– लक्ष्मी काफ्ले
१.
मौलायो विकृति, फेसन हरियो वस्त्र र टीका भयो।
पर्व, रीतिरिवाज किन यति फितलो र फीका भयो?
हुनेखाने हुँदा खानेबीच मतमतान्तर पैदा भएपछि,
अनावश्यक रमझमले आँखामा आँसु ढिका भयो।
२.
फाटेको कछाड, छिनेको चप्पलजोडी लगाउँदै,
सन्तानका खातिर ऐँचोपैँचो गरी आँसु बगाउँदै।
खोई कुन शब्दले बयान गरूँ, तिम्रो भेटिन शब्द,
जिउँदो देवता हौ, बुबा! आजसम्म आयौ सघाउँदै।
३.
फटाइ दिन्छन् अरूले, एक्लै बसी सिउनुपर्ने,
नयनमा पीडा वर्षाई मुस्कानसँगै जिउनुपर्ने।
जीवन एउटा रङ्गमञ्च रहेछ नियतिको खेल,
हाँसो बन्धक बनाई एक्लै आँसु पिउनुपर्ने।
४.
ताक परे तिवारी, नत्र गोतामे बन्छन्,
आफ्नो भनेजस्तो नभए खोइरो खन्छन्।
घरमा आगो लगाउन अरू चाहिन्न कोही,
काफी छन् आफ्नै, यस्तालाई के भन्छन्?
५.
झुटो बिक्ने भीडमा सत्य पिरो हुन्छ,
दुईजिब्रे चिल्लो घस्ने सधैं हिरो हुन्छ।
कलियुग हो, कालोलाई भन्नुपर्छ सेतो,
इशारामा चलेन भने मूल्य जिरो हुन्छ।
***
प्रतिक्रिया
-
४
