– अनु विज्ञाति

“यो केटाले पुर्खाकै इज्जत माटोमा मिलाउने भो।शाखा सन्तानमा कसैले नगरेको यसलाई गर्नुपर्ने। के बुद्धि हो यसको। हामी कसैले भनेको टेरे त मार्दिनु।” लु तैंले नै सम्झा तेरो भाइलाई । यसो अलि अलि कुरा खाने यसले तेरै हो । ” रबिताले माइती घर पुगेकै दिन बेलुका आमाबुबाको मुखबाट रञ्जितप्रतिको गुनासो सुनिन्।
हुन  त याे भन्दा  अघि पनि उनले पटकपटक भाइलाई  सम्झाउने आदेश  नपाएकी होइनन् । तर जब मुन्द्रा लगाएको र कपाल पालेको कारणले मात्र सम्झाउनु पर्ने बुझेपछि  उनी गम्भीर बन्थिन्। केही बोल्दिनथिन्।
रन्जित  अचम्मित  थियो। “यत्रो सम्झाउने, कराउने ,थर्काउने आदेश पाउँदा पनि दिदीले किन केही नभनेको होला?”
भोलिपल्ट रबिता रन्जितको कोठामा पसिन्। रन्जित तर्सियो।पक्का पनि मुन्द्रा लगाउने र कपाल पाल्ने आजै अन्तिम दिन हुनेछ।उसले अनुमान  लगायो।

” के को मुन्द्रा हो यो? हेर! कान पनि पाकेको रहेछ” उनले रन्जितको कान हेर्दै भनिन् ।

“खै! साथीको लगाएको।  के को हो थाहा भएन।अस्ति हिरेको लगाउँदा त झन् कति धेरै  दुखेको । तर यो निरेको हो। कान पाके पनि त्यति दुखेको छैन। बरु चिलाई रहन्छ कान।” रन्जितले  निहुरिएरनै जवाफ दियो।

“म सुनको एउटा मुन्द्रा ल्याइदिउँला। त्यहि लगाई रहनु।साथिहरुसँग नबाड्नु।” रविताले मुद्राको विषयमा बोलिन् । बाहिर निस्कनै लाग्दा अझै थपिन्  “तिमीले पुर्खाको इजतमा दाग लाग्ने कुनै काम गर्ने छैनौं। यो मेरो बिश्वास  हो। मलाई  पुर्ण भरोसा छ। तिमीले मेरो बिश्वास कहिले तोड्ने  छैनौं।”
रन्जित अलमल्ल  पर्‍यो। “मुन्द्रा लगाउन स्वीकृति दिने। अझै आफैँ किनेर ल्याइदिन्छु भन्ने। अनि पुर्खाको इज्जतमा दाग लगाउने छौनौं पनि भन्ने। यो कस्तो कुरा भो। गाली गर्लिन् भनेको उल्टै सपोर्ट पो !”
“केही सुध्रने संकेत  देखियो त?”  कोठाबाट बाहिरिने बित्तिकै आमाले प्रश्न  गर्नु भो।
“हजुर।”   रबिताले आमातिर हेरेर भनिन्।

केही समयपछि  रन्जितले सुनको एउटा मुन्द्रा पायो। उसले कानमा लगायो। फुकाल्दै लगाउँदै गर्नुपर्ने झन्झट नभएपछि कान पाकेन। दुखेन। तर घरमा  बुवाआमाको  दिक्दारी चैं दिनप्रतिदिन बढ्दै गएको थियो ।
“यी चैं छोरा ? कपाल  र कान हेर्दा त छोरी लाग्छन्  त?”कि छोरो आवरणको छोरी रहेछन्  त यी ? लौ  भविष्य  राम्रो देखिएन है तपाइँहरूको बेलैमा होस्  पुर्‍याउनुहोस् ।”घरमा आएका आफन्त र छिमेकीले रन्जितको कान र कपालतिर हेर्दै व्यङ्ग गर्थे।
एकदिन  निक्कै राती  घर फर्केको रञ्जितलाई बुवाआमा दुबैले बेस्सरी  झपार्दै भने ” फेरि रबिता  बोलाएर तेरो ठेगाना नलगाई नहुने भो होइन?”
रन्जितले आबेगमा आएर भन्यो:- “के गर्छिन् दिदीले? यो मुन्द्रा त उनैले किन्दिएकी हुन्।”
बुवाआमाले  अचम्मित हुँदै एक अर्कालाई  हेराहेर‌ गरे।
उनिहरूले भोलिपल्ट  रबितालाई घर बोलाए।
“झन् भाइ सुधार्छे भनेको त  उल्टै बिग्रिन  सहयोग  गरिस् तैँले।” आमाले आउने बित्तिकै दुखेसो पोखिन् ।

“यो जुनीमा सन्तानबाट सुख नमिल्ने रहेछ   कि क्या हो?” बुवाले  लामो श्वास फेर्दै आमाको अनुहारतिर हेरे।
” खै जानेर कुनै पाप गरे जस्तो त लाग्दैन ।तर पनि किन हामीलाई नै यस्तो परिरहन्छ?” आमाले पनि लामो सुस्केरा हालिन्।
रन्जितलाई सम्झाउन आएकी रबिताले बुबाआमा र भाइलाई  एकै ठाउँमा राखेर  भनिन्   “तपाइँहरु केहिबेर मेरो कुरा सुन्नुहोस् ।”
सबैले मौन स्वीकृती जनाए।

