– कल्याण सापकोटा

मुक्तक १
आँसुले नै रुमाल धुन्छ बुझ्यौ होला नि?
आखिर यो मन किन रुन्छ, बुझ्यौ होला नि?
भक्कानियौ माईती घरमा डोली उठ्दै गर्दा,
बिछोडको घाउ कस्तो हुन्छ बुझ्यौ होला नि?

मुक्तक २
देशलाई अघि बढाउन लायक बन्छ भने
दुनियाँलाई पाठ पढाउन लायक बन्छ भने
देशको निम्ति, म मेरो, शिर नै चढाईदिन्छु,
संसारले फूल चढाउन लायक बन्छ भने

मुक्तक३
भुईँमान्छे होस्, भुईँमै बस् भन्न नसकेर
मेरो दाँजोमा तँ  पुग्दैनस् भन्न नसकेर
के गर्दै हो? मात्रै भन्छन् आफन्तीहरू
सिधै, कति कमाउछस् भन्न नसकेर!

मुक्तक ४
खोक्नेले जत्ति खोके’नी आफ्नो हुँदैन
काँधमै राखेर बोके’नी आफ्नो हुँदैन
ढलान जस्तै सार्‍हा छन् यी शहरका मान्छे,
दिनकै टाउको ठोके’नी  आफ्नो हुँदैन।

मुक्तक ५
जग्गामा अन्न फल्दैन र  तिम्रो छोराको?
साँझ-बिहान चुल्हो बल्दैन र तिम्रो छोराको?
दाइजो नपाई  मेरो छोरी लाँदैलान्न भन्छौ,
के, हात खुट्टै चल्दैन र  तिम्रो छोराको?

***

प्रतिक्रिया

सम्बन्धित खवर