– ढाकामोहन बराल
“बा अब एकपटक थोरैमात्र भए पनि खानु है ?” उसले चम्चामा केही खुवाउन खोज्यो । “खान्न तैं खा ।” बुबाको आक्रोशपूर्ण जवाफ आयो ।
अस्पतालमा चिकित्सकले जाँच गर्ने समय सुरु भयो ।
उसको बुबालाई जाँच गर्ने चिकित्सकले बुबाको बारेमा भने” बुबालाई खास रोग केही छैन भोलि घर लग्नु भए हुन्छ , बिहान म कागजपत्र तयार गर्न लगाउँछु ।” “के गरें , कसो भने केही थाहा पाउनु हुन्न , कहिले खाएको बिर्सनु हुन्छ कहिले नखाए पनि खाएँ भन्नु हुन्छ । कसो गर्ने होला ?” उसले सल्लाह माग्यो ।
“उमेरको कारण हो, अलि राम्रो जतन गरेर राख्नु होला बुबालाई ।” चिकित्सकको सल्लाह थियो ।
भोलि पल्ट घर लैजाने निधो भयो । आफूले बुबालाई खुवाउन नसकेको खाना खुवाउन श्रीमतीलाई लगायो ।
“यस्तो भोक लागेको थियो, बालाई खाना खुवाउनु पर्छ भन्ने बुद्धि कहिले पनि नआउने तिमीहरूलाई ।” बुबा रिसाउनु भयो तर अघि केही समय अगाडी छोराले फकाएर खुवाउन थालेको बिर्सनु भएछ ।
“ल म आई हालेँ ।” उसले फोन उठाएर कुरा गर्यो ।
“भरे त आउनु होला नि है कति समय लाग्छ कार्यक्रममा ?” श्रीमतीले भनिन् ।
“भोलि लैजाने बुबालाई हो घर , भरे डाक्टरको राउन्डिङ्ग सम्म आइपुग्छु । कहिले पनि फुर्सद नहुने कस्तो काममा हात हालिएछ ।” भन्दै उ हतारिँदै बाहिरियो ।
दस मिनेट पछि उ फर्केर आयो ।
“के बिर्सनु भयो ? कतै कार्यक्रम पो स्थगित भयो कि ?” श्रीमतीले जिज्ञासा राखिन् ।
“घरका बुबाले त उमेर पाकेर बेसुरका कुरा गर्न थाल्नु भएको छ बुबाकै उमेर मिल्ने नेताले के सुरका कुरा गर्छ्न् र पछि लाग्ने हो , म त यो राजनीति छोडेँ ।” एउटा बस्ने स्टुल सारेर बस्दै उसले भन्यो।
***
प्रतिक्रिया
-
४
