✍ भूपि सरोवर

गजल – १
कहिल्यै दिन नजान्नेहरू माग्दा पाउदैनन्
हेर्दैजानु काडाँ झिक्नलाई काडाँ पाउदैनन्

देखिन त देखिन्छन् घरैघर तर के गर्नु ?
राजधानीमा डेरावाला डेरा पाउदैनन्

घरमा बस्नेले घर पाउला थर पाउला
तर आँखामा बस्नेहरूले आँखा पाउदैनन्

घरमा सन्तान जन्मिन्छ खुसियाली हुन्छ
सन्तानसङ्गै आमा जन्मिएको थाहा पाउदैनन्

सुनेपछि हुँ मैले धनी हुने सपना बुनेको
पशुपतिमा गरिबहरूले चिता पाउदैनन्

गजल – २
बुझ्नुपर्छ आँखामा आँखा जुधाइ हेर्नुस्
पौडिनु अगावै तलाउ गहिराइ हेर्नुस्

खुबै इज्जत्दार हुँ भन्छन् छोड्नुहुन्न भन्छन्
बाउको सम्पत्ति दाइभाइको लडाइ हेर्नुस्

केही चीज अघि हैन पछि राखेरै महत्त्व राख्छ
जस्तो एकको अघि र पछि जिरो लगाइ हेर्नुस्

धेरै सहनशीलता पनि टुक्रिएर जानू हो
खुकुरीले हिर्काउदा अचानोलाई हेर्नुस्

जीवन के हो भनेर बुझ्न मन लाग्छ भने
बेलुनमा हावा हाली हेर्नुस् फुटाइ हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर