✍️  दीप रावल

मुक्तक – १

न भरोसा आए नत आड,आएका छन्
संघर्ष र चुनौतीका पहाड, आएका छन्
पीडा लुकाइ मुस्कुराउने कोसिस गर्दै थिएँ,
परदेशी रुवाउन फेरि चाडवाड आएका छन्

मुक्तक – २

सम्झनामा आउँछ घरबार,हामी परदेशीलाई
मनमा छाउँछ अन्धकार , हामी परदेशीलाई
बाध्यता र विवशताले पिरोलेको बेला
किन आउँछन दशै तिहार,  हामी परदेशीलाई

मुक्तक – ३

प्रतिकुल परिवेश लाग्यो घर छोडेर आएँ
पाइलै पिच्छे ठेस लाग्यो घर छोडेर आएँ
आफ्नै देशको सेवा गरि बाँच्ने इच्छा थियो
मेरै भागमा बिदेश लाग्यो घर छोडेर आएँ

मुक्तक – ४

झस्काइरहन्छ वालापन, दशै तिहार आउँदा
याद आउछन् आफन्तजन दशै तिहार आउँदा
रगत संग धन सम्पत्ति साटीराछु परदेशमा
पोल्छ छाती, रुन्छ मन दशै तिहार आउँदा

मुक्तक – ५

लाग्छ चिन्ता, लाग्छ डर,  जान पाइएन
अधुरै भो भेट्ने रहर, जान पाइएन
म आउने बाटो हेर्दै बसेकि छिन् आमा
यसपालि नि दशैमा घर,  जान पाइएन

प्रतिक्रिया

सम्बन्धित खवर