✍️ जनक कार्की
हरिश कल्पित नेपाली साहित्य जगतमा दुई दशकदेखि परिचित नाम हो । वि.सं. २०५७ सालमा ‘आस्था’ कथा सङ्ग्रह प्रकाशित गरेका साहित्यकार कल्पितको ‘ग्याब्रीएले’ कथा सङ्ग्रह प्रकाशित छ । उनको यो दोस्रो कृति हो । लामो समयदेखि जापानमा बसेर नेपाली साहित्यमा योगदान पुर्याएरहेका साहित्यकार कल्पितसँग उनको पछिल्लो कथा सङ्ग्रह ‘ग्याब्रीएले’ र साहित्यका विविध विषयमा सेतोमाटो डटकमका लागि जनक कार्कीले गरेको कुराकारानीको सारांश प्रस्तुत छ :
१. तपाईँको पहिलो कथा सङ्ग्रह ‘आस्था’ प्रकाशित भएको दुई दशक नाघेपछि मात्रै दोस्रो सङ्ग्रह बजारमा आयो । दुई कृतिका लागि किन यति लामो ग्याप ?
पहिलो सङ्ग्रह आस्था प्रकाशित हुँदा जुन हर्ष र उमङ्ग छाएको थियो सबै बिस्तारै मोहभङ्गको संघारमा पुग्यो र कथा लेखेर सङ्ग्रह प्रकाशित गर्ने इच्छा जागेन तर कथाचाहीँ फाट्टफुट्ट लेखरहेको थिएँ ।
२. ‘ग्याब्रीयएले’ कथा सङ्ग्रहको नाम नेपाली पाठकको लागि अलि अनौठो लाग्ने खालको छ, यसबारे केही बताउनुहुन्छ कि ?
नेपाली पाठकहरूका लागि यो कथा सङ्ग्रहको नाम अलि अनौठो नै छ । किनभने यो युरोपियन नाम हो । एउटी हाफ जापानिज, हाफ युरोपियन बच्चीको कथा हो । यो कथा वास्तविकताको आधारमा लेखिएको कथा हो । यसमा विदेशी भूमिमा एउटा विदेशीको मर्म समेटिएको छ । प्रायः हाम्रा कथाहरूमा हाम्रै दुःख पीर ब्यथा समेटिएको हुन्छ नि हैन र ? तर यो कथामा जापानमा एउटा युरोपियनले भोगेको कथा र ब्यथा समेटिएको छ । त्यसैले नाम पनि विदेशी छ ।
३. ‘ग्याब्रिएले’ कथा सङ्ग्रहको रचना गर्भ बताउन मिल्ला ?
जापानमा मेरो एउटा मिल्ने युरोपियन साथीलाई परेको दुःखदायी घटनालाई समेटेर लेखिएको कथा हो यो । उसको ब्यथाले मलाई कथा लेख्न प्रेरित गर्यो ।
४. तपाईं कथा लेख्न कसरी सुरु गर्नुभयो ?
म कथाहरू खुबै पढ्न रुचाउँथे । कथाहरू पढेपछि कथाहरूमै हराउथेँ । म पात्र हरूसँग रमाउँथे । कल्पनामा हराउथेँ । सायद यस्तै एसएलसी दिएपछि होला । एकदिन घर नजिकैको साथीले उसको घरमा गएको बेला “मैले एउटा कथा लेखेको छु । हेर्ने हो ?” भनेर मलाई देखायो । म अचम्म पर्दै सरसर्ती पढें कथा प्रेम सम्बन्धी थियो । ठिकै लाग्यो अनि म पनि त यस्तो जाबो त लेख्न सक्छु भन्ने अहमता जाग्यो । त्यस रात लेख्न बसेँ । कल्पनाको सागरमा पौडिने बानी त पहिलेदेखि नै थियो बस त्यसलाई पाना मा उतार्न थियो । त्यो रात एक बजे रातीसम्म लगाएर ठूली बज्यै शीर्षकको कथा लेखेँ र भोलिपल्ट बिहान आमालाई पढेर सुनाए । आमाले “राम्रो छ ।” भनिदिनुभयो । म फुरुङ्ग पर्दै फेरि लेख्न थालेँ । यसरी कथा लेख्ने बानी बस्यो । म पनि कथा लेख्न सक्छु भन्ने आत्मविश्वास बढ्यो ।
५. आजको यो डिजिटल दुनियाँमा, मान्छे हरकुरा छिटा छिटो होस् भन्ने चाहन्छ, यस्तो परिस्थितिमा समय निकालेर कथा किन पढ्ने ?
मान्छेको जिन्दगी भनेको नै एउटा कथा हो । झन् आजको डिजिटल युगमा त मान्छेलाई विभिन्न तनावहरूले गाँजेको हुन्छन् । त्यहीँ तनावहरूलाई थोरै भए पनि कथा, कविता साहित्यले हटाउने प्रयासचाहीँ गर्छ जस्तो लाग्छ मलाई ।
६. तपाईंको विचारमा साहित्यको चर्चित विधा कथा के हो ?
मेरो विचारमा साहित्यको चर्चित विधा कथा जीवन दर्शन हो । जहाँबाट हामीले समाजमा भएका आरोह अवरोहलाईलाई अवलोकन गर्न सक्छौ । विवेचना गर्न सक्छौ । अनि त्यसबाट केही ज्ञान उपार्जन गर्न सक्छौं ।
७. साहित्य समाजको लागि किन आवश्यक छ ?
