
– लव गाउँले
‘रात’ टेलिचलचित्र हेरिसकेपछि अचानक मुरलीप्रसाद कहालीलाग्दो देखियो । उसको अनुहारमा झुप्पाझुप्पा भएर झुन्डिएका पाकेका अङ्गुरगेडे खुशीहरू फुहिएर फ्यातफ्यात कवचमा झर्न थाले । उसको आँखामा एकछिन अघिसम्म जुन चहक चम्किरहेको थियो, त्यो मोतीबिन्दु भएर आफैँलाई छोप्ने गरी फैलियो । एकाएक उसलाई महसूस भयो- ऊ बसिरहेको कवच भुइँचालो कम्पन बोकेर हल्लिरहेछ र अझै एकछिन ऊ त्यसैगरी बसिरहने हो भने कवचका चारओटै खुट्टा ठनक्क भाँच्चिएर ऊ आफैँ कवच बन्न पुग्नेछ र उसको जीउमाथि कवचका खुम्चिएका स्प्रिङले जिम्नास्टिक गर्नेछन् ।
‘रात’ टेलिशृङ्खलाको सुरु किस्तामा मेजर कान्छाले जुँगा चलाएर ‘अरे क्यानाम डिस्टप…!’ भनेको सुन्दा ऊ यति दङ्ग परेथ्यो कि चुपचाप उसको ओठमाथि निदाइरहेको मुठे जुँगासमेत उसको नाक छुने गरी उठेको थियो। खाँदै नखाएको खाली बियरको बोतलसमेतको हिसाब गरेर ‘चौध सय’ भन्ने साहुनीलाई टी.भी.बिनाको बाकस भिडाउँदा उसलाई खूब घत परेथ्यो । उसले पनि पन्ध्र वर्षअघि भैरहवामा पाँच बोतल बियर पिएकोमा पन्ध्र बोतलको पैसा तिर्नुपरेको थियो । साहुनी र उसका तरुनी छोरीहरू कुखुरा च्यापेर मेजर कान्छाको पछिपछि दौडेको देख्दा उसलाई यति हाँसो उठेको थियो कि सानो बच्चा च्यापेर टी. भी. हेरिरहेको ऊसमेत जुरुक्क उठेको थियो ।
…तर अहिले ऊ पानीले भिजेको बिरालोझैँ लुत्रुक्क परेर कवचमा झुलिरहेको थियो । टी. भी. मा भर्खर सकिएको ‘रात’ र अब बिताउनुपर्ने रातहरूले टुँडिखेलमा सिपाहीहरूले झैँ उसको छातीमा परेड खेलिरहेका थिए । सोच्दासोच्दै उसलाई कतै चिलाएजस्तो, कहीँ दुखेजस्तो लागेर आयो । फेरि कतै पोलेपोलेजस्तो, घोचेतघोचेजस्तो एउटा अथाह छटपटीले उसको दिमागमा सुरेली खेल्न थाल्यो ।
बस्दा लचक्क लच्कने पलङमा सक्तो गोडा तन्काएर पल्टिरहे पनि ऊ निदाउन त परै जाओस्, चैनको साससम्म फेर्न सकिरहेको थिएन । यति बेला उसलाई यस्तो लागिरहेको थियो- मानौँ ऊ दामी पलङमा नपल्टिएर हस्पिटलको गह्राउने स्ट्रेचरमा लडिरहेको छ । आफैँले फेरेको लामोलामो सास उसका लागि अजिङ्गरको भयानक सुसाइ भैरहेथ्यो । हेर्दाहेर्दै भित्ताहरू गुड्न थालेको देखियो र उसलाई ऊ पलङसहित डरलाग्दो सुरुङभित्र छिरिरहेको लाग्यो…।
ऊ गजबले आत्तिएर उठ्यो । बेमौसम रजस्वला हुने आइमाईझैँ पुसको चिसो रातमा पनि ऊ पसिनाले निथ्रुक्क भिजिरहेको थियो ।
मनमाया धिताल पनि त्यसरी नै भिजेकी थिई, आत्तिएकी थिई, छटपटिएकी थिई, जब मुरलीजीले एक दिन उसलाई आफ्नो खाटमा पछारेर बाँसुरी बजाएको थियो । मुरलीको आँखामा मनमायाको त्यो अबोध र निरीह अनुहार नाच्न थाल्यो, जति बेला उसको रजस्वला पनि भएको थिएन । आँखाबाट बरबर आँसु झारेर मुक्तिको लागि हात जोडिरहेकी त्यो अबोध अवयवमा पुरुषस्पर्शको कुनै महत्त्व थिएन न त्यो स्वादको कुनै ज्ञान नै थियो ।
