– अमला अधिकारी

आमा गएपछि
आमासँगै धेरै कुरा जाँदारहेछन्
आमाको पछिपछि ।

मान्छे मरेर जाँदा केही लादैन भन्नु
झुठो रहेछ भगवान् !

आमा गएपछि
तिज तिजजस्तो रहेन
बहरै बहरको गाोठजस्तो उराठ भैगयो
दशैं दशैंजस्तो रहेन
पात झरेको रुखजस्तो बेरुप भैगयो
तिहार कहिल्यै आएन नौकुने ठहर बोकेर
माघे सङ्कान्ति र साउने सङ्क्रान्ति आएनन्
फुलौरा र पक्कु भएर।

आमा गएपछि
मातातिर्थ औँशी अर्को बाटो लाग्यो
हाम्रो जिन्दगीको बाटो काटेर।
अब आमा आउनुहुन्न,
मातातिर्थऔँशी आउँदैन
हाम्रो घर सम्झेर।

अचेल हाम्रो घरमा कोही आउदैनन्
आमालाई सम्झेर।

अचेल ठुल्दिदी आउदिनन्
मालीगाईको दुधको कुराउनी घोटेर
माल्दिदी आउदिनन्
रेशमको फरिया बोकेर
साँल्दिदी आउदिनन्
खयरको मह काढेर
काँल्दिदी आउदिनन्
ऐंसेलु र काफलको बोहोती बोकेर
कान्छीदि आउदिनन्
खुमालका चामल लिएर
दाजुभाइ आउदैनन् आमालाई भेट्न भनेर
मातातिर्थ औंशी आयो भनेर।

आमा गएपछि
मलाई आफ्नो घर
मुर्दाघर जस्तै लाग्छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर