
युवा कवि तथा सम्पादक युग सर्वनाम कविको रुपमा युवा पुस्तामाझ परिचित छन् । रोल्पाको माटोमा जन्मिएका उनी रोल्पालाई असाध्यै माया गर्छन् । पछिल्लो समय रोल्पामाथि लेखिएका ५१ कविहरूका ५१ कविताहरू संकलन गरी कुइख्याङ नामक कृति प्रकाशित भएको छ । जसका सम्पादक समेत हुन, युग सर्वनाम । उनैसँग सम्पादक जीवन खत्रीले कृतिको सेरोफेरोमा रहेर गरेका पाँच प्रश्न र सर्वनामका जवाफ;
१, कुइख्याङ सङ्ग्रहको नाम र कृतिको बारेमा छोटो परिचय गराईदिनु न ।
– यो प्रश्नको जवाफमा चै मेरो अनुरोध मात्रै छ । कृपया पुस्तक पढ्नुहोस् र जिज्ञासा लागेको कुरा मलाई सोध्नुहोस् । म जिज्ञासा मेटाउने प्रयत्न गर्ने छु । यो चैँ मेरो प्रोमोसनको स्टाइल हो ।
२, रोल्पामाथि लेखिएका ५१ कविहरूका ५१ कविताहरू संकलन र सम्पादनकाको सोच कसरी आयो? यस कृति पाठकको हातसम्म आईपुग्न गर्नुभएको यात्रा कस्तो रह्यो? केही बताइदिनुस् न ।
– रोल्पामाथि लेखिएका दुईचार थान कविता पढेपछि मनमा कैतुहलता बढ्यो र अरु कविता खोज्न थालेँ । खोज्दै जाँदा थुप्रै कविता फेला पारेँ । पुस्तक निस्केपछि अझ धेरै छुटेका छन् भन्ने पनि आयो । तर मैले फेला पारे जति कविताहरूलेमात्रै सङ्ग्रहको कोलम नपुग्ने भएकोले केही चैँ मेरो अनुरोधमा कविहरूले लेखिदिनु भो । जो रोल्पासँग परिचित हुनुहुन्छ । अब पुस्तक प्रकाशनसम्म आइपुग्दा चैँ आर्थिक बाहेक मलाई त्यस्तो क्यै अप्ठ्यारो परेन । त्यै पनि कवि एवं गीतकार दिपा राई पुन नानाले हौसला दिएपछी ढुक्कले काम गरेँ । तर प्रेसमा तिर्न बाँकी ॠण अझै छ । हा…हा…
३, यस कृतिमा कवितामा प्रगतिशील चेतमा कलम चलाउने कविहरूलाई समेटेँ भन्नुभयो । रोल्पा प्रगतिशील चेतनाको लागि त प्रसिद्ध छ नै यसका अलवा अरु विचार पनि त होलान । खोज्नुभाछ ? प्रगतिशील चेतले मूर्त रुप पाएपछि त्यसभन्दा पछिको अवस्था के हुन्छ? के आज हामीले भोगिरहेको समयसँग तालमेल भेट्नुहुन्छ?
– रोल्पा भन्ने बित्तिकै जनयुद्ध अटोमेटिक आउँछ । यी त एकअर्काका पर्याय जस्तै भैसक्यो । अब प्रगतिशील कवि भन्ने बित्तिकै कम्युनिस्ट भन्ने सोच्नु भए जस्तो छ, त्यसो हैन । यहाँ विभिन्न वैचारिकिसँग आवद्ध कविहरू संलग्न हुनुहुन्छ ।
अब रह्यो रोल्पाको कुरा- मैले यो काम गर्दा वैचारिकि धरातल वा संगठन खोजिन, केवल कविता खोजे । रोल्पाका धेरैजना कविहरू हुनुहुन्छ । उहाँहरूलाई तपाई कुन वैचारिकिसँग नजिक हुनुहुन्छ भनिनँ मलाई थाहा छैन पनि । विचार खोज्दै जाँदा त मेरो बाबा विप्लप कित्ताको हुनुहुन्छ, म प्रचण्ड कित्ताको । मेरो बडौ काङ्ग्रेसपट्टि हुनुहुन्छ, हामी कम्युनिस्टपट्टि । अब रोल्पाको वैचारिक अनुसन्धानको कुरै सक्को ।
यो प्रगतिशील चेतले मूर्तरुप पाएपछि… भन्ने प्रसंगमा चै खासमा विचार कहिल्यै पनि मूर्त वा अमूर्त हुँदैन । विचार चै समयसापेक्ष विकसित हुँदै जाने कुरा हो । त्यसैले यो समाधान भएपछि के होला ? भन्नू गलत होला । किनभने समाधानकै बुइँ चढेर अर्को विचार विकास हुन्छ, र अर्कै चेतनाको खोजी हुन्छ ।
अनि हामीले भोगिरहेको समयसँग तालमेल नभएर नै यस्ता कविताहरू जन्मिएका हुन् । तालमेल भएको भए त स्वैरकाल्पनीक कुराहरू लेखिहालिन्थ्यो नि । बेकारमा किन आन्दोलन लेख्नु, किन खबरदारी गर्नु ।
४, तपाईँको सोचाइमा रोल्पालेे जनयुद्धको महान भूमिका निभायो । रोल्पालाई आपराधिक कोणबाट पनि हेरियो र त्यो अन्यायपूर्ण भयो/हुन्छ भन्ने पनि तपाईँको धारणा पुस्तकमा छ । खास गणतन्त्रको उपलब्धीको यतिका वर्षपछि राज्यलेचाहिँ रोल्पा र प्रगतिशील चेतलाई कसरी हेरेको छ? के हुनुपर्थ्यो?
– राज्य त खिसिट्युरी र हाउगुजिमै मस्त छ । प्रगतिशीलताको ढाडमा टेकेर जनताको पसिना कोम(लुछिरहेको) गरिरहेको छ । के वा कस्तो हुनु पर्थ्यो भन्ने प्रश्नको उत्तर चै लगभग कुइख्याङ्मा भेट्नु हुन्छ ।
५, कृतितिरै फर्कौँ । रोल्पामाथि अनेकौँ भूमिका, चर्चा, किस्सा, बिम्बहरू छन् नै, कृतिमा पोखिएका बिम्बहरूप्रति सम्पादकको नाताले भन्न मन लागेका बिमत्ति पनि छन् कि? र पाठकलाई के कारण यो कृति पढ्नुपर्छ भन्ने आग्रह गर्नुहुन्छ?
– थोरैतिनो विमति त भैहाल्छ । तर यसमा वैचारिकि मतभिन्नता भन्दा पनि रोल्पामाथी के-कस्ता कविता लेखिएछन् । कविहरूमा कस्ता धारणा वा बुझाइ रहेछ भन्ने खोज्न र जान्नको लागि पनि मैले यो काम गरेको हुँ ।
गणतन्त्र ल्याउन गरिएको संघर्ष र जनयुद्धपछिको राजनीतिक परिवेश बुझ्न यो किताब पढ्न म आम पाठकहरूमा अनुरोध गर्दछु । रोल्पा विषयवस्तु भएकोले अनुसन्धानात्मक तरिकाले पनि यो किताब पढ्न जरुरी छ ।
***
प्रतिक्रिया
-
४