समाजमा भएका आरोह अवरोहलाई नै हामी साहित्यमा पाउँछौ । त्यसैले त्यो कस्तो समाज हो भन्ने कुरा त्यहाँको साहित्यले दर्शाउँछ । र समाजलाई चेतनशील बनाउन पनि साहित्यको अत्यावश्यक हुन्छं जस्तो लाग्छ मलाई ।
८. कथामा विचार र कलामध्ये कुन पक्ष बढी हुन जरूरी छ ?
कथामा विचार र कलामध्येभन्दा पनि दुवै पक्ष प्रवल हुनु जरुरी छ जस्तो लाग्छ ।
९. ‘ग्याब्रिएयले’ कथा सङ्ग्रह कुन उमेरका पाठकको लागि हो ?
‘ग्याब्रिएले’ कथा सङ्ग्रह युवादेखि सबै उमेरका पाठकका लागि हो सोचेको छु मैले । किनभने यसमा मैले युवाको प्रेम आकर्षणदेखि वृद्धको वेदना सबै दर्शाएको छु ।
१०. बजारमा पुस्तक आइसकेपछि कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?
बजारमा पुस्तक आइसकेपछि पढ्ने पाठकहरूबाट राम्रै किसिमको प्रतिक्रिया पाइरहेको छु । जस्तैः कथा पढेपछि छोड्न मन लाग्दै । कथाले अन्त्यसम्म बाँधेको छ । त्यस्तै, मार्मिक घटनाले मन रुवाउँछ । वरिष्ठ पत्रकार भैरव रिसालज्यूले पनि सबै कथा पढ्नु भयो । उहाँले “कथा राम्रो लाग्यो ।” दिनुभयो । जसले मलाई असाध्यै उत्साहित बनाएको छ ।
११. आजभन्दा केही दशक अगाडि एउटा साहित्यिक कृति निक्लिसकेपछी स्थापित हुन सजिलो थियो, तर आज साहित्यिक कृतिहरू र कृतिकारको भीड छ । स्थापित हुन कत्तिको गाह्रो देख्नुहुन्छ ?
खै ! पहिले पनि त्यस्तै हो जस्तो लाग्छ । मेरो पहिलो पुस्तक २० बर्ष अगाडि प्रकाशित भएको थियो । सबै कथा राम्रो छ भनेर वरिष्ठ साहित्यकार स्व. कृष्ण प्रसाद पराजुलीबाट प्रतिकृया पनि पाएको थिएँ त के भयो ! ‘आस्था’ बिचरी सहिद भइन् । यहाँ ‘बोल्नेको पिठो बिक्छ । नबोल्नेको चामल पनि बिक्दैन ।’ यो उखान त्यतिकै बनेको छ र !
१२. साहित्य सिर्जना गर्नुभन्दा, प्रकाशन गर्न र प्रकाशन गर्नुभन्दा बढी ग्राहो पाठकसम्म पुग्न छ भन्छन्, यसबारे तपाईँको विचार के छ ?
त्यो त एकदम सही हो हजुर । यहाँ प्रकाशन गर्न धेरै गाह्रो छ । मैले आफ्नो कृति प्रकाशन त गरे तर अब बजार पाउन झन गाह्रो छ । प्रकाशकले प्रकाशन गरेको खण्डमा त उसले नै बजार व्यस्थापन गर्छ । विज्ञापन गर्छन् । तर, आफैँले प्रकाशित गरेपछि यी सब आफैँले नै गर्नुपर्ने हुन्छ । यो त अति गाह्रो कुरा हो । र एउटा लेखकलाई निराश बनाउने कुरा पनि हो ।
१३. तपाईँलाई मनपर्ने पाँचवटा कथा सङ्ग्रह ?
१. नासो
२. नयाँ सडकको गीत
३.तेस्रो रंग
४. जीवनका रंगहरू
५. जियेरा
१४. यदि तपाईँलाई कुनै पुस्तक उपहार दिन पर्यो भने कुन पुस्तक दिन रुचाउनुहुन्छ ?
यदि मलाई कुनै पुस्तक कसैलाई उपहार दिनु पर्यो भने मेरै पुस्तक ‘ग्याब्रिएले’ दिन रुचाउँछु ।
१५. तपाईँलाई मनपर्ने पाँचजना लेखक ?
१.गुरु प्रसाद मैनाली
२. रमेश विकल
३. भवानी भिक्षु
४. प्रेमा शाह
५. माया ठकुरी
१६. आजभोलिका लेखक आफूलाई सेलिब्रेटी बनाउन रुचाउँछन्, यसबारे तपाईंको धारणा के छ ?
खासै के सेलिब्रेटी हुनु र जस्तो पो लाग्छ मलाई त । जाबो हजार कपी प्रकाशन गर्दा त बिक्दैन । यस्तोमा आफूलाई सेलिब्रेटी ठान्नु त मूर्खता हैन र ?
१७. आममान्छे भन्दा एउटा सिर्जना गर्ने व्यक्तिको मनमस्तिष्कमा के फरक हुन्छ होला ?
आम मान्छे भन्दा एउटा सिर्जना गर्ने व्यक्तिको मन मस्तिष्कमा धेरै फरक हुन्छ । सिर्जना गर्ने व्यक्तिको हृदय संवेदनशील हुन्छ । अरुलाई परेको दुःखलाई आत्मसात गर्ने क्षमता राख्छ र पानामा उतार्ने खुबी हुन्छं । आम व्यक्तिमा त्यो क्षमता हुँदैन ।
प्रतिक्रिया
-
४