रबिताले कहानी सुरु गरिन्
जतिखेर  म स्नातक  पढ्न  पहिलो पटक घर छोडेर बाहिर बस्न थालेकी थिएँ। कलेजमा धेरै खाले साथीहरू  थिए। फरक फरक ठाउँका ,फरक फरक पारिवारिक  पृष्ठभुमिका ,फरक फरक सोच भएका। उनिहरुका चालचलन पनि फरक फरक नै थिए। एउटा सचिन भन्ने केटा हामीसँगै पढ्थ्यो। दुबै पाखुरामा ट्याटु । लामो कपाल। कानमा मुन्द्रा। पढ्न खासै ध्यान नदिने।हल्ला गर्दै यता र उता दगुरीरहने । उसका अरु पनि धेरै हर्कत थिए। साथीहरू घरीघरी त्यसैको कुरा गरिरहन्थे। मलाई  उ र उसको हकर्तप्रति कुनै चासो थिएन। तर नचाहाँदा नचाहदै पनि  उसका केहि कुरा भने  सुनिरहनु पर्थ्यो ।
भ्यालेन्टाइन डेको दिन थियो। एकाउण्ट सर कोठामा पस्ने बित्तिकै सचिन सरको छेउमा गयो। उसले क्लासतिर फर्केर  ओठमा चोर  औंला राख्दै  हामिलाई चुप रहने इशारा  गर्‍यो । हामी चुपचाप हेरिरह्यौं। उसले सरलाई बातमा अल्झाउदै सरको  पाइन्टको पछाडी पट्टीको गोजीमा रातो गुलाफको फूल राखिदियो।

सर ब्लाकबोर्डतिर फर्कदा गुलाफको फुल हामीतिर फर्कन्थ्यो।अनि हामीतिर फर्कदा ब्लाकबोर्डतिर। सर जति रफ्तारमा यता र उता फर्कनु हुन्थ्यो फूल पनि उतिनै रफ्तारमा हल्लि रहन्थ्यो। यो देखेर सबै विद्यार्थीको  हासोँ थामिएन । घरीघरी  खित्का छोडेको सुनेर सरले हैरानहुँदै  सोध्नुभयो:-“आज तिमीहरुलाई के भएको छ हँ?”भएको कुरा सबैलाई थाहा भए पनि सचिनकै अगाडि  सचिनको कर्तुत खोल्ने  आँट  भने कसैकाे  थिएन।
एकाउण्ट पछि अडिटिङ्ग विषयको पालो थियो। सर नोट लेखाइरहनु भएको थियो। सबै बिद्यार्थी धमाधम लेखिरहेका थिए। कक्षाकोठा शुनशान थियो। मेरो नजिकै बसेकी रिमा बिस्तारै पछिल्लो बेच्नतिर फर्किइन्।र विजुलिको झड्का लागेझैँ  पुन अगाडी फर्किइन्। मैले अचम्म मानेर उनको अनुहारतिर नजर लगाएँ। उनि रातो भएकी थिइन्।मैले आँखाले नै प्रश्न  गरे “के भयो?” उनले मेरो कानमा फुसफुसाईन् । “पछाडिबाट कसैले कोट्यायो र फर्किएको त सचिनले रातो गुलाफको फुल पो मलाइ दिइरहेको यार।” उनको प्रस्तुति कसैले उनलाई  विषालु सर्प समाउन अनुरोध गरे भन्दा कम थिएन। मानौं उनले त्यो समाएकी भए छिनको छिनमा उनको ज्यान जाने थियो। मैले शान्त्वना दिएँ। “यति जाबो कुरामा पनि कति आत्तिएको ? ” उनले अचम्म मान्दै मलाई  हेरिन्।  “जाबो…? भ्यालेन्टाइन डेको दिन रातो गुलाफ दिनुको अर्थ के हुन्छ थाहा छ तिमीलाई?
“नो वे त्यस्तो भित्तिसँग। उसले आफ्नो शरीर जिरिङ्ग पारीन्।”
दिनहरु बित्दै जाँदा सचिनका चर्तिकला  बढ्दै जान  थाले ।
“त्यत्रो मान्छेको अगाडि  कस्तरी जिस्क्याएको! लाज सरम केही नभएको मान्छे हो त्यो भित्ती त” सिमा जङ्गिई रहन्थी।
“एघार कक्षामा आएका नयाँ  केटिहरुको बिचमा मस्त गफ छाट्दै थियो। केटीहरू खुब मस्कीमस्की सुन्दै थिए। कुन दिन व्यहोरा देखाउँछ अनि थाहा पाउछन् ।” अस्मिताले ओठ लोप्य्राउँदै भन्थी ।

