– महेन्द्रमान बलामी

मुक्तक १,
कसरी पो काम गर्छ हेरौँला पो भन्छ गाँठे,
गरे काम तिनका घर घेरौँला पो भन्छ गाँठे,
जोडबल केही छैन राष्ट्र निर्माण खातिरमा,
बाध्य पारे अनि मात्र छेरौँला पो भन्छ गाँठे!

मुक्तक २,
सुनखानी दर्ता गरी खाने कराउँदै छन्,
लुटखेती बन्द हुँदा भ्रष्ट डराउँदै छन्,
उपस्थिति देखाउन यसो भुक्दाभुक्दै,
देश बेची खानेहरु आज हराउँदै छन्।

मुक्तक ३,
कालापानी नदुखेको धेरै भएछ,
बेवास्ताले कालापानी तेरै भएछ,
भन्नुपर्ने बेला भयो अनुमति नलिँदा,
भूमि लुटी छिमेकी शेरै भएछ।

मुक्तक ४
निर्धो हुँदा छिमेकीले पेल्न खोजेकै हो,
हस्तक्षेप नाना गरी खेल्न खोजेकै हो,
सिमानामा जथाभावी खम्बाहरु उखेलेर,
भित्तामा नै पुग्ने गरी ठेल्न खोजेकै हो।

मुक्तक ५
आफ्नै थातथलोभित्र चर्न सिके हुन्न र,
काम नौलो अचम्मको गर्न सिके हुन्न र,
निहुँ खोजी तीललाई पहाड किन बनाउँछौ,
काम गरी आफैँ भुँडी भर्न सिके हुन्न र?

***

प्रतिक्रिया

सम्बन्धित खवर