मुरलीप्रसाद खेतानको एउटै लक्ष्य एक हातमा पैसाको ‘इफिलटावर’ उभ्याउनु थियो र एउटै सोख केटीको सङ्ख्या अनगिन्ती बनाउनु थियो । कसैलाई पैसाको निम्ति मुड्न नपाएको दिन र सोखको निम्ति कसैसित भिड्न नपाएको दिन ऊ आफ्नो पैतृक इज्जत गुमेको ठान्थ्यो । उसको ओठवरिपरि सधैँ सलबलाइरहने एक प्रकारको खासा काइते मुस्कान उसको सफलताको प्रमुख कारण थियो ।
मुरलीजीको बाहिरी संसार जतिसुकै फराकिलो र स्वतन्त्र भए पनि घरायसी संसार ज्यादै साँघुरो र सङ्कुचित थियो । साँच्चै भनूँ भने उसले आफ्नी श्रीमतीलाई श्रीमती बनाउनुअघि मात्र भोग्यो । श्रीमती बनाएर ल्याएपछि सायदै ऊ त्यो कोठामा छिर्यो ! यद्यपि, नब्बे इन्ची ‘बुटक’ भएकी उसकी श्रीमती बर्सेनि सुत्केरी हुने क्रम भने जारी नै थियो । मुरलीले स्वेच्छाले श्रीमती भित्र्याएको थिएन । सामाजिक मूल्य र मान्यता, आर्थिक नाकाबन्दी, राजनीतिक घुसपैठजस्ता छेकबारले गर्दा मात्र उसले स्वास्नी भनेर स्विकारेको थियो । तापनि, सामाजिक परम्परा र संस्कृतिको जगेर्ना गर्न बर्सेनि जन्मिने बच्चाको न्वारन भने ऊ खूब रीत पुर्याएर गर्थ्यो । यसका लागि ऊ सबैको तर्फबाट धन्यवादको पात्र थियो । बस, ऊ यसैमा मख्ख थियो । कहिलेकाहीँ राति अचानक रक्सीले छाडेको वेला आफूसँग सुतिरहेको बच्चाको अनुहारमा उसकै घरमा काम गर्ने भुसतिघ्रे (बहादुर) को अनुहार देख्थ्यो । त्यस बेला ऊ अलिकति विचलित हुन्थ्यो र फ्रिजबाट आइसको टुक्रा झिकेर स्कचमा मिसाएर निल्थ्यो ।
मुरलीप्रसाद पैसाले व्यापारी भए पनि उसको राजनीतिमा पनि चाख थियो । राजनीतिमा चाख यसकारणले थियो कि देशका मै हुँ भन्ने राजनीतिज्ञहरू कोही चुनावको निहुँमा, कोही स्कूलको निहुँमा, कोही अस्पताल खोल्ने निहुँमा चन्दासङ्कलन गर्न उसको घरमा लाइन लाग्थे । मुरलीलाई थाहा थियो एकपल्ट दिएको चन्दाले उसले सात पुस्तालाई पुग्ने सम्पत्ति एकै लटमा बटुल्न सक्थ्यो र नेताअभिनेतासँग सम्बन्ध पनि सुमधुर हुन्थ्यो । त्यसैले मागेको भन्दा अलि बढी नै चन्दा दिएर ऊ नेताको कृपापात्र बन्ने अवसरबाट कहिल्यै पछि परेन । फलस्वरूप ऊ पनि यस्ता नेताहरूको सङ्गतले सानोतिनो नेता बनिसकेको थियो र कनिकुथी नेपाली भाषामा देशविकासको भाषण छाँट्न सक्थ्यो ।
देशमा भएको राजनीतिक उथलपुथल र व्यापारमा आएको उतारचढावले उसलाई चौबीसै घण्टा फुर्सत हुँदैनथ्यो र पनि यस अवधिमा उसले मनमायाजस्ता कति नेपाली चेलीहरूको सिल तोड्यो, त्यसको यकिन हिसाब थिएन । काम गर्ने बहानामा उसको घरमा भित्रिने र बाहिरिने केटीहरूको सङ्ख्याको पनि उसलाई कहिल्यै हेक्का भएन ।
जुट नभएको खाली गोदाममा कृत्रिम आगजनी गराएर बैङ्क ठग्ने निर्देशन दिन एक दिन ऊ प्लेनबाट विराटनगर उड्यो । देख्दादेख्दैका सग्ला गोदामघरहरू दनदनी दन्केर खरानी भए । मुरलीको लागि यो माइनर घटना थियो । त्यसैले उसले आफ्नो भित्रैदेखिको गद्गद खुशीलाई ओठसम्म ल्याएर प्रदर्शन गर्ने कष्ट गरेन ।
उसले नेताहरूबाट गोदामका लागि पुनः ऋण पाउने आश्वासन र सरकारतर्फबाट पहिले पाएको ऋण मिह्ना गरिदिने सहुलियत पायो । यसपल्ट भने मुरलीको अनुहार चहकिलो देखियो । खुशीले ओठमाथिका जुँगा फुरफुर नाच्न थाले ।
कुनै चुम्बकीय शक्तिमा परेझैँ मुरलीको मर्सिडिज बेन्ज कार अकस्मात् एउटी तरुनीको सामुन्ने घचक्क रोकियो । मुरलीले चश्मा फुकाल्यो र रुमाल झिकेर एकपल्ट आँखालाई सफासँग पुछ्यो । मुरलीलाई कताकता त्यो अनुहार परिचितजस्तो लाग्यो ।
लेदरको सेतो बूटलाई चुनौती दिँदै चम्किरहेका सेता नितम्ब र त्यसमाथि मुस्किलले झुन्डिएको कालो स्कर्ट अनि बतासले सरसर हल्लाइरहेको पहेँलो लुज सर्ट, त्यसभित्रबाट बलैले मुन्टो उठाइरहेको रातो भेस्टमाथिको बेदागी बाटुलो अनुहार र आँखामा लट्किरहेको हल्का बैजनी रङको गगल्स देखेपछि मुरलीलाई मात्र हैन, जोसुकैलाई पनि त्यो अनुहार परिचित लाग्न सक्थ्यो ।
तरुनीले एक्कासि अफर गरी-
“साहेब ! यो खुला बाटोमा क्यै गर्न मिल्दैन । फेरि तपाईं को इज्जतको पनि सवाल छ । भरे भेटू न ! सबथोक मिल्छ ।”
यति भनेर उसले समय र लोकेसन बताई । शिकारको सौखिन मुरली हत्त न पत्त कारबाट ओर्लेर ‘हुन्छ’ भन्दै तरुनीछेउ उभिनमात्र के लागेथ्यो, एक हूल मजदुर टाढाबाट ऊतिर आउँदै गरेको देखेपछि कार सडकमा माछाजस्तो सलल्ल चिप्लेर गयो ।
“डबल एम अर्थात् मीरा माधुरी मेरो नाम हो । म सुटिङको लागि हालसालै बम्बईबाट यहाँ आएकी हुँ ।”
मुरली एकछिन त स्तब्ध भयो । उसले त्यो नाम गरेकी अभिनेत्रीले नेपाली चलचित्रमा काम गरेको सुनेको थियो तर त्यो चलचित्र हेरेको थिएन । फिल्मी पत्रिका त ऊ बिलकुल हेर्दैनथ्यो ।
ठूलाठूला नेताअभिनेतासँग उसको सम्बन्ध सुमधुर थियो नै ! अब ठूलै अभिनेलीसँग सुसम्बन्ध गाँसिने सम्भावित खुशियालीमा मुरली अलिकति मुस्कायो । मुरलीले केही दुःख गर्नै परेन, सबै व्यवस्था मीराले मिलाइसकेकी थिई । मुरलीको कुर्ता फुकालेर मीराले उसलाई खाटमा लडाई र सुमसुम्याउन थाली । जब उसले आफ्नो ओठलाई मुरलीको ओठमा बेपर्वाह रगडी, तब मुरलीको आफ्नै जुँगा आफ्नो नाकभित्र छिरेर उसलाई ‘हाच्छिउँ’ आयो । मुरलीलाई यति बेला दृश्य उल्टिएको अनुभव भयो । आजभन्दा दश वर्षअघि मनमायालाई खाटमा लडाउँदा उसको जुँगा मनमायाको नाकमा छिरेर उसले बलपूर्वक ‘हाच्छिउँ’ गरेकी थिई र त्यही मौका पारेर मुरलीले बाँसुरीको सुरलाई बेस्सरी दाबेको थियो ..।
ऊ पलङबाट बल्लतल्ल उठ्यो र एक बोतल स्कच र उपहारस्वरूप प्राप्त मृगको तयारी सुकुटीको पोको टेबलमाथि राख्यो । टेन्सनबाट छिट्टै मुक्त हुन बोतलबाटै ठाडो घाँटी लगाएर पत्रिकाले बेरिएको सुकुटीको पोको फुकाउन थाल्यो । फुकाउँदाफुकाउँदै उसले ‘एड्स’ शीर्षकको समाचार पढ्यो ।
‘…बम्बईबाट धपाइएकी मनमाया नाम गरेकी केटीको एड्सबाट विराटनगरमा मृत्यु .. प्राप्त समाचारअनुसार ऊ आफूलाई कथित अभिनेत्री मीरा माधुरी भन्न मन पराउँथी…।’
मुरलीको शङ्का एकिनमा परिणत भयो । पढ्दापढ्दै मुरलीको जीउ अररो भएर बटारियो ।
अचेल मुरलीजी “… अरे क्यानाम डिस्टप… ! …मलाई एड्स लागेको छैन !” भनेर बाटोबाटोमा कराउँदै हिड्न थालेको चर्चा छ ।
***
प्रतिक्रिया
-
४