✍️ लेख कार्की
गजल – १
सारा मौरी बिनाश गरि त्यो घार जोगाएर के काम
भाग्य घोच्छ मटुुमाथि निधार जोगाएर के काम
गाओस गाथा इतिहासले वीरताको स्वाभिमानको
बदनामको टीका लगाई सरकार जोगाएर के काम
भ’को सागर जुवा खेली के को गर्व कुवा खनी
गुप्ताङ्गको वस्त्र झिकी मुहार जोगाएर के काम
गाउँ छ परिश्रमी र पो बाँचेको छ शहर तिम्रो
किसान मारी खाद्यान्नको बजार जोगाएर के काम
अमर हुने आत्मा कालो चरित्र छ कुरुप भने
चाउरी जाने अनहुारको श्रृंगार जोगाएर के काम ।
गजल – २
पात्रोमा पो मलमास छ मनभित्र त मधुमास छ
एउटा ठूलो सपना त तिम्रै दिलमा कारावास छ
एकै नजर पर्नासाथ क्या तन्द्रुस्त भइदिन्छ मन
लाग्छ तिम्रा आँखामा नै बर्नभिटा छ, च्यावनप्राश छ
बिन्ती गर्दै बगर भन्छ पर्ख एकछिन् बात गरौँ
रोकिदैनन् छालहरु समून्द्रमा खै के खास छ
चट्टान बन्नु पीडा बोकी सुनामी नै आए पनि
खुशी फुल्नु अघि आँसु पोखिएको इतिहास छ
सोच्यौ होला टाढा हुँदा मरुभूमि भयो कि दिल
हराभरा छ याँ तिम्रै यादहरुको बसोबास छ ।
प्रतिक्रिया
-
४