एक दिन कलेजबाट  डेरामा आएर खाना बनाउने तयारी  गर्दै थिएँ। एघार  कक्षामा पढ्ने घरबेटीकी छोरी कलेजबाट आइपुगिन्।
“दि आज घर फर्कदै गर्दा बाटोमा सिनियर दिदिहरुसँग सचिन दाइको झगडा पर्दैरहेछ।” उनले कुरा सुरु गरिन्।
`अनि´ मैले सोधेँ ।
“दाइले त क्या भन्दिनु भो नि।” उनले सचिनकै सपोटमा कुरा अगाडि बढाइन् ।
`के भन्यो त्यस्तो ´ मैले हास्दै सोधेँ ।
“तिमीहरु  मख्य नपरे हुन्छ। के लाग्छ तिमिहरुलाई ? म मन पराउँछु? मैले त बिहान बिहान तिमीहरूले अनुहारमा पोतेको अठारपत्रको लागि यसो भाउ दिएको ।कसैले जिस्क्याएन भने तिमीहररूको बिहानै उठेर गरेको यत्रो मिहनेतको के काम?त्यसैले  तिमिहरुको उद्दार गरि दे को!  मैले मन पराउने केटि त रबिता  जस्तै सिम्पल हुनुपर्छ ।”
उनको अन्तिम शब्दले मलाई  तर्सायो। त्यो हेर्दै  गुण्डाको जस्तो  ज्यान भएको  सचिनले बाटोमा। त्यो पनि केटिहरुको बिचमा। अझै झगडा गरेर उनिहरुसँग तुलना गर्दै  मेरो नाम लिएको ? ती केटीहरुले मलाई के सोचे होला? मलाई आफ्नै नामदेखि  घिन लाग्यो। केही दिन कलेजमा कसैले केही पो भन्ने हो कि भन्ने डर पनि लागिरह्यो। तर त्यस्तो केही भएन।
…………………………………………………………………
होलिको दिन थियोे। मेरो रूम पार्टनर निता र म हामी बस्ने घरको आगनमा बसेर होलि खोल्नेहरूको रमिता हेरिरहेका थियौं । हामीलाई चिन्ने त्यहाँ कोहि थिएनन् ।त्यसैले कसैले होलि दल्देला भन्ने डर पनि थिएन। केहिपर एक हुल इन्द्रेणीझैँ  सकल बनाएर हामी तिर आइरहेका थिए। हाम्रो नजिक आइपुगेका उनिहरुमध्ये एउटा रङ्ग दल्न हामीतिर लम्कियो। हामिले सोचेकै थिएनौं ।त्यो समुहले हामिलाई समेत आक्रमण गर्नेछ। मैले उम्कने समय नपाएपछि  आइडिया निकालेँ `सरि म क्रिश्चियन हो रङ्ग  दल्ल मिल्दैन´। मेरो कुराको वास्तै नगरी  एउटाले हात उठाएर गालातिर लग्दै थियो । हुलबाट अर्कोले करायो।ओइ उसलाई  नदल। अनुहार चिन्न सक्ने थिएन उसको। त्यति एउटा शब्दले आवाज पहिचान गर्न सकिनँ। को थियो त्यो? रङ्ग नदल्न आदेश  दिने? यता नितालाई शीरदेखी पैताला सम्मै रङ्गिन बनाएछन्।उसलाई  देखेर त म नै तर्सिएँ। “तँ त बचिहालिस् ।हेर मेरो हालत भो! कहाँका मुर्दारहरू रहेछन् ।” उ फत्फताई।
भोलिपल्ट कलेजमा  रिमाले भनी “हिजो सचिनको ग्रुप होलि खेल्न आएको थियो। पिच्चकारीले रङ्ग  मुख भित्र छिराई दिएर हेर न अझैसम्म घाँटी दुखिरहेको छ।”

कस्तो गुण्डागर्दी हो सचिनको!   झन् उसले ठानेको केही चिज पाउनु पर्‍यो  भने त कुनै  हद पार गर्न बाँकी राख्ला र उसले।मलाई  रिस भन्दा बढी डर लाग्यो उसँग।

उसका ती हर्कत , शरीरको होलिया,अनि पढाईमा नदेखिएको लगाबले मलाई उ कलेजकै फटाहा लाग्थ्यो। सरहरू उसलाई पढाइमा ध्यान दिन  सम्झाइ बुझाई गरि रहनुहुनथ्यो तर  त्यो सबै बालुवामा पानी हुन्थ्यो। कसैलाई  बिग्रिएको उदाहरण दिनु पर्यो भने  उसको नाम आउँथ्यो।

कलेजको अन्तिम वर्ष थियो। हाम्रो कलेजले भ्रमण लाने भयो। भ्रमण सबैको रुचीको विषय भए पनि, सचिन जाने कुराले धेरै केटीहरूले नजाने निर्णय गरे। म त झन् नजानेमा पहिलो नम्बरमा पर्थेँ।
भ्रमणको एक दिन अघि, सिनियर दिदीहरूले हामीलाई सम्झाउनु भयो ” हेर यस्तो समय कहिल्यै आउँदैन। जीवनमा सदाको लागि छुटेर जाने यो क्षण गुमाउने भुल नगर। सचिन मात्र हुन्छ र त्यहाँ। एकाउण्ट सर पनि त जानुहुन्छ। उहाँ कलेजकै राम्रो गुरु। तिमीहरूलाई सुरक्षित साथ लानुहुन्छ ल्याउनुन हुन्छ।”
धेरै जनाको भ्रमण नजाने भूल नगर्नु भन्ने सल्लाह पाएपछि   म र मेरा साथीहरू पनि  भ्रमणमा समावेश हुने भयौं।

माओवदीको चरम विद्रोह चली रहेको बेला थियो।कलेज व्यावस्थापकले लुम्बनीसम्म मात्र जान अनुमति दिने कुरा गरेको थियो तर विद्यार्थी र भ्रमणमा जाने सरको अग्राहले महाकालीसम्म पुग्ने अनुमति मागिरह्यो।
अन्ततः “भोलि केही अप्ठ्यारो पर्यो भने कलेज व्यावस्थापनलाई केही नभन्नु। ”  शालिन धक्कीको भाषामा  व्यवस्थापकबाट अनुमति पाइयो।

