– राजेश स्पन्दन

घरबाट निस्किए म,
काँधमा झोला
अनि झोलाभरी सपना,
विमानस्थलको जहाजसंगै,
मेरो सपनाको जहाज पनि उड्यो,
घरपरिवार, दिदीबहिनी, भाईभतिज,
आमाबा अनि साथीभाई सबै, सबै छुटे,

मेरो जहाज उड्दा, आमा आत्तिएकी होलिन्
बाबाले लामो सुस्केरा हालेका होलान्,
बहिनी आँखाभरी आँसु बोक्दै मेरो यात्रा सफल होस
भन्दै कामना गरिराखेकी होली,
साथीभाई दौतरी छुट्टीएको पीडामा होलान्
सबैको पीडालाई पनि यहिँ काँधमा बोकेर उडेको हुँ म ।

जहाजले पाईला बिसाएसंगै मेरो सपना,
मेरो आमाबाको सपना,
मेरो बहिनीको सपना
सबै, सबैका सपनाले पनि पाईला सार्न पाईला उठाए,

चर्किदो घाम, तातो हावा र विरानो भूमि
एउटा नयाँ यात्रा शुरु गरें,
यात्रा जिम्मेवारीको,
यात्रा सपनाको,
यात्रा भुईमान्छेको ।

यात्रा बाआमाको खुशीको,
यात्रा बहिनीको भविष्यको,
यात्रा समाजसंग बराबरीको,
यो यात्रा जीन्दगीको,
यात्रा भुईमान्छेबाट बुइ मान्छे बन्नुको ।
सबैसंग बराबरी मिल्न मैले पनि जन्मथलो छाडें
र रोजे यो मरुभूमिलाई कर्मभुमिको रुपमा ।
नयाँ भाषा, नयाँ भेष, एउटा छुट्टै कहानीको देश
अलग्गै मान्छे , अनि अलग्गै विचार
यात्रा त यो गर्नु नै छ परदेशमा
किनकि
यो यात्रा हो म भुईमान्छेको परदेशको ।

***

प्रतिक्रिया

सम्बन्धित खवर