– राजेश स्पन्दन

गजल १
खै के लेखौं कहानी, म बेकारको
शून्य लाग्ने जवानी, म बेकारको

बिहान उठ्छु, साँझ समयमै सुत्छु
चलेको छ मनोमानी, म बेकारको

न केही काम छ, न छ केही धन्दा
चलेकै छ जीन्दगानी, म बेकारको

न चिन्ता, न शोक न छ केही पीर
भयो है कस्तो बानी, म बेकारको

न थें म जस्तै, आलस्य मेरा पुर्वज
न हो यो रोग खान्दानी, म बेकारको

गजल-२
कोमल पाउहरु, कोमल छन् हातहरू
तिम्रै यादमा बितें यहाँ, अनिदा रातहरू

मधुर साँझको गुन्गुनाहट, प्रेमको भाका
हरेक धुनझैँ लाग्छन्, प्रेमिकाका बातहरू

चुमेर तिम्रा ओठहरु, मैले दुनियाँ भुलें
मदकता कस्तो! रनभुल्याउने मातहरू

मनले तिमीलाई, अनगिन्ती पत्र कोर्यो
अनगिन्ती पत्रका छन, अनगिन्ती खातहरू

हेर्छु तिमीलाई, हरेक पल्ट प्रेममा पर्छु म
कति के र कस्ता हुन्छन्, प्रेमका जातहरू

***

प्रतिक्रिया

सम्बन्धित खवर