भ्रमण हिडेकै दिन । सप्तरीको रुपनिमा गाडी बन्दमा पर्यो। पहिलाे दिन नै यस्तो! नौ दिन कसरी बित्ला?सबै विद्यार्थी आत्तिए।
हामीलाई गाडीमै बस्न र कोही बाहिर ननिस्कन आग्रह गर्दै सचिन सरलाई लिएर आन्दोलन गरीरहेको हुल भित्र पस्यो। हामी सबै तर्सियौं।  यो मुर्ख आफू त झमेलामा पर्ने नै हो, पर्छ नै । तर  सरलाई समेत अफ्ठ्यारोमा पार्ने भो। सबै साथीहरू हैरान भए।
केहीबेरमा सर उज्यालो अनुहार लगाउँदै आउनु भयो र भन्नु भयो। आन्दोलन त लामै समय चल्ने रहेछ । तर सचिनले सबै पक्षसँग आग्रह गरेको छ । हाम्रो गाडीलाई जान दिनको लागि।लगभग सबै सकारात्मक छन् । हामीले जान पाउँछौं होला।

त्यही बेला सचिन आइपुग्यो । “कोही बाहिर निस्केका छैनन्  नी सर?” उसले सर तिर फर्केर सोध्यो। कसको आँट थियो र त्यस्तो बेलामा बाहिर निस्कने । त्यहाँ भएको एक मात्र मुर्ख उहीँ थियो। उ बाहेक सबै भित्र बसेका थियौँ।
सरले “छैनन्” भने पछि गुरुजी लाई गाडी हाँक्न भन्यो। गुरुजी डराए। उसले खलासीजस्तै गाडीको ढोकामा उभिएर भन्यो:- “तपाईं कुदाउनु होस्। मैले कुरा मिलाएर आएको छु।केही पर्यो भने म यही छु उत्रिएर कुरा गर्छु।”
गुरुजीले गाडी कुदाए। गाडी केही अघि मात्र बढेको के थियो हातमा दण्डा, भाला खुकुरी बोकेका एकहूल  मानिस हामीतिर दौडिएर आए। हामी सबै चिच्यायौं। ।सचिनले गाडी रोक्न भन्यो। आफू बाहिर निस्क्यो र हामीलाई बाहिरबाट गाडीको ढोका लगाई दियो। अनि उ त्यही लाठी मुग्री बोक्नेको भीडमा मिसियो। अब भने सर पनि डराउनु भयो। यो मुर्खले केही न केही समस्या निम्त्याएरै छाड्ने भो।
” हामी जति समय कुरेर भए पनि खुलेपछि नै जाने थ्यौँ। किन सचिन लाई जान्ने हुनु परेको होला। अरु भलाद्मी केटाहरु जङ्गीए। केही बेरमा सचिन आयो र फेरि गाडी कुदाउन भन्यो।गुरुजी “फेरी डण्डा खानु छैन मलाई भनेर रिसाए।”  सबै साथीहरुले बन्द खुलेपछि मात्र जाने हामी त भनेर कराए।सर मैन बस्नु भयो। उ अलमल्ल पर्यो। सरको नजिक आयो ।केही भन्यो।सरले टाउको हल्लाएर नाई भन्ने संकेत गर्नु भयो।तर उसले जबर्जस्ती सरलाई हातमा तानेर गाडी बाहिर लग्यो।
मोरङ्ग बाट हिँडेको हाम्रो भ्रमण सप्तरीमा नै विपत्तिमा पर्ने भयो।
“सचिनलाई ल्याउनु हुनेथेन।” इमानदार केटाहरुले निष्कर्ष निकाले।
“सचिन आएपछि हामी आउनु हुनेथेन” केटीहरुले निष्कर्ष निकाले।
“पहिला पहिलाका टीम भलाह्मी हुन्थे र मैले पनि लु न त घुम्न पनि पाइने पैसा पनि हुने भनेर गाडी रिजर्भ लिएर आएँ । हरे ! यस्ता बहुलठ्ठीको फेला परे!” गुरुजीले टाउको ठोके।

एकै छिनमा सर र सचिन फेरी गाडीमा चढे।  सरले गुरुजीलाई गाडी हाँक्न भन्नु भयो। गुरुजीले  मानुँ की नमानुँ झैँ गरेर स्टेरिङ समाए। बिस्तारै गाडी अगाडि बढ्यो।जाम पार गर्यो। खुला हावामा सररर गाडी कुद्न थालेपछि, फेरी सबैका अनुहारमा भ्रमणको खुसी फैलियो। गाडीमा गीत बज्न थाल्यो।
उड्छ यो मन किन किन………..।

दाङ पुगेपछि पेट्रोल सकियो। जुनै पेट्रोल पम्पमा गएपनि सटेज भएको छ भनेर कसैले  तेल दिएनन्। अब हाम्रो यात्रा स्थगीत हुने पक्का भयो।भ्रमणमा गएका सबै भलह्मी केटाहरुले   बरु भाउ अलि बढाएरै भएपनि  तेल दिन पालैपालो अनुरोध गरे।  तर उनीहरूको अनुरोधले कुनै काम गरेन।तेल सटेज़ छ  भन्ने मध्येको  अन्तिम पेट्रोल पम्पमा तेल नपाइने समाचार लिएर साथीहरू फर्किएपछि, सचिन  बसबाट उत्रियो।लामो जुल्फी अझै ठाडो बनायो। हातको बाहुला माथी सारेर ट्याटु देखायो।मुन्द्रा लगाएको कान तिरको कपाल कानमा सिउरिएर मुन्द्रा देखिने बनायो ।अनि हातमा चुरोट सल्काएर काउन्टरमा पुग्यो।
” उसले चुरोट पनि खान्छ।” हामी छक्क पर्यौँ। हेर यसको हर्कत! सरको अगाडी खुले आम चुरोट तानेको। दादा देखाउने पनि ठाउँ हुन्छ नी !”  सबै साथीहरू मुर्मुरिए।
उसले त्यहाँ के भन्यो सुनिएन। तर एकैछिनको कुराकानी पछि हातले इशारा गर्दै गाडी ल्याउन भन्यो। गुरुजीले पेट्रोल भर्ने ठाउँमा गाडी पुर्याए। फूल ट्याङ्की पेट्रोल भरियो। त्यो पनि पुरानै दाममा ।  उ गाडीमा चढने बेलासम्म उसको हातमा चुरोट सल्किरहेको थियो। तर हात मुखसम्म पुगेको देखिएन।जब काउन्टरमा पैसा बुझायो उसले त्यहीँ त्यो चुरोट निभायो र गाडी भित्र पस्यो। गाडीमा पेट्रोल भरीएसँगै साथीहरुमा फेरी पनि भ्रमणको रौनक भरियो। गाडी अगाडी बढ्यो।

