतिहासमा विद्रोहपूर्ण चेतनालाई प्रतिस्थापित, सान्दर्भिक र सबल बनाउने स्रष्टाहरूमा देवकोटा, सिद्धिचरण श्रेष्ठ, रिमाल, युद्धप्रसाद मिश्र, केवलपुरे किसानहरू नै अग्रजका रूपमा देखिन्छन् ।

साहित्यलाई वस्तुको रूपमा परिवर्तन गर्ने स्रोत सामग्री बनाउनका निम्ति असाध्यै मिहिनेतपूर्ण ढङ्गले वस्तुको विन्यास गर्नुपर्दछ भन्ने विचारवादीहरूको चिन्तनलाई साकार बनाउन र ‘नेपाली जनतालाई परिवर्तन भनेको के हो ? क्रान्ति भनेको के हो ?’ भन्ने अर्थ बोध गराउन मात्र होइन, तत्सम्बन्धि उपलब्धिहरूलाई अत्यन्तै सचेत भएर प्रयोग गर्न पनि सचेत गराउने साधकहरूको पङ्क्तिमा २०७० को दशकदेखि नै कवितामा कलम चलाउने स्रष्टाका सूचीमा रहेका छन् कवि शम्भु अर्याल ।

स्याङ्जाली कवि शम्भु अर्यालले ‘सेतो सुनखानी’ (२०७५) कविता सङ्ग्रह प्रकाशित गरेर आफूलाई सचेत कविका रूपमा देखाइसकेका छन् । नेपाली धर्तीमा भएका र हुने गरेका हरेक परिवर्तनलाई अत्यन्त सजग भएर विचारधारात्मक मोडबाट सफलताको श्रेणीमा पुर्याउन तल्लीन स्रष्टा अर्याल राजनीतिक चेत र विचारको दृढतालाई मार्मिक ढङ्गले प्रस्तुत गर्न सक्ने कवि हुन् भन्दा अत्युक्ति हुँदैन । यो छोटो लेखमा कवि शम्भु अर्यालको ‘सेतो सुनखानी’ कविता सङ्ग्रहभित्रका गद्य कविताले ओगटेको विचारका बिम्वहरूलाई चर्चा गर्ने जमर्को गरिएको छ ।

चौध वर्षसम्मको परदेश भोगाइले डामेका अन्तर्मनका कुण्ठाहरूलाई कविताले प्रतिनिधित्व गरेका छन् । जम्मा ४१ वटा कविताहरूको सम्पादन गरिएको यस सङ्ग्रहमा पृथक विषयवस्तु, शैली र दृष्टिकोण देख्न सकिन्छ । अङ्ग्रेजी भाषाका विद्यार्थी भनेर लगत्तै अनुमान गर्न सकिने उनी आफ्ना गन्थनलाई समेत ‘नोस्टाल्जिया’ शीर्षकमा पोख्दछन् ।

एउटा परदेशिएको युवाले भोग्नुपरेका पीडा र अनुभवलाई कैद गर्दै कविताको गर्भधारण र अवतरणका मिठा अनुभूतिलाई कलात्मक पाराले प्रस्तुत गरिएको छ । कवि हार्दिकता भएका व्यक्तित्व हुन् भन्ने तथ्य उनले सम्झन भ्याएका व्यक्तिहरूको नाम गन्थनमा राखिनु पनि हो ।

‘आँधिखोला’बाट सुरु गरिएको कविता ‘मोडनेर उभिएर’सम्म पुगेर टुङ्गिएको छ । यस सङ्ग्रहमा सङ्गृहित कविताहरूको प्रारम्भमा आँधिखोला राखिनुले कविको आफ्नो जन्मभूमिप्रतिको मोह भेट्न सकिन्छ । आधिखोलाको संगीतमय आवाजले आफूमा कवित्व जन्मिएको स्मरण गर्दै आँधिखोलाको अस्तित्व लामो समयसम्म चाहन्छन् । ‘अस्थिर बचपना नै उत्तम होइन र ?’ शीर्षकमा कवि बालकहरूले अस्थिर बनेर नै सिक्न सकेका र स्थीरताले सिकाइ हुन नसक्ने तथ्य खोतल्दछन् र त्यतिमात्र होइन, अस्थिरता पनि सिकाइको आधार हो । गल्तीबाट पनि सिकाई ग्रहण गर्न सकिन्छ । यस कविताले बान्डुराको भूल र सिकाई नियमलाई उजागर गरेको अनुभूत हुन्छ ।

‘आमा’ कवितामा आमालाई नेपाल आमाको रुंग्ण शरीरसँग तुलना गरिएको छ । देशको राजनीतिक अस्थीरता र कमजोर संयन्त्रले आमा विक्षिप्त बनेको यथार्थता ओकेलेको छ । ‘कन्यादान’ कवितामा कवि नारीवादी देखिन्छन् । बालिका बनेर जन्मेपछि पराइघर जानु नै पर्ने तर गतिलो कर्मघर नपर्दा छोरी चेलीले कुमारीत्वसँगै अस्तित्व गुमाउनुपरेको तितो यथार्थता भेटिन्छ । ‘सागरको सर्जक मूल’ शीर्षकमा कविले पानीका विभिन्न स्वरूप र पानीका उपयोगिताबारे उल्लेख गरेका छन् । सागरलाई इन्धन र शक्तिको स्रोत मान्दै प्राकृतिक सागरको महिमा गाएका छन् ।

‘प्राकृतिक शिखरको कृत्रिमचुली’ कवितामा देशमा रोजगारको अवसर नभएपछि विदेशिनुपरेको पीडालाई व्यक्त गरिएको छ । सगरमाथाजस्तो उचाई भएको नेपालीको शानलाई सदा कायम राख्न नेपाली स्वयं सजग हुनुपर्ने आव्हान गर्दै नेपाल र नेपालीपन जोगाउन आग्रह गरिएको छ । ‘निरङ्कुश लोकतन्त्र’ कवितामा लोकतन्त्रलाई यसका आधारभूत मान्यतासँग जोडिएको छ।देशमा लोकतन्त्र आएर जनताको माग सम्बोधन गर्न नसक्नु लोकतन्त्रका नाममा कलङ्क हुन सक्छ भन्ने यथार्थता उल्लेख गरिएको छ । ‘अज्ञात परराष्ट्रियता’ शीर्षक कवितामा कवि क्रान्तिकारी विचार पोखेका छन् । सधैँ अर्काको भर पर्ने नेपालीको परनिर्भरपनलाई परिवर्तन गर्न आग्रह गर्दछन् । सगरको चुली सगरमाथाको कसम खाएर स्वाभिमान बेच्न नहुने खबरदारी गर्दछन । ‘नेता’ कवितामा विद्रोहको ज्वाला दन्केको छ । नेताहरूको काम र नामलाई मूल्याङ्कन गरिएको छ । नेतृत्ववर्गले जथाभावी नियम मिच्ने गरेको तितो यथार्थ यश कवितामा भेटिन्छ र भनिएको छ :

तिनै पृथ्वीलाई मैले ढुङ्गाले हानी
छाती फोरी लखनचोक निर्माण गरेको छु ।
पृथ्वीचोक छैन साथी
विकल्पको लखन चोकमा …
(पृ.७०)

देशको इतिहास बदल्ने अधिकार कसैसँग नभएको तथ्यलाई उक्त अंशले थप स्पष्ट पारेको छ ।
यस कविता सङ्ग्रहमा राष्ट्र र राष्ट्रियताप्रति सचेतना भेटिन्छ । साथै कवि एकपटक सजीव र निर्जीव शरीरप्रति सजग हुन आग्रह गर्दछन् । ‘निर्जीव भूगर्भ र सजीव नर’ कवितामा कवि मानिसले पृथ्वीमाथि गरेको मनोमानीपूर्ण व्यवहारको भन्डाफोर गरेका छन् । मानिसको अराजक गतिविधिले पृथ्वीको धरातल कमजोर भएको यथार्थता कविताले बोलेको छ । ‘भ्रूणहत्या’ कविताले जन्मन चाहेका तर जन्मन नपाएका बालिकाको पीडालाई बोलेको छ । छोराको आशामा छोरीहरू नजन्मदै मारिएका प्रसङ्गलाई कविताले वकालत गरेको छ । ‘हतभागी छोरा’कविता विदेसिएका तमाम नेपालीको प्रतिनिधित्व गर्ने कविता हो । बाध्यतावश विदेशिनुपरे पनि आफ्नै देश फर्केर सिर्जनाको फूल फुलाउन चाहेको कुरालाई कवितामा बोलिएको छ ।

