– बालिका थपलिया
मेरो रूपरेखा ! पृथ्वीमा आइपुग्ने घामको प्रथम किरण हौ तिमी मेरो लागि । क्षणमै हँसाउने र क्षणमै रुवाउने चमत्कारले भरिपूर्ण प्रेमलाई गम्भीर अर्थमा बुझ्नेहरूले विश्व इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखेका छन् है । वर्षौंवर्षसम्म पनि उनीहरूको नाम अतुलनीय उदाहरणको रूपमा लिइन्छ । पौराणिक ग्रन्थमा पनि अमर प्रेमकथा पढ्न पाइन्छ । सीता–राम, राधा–कृष्ण, विष्णु–लक्ष्मी, शकुन्तला–दुष्यन्त । अब तिमी र म पनि थपिँदै छौं ।
तिमी र म ? हो तिमी र म । निःश्वार्थ प्रेमको सालिकमा हामीले आफ्नो सत्यतालाई कपेका छौं । जस्तै आँधीहुरी आउँदा पनि नडगमगाईकन हाम्रो साक्षात्कारको दिन पर्खिरहेछौं । सदैव ओठ र मनबाट ‘प्रेम… प्रेम…’ पुकारिरहेछौं । यो प्रेमको कठोर समयलाई संयमताको साथ पार गरिरहेछौं । उल्झनकै बीचमा प्रेमले आयातन लिँदो रहेछ । हामी पनि प्रेमको इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्नेगरी भव्य र सभ्य प्रेम गरौं मायालु ।
ए मेरो धीर वीर उत्प्रेरणा ! ती सबै प्रेमी–प्रेमिका हाम्रा प्रतिरूप हुन् । हामी उनीहरूका प्रतिरूप हौ । हीर–राँझा, रोमियो–जुलियट, लैला–मजनू, शिरी–फरहाद, मुगल–मुमताज । जबजब म यिनीहरूको प्रेमगाथा पढ्दै जान्छु तिम्रो समर्पण, मेरो धैर्य, तिम्रो तडप, मेरो प्रतीक्षा, तिम्रो आकाङ्क्षा, मेरो शिल्प सबै देख्छु । देवकोटाका आदर्श पात्र मुना र मदनजस्तै महान् जोडी पढिरहँदा तिमीलाई हाम्रो प्रेमको धङधङीले आजित पार्छ सायद । म पनि हुरुक्क हुँदै तिम्रा प्रिय पङ्क्ति पढिरहेकी हुन्छु । बालकृष्ण समको नाटक ‘प्रेमपिण्ड’मा सविता र नकुल एक–अर्कालाई धेरै प्रेम गर्थे । उनीहरू दुवैको राजदरबारमा भेट भएको थियो । लुकीछिपी प्रेम गर्दा पनि राजाले थाहा पाएर यी प्रेम जोडी छुटाउने प्रयास गरे । आफ्नी प्रेमिकासँगै मर्न चाहेका थिए । उनले आफ्नी प्रेमिकालाई यसरी आफ्नो इच्छा व्यक्त गरेका थिए, ‘गुलाफको चितामा हामी जल्थ्यौं । सुवासको धुवाँ रङमङाइरहन्थ्यो । चराहरू गरुड पुराण लगाउँथे तर तिमीलाई मात्र मारे भने मलाई कति दिक्क ।’ बिछोडै–बिछोडमा नकुल धेरै बिरामी परे । सवितासँग भेट भएपछि उनको मृत्यु भयो । सविता पनि उनको लास हेर्न नसकेर खोलामा हामफालेर मरिन् । ती शब्द पढिरहँदा आँसुसँगै म आफ्नै व्यथाको सिँचाइ गर्छु ।
ए स्रष्टा ! हामीले कैयौंपटक सँगै पढेका छौं, ती विश्वप्रशिद्ध प्रेमकथाहरू । मेरो जीवनमा तिम्रो आगमन भएपछि ती पात्र अझै हाम्रा लागि जीवन्त भएका छन् । एक्लो हुँदा पनि म उनीहरूलाई सम्झिन्छु र त्यो महानतामा झुक्छु । भावुक बन्छु । उनीहरूको साँचो प्रेमको कारण प्रेमीहरूको सम्मानको पात्र बनेका छन् र बनिरहनेछन् ।