गोरखाको उकालो चड्दा । सिँढी छेउको बारमा सर अडेस लाग्नु भएको थियो। बार कमलो रहेछ । भत्कियो। सर अगाडी हुत्तिनु भयो। निक्कै ठूलो भीरको कान्लामा एउटा  बुटो समाउन पाएर मात्र सर झर्न थामिनु भएको थियो।हामी सबै डरायौं। त्यहाँ गएर सरलाई ल्याउन सक्ने हिम्मत कुनै सरका प्यारा शिष्यहरुमा आएन। सचिन पछाडी रहेछ। सर झरेको थाहा पाउने बित्तिकै जुत्ता फुकालेर उ त्यही भत्किएको बारबाट बिस्तारै सर अडिनु भएको ठाउँ तिर गयो। सबैका मुटु ढक्क फुले।सचिन सरलाई न आत्तिन अनुराेध गर्दै थियो। सचिनले आफ्नो ज्यानको प्रवाह नगरी सरलाई त्यहाँबाट  निकाल्यो।उसको भने  ढुङ्गामा दरखरिएर हात र खुट्टामा केही चोट लाग्यो। सरले मेडिकल जानुपर्छ भन्नु भयो तर उसले सामान्य हो सर ठीक भैहाल्छ भनेर  टरेन।

भ्रमणको अन्तिम दिन महेन्द्र नगर घुम्दै गर्दा  पंजाबबाट घुम्न आएका पंजाबी केटाहरूले  हाम्रा ग्रुपका केटीहरूको बिना अनुमति फोटो खिचेछन्।केटीहरू डराउँदै आए। “उ तिनीहरूले हाम्रो फोटो खिचिरहेका रहेछन्।”उनीहरू आत्तिए।केटीहरूको अनुरोध सर र  आफ्ना ग्रुपका इमान्दार केटाहरू लक्षित थियो।सर र अरु केटा साथीहरूले पालै पालो ती पंजाबी केटाहरुलाई फोटो डिलिट गर्न र नखिच्न अनुरोध गरे। एक त हुल्लड केटा। त्यसमाथी भाषाको समस्या। ति पञ्जाबीहरुले उल्टै सर र सम्झाउन गएका केटाहरूको समेत जबर्जस्ती फोटो खिच्न थाले। आफ्नै देशमा हामी बिदेसीहरूको हर्कतसँग हैरान हुँदै थियौँ। त्यही बेला सचिन आइपुग्यो। उसले जबर्जस्ती सर र साथीहरुको फोटो खिच्ने ती केटाहरुलाई नबोली झम्टियो। क्यामरा खोस्यो ।एक एक गर्दै फोटो डिलिट गर्यो। “तिमीहरू जेल मा जाकिन्छ्यौ। नेपालमा आएर  नेपालीलाई नै हेप्ने ?”  उसले नेपाली भाषामै हप्कायो।पुलिस बोलाऊँ ?”  पञ्जाबी केटाहरूले  नेपाली ,जेल र पुलिस भनेको बुझेछन्।डराए ।नो जेल।नो पोलिस , सरी नेपाली भन्दै  माफ माग्न थाले।सचिनले सबै पंजाबी केटाहरुलाई आफ्नो आफ्नो मोबइल निकाल्न लगायो।लक खोलेर ग्यालोरी देखाउन भन्यो। कसैको मोबाइलमा पनि सर र साथीहरुको फोटा नदेखेपछि चेतावनी पूर्वक  सबैलाई एक एक लात हान्दै क्यामरा फिर्ता गरिदीयो। क्यामरा पाउनसाथ तिनीहरू त्यहाबाट टाप कसे।

