– सुरेश किरण
मैले जिन्दगीलाई कहिल्यै पनि महत्व दिइनँ । अर्थात् भनौं, मृत्यु मेरो लागि कुनै पनि भयावहताको नाम होइन । मृत्यु – मृत्यु होइन, मृत्यु जीवन हो । जीवन – जीवन होइन, जीवन मृत्यु हो । मेरो बाँच्नुको परिभाषाको भूमिका र पृष्ठभूमिको लुगा फुकालेर अगाडि उभ्याउन ल्याउने हो भन्देखिन् त्यसको स्वरुप यस्तै हुन्छ ।
••
एकदिन मेरो हत्या भयो ।
••
(अर्थात्, समाचारको भाषामा भन्ने हो भन्देखिन् एउटा मान्छे, जसको लागि मृत्युको अर्थ जीवन हो र जीवनको अर्थ मृत्यु हो, को हत्या भयो । फलानो दिन । फलानो समयमा । फलानो ढङ्गबाट । फलानो स्थानमा ।)
मेरो हत्या भयो । म मरें । म अनेकन् रुपबाट मरें। शारीरिक रुपबाट मरें । चिकित्सकले भने बमोजिम मरें । जलाइदिएको कारणले मरें । शुभचिन्तकहरू रोएको कारणबाट मरें । काजक्रिया गरेको कारणले मरें । मेरो मृत्यु भएकै रहेछ । एउटा ठोस प्रमाण सहितको मृत्यु ।
••
म मरेकै रहेछु । तर मैले आफूलाई मरेको भन्न सकिनँ । कसरी मरेको भन्नु ? आफ्नो हत्यामा त मैले गर्व गरिरहेको छु । हत्या जुन गर्वपूर्वक भयो, त्यसमा म कसरी मर्छु ? कमभन्दा कम म मेरो लागि त मरेको छैन । मैले आफूलाई मर्यो भनी महसुस गर्न सकेको छैन ।
यद्यपि मेरो लास जलाइसकेको छ । तर पनि, म मरेको छैन । नमर्नुको कारणबाट नै मैले सम्पूर्ण देखिरहेको छु । सबैलाई देखिरहेको छु । सोझै भनौं, म बाँचिरहेकै छु ।
••
मेरो त हत्या भएकै हो । स्वाभाविक रुपमा हत्यारा समातियो । थुनियो । अनि अस्वाभाविक रुपमा छोड्ने प्रयास गरियो । मैले सबै हरिरहेको छु हत्यारालाई छोड्न धेरै ठाउँबाट दवाब आए। विविध चाप र विविध तौलका दवाब । विविध पदवाला र विविध हकवाला दवाब ।
हत्यारा मजस्तै फगत ‘म’ होइन रहेछ । कसैको कोही रहेछ । जस्तो न्यायाधीशको ज्वाईं । मन्त्रीको साला । वकिलको ससुरा । सचिवको भाञ्जा र अरू पनि ।
तर हत्या यथार्थ हो । हत्याका सम्पूर्ण दृश्य रेकर्ड गरिराखेका आँखा मौजूद छन् त्यहाँ । हत्यारालाई छोड्न लगाउनु दही-चिउरा खानु समान भएन । फलामको चिउरा चपाएझैं भयो।
कुरा अदालतसम्म पुग्यो । वास्तवमा पुऱ्याउनु नपर्ने हो । किन पुर्याउनु ? मैले आफ्नो मृत्युलाई महसुस गरेको छैन । मेरो हत्या भयो (मेरा लागि कुनै ठूलो कुरा होइन यो) यसको लागि अदालत किन ?
बहस चल्यो । मेरा लागि बहस गर्नु आवश्यक थिएन । हत्यारालाई कठघरामा उभ्याइयो । मेरा लागि हत्यारालाई पनि त्यहाँ उभ्याउन नल्याए हुने हो । हत्याराको बयान-
“फलानो मान्छे । डाँका मारी भागेर आइरहेको । मसँग मुठभेड भयो । आफ्नो सुरक्षाको खातिर मैले हत्या गरिदिएँ । एउटा डाँकाको हत्या भयो ।”
बयान सदर गरियो । निर्णय त्यसरी नै भयो ।
••
ठीक यही समयमा मेरो हत्या भयो । मैले स्वीकार गर्नुपर्यो – म मरें। हो, म मरेकै रहेछु । मैले आफ्नो मृत्युको घोषणा गरें ।
जतिखेर मलाई चिकित्सकले मर्यो भनी घोषणा गरिदियो, त्यतिखेर म मरिनँ । मैले म मरें भन्न सकिनँ । जतिबेला म मरेको देखे – मेरा शुभचिन्तकहरू रोए, त्यतिबेला पनि म मरिनँ । जब मेरो लास उठाए, तब पनि म मरिनँ । मलाई आगो लगाएर जलाइदिए, त्यतिबेला पनि म मरिनँ । आखिर म मर्दै मरिनँ ।
••
तर अन्त्यमा,
जब म डाँका ठहरिएँ,
म मरें,
हो, मेरो हत्या भयो ।
••
(नेपालभाषाबाट अनुवाद : रासा)
प्रतिक्रिया
-
४