‘अभिशप्त तनहरू’ले थोरै पारिश्रमिकमा बेचिनुपरेको पीडालाई अभिव्यक्त गरेको छ । यसले श्रमशोषणमा परेका नेपालीको नमिठो यथार्थ ओकलेको छ । ‘मेरो गाउँ, मेरो देश’ कविता राष्ट्रियता बोकेको कविता हो । नेपालको सचित्र वर्णन गरिएको यस कवितामा जनताभन्दा नेता धेरै भएका र जनताले चाहेजस्तो शासनपद्धति नपाएको पीडाबोध गरेको छ । ‘कति भार छ बाग्मतीमा’ कवितामा नदीमा गरिने असामान्य फोहोर व्यवस्थापन हुन नसकेको तथ्य पोखिएको छ । नदीको संरक्षणमा ध्यानाकर्षण गरिएको यस कविताले नदीको आन्तरिक पीडालाई पोखेको छ । ‘थकित चेहरामा अनुत्तरित प्रश्नहरू’मा जनताको मत कदर नभएकोमा दुख प्रकट गरिएको छ । प्रजातान्त्रिक शासन व्यवस्थाको मूल्य मान्यता अवलम्बन नगरिएको र नेतालाई जनताको भूमिकामा उभिन आग्रह गरिएको छ । त्यसैगरी ‘म यसपटक भोट हाल्दिन आमा’ कविता जनताको मतको अवमूल्यन भएकोमा खेद प्रकट गरिएको कविता हो । नेताप्रतिको वितृष्णालाई उल्लेख गर्नेक्रममा कवि यसरी आक्रोश पोख्दछन्ः
ऊ चार पाङ्ग्रेमा गुडिरह्यो
म जाडो छेक्ने जडेउरी ऊनको लागि
एक छाक नुनको लागि
मेरा कुर्कुचाहरू खिइदै गर्दा
मैले मेरै गाँस काटेर
अञ्जुली भरी सजाएको आशलाई
आवेशले थेचारिदियो
(पृ.९५)

‘मुक्त महाविद्यालय’मा कवि शिक्षालयले राखेका निर्दिष्ट उद्देश्य पूरा गर्न नसक्दा गुणस्तरहीन जनशक्ति उत्पादन भएको आक्रोश पोख्दछन् । यस कविता सङ्ग्रहमा आञ्चलिकताको प्रचुरता भेटिन्छ । ‘तनहुंँसुर’ कवितामा तनहुँको ऐतिहासिक गरिमा दर्शाइएको छ । यस पवित्रभूमिमा जन्मेका वीरहरूको गुणगान गाउँदै ऐतिहासिक कालखण्डमा ज्यान अर्पेका नेपालीहरूको गौरव गाथा गाइएको छ । ‘परीक्षाका तस्बिरहरू’ कवितामा बन्धनमुक्त समाजको अपेक्षा गरिएको छ । यस कवितामा कवि भयरहित समाजको परिकल्पना गर्दछन् । ‘सुषुप्त मन्स्को विष्फोटन’ कवितामा मानव मनको अदृश्य शक्तिको कलात्मक पक्षको चित्रण गरिएको छ । ‘असीम इच्छाहरू’ कवितामा जनताका इच्छाहरूको वर्णन गरिएको छ । देशमा अपेक्षित परिवर्तन नभएमा क्रान्तिकारी कदम चाल्न जनताहरू बाध्य हुनसक्ने आशय व्यक्त गरेका छन् । भरपुर बिम्बहरूको प्रयोग गर्दै जनताको क्रान्तिकारी अभियान चल्न आग्रह गरेका छन् ।

‘तिमी नै मेरो आदिकवि हौ’ कविताले नेपालीको धर्म, संस्कार र रीतिरिवाजलाई बिम्ब बनाएको छ । नेपालीको सिकाई यिनै तत्वबाट हुनसक्ने यथार्थ बोलेका छन् । ‘मरुभूमिमा ध्वनि प्रदुषण’ कवितामा कविले देशको कमजोर संयन्त्रले गर्दा युवाशक्ति परदेशिनुपरेको र मरुभूमिमा लाखौं नेपालीको क्रन्दन गुन्जेको परिवेशलाई चित्रण गरिएको छ । ‘ठ्याक्कै त्यस्तै हुने छु म भोलि’ कवितामा कवि कलुषित मन बोकेर कमजोर मानसिकता बाँचेको नेपाली समाजको चित्रण गर्दछन् । मान्छेले को आफ्नो को पराइ भन्ने कुरा बिर्सदै गएको कुरा उल्लेख गरिएको छ । कविको हार्दिकता ‘बाबा’ कवितामा छताछुल्ल भएर पोखिएको छ । पितालाई आशा र भरोसाका केन्द्र मान्दै बाबाप्रतिको सम्मान भाव पोखिएको छ । ‘खलासी’ डर र त्रासबिच आफ्नो पारिश्रमिक उठाउने पात्रको रूपमा चित्रित छ । खलासीलाई बिम्ब बनाइएको उक्त कवितामा डनहरु र जगल्टेहरूको थर्काहटमा समाज चलेको उल्लेख गरिएको छ ।

