✍️ जनक कार्की

बालिका थपलिया साहित्यका विविध विधाका साथै अनुवादमा पनि कलम चलाउँछन् । उनको कविता सङ्ग्रह ‘प्रणयपथ’ प्रकाशित छ । अनुवाद कृतिमा ‘नेलसन मण्डेला’, ‘हेलेन केलर’ र ‘अब्राहम लिङ्कन’ प्रकाशित छन् । उनी करुणा फाउण्डेशनमार्फत शारीरिक अशक्तताको क्षेत्रमा कार्यरत छिन् । गएको साता लोकार्पण भएको बालिका थपलियाको प्रेमपत्र कृति ‘प्रियदर्शन’ र साहित्यका अन्य विषयमा आधारित भएर सेतोमाटोका सहकर्मी जनक कार्कीले गरेको कुराकारानीको सारांश प्रस्तुत छ :

१. ‘प्रियदर्शन’ साहित्यको कुन विधाअन्तर्गतको पुस्तक हो ?

‘प्रियदर्शन’ प्रेमपत्र हो । यसलाई प्रेमपत्रकै विधाको रूपमा लिन सकिन्छ ।

२. ‘प्रियदर्शन’ एउटा प्रेमपत्र हो भन्ने पनि सुनेँ, यो प्रेमपत्रमा प्रेम बाहेक अरु केके कुरालाई समेटिएको छ ?

‘प्रियदर्शन’मा प्रेमपत्रको माध्यमबाट प्रेमको समग्र दृष्टिकोणलाई प्रस्तुत गर्न खोजिएको छ ।

३. पुस्तकहरूको भीडमा ‘प्रियदर्शन’मा के फरक स्वाद चाख्न पाइएला ?

यो किताब फरक किसिमको आख्यान हो । यसमा दुई जना मात्र पात्र छन् । उपन्यासको पूरातन मान्यतालाई ‘प्रियदर्शन’ले भङ्ग गर्ने कोशिस गरेको छ ।

४. ‘प्रियदर्शन’को रचनागर्भ सुनाउन मिल्ला ?

मैले यो प्रेमपत्र २०६१ सालतिर लेखेकी थिएँ । त्यतिबेला दैनिक रूपमा डायरीमा लेख्ने गर्थेँ । पछि किताबकै रूप दिन मन लाग्यो र पूनर्लेखन गरेँ ।

५. तपाईं आफूले चाहिँ प्रेमपत्र कत्तिको लेख्नुभयो वा प्रेमपत्र कत्तिको प्राप्त गर्नुभयो ?

मैले खुब प्रेमपत्र लेखे । प्रेम गर्ने मान्छेले लेखेको पत्र पनि प्राप्त गरे । यही अनुभुतिले म यो प्रेमिल कृति जन्माउन सफल भए ।

६. आजको समयमा प्रेमपत्रको प्रचलन एक्सपाएर भइसकेको छ, के तपाईंको पुस्तक ‘प्रियदर्शन’ले फेरि एकपटक प्रेमपत्र लेखुँलेखुँ बनाउला ?

अवश्य पनि मेरो किताबले पाठकलाई प्रेमपत्र लेख्न प्रेरित गर्नेछ । यो पुस्तक पढेपछि प्रेमी प्रेमिका एक अर्काको बारेमा तारिफ गरेर पत्र लेख्न थाल्नेछन् ।

७. तपाईंको यस पुस्तकको ३ वटा बलियो र ३ वटा कमजोर पक्ष के होला ?

पुस्तकमा नयाँ प्रयोग छ । भाषाशैली मिठो छ । पुस्तक पढ्न थालेपछि नसकी छोड्न मन लाग्दैन ।

८. गएको हप्ता मात्र पुस्तक बजारमा आएको सुचना पाएको थिएँ, अहिलेसम्म कस्तो प्रतिक्रिया पाइसक्नुभयो कि बाँकी छ ?

पुस्तक पाठकहरुको हातमा पुग्न पाएको छैन । पढ्नेहरुले पुस्तक निक्कै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

९. तपाईंलाई हृदयदेखि मनपरेका पाँचवटा पुस्तक ?

द ट्रयाजिडी अफ रोमियो एण्ड जुलियट
शिरीषको फूल
प्रेमपिण्ड
आमा
मुना मदन

१०. एउटा यस्तो पुस्तक जसले तपाईंको जीवन परिवर्तन गरिदियो ?

हेलेन केलरको जीवनी द स्टोरी अफ माई लाइफ ।

११. तपाईं अनुवादमा पनि कर्म गर्नुहुन्छ, अनुवादलाई जटिल विधाको रूपमा लिइन्छ, कति विद्वानले अनुवादमा जीवन हुन्न पनि भन्छन्, तपाईंले आफ्नो अनुवादलाई जीवन दिन के शुत्र प्रयोग गर्नुहुन्छ ?

म भावानुवाद गर्छु । म लेखक पनि भएकोले साहित्यिक तरिकाले अनुवाद गर्छु । मेरो यही साहित्यिक चेतनाले अनुवादलाई जीवन प्रदान गर्छ ।

१२. तपाईंको पछिल्लो कविता सङ्ग्रहमा पनि प्रेम कविताहरु बढी थिएँ र अहिले पनि प्रेमपत्रमै आधारित भएर पुस्तक लेख्नुभएको छ, मानिसको जीवनमा प्रेमको महत्वलाई कसरी व्याख्या गर्नुहुन्छ ?

प्रेमले नै मानिसलाई जीवन प्रदान गर्छ । बाँच्नको लागि सासमात्र भएर हुन्न । प्रेमले हामीलाई मानवताको नजिक बनाउँछ ।

१३. अहिले के लेख्दै हुनुहुन्छ र कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

‘निक भुजिसिक’को जीवनी लेख्दैछु । दुङाल, कृष्ण, मोक्ष, कखरा, सती, ब्लु डायरी पढ्ने योजनामा छु ।

१४. तपाईंको विचारमा साहित्य के हो र आजको यो डिजिटल दुनियाँमा यसको महत्व के छ ?

साहित्य जीवनको मानक हो । डिजिटल समयमा यसको महत्व अझ बढेको छ । प्रविधिले गर्दा साहित्य लेख्न र पाठकमाझ पु¥याउँन अझ सहज भएको छ ।

१५. ‘प्रियदर्शन’को तपाईंलाई मनपरेको एक हरप पुस्तकांश यहाँ भन्न मिल्ला ?

प्रेम निर्बन्ध यातायात हो । मनको स्टेसनसम्म निमेषभरमा पुग्छ । एकपटक टिकट लिएपछि छुटला भनेर कहिल्यै डराउनु पर्दैन । कहिलेकाहि पङचर हुन खोज्छ तर गुडान रोकिदैन ।

१६. अब आउने दिनमा तपाईंको के कस्ता कृतिहरूसँग साक्षात्कार हुन पाइएला ?

निक भुजिसिकको किताब आउँदैछ । कविता सङ्ग्रहको तयारी गर्दैछु । उपन्यास पनि प्रकाशन गर्ने योजनामा छु ।

प्रतिक्रिया

सम्बन्धित खवर