अर्का उदाहरणीय प्रेम जोडी हीर र राँझा पन्जाबमा जन्मिएका थिए । हीर धनी र कुलीन परिवारमा जन्मिएकी थिइन् । राँझा गरिब परिवारमा । राँझा हीरको बुबाका भैंसीहरूको हेरचाह गर्थे । दुई जना प्रेममा परे तर हीरको परिवार उनीहरूको प्रेमको विरुद्धमा थियो । हीरको बिहे जबरजस्ती धनी मानिससँग गरियो । राँझा विचलित भए । हीरलाई नपाएको पिरले सन्त भए । उनले हीरलाई भेट्न कोसिस गरे तर सफल भएनन् । यस्तै बिछोडको अवस्थामा दुवै जनाको मृत्यु भयो । उनीहरूको मृत शरीरलाई एउटै चिहानमा गाडिएको थियो । आहा, सम्झ त हीर र राँझाले एउटै कफनमा अनन्तकालसम्म चीर निद्रामा सँगै सुतेको दृश्य ।
जोधा र अकबर पनि नाम चलेका प्रेम जोडी हुन् । उनीहरूको राजनीतिक कारणले बिहे भएको थियो । अकबर धर्म निरपेक्ष राजा थिए । उनी र जोधाको धर्म अलगअलग भए पनि कहिल्यै परिवर्तन गर्नको लागि दबाब दिएनन् । जोधालाई अकबरको त्यही विचारले आकर्षित गरेको थियो । अकबरले उनको नाममा किल्ला निर्माण गरिदिएका थिए । अनि राम मन्दिर पनि बनाइदिएका थिए । अकबर जोधाको साहस र बौद्धिक क्षमताको हिमायती थिए ।
सलिम र अनारकली पनि प्रेममा फसेका थिए । आफ्नो नामको अर्थझैं उनी खुब सुन्दर थिइन् । अर्थात्, उनी अनारको कोपिलाझैं थिइन् । उनी नाच्न पनि सिपालु थिइन् । तर सलिमको बुबा राजा अकबरलाई उनीहरूको प्रेम सम्बन्ध मन परेको थिएन । किनकि उनी नृत्याङ्गना थिइन् । नाच्ने महिलालाई त्यो बेला समाजले राम्रो दृष्टिकोणले हेर्दैनथ्यो । तर सलिमले आफनो प्रेम त्यागेनन् । यही कारण उनी र उनका बुबाबीच युद्ध भयो । प्रेमीकै आँखाअघि अनारकलीलाई चिहानमा गाडिएको थियो । तर, उनी त्यहाँबाट भाग्न सफल भइन् र कहिल्यै फर्किइनन् । प्रेमिकासँगको वियोगमा हृदय छियाछिया भएका सलिम जहाँगिरका राजा भए । उनी मृत्युश्यामा छटपटाउँदा पनि उनी अनारकलीकै नाम बरबराइरहेका थिए ।
अर्को जोडी, रोमियो र जुलियट । सेक्सपियरले जीवन्त बनाएका ती पात्रलाई पढ्दा पनि म भावुक हुन्छु, तिमी पनि चुकचुकाउँछौ । उनीहरू भेरोनामा जन्मिएका थिए । एक जना क्यापुलेट र अर्को मोन्टेग परिवारमा । ती दुवै परिवार एक–अर्काका शत्रु भएकोले यी प्रेम जोडीलाई एक भएको देख्न चाहँदैनथे । जुलियटले रोमियोसँग भाग्नका लागि मरेको अभिनय गरेर चिहानमा लुकिन् । तर रोमियोले त्यो योजनाको बारेमा सन्देश पाएका थिएनन् । उनलाई जुलियट साँच्चै मरेजस्तो लाग्यो । पीडा खप्न नसकेर रोमियोले विष पिए । चिहानबाट निस्किँदा जुलियटले रोमियोलाई मृत अवस्थामा भेटिन् । अन्ततः रोमियोको चक्कुले आफूलाई प्रहार गरिन् र मरिन् । उनीहरूका परिवार एक–अर्काका शत्रु भएकोले उनीहरूलाई बिहे गर्न अनुमति दिएनन् । उनीहरू एक–अर्काबिना बाँच्न नसक्ने भएको कारण आत्महत्या गरे । त्यसपछि दुई परिवार एकीकृत भए र झगडा नगर्ने वाचा गरे ।
ए विलक्षण प्रतिभा ! मैले लैला–मजनूलाई युट्युबको पर्दामा हेरेँ । यिनीहरू पर्सियाका महान् प्रेमी थिए । मजनू गरिब परिवारमा जन्मिएका थिए । उनी सहरको अँध्यारो गल्लीमा बस्थे । लैला एकदम सुन्दर थिइन् । धनी थिइन् । उनी पर्सियाका राजाकी छोरी थिइन् । तर उनीहरूको प्रेमले धनी र गरिब छुट्याएनन् । सुन्दर र कुरूप छुट्याएनन् । दरबारमा मजनू खानेकुरा माग्न आएको बेला दुई जनाको भेट भएको थियो । दुईका आँखा जुधे र प्रेम छचल्किएको अनुभव गरे । तर