कविमा राष्ट्रप्रतिको सम्मान भाव स्पष्ट देखिन्छ । विवशताले विदेशिएका नेपालीहरू नेपाल आमालाई स्पर्श गर्न चाहेको अभिव्यक्त भेटिन्छ । कविमा काव्यात्मक कला भेटिन्छ । ‘जीवन र पहाडहरू’ कवितामा कवि संघर्षमय मानवीय जीवनको पहाडसँग तुलना गर्दछन् । ‘बन्धक छु म’ कवितामा मानव जीवन जञ्जीरहरूको शृङ्खलाको रूपमा चित्रण गरिएको छ । मानिस पारिवारिक तथा सामाजिक जीवन जिउने सिलसिलामा बन्धक बन्दछ भन्ने तथ्यलाई कलात्मक चित्रण गरिएको छ । ‘निंद’ विश्रामको बिम्ब हो । यसलाई कसरी ग्रहण गर्ने भन्ने सन्दर्भमा अनावश्यक निद्राले मानिसलाई अल्छे बनाएको तथ्य उजागर गरिएको छ । ‘यो समय कस्को हो ?’ कवितामा समयको अस्थिरताको वर्णन पाइन्छ । देशमा आमूल परिवर्तन ल्याउन देशका सबै तह र तप्काका मानिसको अमूल्य भूमिका रहने कुराको चर्चा गरिएको छ ।

यस सङ्ग्र्रहमा केही लामा गद्य कविता पनि समावेश भएका छन् । ‘चुँडिएको नाल र मुर्छित तस्बिरहरू’ कविता आयामका दृष्टिकोणले लामो देखिन्छ । तथापि कविताको भावभङ्गी भने कमजोर छैन । ९ पेजमा रचित यो कविता जीवन दर्शनको कलात्मक व्याख्या गरिएको कविता हो । यसमा गुरू, शिष्य, आमा बा जस्ता बिम्ब प्रयोग गरी मानव जीवनको चित्रण गरिएको छ । ‘मेरो छिमेकी’ कवितामा देशका छिमेकी राष्ट्रको चित्र उतारिएको छ । इतिहासका कालखण्डमा साम्राज्यवाद विस्तारका क्रममा हाम्रो देश मिच्ने प्रयास गरिएको भएता पनि अहिले हाम्रो देश स्वाधीन भएको यथार्थ उल्लेख गरिएको छ । कवि यसै क्रममा खबरदारी गर्दछन् –
मित्र !
संसारमै उन्मूलन भैसकेको
साम्राज्यवादको बीउ रोप्न नखोज
तेरो दबाब
हाम्रा विद्यार्थीले पढ्ने पाठ भएको छ
पढ्नेछन् उनीहरूले यो अकल्पनीय ज्ञान
र बनाउँने छन्
पानीबाटै चल्ने मोटरगाडी र रेल
पहाडमा फल्ने नुन, सुन र तेल
(पृ.१५१)

यस कविता सङ्ग्रहमा आत्मपरकताको प्रचुर प्रयोग भेटिन्छ । ‘म’कवितामा कवि आफूलाई हावा र पानीसँग तुलना गर्दै मानव अस्तित्त्व जोगाउन महत्वपूर्ण तत्त्वका रूपमा हावा र पानीको कलात्मक व्याख्या गर्दछन् । यस्तै भाव ‘हामी’ कवितामा भेटिन्छ । हामी जीवनमा अनेक संघर्ष र समस्यासँग जुध्न सक्नुपर्दछ । त्यो नै बचाइ हो भन्ने भाव कवितामा उल्लेख छ ।

‘मृत्युदण्ड’ कविता जीवनवादी कविता हो । कविले आफू मरुभूमिको देशमै रहँदा देखे सुनेको सत्य घटनालाई चित्रण गरिएको छ । साउदी अरबमा मृत्युुदण्ड सुनाइएका कवि अशरफ फायदमा समर्पित यस कविताले यातनाको क्रुर स्वरूप मृत्युदण्डको विरोध गरेका छन् ।

