– अनामिका सजल
१,
पापीनीले माया मारी भन्दै नहिँड
यस्तै हुँदा रै’छन् नारी भन्दै नहिँड
भट्टी पस्ने तिम्रो बानी त पुरानै हो
धोका दिएर बिगारी भन्दै नहिँड
भनेकै हुँ तिम्रो मान्छे हुन सक्दिनँ
घात गरेर पछारी भन्दै नहिँड
पर्नेछौ एकदिन चरीको पासोमा
भो आफुलाई सिकारी भन्दै नहिँड
देखेकी छु धेरै चोटि धेरै गल्लीमा
धर्म छाडी ब्रह्मचारी भन्दै नहिँड
अलिकति सरम् बचाउनु छ भने
सत्यको पर्दा उतारी भन्दै नहिँड ।।
२,
नबोली मोहनी लगायौ तिमीले
चाहना अनौठो जगायौ तिमीले
हराएँ तिमीमा रमाएँ तिमीमा
कसरी यो लाज भगायौ तिमीले
आँखामा आत्मामा यी नशा नशामा
उमङ्गै उमङ्ग बगायौ तिमीले
हराई बागमा रमाई रागमा
जवानी कलिला डगायौ तिमीले
रिसायो दुनियाँ रमायो प्रकृति
खुलेरै खजाना मगायौ तिमीले ।।
***
प्रतिक्रिया
-
४
