✍️ लेख कार्की

 

हेडसरकी छोरी पनि हाम्रै स्कूलमा आईछे है ।

– को त्यो निलो कुर्तावाली ?

– अँ हौ त्यो लेफ्टी

– लेफ्टी भनेर चाहिँ कसरी थाहाभो तँलाई ?

– बहिनीले भनेकी सँगै बस्छन् थर्ड बेन्चर हो त्यो पनि । त्यस्को त जन्मकुण्डलि थाहा छ नि !

– होर ! पहिला कहाँ थिई त ?

– मामघर बसेर पढ्थी । त्यस्को मामाघर नजिकको स्कूलमा सात कक्षासम्म मात्र पढाई हुँदो रहेछ । त्यहाँ सकेर यहाँ आएकी ।

पहिलो दिन स्कूलमा लाईन बस्दै कक्षाकोठामा भन्दा पहिला यो मनको कोठामा पसेकी मान्छे जस्को बारेमा आज दीपकले एक्कासी जन्मकुण्डलिनै थाहा छ भनेको सुन्दा मननै फुरुङ्ग भयो । एकछिन् त निशब्दै भईयो ।
ओए ! किन मख्ख पर्या ? मन पर्यो ?
मन पर्यो ? भन्ने दीपकको प्रश्न झन् मन पर्यो । तर उस्लाई त्यस्तो केही हैन भनेर टारिदिएँ । सातौं घण्टीको सर पस्नुभो । कालोपाटीमा धेरै कुरा लेख्नु भयो भट्याउनु भयो । तर के पढाउनु भयो ? थाहा छैन । घण्टी बज्यो स्कुल छुट्टी भयो ।

घर आएँ खाजा खाएँ । साथीहरु सँग बल खेल्न गएँ । खेल्दाखेल्दै साँझ पर्यो । खेलेर घर फर्कनासाथ आमाले कराउनु भयो, बाख्रालाई एक बिटो घाँस काटेर ल्याएको भए पनि हुने रातदिन कति उफ्रन सकेको । दोबाटातिर के के ले पछ्याउँछ अलिक बेलैमा घर आउन हुँदैन ?

आमा फत्फताउँदै अगेनामा फु फु गर्दै तरकारीमा आगो लगाउँदै हुनुहुन्थ्यो । म नसुने झैँ गरि चुपचाप कोठामा छिरें र होमवर्क गर्न थालें । भान्साबाट आमाले बहिनीलाई भन्नुभयो बिमला भात खान आओ । दाजूलाई पनि बोला ।
बा पार्टीको कामले सदरमुकाम जानुभएको थियो । हामी तीनजनाले भात खायौं । फेरि कोठामा गएँ होमवर्क सकियो । ओछ्यानमा पल्टिएँ । स्कूलमा आएको पहिलो दिनबाट कता कता नजरमा बसेकी केटि आज दीपकले उसैको बारेमा कुरा गरेर उसको बारेमा सोच्ने काम थपिदियो । यता फर्किएँ उता फर्किएँ जता फर्किएपनि उस्कै झझल्को सहित फर्किएँ । कसो कसो कोल्टे फेर्दा फेर्दै निदाईएछ ।

भोलिपल्ट स्कूल अलिक ढिला पुगियो । स्कुल पुग्दा प्रार्थनाको लाइन बसिसकेको थियो । म नि गएर कक्षा नौ को छात्रलाईनमा अन्तिममा उभिएँ । प्रार्थना सकियो कक्षाकोठा भित्र पसियो । बेलुकै देखि सोचिरहेथें आज पक्कै त्यो केटिसँग बोल्छु । तर त्यो भन्दा पहिले दीपकलाई भन्छु यो कुरा कि मलाई हेडसरकी छोरी मन पर्न थाल्यो ।
पहिलो घण्टी पढाएर सर जानुभयो । दीपकलाई भनें ओए एउटा कुरा भनम् ?
– भन्न
– भन्छु तर एउटा शर्तमा
– के शर्त ?
– यो कुरा कसैलाई नभन्ने बिद्याकसम खानुपर्छ तैंले
– ह्या तेरो कुरा कसैलाई भन्याछु आज सम्म ? ल ल तैपनि तेरो बिश्वासका लागि कसम । तेरो कुरा कसैलाई भनें भने मेरो स्वास्थ्य बिद्या नष्ट ।
– साला मजाक गर्छस ?
– मजाक हैन हौ मलाई आउने बिद्यानै त्यही हो अरु त बिद्या आएपो नष्ट हुनु हा हा ।

(दीपकलाई यौन सम्बन्धीको शिक्षा खुब चाख् लाग्थ्यो त्यसैले जहिले कसम खाँदा पनि “स्वास्थ्य बिद्यानष्ट” भन्ने गर्थ्यो)

दीपकको हाँसो रोक्दै भनें लु भयो सुन् – मलाई हेडसरकी छोरी मनपर्छ । उस्को नाम के हो ?
दीपक हाँस्यो साला प्रेम गर्न आएको स्कूलमा ? छाड्दे त्यस्ता चक्कर यो पढ्नेबेला हो । कम्तिमा कलेज जान शुरु गर अनि थाल्नु यस्तो प्रेमस्रेम । त्यसै पनि त्यस्को बाउ रातेकाईँला जस्तो भिलेन छ छाड्दे ।
मूला अहिले ऊ यो स्कूलमा छे । मलाई मनपरेको छ । अब त्योसँग कुरा गर्न कलेज कुरेर बसौं ? त्यो कलेज जानुभन्दा पहिला पोईल गै भने ….? दुबै जना हा हा हा

टिफिनको बेला धारामा साथीसँग देखेपछि दीपकले भन्यो तेरि करिश्मा त्यहाँ छे उ ! हिंड् बोल्नेनै भए ।

नाम करिश्मा हो ?

नामत अर्पिता हो तर तँ खुब राजेश हमाल बनेकोले करिश्मा भन्देको नि हा हा !

धारामा गएर बोल्ने त भनियो तर के बोल्ने ?

दीपकले उताबाट बिस्तारै पेन खासाईदियो उस्को नजिकै ।

अरुका अगाडि बाघ भएपनि मनले सजाईसकेका मान्छेसँग पहिलो पटक बोल्दा बिरालो हुईनेरहेछ । बडो शाहसले भनें अर्पिता तिम्रो पेन खसेछ ।

मेरो मुखमा हेरिन् ट्वाल्ल परिन् । कहिले नबोलेको मान्छेले नाम लिएरै बोलाउँदा सायद अचम्म लाग्यो होला । र लजाउँदै भनिन् मेरो हैन ।

उता दीपकका गाला अलिक राता भए सायद नाटक चालपाई केटीले भनेर । आफ्नो बोल्ने अठोट पूरा भयो तर बोल्नैका लागि मात्र । खुशी लाग्यो मन परेकी मान्छे लजावती झारझैँ लजाएर दुई शब्द भए पनि मेरै लागि बोलेको सुन्दा । “मेरो हैन ” भन्ने शब्द मुहान थुनेको पानी कुलाबाट खेतमा पुगेझैँ कान बाट झ्याप्पै मनमा पुग्यो र मनकै मुहाने गह्रातिर डुलिरह्यो ।

बेलुका होमवर्क गर्दागर्दै दीपकको कुरा याद आयो । भरे एउटा चिठी लेख म दिम्ला नत्र बहिनीलाई दिन लाम्ला…..।

चिठि त लेख्ने तर के भनेर लेख्ने ? रिताले शिवलाई चप्पल हाने जस्तो गरि भने …? साथीहरुलाई देखाई भने …? हेडसरलाई भनिभने ? मनमा अनेक कुरा खेले, फेरि लाग्यो मन पराउने म, अब मेरा लागि मैले नगरे कस्ले र्गर्दिने ? लेख्नैपर्छ …

लटरपटर बनाएर एउटा चिठी लेखें । चिठीको अन्तिम हरफ यस्तो बन्यो – अर्पिता मैले तिम्लाई मन पराएको हो अपराध गरेको हैन , यदि मनपर्छ भने राम्रै भैगो, परेन भने पनि गाली बेईजत जस्ता नराम्रा काम नगरिदिनु । यो नै पहिलो र अन्तिम पत्र हुनेछ तर स्विकार भए त पक्कै जवाफ आउला नभए पनि मञ्जुर छैन भनेर एउटा चिठी चाहिँ लेखिदेउ ल ।

आयुष

चिठी लेख्दालेख्दै एक बजेछ । बिहान अलिक अबेरसम्म सुतिएछ । आमा कराउन थाल्नुभयो – बिहानभरी सुत्छस अल्छे उठ् । उठेर हातमुख धोएँ र एकछिन् पढें । आमा गोठतिर काम गर्दै हुनुहुन्थ्यो बहिनी र मैले खाना खायौं र दुबैजना स्कुल गैयो ।

जाने बित्तिकै दीपकले सोध्यो लेखिस ?

लेखें

खै ले । मैले बहिनीलाई फकाएको छु उस्ले दिन्छे ।

तेरी बहिनीले अरुलाई भनी भने ?

ह्या भन्दिन हौ, त्यस्लाई पनि कसम खुवाएको छु ।

ढुक्क भयो । चिठी दिएँ । घरमा आएपछि लाग्यो मैले प्रेमपत्र दिएको हैन परीक्षा दिएको । अहो स्कूलको परिक्षाको रिजल्ट सुन्न त त्यति चासो हुन्न थियो तर यो प्रेमपरीक्षाको रिजल्ट सुन्न कति हतार …! के पास भईएला ? फेल भईयो भने के गर्ने फेरि परीक्षा दिने ? यस्तै कुराहरु खेलिरहेका थिए । भोलिपल्ट अर्पिताले चिठी पाएको खबर त दीपकबाट पाईयो तर त्यस्को रिजल्ट ? रिजल्ट त बहिनी घरमा पुगेपछि मात्र थाहा हुने भयो । दीपकको घर जम्मा पन्ध्र मिनेटको बाटो हो । स्कूलबाट आएपछि खाजा खान मन लागेन । हतार दीपककोमा जान मन लाग्यो ।

दीपक आफ्नै घरतिर आउँदै रहेछ बाटैमा भेट भयो । सोचें केटोलाई हतार भएछ चिठी देखाउन आफैं आउँदै रहेछ । भेट्ना साथ दीपकले भन्यो केटा चिठी त गयो, गको गई भयो ..।

मतलब रिप्लाई आएन ?

आएन

के भनी रे ?

केही भनिन रे ।

बाटैबाट फर्किएँ निराश भएर । लाग्यो गल्ती गरियो । यति हतार नगर्नुपर्थ्यो । रातभरी छट्पटी भयो ।

भोलीपल्ट स्कूल पुग्नासाथ अर्पितासँग भेट भयो । मुखमा हेर्न लाज लाग्यो । उस्ले पनि नहेरेझैँ लाग्यो । अगाडि खत्रक्क एउटा पट्याएको कागज खस्यो । टिपें बाहिर पटिनै रहेछ ( To आयुष ) । अलिक पर गएर फर्किएर हेरिन् , मैले टिपेको थाहा पाएपछि मुस्कुराउँदै शिर निहुराएर अलिक छिटो छिटो गईन् ।

मन बाफियो । उफ्फ कस्तो गर्मी ! रिजल्ट त आयो तर पास कि फेल ? धैर्यता गर्ने क्षमता रहेन । ट्वाईलेट गएर खोलें …

आयुष ..बाट शुरु गरेर धेरै कुरा लेखिछिन् र अन्त्यमा लेखिछिन् – यदि कसैलाई देखाउन, मन तौलनका लागि लेखिएको हैन भने स्विकार छ । मलाई पनि तिमी मनपर्छ । तर भोलि केही नराम्रो गर्ने भए आजै यहीँबाट बन्द गर्नु । अनि चिठी दिँदा खेताला नलाउनु आफैं दिनु ।

अर्पिता बानिया

शरीरमा पखेटा पलाएको आभाष भयो, आकाश त्यहीँ मास्तिर छ उफ्रेर छोईदिउँ जस्तो, बादलको मैदानमा लडिबुडी खेलाैं जस्तो ।

सम्हालिएर क्लास गएँ । दीपकलाई केही थाहा छैन यस्लाई यत्तिकै रहन दिउँ लाग्यो चुपचाप बसें। केही छिनमा आफ्नै मनले सोच्यो यो त पाप हो । जस्का कारण आज अर्पितासँग यो सामिप्यता बढ्यो उसैलाई नभनेर त हुँदैन । यसैपनि खुशी कहाँ एक्लै थाम्न सकिन्छर ! खुशी कहीँ कतै अलिकति भएपनि शेयर नगरे त खुशी खुशीनै रहन्न । फेरि अर्को स्वास्थ्य बिद्यानष्ट कसम खुवाएर उस्को बहिनीलाई पनि नभन्ने शर्तमा उस्लाई सबै कुरा सुनाएँ । दीपक पनि खुशी भयो । असल मित्रता भन्नुनै यहीहो जो साथीको खुशीमा पनि खुशी हुनसक्छ ।

दिनहरु बित्दै गए चिठीहरु बाक्लै रुपमा बिनिमय हुन थाले । भेट्नका लागि उपयुक्त ठाउँ नभएर अलिक समस्या हुन्थ्यो । दीपकसँग सल्लाह गरेर दीपकको बहिनी दीपासँग मीत लगाईदिने कुरा भयो । दुबैजना राजी भए । मितिनीकोमा आउने निहुँमा भेट बाक्लो हुन थाल्यो । एकदिन एकादशी मेला जाने सल्लाह भयो । एकदाशी मेला त मात्र बहाना थियो । त्यहाँ हामीले चिन्ने मान्छे भन्दा अलिक अलग रहेर दुईजना मात्र एकान्तमा भेटमा गफियाैं । कुरै कुरामा सोधेँ रोल नम्बर कतिहो ?

तीन हो

तीन ?

वाह

किन ?

मेरो पनि तीन

यस्मा खुशी के छ र त्यस्तो ?

खुशी छ नि ! परिक्षामा रोल नम्बर अनुसार राखिन्छ । तिम्रो कक्षाको रोल नम्बर तीन तिमी, मेरो कक्षाको म । रोल नम्बर तीन वाला एउटै सीटमा परिने भैयो नि ।

हा हा हा ( दुबैजना )

दिमागमा अर्को शैतानी कुरा झट्ट याद आयो , अर्पिता लेफ्टी हो परिक्षामा मेरो दाहिने सीटमा परि भने त कुहिना कुहिना जुधाएर लेख्न पाईने रहेछ । सोच्दासोच्दै हाँसो फुत्किहाल्यो ।

किन हाँसेको ?

तिमी लेफ्टी हगि त ?

हो त यस्मा हाँस्नु पर्ने के छ र ?

ह्म्म् अँ .. कुरा के भने तिमी भाग्यमानी छौ । देब्रेहात चलाउने भाग्यमानी हुन्छन् रे ( लेफ्टी मुखबाट फुत्किहाल्यो त्यस्लाई सम्हाल्न कुरा मोडिदिएँ )

ह्या हैन के को हुन्छ त्यस्तो ।

किन नहुनु नि हेरन बिश्वका चर्चित मान्छेहरु अल्वर्ट आइन्स्टाइन, महात्मा गान्धी, अमिताभ वच्चन, बिल गेट्स जस्ता मान्छे सबै लेफ्टी हुन् रे ।

अर्पिताको ओठमा मुस्कान खस्यो । त्यहाँबाट हामी छुट्याैं ।

आ-आफ्ना मान्छेका साथ घर आयौं । चिठीलाई पुल बनाएर माया अहोरदोहोर भईरह्यो ।

दिनहरु बित्दै गए । परीक्षा आयो, सोचे जस्तै भयो । कुहिना जुधाएरै लेखियो, डेस्कमा कुहिना जुध्थे मनमा भूकम्प जान्थ्यो, मनमनै लाग्थ्यो परीक्षा त महिनाभरी भएपनि हुने । पहिलो दिन नेपाली भएकाले परीक्षापनि राम्रै भयो । हामी परीक्षा सकेर छुटियाैं ।

घर आईपुग्नै लागेको थिएँ । अलिक परैबाट सुने घरमा रुवाबासी, देखें । गाउँलेहरुको भीड । अचम्ममा परें एकैछिनमा थाहा भयो पार्टीको कामले शहर जानुभएको बा बस दूर्घटनामा परेर बित्नुभएछ । आकाश खसे जस्तै लाग्यो, पाताल भासिए जस्तै लाग्यो । सबै तिरबाट अँध्यारोले छोपे जस्तो भयो । म बेहोश भएछु आमा बहिनी जस्तै ।

छातीमा आगो बालेर आँसुका ज्वालाहरु पिउँदै बा को काम सकियो । दिनहरु यसै बित्दै गए ।

सबैले भने स्कूल जा अब । यस्तै हो रोएर मात्र हुँदैन । जे नहुनु थियो त्यो त भैसक्यो । आमाले पनि कर गर्नुभयो तँलाई म नखाएर पनि पढाउँछु स्कूल जा । सरहरुले बारम्बार घरमा आएर भन्नू भो बाँकी परीक्षा देऊ । पढ्नुपर्छ स्कूल आऊ । अर्पिताको चिठी दुई पटक ल्यायो दीपकले । चिठिमा यहि हुन्थ्यो – “जसरी पनि स्कूल आउनु पढ्न त पर्छ । दीपकले पनि धेरै कर गर्यो । तर खै के भयो के भयो मलाई स्कूल जान मनै लागेन । कालिदास सबै भन्दा मूर्ख भनेर पढेको थिएँ अाँफूलाई कालिदास भन्दा मूर्ख लाग्यो र पनि बिद्वान बन्न मन लागेन । सबथोक गुमे जस्तो भयो । म कसैको नसुन्ने भएँ ।

अर्पितालाई भेट्न चिठी लेखें ।

हामी भेट भयौं ।

मैले अब नपढ्ने । शहर जाने र उतै बस्ने अनि पछी आर्मीको जागीर खाने कुरा सुनाएँ । अर्पिता मान्दै मानिनन् धेरै रोईन् । स्कूल जानैपर्ने जिद्दी गरिन् । हामी यत्तिकैमा छुट्टियाैं त्यहाँबाट ।

घरमा आएर आमा बहिनीलाई सोही कुरा सुनाएँ । आमा त झन् कुरा सुन्नै मान्नु भएन ।

हामी खाना खाएर सुत्न आ-आफ्नो ओछ्यानमा लाग्यौं ।

एकमनले सोचें भोलिबाट स्कूल जान्छु । कोल्टे फेरिरहें मन बदली रह्यो र अन्तमा भागेर बिराटनगर जाने मनको बहुमत भयो । अर्पितालाई चिठी लेखें – मलाई माफ गर । यतिबेला म कसैको सुन्न नसक्ने अवस्थामा छु । तिम्लाई भेट्न छिट्टै आउनेछु बिचमा चिठी पठाउनेछु । चिठी पाएपछि तुरुन्तै पठाउनु ।

भर्खरै गोरु बेचेका छ हजार पैसा बाकसमामा थिए । आमाले केही कुरापनि हामीबाट लुकाएर राख्नुहुन्नथियो । कोल्टे फेर्दाफेर्दै तीन बजेछ । दुईजोर लुगा र एकजोर जुत्ता झोलामा हालें । बाकसबाट दुई हजार आमाहरुलाईनै छोडेर चार हजार रुपैयाँ गोजीमा राखेँ । बिस्तारै घरबाट निस्किएर दीपकको तिर लागें बाटो पनि त्यही थियो ।

दीपक बरण्डाको तल कोठामा एक्लै सुत्थ्यो । उस्लाई बिस्तारै बोलाएर अर्पितालाई लेखेको चिठी दिएँ र आफ्नो बारे बताएँ । दीपक रुन थाल्यो । नजा नत्र म नि जान्छु भन्न थाल्यो । अहिले पैसा पनि थोरै छ । तँ पढ्दै गर । म आईजान्छु भनेर बाटो लागें ।

बिराटनगर फूपुको घर पहिला बा संग गएकोले पुग्न अप्ठ्यारो भएन । फूपू फुपाजु छक्क पर्नुभयो ।

फूपुले कुरा गर्न थाल्नु भयो

कोसँग आईस ?

एक्लै

आमालाई भनेर कि त्यत्तिकै ?

भनेर । ( भागेर भन्दा फूपूले गाली गर्ने डरभो )

फुपाजु आर्मीको रिटायर्ड जमदार अलिक कडा हुनुहुन्थ्यो । आर्मीमा लाग्न पछी उहाँको मद्दत हुन्छ भन्ने आशाले पनि त्यतै बस्छु भन्ने योजनाले गएको थिएँ । फुपाजुले पत्याउनु भएन घरमा यस्तो संकट भएका बेला त्यहाँ माथी द्वन्दकाल आमाले पठाएको हैन भन्ने आत्मबिश्वासलेनै कडै स्वरमा भन्नू भयो नढाँट तिमी भागेर आएका हौ ।

फुपाजुको एकै वचनले फेरि ढाँट्न सकिन । म मौन बसेपछि दुबैजनाले बुझ्नुभयो म भागेर गएको भनेर । मलाई सम्झाउन थाल्नु भयो दुबैजना – तिमी छोरो मान्छे भएर यतिबेला आमा र बहिनीलाई साहारा दिनु पर्ने बेलामा घर छोडेर हिंड्ने ? पढाई पढाई छुट्यो के गरेको यो ?

म केही बोलिन ।

यतिबेला घरमा कस्तो भएको होला । आमा कति रुदै होलिन् । फुपाजुको यो शब्दले आमा सम्झेर मन चरक्क भयो । ट्वाईलेट तिर गएँ बेस्सरी रोएँ ठूलै गल्ती गरेको महशुस त्यति बेला भयो ।

फूपूका ठूला छोरा भान्दाई काठमाण्डौ बसेर पढ्थे घरमा कान्छो भाइ थियो । बेलुका भाइ संगै सुतियो । रातभरी आमा र बहिनी अनि घरको हालत र जिम्मेवारी एकातिर अर्पिता संग बिताएका पलहरु अर्कातिर पालै पालो आँखाभरी मनभरी आईरहे । भाइ निदायो म जाग्राम बसे झैँ भएँ ।

आमासँग बोलेर रुन मन लाग्यो । अर्पिताको आवाज सुन्न मन लाग्यो तर मोबाइलको चलन थिएन । गाउँमा भएका ल्यान्डलाइन फोनहरु सबै माओवादीले काटिदिएका थिए । बिहान उठेर आमालाई माफ माग्दै आफू फूपूकामा भएको चिठी लेखें र अर्पितालाई पनि । भाइलाई त्यहाँको ठेगाना सोधेँ र यही ठेगानामा चिठी पठाउन भन्दै चिठी पठाएँ ।

बडो हिम्मत जुटाएर फूपुलाई आफ्नो ईच्छा र आउनाको कारण बताएँ । कुरा सुनेर फूपूले आँसु पुछ्दै भन्नुभयो तैंले गर्न धेरै बाँकी छ । अहिले केहीमा हतार नगर, सबै ठिक हुँदै जान्छ ।

फूपाजुलाई सबै कुरा भन्दिनु भएछ ।

फूपाजुले भन्नुभयो आर्मीमा लाग्ने अहिले उमेर पुगेको छैन । अहिले पढ उमेर पुगेपछी म पनि भनसुन गर्दिन्छु मेरो वचन लाग्ने ठाउँमा । अहिले गाउँ जाउ ।

मैले तत्काल गाउँ फर्कन मन नभएको कुरा भनेपछि फेरि फूपाजुले भन्नुभयो अहिले यहाँ पढ्न पनि एउटा परीक्षा भैसक्यो । बीचबाट पढ्न थालेर यता न उता हुईन्छ । उता आमाको पनि बिजोग छ । तिमी छुटेको परीक्षा दिएर पढ । घरमा आमालाई पनि सघाउ र एसएलसी दिएपछि यहीँ आएर बसेर पढ्नु अनि जागिरमा लाग्ननि सजिलो हुन्छ त्यति बेला सम्म उमेर पनि लगभग पुग्छ ।

एक दिन दुई दिन गर्दै बिराटनगर बसाई पनि सत्र दिन पुगेछ । घरगाउँ, अर्पिता, दीपक, स्कूलको याद उसैगरी उर्लिरह्यो । फूपू फुपाजुले धेरै पटक सम्झाए पछी मन अलिक फर्कियो । मन फर्किए संगै गाउँ फर्किने निधो गरें । आमाको लागि हरियो साडी किन्दिनुभयो फूपुले । बहिनीलाई पहेँला कुर्ता सुरुवाल । केही चिनी मसला किनेर झोलामा लाईदिएर भन्नुभो राम्ररी जा । कतै फुन रछ भने फुन गर नत्र चिठी पठा । फुपाजुले आठ सय रुपैयाँ दिनुभयो राम्ररी जानू भनेर ।

झोला बोकेर घर तिर लागें । मसँग बाईस सय रुपैयाँ बचेको थियो फूपाजुको आठसयले तीनहजार भयो । चोकमा पुगेर गाडीमा चढ्नु अघि अर्पिता र दीपकलाई सम्झेर केही लगिदिन मन लाग्यो । दीपकको लागि एउटा क्याप किनें, अर्पिताको लागि एउटा टिशर्ट । टिशर्ट आफैंलाई मन पर्यो । उस्ले लगाएर हाँसेको कल्पना गरें मन फुरुङ्ग भयो । नजिकै पुस्तकपसल रहेछ त्यहाँ पोस्टरहरु पनि रहेछन् । श्रीकृष्ण श्रेष्ठले बिपना थापा सङ्ग उभिएर सारङ्गी बजाउदै गरेको पोस्टर खुब मन पर्यो अर्पितालाई दिन भनेर त्यो पनि लिएँ ।

ईटहरी लाहान गाईघाट उताबाट आवाज दिदै गाडी आयो । फुत्त पसें । संयोग भन्नुपर्छ मलाई मन पर्ने गीत बजिरहेको रहेछ ” उडेर जून छुन्छु भन्थे तर आज पिजडाको चरी भा’छ जीवन” । मन फेरि नमज्जाले भक्कानियो आफैंलाई सम्हाले । गाडिभरी यहि कुरा खेली रह्यो आमाले के भन्नुहोला । अर्पितालाई दीपकले चिठी दियो दिएन होला …बिराटनगरबाट पठाएको चिठी पाएर रिप्लाई गरि भने फुपु-फुपाजुले भेटे भने के भन्लान् ?

अनेक प्रश्न, जिज्ञासा र कल्पना संगै गाईघाट आईपुगेछ ।

राती त्यहीँको होटलमा बास बसें ।

बिहानै उठें हातमुख धोएँ । चिया खान पनि मन लागेन । छ घण्टा हिंडेपछि घर पुगिहालिन्छ । जहाँ पुग्दा भोक लाग्छ त्यहीँ खाना खाउँला भनेर गाउँतिर लागें।

आधा महिना पनि आधा बर्ष जस्तो लाग्दो रहेछ कहिलेकाहीँ । त्यस्तै महशुस भईरहेको थियो । मनमा अनेक कुरा खेलाउदै थकाई नलागे जस्तो निरन्तर हिंडिरहें ।

घर भन्दा अलिक तल जङ्गलमा पुगेपछि गाउँका दानबीर काका भेटिनु भयो । बस्तु चराउँदै बाटो छेउमा ठूलो फडिरको रुखको फेदमा बस्नु भएको रहेछ । मलाई देख्ने बित्तिकै फिस्स हाँस्नुभयो र भन्नुभयो लाहुर गएर आईस ?

म उसैगरी फिस्स हाँसे मात्र ।

थोरै रिसाएर भन्नुभयो – मोरा यत्रो भएको जान्ने बुझ्ने मान्छे यस्तो हालतमा आमा बुईनीलाई छोडेर हिंड्छन् ? बदमास हुने हो तँ जस्तो मान्छे भएर ?

मैले त्यही गल्ती महशुस भएर फर्केको कुरा बताएँ । दुबै जना गफ गरेर बस्दै थियौं । माथिबाट एकजना मान्छे कराउँदै झरे …यो जङ्गलमा डढेलो लाउनुपर्छ । खरायो बाघ भालु सबै जलेर मर्छन् तिनका मासु खानुपर्छ ।

नजिकै आए पछी चिनें – मैलो शर्ट र भोटो लगाएका हाम्रै स्कूलका हेडसर ।

काकालाई सोधेँ यी हेडसर कहाँबाट कराउँदै यता आएका ? यीनलाई के भयो काका ?

यीनको होश ठेगानमा छैन अचेल गाउँलेले केही गर्दा नि सम्हाल्न सकिएन । एकछिन ठिक भए जस्तो गर्छन् फेरि उस्तै ! दैव लागेपछि अनेक हुँदो र’छ के गर्नुर बरा !

म अलिक अचम्ममा परें र फेरि सोधेँ के भयो र काका ? के दैव लागे ?

बूढाले एकै श्वासमा भने – लौ तँलाई थाहा छैन र ? अस्तिको शनिवार सदरमुकामबाट फर्कदा ओखरबोटेकी छोरी र यीनकि कान्छी छोरी अर्पिता एम्बुसमा परेर ठाउँको ठाउँ भएनि ब..रा …!

हँss ? हेडसरकि छोरी ?

अँsss !!!

प्रतिक्रिया

सम्बन्धित खवर