राजकुमारीले आफूजस्तो गरिबलाई प्रेम गर्लिन् भन्ने उनले विश्वास गरेनन् । लैलाले मजनूलाई धेरैतिर खोजिन् । खोलाको किनारमा रहेको गरिब बस्तीमा भेटिन् । उनले मजनूप्रतिको आफ्नो प्रेम अभिव्यक्त गरिन् । मजनू खुसीले उनको पाउमा झुके र आफूले पनि प्रेमको आभास पाएको जानकारी दिए । उनीहरू प्रेमको समुद्रमा दुई नदी बनेर मिसिएका थिए । प्रेमलाई भगवान्को अवतार मानेर एक–अर्कामा समाहित भएका थिए ।
मेरो मनोरञ्जक ! फरहाद र शिरी तिम्रा मन पर्ने जोडी । मैले विभिन्न जोडीको नाम लिँदा तिमी भन्ने गर्दथ्यौ, फरहाद र शिरी पनि विश्वको प्रेम इतिहासमा अमर जोडी बनेर चिनिएका छन् । फरहाद ढुङ्गामा चित्र कुँद्न सिपालु थिए । उनी शिरीलाई प्रेम गर्थे । शिरी अर्मेनियाकी रानी थिइन् । उनी पनि फरहादको प्रेममा समाहित थिइन् । उनले शिरीको तस्बिरलाई पनि शिलामा उतारेका थिए । तर खुसरो उनीहरूको बीचमा आए । दुई जनालाई छुटाउनका लागि फरहादलाई असम्भव काम अह्राए । बेहिस्टुन पहाडमा टनेल कुँद्न आदेश दिए । फरहाद त्यो काममा खट्न थाले । सोही सिलसिलामा खुसरोले शिरी मरेको झुटो समाचार पठाए । आफूले शिरीको चित्र कुँद्नको लागि प्रयोग गरेको हतियारले प्रहार गरेर फरहादले आफ्नो हत्या गरे ।
जनजनले जानेको ताजमहलका बारेमा कसलाई थाहा छैन र ? मुगल र मुमताजको प्रेमकथा पनि महान् छ । मुगल सम्राट शाहजहाँले आफ्नी श्रीमती मुमताजको सम्झनामा ताजमहलको निर्माण गरेका थिए । उक्त ताजमहल बनाउनका लागि विश्वभरबाट कालिगड झिकाइएको थियो । त्यो बनाउनको लागि बीस वर्ष लागेको थियो । त्यहाँ मार्बल र इँटाको बढी प्रयोग गरिएको थियो । उनको मृत्युपछि उनलाई पनि त्यही महलमा आफ्नी श्रीमतीकै चिहानको छेउमा गाडिएको थियो । भारतीय कला, साहित्य र सिनेमामा उनीहरूको प्रेम र ताजमहलको बारेमा चर्चा गरिएको पाइन्छ ।
अबिस्सिनियाका राजा अमोनस्रोकी छोरी ऐदा र त्यस देशलाई जित्ने मिश्रका विजयी सेनापति रदामसबीच गहिरो प्रेम थियो । तर मिश्रका राजा फराओले रदामससित आफ्नी छोरी अम्नेरिसको विवाह गर्न चाहे । रदामसलाई त्यो कार्य स्वीकार्य भएन । उनी भागेर ऐदाकोमा गए र पक्राउ परे । मिश्रका पुरोहितले देशद्रोही रदामसलाई जिउँदै गाड्ने आज्ञा दिए । सेनापति रदामस त्यो सजाय भोग्न तयार भए । उनलाई जमिनमा हालेर खाल्डोमा पुर्ने बेलामा सबैलाई छोडेर ऐदा पनि त्यही खाल्डोमा छिरिन् । रदामसले जाऊ भन्दा पनि मानिनन् । दुवै जना एक–अर्कालाई अङ्कमाल गर्दै ंंंपुरिए । संसारमा विचित्र विचित्रका प्रेमकथा छरिएका छन् ।
बेलायतकी रानी भिक्टोरिया र उनका कामदार अब्दुलबीचको प्रेम सम्बन्ध पनि मर्मस्पर्शी छ । भारतमा जन्मिएका अब्दुल जब भिक्टोरियाको सेवा गर्न दरबार पुगे, तब रानी उनलाई देख्नासाथ आकर्षित भइन् । उनले अब्दुलको पदमा पनि चाँडोचाँडो बढुवा गरिदिइन् । आफ्नो श्रीमान्सँग प्रेम साट्ने भवनमा अब्दुलसँग समय बिताइन् । प्रेम पद र प्रतिष्ठाभन्दा कति माथि रहेछ है ।