साँझ हाम्रा ग्रुपका इमान्दार केटाहरू कतै हराए।धेरै बेर खोज्दा पनि भेटिएनन्। हामी सबैको सात्तो उड्यो। कहाँ गए उनीहरू? की दिउँसो सचिनले थर्काएका केटाहरूले त कतै ……. । यो सचिनलाई पनि खुब स्मार्ट बन्नुपर्छ। तिनीहरुले माफ मागेका थिए त सक्किगो नी। किन लात्ती हान्नु परेको। हामी सबै सचिनको हर्कतसँग मुर्मुरियौं। हराएका साथीहरूले फोन पनि उठाइ रहेका थिएनन्। हामीले खाना खायौं। सुत्नको लागि सबैलाई एउटा ठूलो कोठा बुक गरिएको थियो।एकातिर केटाहरू अनि अर्को तिर केटीको सुत्ने व्यवस्था भयो। सरलाई बिचमा  ओछ्यान लगाइयो। सबै  आफ्नो-आफ्नो ओछ्यानमा बस्यौं। एकदुई जना साथी र सरसँग मोवाइल फोन थियो। उहाँहरूले पालै पालो हराएका साथीहरूलाई फोन लगाई रहनु भयो। बल्लतल्ल हराएको मध्ये  एउटा साथीले फोन उठायो।उसको बोली रल्लिएको थियो। “सर हामीले त हामी बस्ने होटल नै पत्ता लगाउन सकेनौँ !”  उसले जवाफ दियो। सरले सोध्नु भयो “तिमीहरू कहाँ छौ भन त ?” उसले आफू भएको लोकेसन बताउन नै सकेन । उल्टै “अझै एक प्याक प्लीज ” भन्दै फोन काट्यो।  फोन काटिएपछि सचिन उसँग अलि मिल्ने साथी निरजलाई लिएर हराएका साथी खोज्न निस्कियो। केही समपछि रक्सीले पुरै मातेर फिलिली भएका साथीहरूलाई डोहोर्याउदै उनीहरू आइपुगे। कलेजका इमान्दार केटाहरूको वास्तविक हर्कत बाहिरिँदै थियो।  मातेका केटाहरु घरीघरी केटीको ओछ्यान तिर जान खोज्थे। आफूलाई मन परेका केटीहरूको नाम लिदै ‘लभ यु’ भन्दै चिच्याँई रहेका थिए।हराएका साथी भेटिएको खुसी भन्दा अब उनीहरुको हर्कतले सबै दुखी र हैरान भएका थियौं। सचिनले सर तिर फर्केर हाँस्दै भन्यो:- “सर अब यी केटाहरूको खुट्टा बाँधेर डोरी तपाईँको हातमा दिन्छु । तपाईं  बीचमा बसेर डोरी समाई रहनु। केटाहरू यसो यताउति छनकमनक गर्न थाले भने डोरी तानिहाल्नु।हामी चैं सुत्छौं । उ  बेस्मारी हाँस्यो। जँड्याहाहरु झन् धेरै हाँसे। बाँकी हामी अलमल्ल पर्यौ। सर पनि रुन्चे हाँसो हास्नुभयो।

हाँसो शान्त हुन साथ सचिनले गम्भीर हुँदै भन्यो :-“सर तपाईं सुत्नुहोस्।  भोलि बिहानै फर्कनुछ। फर्कदा हामी होटलमा बस्दैनौं। खाना खान्छौं र नन् स्टप गाडीमा कुदिरहन्छौं।अब त ओछ्यानमा सुत्ने भनेको घर पुगेर मात्र हो।  त्यसैले आज राम्रोसँग  सुत्नुहोस्। यीनीहरुको चिन्ता नलिनु । म यहाँ बीचमा बसेर निगरानी गरीरहन्छु।”।”
फेरी हामी केटीहरू तर्फ फर्किएर भन्यो:-  “तिमीहरु ढुक्कले सुत।  विश्वास गर म निदाउने छैन।”  उसले इयरफोन कानमा घुसार्दै भन्यो “यी मेरो साथी। यति भए केही घण्टा म यतिकै बिताइदिन सक्छु।”

भ्रमणमा जाँदा सचिनलाई जुन दृष्टीले हेरिएको थियो फर्किने बेलासम्ममा  धेरै बदलिएको थियो। हाम्रा हरेक अफ्ठ्यारोमा हामीले ठान्ने ट्यापे  अझै हाम्रै भाषामा भन्नु पर्दा भित्ति सचिनले हामीलाई बचाएको थियो। उसले त हाम्रो मात्र अभिभावक  नभएर  एकाउण्ट  सरको पनि अभिभावक  बनेर  रेखदेख गरेको थियो। एकाएक हाम्रो नजरमा सचिन एक इमान्दार , साहसिलो, हरेक परिस्थिति अनुसार चल्न सक्ने एक सिपालु मान्छे ठहरिन थालेको थियो।

भ्रमण सकेर कलेज फर्किएको केही दिनपछि देखि, सचिन कलेज आउन छोड्यो। केही समयपछि सचिनको बुवा हाम्रो कक्षामा  एकाउण्ट सरलाई भेट्न आउनु भएको थियो। त्यो बेला उहाँले भन्नुभयो “पहिले देखिनै पढेर के गर्नु बुवा नेपालमा भने जस्तो काम पाइने होइन । म त विदेश जाने हो  भनी रहन्थ्यो। हाम्रै करले यतिसम्म कलेज आउन मान्यो। अब त कलेज नी सकिन लाग्यो। मैले यहाँ बसेर केही गर्ने पनि होइन । बरु राम्रो कम्पनीको भिसा आएको छ, जान्छु भनेर जिद्दी गर्यो। उ हिजै कतार उडिसक्यों। जाने बेलामा यी केही लाइब्रेरीका किताब र यो एकाउण्ट सरको डायरी नबिर्सी फिर्ता गरिदिनु है भनेकोले आएको थें। किताब लाइब्रेरीमा दिएँ।यी यो हजुरको डायरी।” उहाँले सरको डायरी जिम्मा लगाउनु भयो

