
युवा पुस्तामा चर्चित कवि हेमन्त शिशिर अछाममा जन्मेका हुन् । हालै उनको पहिलो कविता सङ्ग्रह बन्द कोठाको झ्याल प्रकाशित छ । यो कृति अग्रज कवि विश्वबिमोहन श्रेष्ठले नेतृत्व गर्नुभएको एपेक नेपालद्वारा पाण्डुलिपि पुरस्कार प्राप्त गरी प्रकाशित भएको हो । हालसम्म कृति प्रकाशन नभएका ४० वर्ष मुनिका युवा कविहरूबाट पाण्डुलिपि आव्हान गरिएको र उनको यो कृतिले पाण्डुलिपि पुरस्कार प्राप्त गरेको हो । यसै कृतिको सेरेफेरोमा रहेर सम्पादक जीवन खत्रीले सोधेका पाँच प्रश्न र कवि हेमन्त शिशिरको जवाफ ;
१, बन्द कोठाको झ्याल सङ्ग्रहको बारेमा छोटो परिचय गराईदिनु न ।
– बन्द कोठाको झ्याल मेरो पहिलो कविता कृति हो। यो संग्रहमा ४५ वटा कविता रहेका छन्। यो कविता संग्रह यस वर्षको विश्व-ज्योति पाण्डुलिपि पुरस्कार प्राप्त गर्न सफल पुस्तक पनि हो।
२, कवितामा वर्षौँदेखि साधना गरिरहेको र बुलन्द कविता लेख्ने कवि भनेर तपाईँका समकालीनहरूले तपाईँलाई चिनाउँछन् तर कृति प्रकाशन बिस्तारै भयो । अझ कृति प्रकाशनका लागि एपेक नेपाल नामक संस्थासँग जोडिएका कुराहरू पनि छन्, बताईदिनुस न ।
– यो कृति प्रकाशन यस्तै हुँदोरहेछ — कहाँ के नमिल्ने, कहाँ के नमिल्ने — त्यसैले अलिकति ढिलो भएको हो। तर खुसी लागेको छ, किनभने अहिले मेरो यो कृति प्रतिस्पर्धा मार्फत आएको छ। एपेक नेपालले कुनै पनि कविता संग्रह ननिस्केका ४० वर्ष मुनिका कविहरूसँग सूचना मार्फत पाण्डुलिपि आह्वान गरेको थियो। मैले पाण्डुलिपि पठाएँ, ४६ वटा पाण्डुलिपिहरू मध्ये मेरो पाण्डुलिपि छानियो र प्रकाशित भयो।
३, कवितालाई अनुत्पादक ठान्ने समुदाय ठूलो छ । बजारकै हिसाबले पनि आख्यानका तुलनमा काव्यलाई पैसा हाल्ने कुरा हैन भन्ने मानसिकता देखिन्छ । यस्तोमा पनि तपाईँ कविता लेखिरहनुभाछ । खासमा कविता के हो? तपाईँ कविता किन लेख्नुहुन्छ?
– कविता एउटा ऊर्जा हो। यसले कुनै पनि व्यक्ति, समूह, समुदाय वा समाजमा बहुआयामिक चेतनाको विकास गर्न मद्दत गर्छ। सिर्जनात्मक तरिकाले आफ्ना कुराहरू, विचारहरू राख्नका लागि म कविता लेख्छु। हो, कवितालाई अनुत्पादक ठान्ने भिड ठूलो छ, अब केही परिमार्जन जरुरी छ — यसलाई व्यावसायिक बनाउन सकिन्छ। कविताको माध्यमबाट भनिएका कुराहरू पढ्ने जमात सानो भए पनि यो जमात चेतनशील र बौद्धिक छ। बिस्तारै काव्यको बजार पनि राम्रो हुँदै जाला, आशा गरौं।
४, बन्द कोठाको झ्याल सङ्ग्रहको कविता लेखिनुको कुनै पृष्ठभूमि छ होला बताईदिनु न । कुनै कविताको पृष्ठभूमि सम्झिन मिल्छ कि ।
– अनुभूति र चेतनाको मिश्रणबाट नै कविता उत्पन्न हुने हो, त्यसैले हरेक कविताका आ-आफ्ना पृष्ठभूमिहरू छन्। तर मलाई कविता लेख्न निकै समय लाग्थ्यो। कुनै पनि घटनालाई सतहबाट हेरेर कहिल्यै कविता लेखिएन, बरु ती घटनाहरूको अध्ययन र हरेक घटनाबीच रहेको अन्तरसम्बन्धलाई केलाएर मात्र कविता लेखियो। त्यसैले धेरै छन् कविता लेखनका पृष्ठभूमिहरू यस सम्बन्धमा कुनै अर्को बसाइँमा छलफल गरौंला।
५, किताबका अलवा थुप्रै माध्यम छन्, पाठकलाई अलमल्याउन । पाठकले तपाईँको किताब किन पढुन भन्ने लाग्छ ?
– मेरो शैलीमा मैले उठान गरेका तमाम कुराहरू अध्ययन गर्नका लागि पाठकहरूले यो कृति पढून् जस्तो लाग्छ।
***
प्रतिक्रिया
-
४