‘बाबा–२’ मा कवि बाबुले सन्तानप्रति सदा शुभभाव राख्दछन् भन्ने भाव बोलेको छ । ‘मोडनेर उभिएर’ कविता यस सङ्ग्रहको अन्तिम कविता हो । यसमा वालिङ बजारको भौगोलिक अवस्थिति र सामाजिक जनजीवनको चर्चा गरिएको छ । यसरी आँधिखोलाले स्पर्श गरेका पहाड र वस्तीहरूको भौगोलिक वर्णन गरिएको यस कविता सङ्ग्रह पठनीय देखिन्छ ।

कविता लेखनका विषय विविध हुन सक्छन् । त्यसमा सहमति असहमति हुनु आफ्नै ठाउँमा छ । तथापि त्यसले पुर्याएको असरलाई कविले अत्यन्त गहिराइमा पुगेर हेरेका छन् । नेपाली समाजको अवस्थालाई चित्रण गर्ने सन्दर्भमा कविहरूले यसको रूप र सार पक्षलाई भिन्न रूपमा देखाए पनि कविताको भाव वा विचार नै बलवान् हुने भएकाले यसमा असाध्यै ध्यान दिनुपर्ने कुरामा प्रगतिवादी कवि अर्याल अत्यन्तै सचेत रहेका देखिन्छन् ।

पृथक पृथक शीर्षकमा कविले समग्र पक्षलाई काव्यात्मक सन्दर्भमा जोडेर अत्यन्त बलशाली र समसामयिक तथा साहित्य परिवर्तनका लागि हँदैन भने त्यो साहित्यको केही काम छैन, त्यस्ता लेखक लेखकका रूपमा कलङ्क हुन् भन्ने कुरालाई असाध्यै सुन्दर ढङ्गले प्रष्ट पारेका छन् । काव्यात्मक प्रसङ्गलाई अत्यन्त सरल भाषामा अगाडि बढाइएको छ ।

साँच्चै भन्ने हो भने नेपाली समाजको यथास्थितिवादी चिन्तनबाट माथि उठाउनका लागि हरेक न्यायपूर्ण आन्दोलनमा सहभागी युवा युवतीको बीभत्स हत्याप्रति बेवास्ता गरेर लेखिएको साहित्य जनसाहित्य कसरी हुन्छ ? लेखकले जनताको समस्या र त्यसको समर्थनमा भएका आन्दोलन र नायकहरूलाई लेख्न सक्नुपर्ने कुरालाई अर्यालले बेजोड ढङ्गले उठाएका छन् र समग्रमा कविताले नेपाली भूमिलाई चिनाउन जनसाहित्यको लेखनमा लाग्न र तमाम छाडा साहित्यलाई निरुत्साहित गर्न जोड दिएको देखिन्छ ।

अन्ततः यस कविता सङ्ग्रहमा सङ्गृहित कविताहरूको तत्त्वगत विश्लेषण गर्दा कवितामा भावविधानको ख्याल गरिएको, गद्यलयमा लेखिएका कवितामा ध्वनिको आरोह – अवरोहको ख्याल गरिएको, कविता रसयुक्त भएका र आलङ्कारिक पक्ष समेत सबल देखिन्छ । यसका अधिकांश कविता राष्ट्रवादी छन् । प्रत्येक कविताका आ आफ्नै उद्देश्य छन् । कविताका माध्यमबाट कवि सामाजिक सचेतनाको विकास गर्न चाहन्छन् । कविताको भाषाशैली पनि सरल र सहज देखिन्छ । जोसुकै पाठक कविता पढ्न सक्दछन् । अधिकांश कविता लक्ष्यार्थक र त्यसभन्दा बढी व्यङ्ग्यार्थक छन् । जीवन जगतका विविध पक्षको कलात्मक वर्णन कवितामा भेटिन्छ ।

समग्रमा अर्यालको कवित्त्व कतै हावा बनेर सैर गरेको भेटिन्छ त कतै पानी बनेर गहिरिएको भेटिन्छ । जमीन र आकासको सम्मिलन समेत कवितामा पोखिएको छ । जन्मभूमिप्रतिको कविको सम्मान भाव पनि कवितामा पोखिएको छ भने राष्ट्र र राष्ट्रियताप्रतिको सचेतनाले कविलाई सशक्त कविका रूपमा उभ्याएको छ । युवाकविका रूपमा स्थापित हुनसक्ने कवि मौलिक एवम् प्रयोगवादी कवि पनि हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर