– गजेन्द्र मोक्तान
गजल१,
लेख्दा गफ भन्नुहोला माया मैले लाएको छैन
देवी देवता भाकेर – झुठो कसम खाएको छैन
पत्याउनु पनि कसरी हो यो उमेर भई सक्यो
मिल्दो जुल्दो सुहाउँदो जोडी पाएको छैन
ईज्जत प्रतिष्ठामा हजुर जिउने चलन छ मेरो
साथीभाईको संगतले भट्टी पसल धाएको छैन
तास जुवा खेल्दिन म – खैनी चुरोट खाँदिन
धरोधर्म यो मुटु कसैको मनमा छाएको छैन
शंका किन गर्ने होला म जस्तो सोझोलाई
कसैसंग मस्किएर मैले दोहोरी गाएको छैन
गजल २,
अप्सरा म खोज्दिन यदि बानी राम्रो भए
के चाहियो अरु मलाई जवानी राम्रो भए
हामी दुई भएपछि हुन्छ सुन्दर यो संसार
भन्दिन हेपेर कहिल्यै खान्दानी राम्रो भए
केस सबैको मिल्छ त्यसरी मन मिल्नु पर्छ
घिउ त्यसै लाग्छ हजुर मदानी राम्रो भए
भन्नु पर्दा सम्पति भन्दा ठूलो रैछ दम्पति
सबै त्यागी दिन्थेँ दिलको राजधानी राम्रो भए
कथाबस्तु अनुसारको फिल्म जस्तै जीवन
कसलाई मन पर्दैन र कहानी राम्रो भए
***
प्रतिक्रिया
-
४