हामी अचम्मित भयौं। “हामीले हावा भन्ने गरेको सचिन भविष्यको बारेमा त्यति चिन्तित थियो?”
बुवाआमा र रञ्जितले मुर्दा शान्तिमा रबिताका कुरा सुनिरहेका थिए। रबिताले पुलक्क सबैको अनुहार नियालिन्। निशाना सही ठाउँमा लाग्दै छ भन्ने बुझेपछि फेरी थपिन्:-“अस्ति धरानबाट आउँदा म लडेको कुरा थाहा छ नी हजूरहरूलाई?”
“लगाएको लुगा च्यातिएर घुँडामा घाउ भएको थियो।कसो थाहा हुँदैन।” आमाले तत्काल जवाफ फर्काउनु भयो।
रबिताले त्यो घटनाक्रम सुनाउन शुरू गरिन्:-
त्यो बेला अलिपर केही इमानदार र भद्र लाग्ने मानिसहरू अनि त्यसको अझै अलिपर एउटा ट्यापे मुन्द्रे र कपाल पालेको हेर्दैमा गुण्डा जस्तो लाग्ने मान्छे आउँदै थिए। म अचानक यस्तरी लडेकी  निक्कै बेर न उठ्न सके न केही बोल्न नै।मेरो साथमा भएका मोवाईल, पर्स,केही महत्वपर्ण कागजात उछिट्टिएर सडकमा छताछुल्ल भए। म लडेको आवाज सुनेर  वरिपरि मान्छे  भेला भएपनि मलाई उठाउँन कोही आएका थिएनन्। परका ती भद्र लाग्ने मानिसहरू मलाई हेर्दै तर्किएर हिँडे। त्यो मुन्द्रे मान्छेले मेरो मोवाईल टिप्यो। मलाई लाग्यो अब उ दगुर्नेछ। म निरह भएर हेरीरहेँ। चिच्याउन नखोजेको होइन तर आवाज निस्केन।उसले मेरो पर्स र छरिएका सबै कागजपत्र टिप्यो।  अनि मेरो छेउमा आयो। एउटा हातले सबै सामान अठ्याउँदै अर्को हात म तिर बढायो र भन्यो ” दिदी उठ्नुहोस्।” मैले उसको हात समातेर उठें। उसले सबै सामान मेरो हातमा राखिदियो र फटाफट बाटो लाग्यो। मैले आफ्ना सामान लिएर धन्यबाद भन्दासम्म उ पर पुगिसकेको थियो।
रबिताको कुरा सुनिरहेकी आमाको मुखबट फुत्त आवाज निस्कियो “त्यो बाबुलाई सदैव भगवान दाहिना रहुन्।” बुबाको गह टिलपिल थियो। रञ्जित खुब ध्यान दिएर सुनिरहेको थियो।
मैले उसको पीछा गरेँ। उ केही परको कुनै उद्योग जस्तैलाग्ने कम्पाउण्ड भएको ठूलो एरियामा भित्र छिर्यो। म जाम की
नजाउँ दोधारमा परे। गेटमा उभिएको पालेलाई सोधें यो के हो दाई? पालेदाईले जवाफ दिए सचिन थापाको भाडा फ्याक्ट्री। सचिन थापा? नाम त हाम्रो कलेज  पढ्दाको साथीसँग पो मिल्यो त। घरा काहाँ हो उहाँको थाहा होला तपाइँलाई ? मैले सोधें
” यहीँ  इटहरी।”
अब भने मलाई भित्र नगई फर्कन मन लागेन। मैले तिनै पाले दाइलाई सचिन भेटिने कोठा सोधे र  भित्र पसेँ। झन्डै पन्ध्र वर्षपछि मैले सचिनलाई भेट्दै थिएँ।त्यो बेला हामीले भित्ती भन्ने सचिन अहिले कस्तो भएको होला मनमा जिज्ञासा थियो।सचिन धेरै जना कामदार र कर्मचारीलाई एकैठाउँमा राखेर निर्देशन दिँदै र कसैलाई गाह्रो अफ्ठ्यारो या त कुनै  पीरमर्का भए राख्न अनुरोध गरिरहेको रहेछ। मलाई उठाउने त्यो भाइ त्यही हुलभित्र देखियो।सचिनले  मालाई चिनेछ।आफ्नो निर्देशन छोट्याएर उ आँफै म भएको ठाउँमा आयो। सामान्य औपचारिकतापछि उसले नजिकै रहेको उसको घरमा लिएर गयो। मलाई बैठक कोठामा बस्न अनुराेध गर्दै उ फ्रेस हुन वासरुम छिर्यो। बैठक कोठाका भित्ताभरी धेरै प्रसंसा पत्रहरु झुण्डिएका थिए।उसले धेरै सामाजिक काम गरेर सम्मानित भएको रहेछ। केही वर्ष विदेश बसेर नेपाल आएपछि आफ्नै देशमा भाडा फ्याक्ट्री खोलेर दुई  सय बढीलाई रोजगार दिइरहेको रहेछ।।कलेज पढ्दा सर र हामीले बेकम्मा र बिग्रिएको ठानेको मान्छेले त्यतिका जनालाई रोगजगारी दिएको रहेछ।हामी इमान्दार र पढाईमा लगाब राख्नेहरूले मुस्किलले जीवन धान्ने जागीर गर्दै थियौं।
केहीबेरमा चिया बोकेर एक महिला आइन् ।उनको एउटा हात थिएन।सचिनले उनी आफ्नी श्रीमती भनेर चिनायो।चिया खाँदै गर्दा बाहिर जानु भएको उहाँका बुवाआमा आइपुग्नु भयो।गफ गर्दै जाँदा सचिवका बुबाले भन्नु भयो “मेरा तीन छोरा।  अरु दुई छोरा र दुबै बुहारी जागरे छन्।  कान्छो छोरासँग तपाईंहरुको भविष्य राम्रो छैन।बेलैमा दुईमध्ये एक इमान्दार छोरा समाईहाल्नु । आफन्त र छिमेकीहरूले सल्लाह दिई रहन्थे। यो कान्छो पनि अलि फरक भएर हिँड्थ्यो । फेरी पढाई छोडेर विदेश पनि गयो।।होलातानी सोचेर हामीले जेठो छोरासँग बस्ने निर्णय गर्यौ। तर छोरा बुहारीले  उति राम्रो गरेनन्। कान्छो  बिदेशबाट फर्किएपछि हाम्रो बिजोक देख्यो।  आमाबुबालाई बिजोक बनाएर के पैसा कमाउन बिदेसिनु। बरु आफ्नै देशमा केही गर्छु भन्यो। बिदेशमा  सिकेको सीपको सदुपयोग हुने गरीको यही इलम गर्दैछ। हाम्रोलागि  उसले राम्रो र धेरै पैसा हुने  काम छाडेर यतै बसेको छ। गाँउभरीका हरेक समस्या समाधानमा  उसलेनै  ठूलो भूमिका निर्वाह गर्दछ।असाहय र दुखिलाई खुब माया गर्छ।धेरैलाई सहयोग गरेको छ।पहिले यो छोरासँग राम्रो भविष्य छैन भन्ने आफन्त र छिमेकीहरूको  आजभोलि यो नभए कुनै काम हुन्न। धेरैलाई रोजगारी दिएको छ। फरक क्षमताकी बुहारीलाई अपनाएको छ। हामी मात्र होइन यो समाजनै खुसी र दङ्ग छ योसँग।कहिले काहीँ लाग्छ हामीले हाम्रो छोराको मुन्द्रा हेरेछौँ तर मन हेरेन छौं।अहिलेको समाजसँग जुधेर बाँच्नको लागि वास्तवमा कान्छोको गेटअफ र मुन्द्राको धेरै योगदान छ। ”

