– केशव बैरागी माइलो
छोरामान्छे
तिमी
बुबाको काखमा ननिदाऊ
त्यहाँ न्यानो मात्र हुँदैन
समयको भारी जिम्मेवारी पनि सुतिरहेको हुन्छ
त्यो निन्द्रा
आत्मविश्वासको पहिलो पहरा हो
जहाँ भावना होइन
दायित्वले आँखा खुला राख्छ।
बाबाको काँधमा
हात नराख
त्यो काँध
तिम्रो भविष्य
टेकाइदिने स्तम्भ हो
जहाँ छोरोको तौल हैन
वंशको इतिहास अडिएको हुन्छ
यी निषेध जस्ता देखिने शब्दभित्र
लुकेका छन्
बाबाहरूका इमान गाथाहरु
जो चुपचाप बस्छन्
तर
पुर्णिमाको जूनझैँ
अन्धकारमाथि शान्त उज्यालो छर्दै ।
सुन ए छोराहरू
बाबा
ढुंगाजस्तै कठोर देखिन्छन्
किनकि
आँधीसँग लडेर होइन
छाती अड्याएर सामना
गर्नुपर्छ भनेर
तर भित्र
दीयो झैँ बलेर
आफू जलेर
घर उज्यालो बनाइरहन्छन्।
बाबा बराबरको छोरो
कहिल्यै हुँदैन
किनकि
बाबा त
नाम नलिइ पुजिने
पहिलो भगवान हुन् ।
सम्झ
बा को निधारबाट झरेको पसिना
तीर्थको जल हो
जहाँ नुहाएर
परिवार पवित्र बन्छ।
बाबाका चिरा परेका हात
कर्मयोगका श्लोक हुन्
जसलाई पढ्न
अक्षर होइन
जीवन चाहिन्छ।
छोरो
बा बन्न सक्छ
यो प्रकृतिको सरल नियम हो
तर
बा फेरि छोरो बन्न सक्दैनन्
यो जीवनको
सबैभन्दा कठोर सत्य हो।
बाबा
आफ्ना सपना
छोराको झोलामा हालिदिन्छन्
आफ्ना चाहना
पुराना थैलीमा बाँधेर
भण्डारको कुनामा टाँसिदिन्छन्।
आफू खाली भएर
भविष्यको रोटी सेकिदिन्छन
धर्म
ग्रन्थमा मात्र होइन
बाबाको मौन आचरणमा भेटिन्छ
संस्कार
उपदेशमा होइन
उहाँको दैनिक श्रममा हुर्किन्छ
न्याय, मूर्ति होइन
बाबाको विवेक हो।
वीरता
युद्धमा होइन
जिम्मेवारी बोक्ने
उहाँको धैर्यमा बाँच्छ।
पुत्रले पितालाई सम्झनु
केवल भावुकता होइन
यो त
संस्कार जोगाउने चेतना हो
आदर्श जोगाउने
प्रार्थना हो।
त्यसैले
बाबाको काखमा ननिदाए पनि
धर्म नछोड,
काँधमा हात नराखे पनि
आत्माले टेकिराख।
किनकि
बाबा
आकाश जस्तै हुन्
जहाँ फराकिलोको
सिमाना हुँदैन
एकदिन ढले भने
सारा संसार
छानो विहीन हुन्छ
छोराले निरन्तरता दिनु
प्राकृतिक नियम बन्छ ।
***
प्रतिक्रिया
-
४