भारतीय लेखक अमृता प्रितम र हिन्दी फिल्मका चर्चित गीतकार साहिर लुधियानवीबीचको प्रेम पनि उदाहरणीय थियो । अमृता साहिरले धूमपान गरेका चुरोटका ठुटा जम्मा गरेर पिउँथिन् । साहिर पनि अमृताले पिएर छोडेको जुठो कफी स्वाद मानी मानी पिउँथे । तर दुर्भाग्यवश उनीहरूको बिछोड भयो । त्यसपछि अमृताको जीवनमा चित्रकार इमरोज आए । उनीहरूले चालीस वर्षसम्म लिभिङ टुगेदर जिन्दगी बिताए । इमरोजले अमृताको नाममा शब्दचित्र कोरे । उनले त्यो मायाको शाब्दिक कोसेलीलाई आफ्नो ‘खतोका सफरनामा’ नामक कृतिमा समावेश गरेकी थिइन् ।
मेरो तमसुक ! विश्वविजेताहरू पनि प्रेमको सामु झुकेका छन् । अमेरिकाका राष्ट्रपति बिल क्लिन्टन र मोनिका लोवेन्सकीको प्रेम प्रसङ्गले एकपटक संसारभर चर्चा कमाएको थियो । बिल क्लिन्टन विवाहित थिए । उनी हिलारी क्लिन्टनका श्रीमान् । बेलायतकी राजकुमारी डायना पनि यस्तो सम्बन्धमा खप्पिस थिइन् । अन्त्यमा कार दुर्घटनामा परेर उनको असामयिक मृत्यु भयो । पाकिस्तानी विदेशमन्त्री हिना रब्बानी खार विवाहित र बच्चाकी आमा भए पनि आफूभन्दा बाह्र वर्ष कान्छा विलावल अलि भुट्टोको प्रेममा फसेकी थिइन् । विलावलले पनि रब्बानीको लागि आफ्नो वुबा आसिफ अली जर्दारीसँग सम्बन्ध बिगारेका थिए । उनीहरूको प्रेम प्रसङ्गले पनि राम्रै चर्चा कमाएको थियो । मर्ने बेलामा पनि हिटलर भरखरकी प्रेमिकासँग भएको जीवनीबाट थाहा पाउन सकिन्छ । विश्वचर्चित रोमान्टिक कवि लोर्ड बायरनलाई प्रेम गर्ने अधिकांश विवाहित महिला थिए भन्ने उनको जीवनीमा उल्लेख गरिएको छ । यस्ता बग्रेल्ती उदाहरण छन् देश र विदेशमा । चर्चित अङ्ग्रेजी कवि डब्लु बी इट्स छापामार युवती मड गनसँग प्रेम गर्थे । उनलाई भेट्न जङ्गल पनि धाउँथे । उनले मडको नाममा समर्पित गरेर सुन्दर प्रेम कविता लेखेका छन् । शेक्सपियरले पनि आफूभन्दा छब्बीस वर्ष जेठी महिलासँग प्रेम गरेका थिए । उनले आफ्ना कृतिमा प्रेमलाई जीवन्त बनाए । कवि जोन किट्सले ब्राउनलाई धेरै प्रेम गर्थे । उनलाई बगैंचामा पर्खिएर बस्थे । तर उनले किट्सलाई धोका दिइन् । ब्राउनको नाममा उनले सुन्दर कविता लेखे । विश्वचर्चित सुन्दरी क्लिओपेट्रा र मार्क एन्टोनी, लेखक दाँते र बेट्रिस, लेखक म्यारी गोडविन सेली र पर्सि बिस्सी सेली, लेखक एलिजावेध ब्यारेट ब्राउनिङ र रोबर्ट ब्राउनिङ, चित्रकार फ्रिडा कोहेलो र डिगो रिभेरा, अमेरिकाका पैतीसौं राष्ट्रपति जोन फिटजरयाल्ड केनेडी र क्यारोलिन बेसिटी, विश्वचर्चित रुसी लेखक एन्टन चेखब र एबिलोवा, ब्रिटिस राजकुमार ह्यारी र मेघान मार्कल सबै प्रेममा समर्पित जोडी हुन् ।
ए विख्यात मान्छे ! प्रेमले न उमेर हेर्छ न हैसियत । जबजब यी कथाहरू पढ्दै जान्छु, मलाई हाम्रो प्रेम पनि अमर भएझैं लाग्छ । प्रेमको लागि त्याग अत्यावश्यक छ । जोखिम मोल्न नसक्नेहरु प्रेमसँग साक्षात्कार गर्न सक्दैनन् । अधुरो रहन्छन् । मेरो चकमक ! मानौ म दर्शिनढुङ्गा हुँ । तिमीले रगडेर आगोको फिलुङ्गो उत्पन्न गर्छौ । यसले हाम्रो प्रेमको आगोमा घिउ थपेर झन्झन् नजिक ल्याउँछ । अनि हामी आल्हादित हुन्छौ ।
***
प्रतिक्रिया
-
४