“सबैका छोरा यस्तै भए।” बुवाको आवाज निस्ककियो।

“रञ्जित तँलाई धेरै धेरै धन्यवाद। तैँले गर्दा मैले न्याय पाउन सफल भएँ। धेरै महिनादेखि मलाई हल्लाइरहेको थियो थानाले। ती सबै पुलिस उसैसित मिलेका रहेछन्।धन्न तैंले त्यति रातिसम्म बसेर भएपनि तिनीहरूलाई थर्काइस्। हेर त आज त मेरो औषधि उपचारमा लागेको खर्च दिए तिनीहरूले।भोलि मिलापत्र गर्न आउनु भनेका छन्।बाबु त पनि हिँड्न न ल। त्यहाँ के के लेख्छन्! के के गर्न भन्छन् ! म सोझो मान्छेलाई हप्काएर सहीछाप गर्न लगाउने हुन कि?त भइस् भने कसैले त्यस्तो गर्ने आँट गर्दैनन् बाबु।”

हरिकाका  घरको बरण्डामा आएर एक्लै बोलिरहनु भयो।
रबिताले सोधिन् ” काका के को औषधि उपचार?  पुलिस कोसँग मिल्यो भन्नुभएको? .. र अनि… रञ्जितले……?”
“नानी अस्ति मलाई  ठक्करदिने मटर साईकलवालासँग पुलिस मिलेछ। मलाई उपचार गर्दा लागेको खर्च दिलाई दिन समेत  पुलिसले पहल गरिदिएन।  मलाई हान्ने त उल्टै तेरै गल्ती थियो भन्दै  केही दिन्न भन्न थालेको थियो। म निरास  भएर थानाबाट बाहिरिँदै थिए। रञ्जितसँग भेट भयो। मैले सबै कुरा सुनाएपछि रञ्जितले भित्र गएर कुरा गर्यो। ठाउँ को ठाउँ मलाई हान्नेहरुलाई बोलाउन लगायो र मेरो लागेको खर्चपानी तुरुन्त भराई दिन भन्यो।लामै गलफती पश्चात दिने सहमति भएको थियो ।आज दिए पनि। के गर्नु बाबै सोझो सिधालाई त बाँच्न पनि मुस्किल छ यहाँ। धन्न रञ्जित मेरो लागि देवता भएर आएछ।नत्र म बुढाले दावाइपानीको त्यत्रो रूपया कहाँबाट तिर्नु” हरिकाकाले आँसू चुहाए।
बल्ल हिजो रञ्जित घर ढिला आउनुको कारण थाहा भयो।
बुवाआमा मुखामुख गर्नु भयो। बुवाले रञ्जित तिर फर्केर भन्नु भयो “यस्तो काममा गएको थिए भन्नु पर्दैन त?” रञ्जितले शान्त स्वरमा जावाफ फर्कायो:- “हजुरहरुले भन्ने समय पनि त दिनु पर्यो नि।”

आमाले रञ्जितलाई अँगालो हाल्दै भन्नु भयो:-” छोरा मलाई माफ गर।नौ महिना कोखमा र यतिका वर्ष काखमा राखेको छोराको मनलाई कसरी यो सानो  मुन्द्राले छोपिदिँदा  देख्न सकिनछु  मैले ? तिमी सचिन जस्तै छोरा हौं हाम्रो।तिमी सचिन बन्नेछौं।हामी सचिनको बुवाआमा जस्तै गर्वले बाँच्नेछौँ।

बुवाले हरि काकातिर फर्केर भन्नु भयो “हुन्छ काका भोलि तपाईंसँगै रञ्जित पनि जानेछ।

***

प्रतिक्रिया

सम्बन्धित खवर