– प्रीति आत्रेय ज्ञवाली
१,
काँडाले मलाई घोच्न खोज्दा फूल बनी म हाँसिदिन्छु
ढुङ्गाले मलाई प्रहार गर्दा घण्टी नाचेझैँ नाचिदिन्छु
प्रहार गरिने हरेक कुरा र बोलीको छैन फर्काउने कुरा,
आफूसित भएको यही मुस्कानले सबै पीडा फालिदिन्छु।

२,
गर्नै छ है पूरा मैले त यहाँ, आफ्नो काम जसरी भएपनि
जिन्दगीको यो भवसागर तर्नैछ, जपेर राम जसरी भएपनि
जीवनपछिको गन्तव्य सबैको मृत्यु नै हो, त्यो त थाहा छ,
माटोमा नमिल्दै राख्नु छ मैले, आफ्नो नाम जसरी भएपनि ।

३,
सधैँ शून्यतामै म रमाउने गर्छु त्यसैले त ममा कुनै घटबढ हुँदैन
एकनास रहनसक्ने ल्याकत राख्छु तसर्थ अरूको कुराले छुँदैन
आत्तिने र मात्तिने नगर्नू छोरी सधैँ स्वत्वमा बस्नू भन्नुहुन्थ्यो बुवा,
सम्झनामा आँखाबाट आँसु बगिरहँदा कुनै कुराले आँसुलाई धुँदैन ।

४,
के राम्रो के नराम्रो हो शायद् सबैलाई थाहा छ
राम्रो देख्नसक्ने र रमाउन सक्नेलाई सधैँ आहा छ
जान्दाजान्दै पनि किन यहाँ निराश छन् मान्छेहरू,
दुई दिने जिन्दगीमा सबैलाई सन्तुष्टिकै चाहा छ ।

५,
धाप दिने कर भए पो लेख्न कर हुने रहेछ
मर्म बुझ्ने पाठक भए पो लेख्न भर हुने रहेछ
समाचार पढेपछि फालिएको पत्रिकाजस्तो
जतन गर्ने भए लेखन दूधको तर हुने रहेछ !

***

प्रतिक्रिया

सम्बन्धित खवर