– कमला न्यौपाने

साँचो भन्नुपर्दा, मैले यात्रा संस्मरण लेख्ने बानी बनाएकी थिइनँ। तर, केही अनुभवहरू शब्दमार्फत अभिव्यक्त गर्नैपर्छ। जसले मन छोयो, हृदय हल्लायो, त्यसलाई लेखेर राख्दा मात्र शान्ति मिल्दो रहेछ।

यो अनुभूति अन्नपूर्ण आधार शिविर (ABC) को यात्राबाट फर्किएपछि आएको हो। कसैले सोध्यो, “कस्तो लाग्यो ABC को हाइकिङ?” मेरो श्रीमान्को छिटो उत्तर आयो, “पिस अफ केक!” मैले छक्क परेर उहाँलाई हेरें—“पिस अफ केक रे?”

श्रीमान्को यो सहज उत्तरले मैले यात्रा संस्मरण लेख्ने निर्णय गरेँ। हामी चार जना—म, श्रीमान् प्रकाश न्यौपाने, बहिनी स्वीटी पौडेल, र ज्वाइँ ज्ञानेन्द्र प्रसाई—यात्रामा थियौँ। गाइड दिलीप भाइ र सामान बोक्ने भाइहरू सन्तोष र सुसान्त पनि साथमा थिए।

यात्रा सधैं यात्रा मात्र हुँदैन। यसको आफ्नै उद्देश्य, अर्थ र अनुभूति हुन्छ। श्रीमान्जीलाई एभरेस्ट बेस क्याम्प जाने हुटहुटी चलेपछि, लामो हाइकिङको अनुभव बटुल्न अन्नपूर्ण आधार शिविर जाने योजना बनायौँ।

यात्राको तयारी

हामी अमेरिकामा बस्छौं। हामी अमेरिकामा विभिन्न राष्ट्रिय निकुञ्जहरूमा हाइकिङ गरिसकेका थियौँ। जसमा,कोलोराडोको 14er, Zion, Yellowstone, Bryce Canyon, Acadia लगायतका नेशनल पार्कहरू हुन्।तर, बहु-दिनीय ट्रेकको अनुभव पुनहिल ट्रेक (२०२१) बाहेक थिएन। त्यसैले, सगरमाथा आधार शिविर जानुअघि रात बिताउने गरी पाँच,छ दिने हाइकिङ अनुभव आवश्यक ठान्यौं। अन्नपूर्ण आधार शिविरको छ दिने हाइकिंङ ( पद यात्रा) उपयुक्त लाग्यो।

फेब्रुअरीमा पारिवारिक कार्यक्रममा नेपाल जाने अवसर मिलेको थियो। त्यसै क्रममा अन्नपूर्ण आधार शिविर यात्राको योजना बनायौं। तयारीस्वरूप,  हप्तामा एक पटक हाइकिङ बुट लगाएर अभ्यास गर्यौँ, सिँढी उक्लने-ओर्लने, उकालो-ओरालो पार गर्ने क्षमतामा सुधार ल्यायौँ।

नेपाल जाने र पारिवारिक कार्यक्रमको अवसर पारेर हामीले अन्नपूर्ण आधार शिविर जाने चाजो पाजो मिलाइयो।

पहिलो दिन: पोखरा – झिनुडाँडा – छाम्रोङ्ग

फेब्रुअरी २४ मा बुद्ध एयरबाट काठमाडौँबाट पोखरा पुग्नुपर्दथ्यो। जहाज ढिलो हुँदा ११ बजे मात्रै पोखरा पुग्यौँ। समय जोगाउन हाम्रो गाइड दिलीपले रुट परिवर्तन गरे। स्कार्पियो गाडीमा नयाँपुल हुँदै काँडे पुग्यौँ, जहाँ परम्परागत गुरुङ भोजन गर्यौँ। मोदी खोला तर्दै झिनुडाँडा पुग्दा लामो फलामे झोलुंगे पुल पार गर्नुपर्‍यो। त्यसपछि निरन्तर सिँढी उक्लेर साँझ ५ बजे छाम्रोङ्ग होटल पुग्यौँ।पहिलो दिन उकालो चढेर छाम्रोंग पुग्दा करिब पाँच बजेको थियो। “यत्रा ढुंगाका सिँढी कसले बनायो होला?” मैले ठट्टा गरें। कसैले मुस्काउँदै भने, “यस्तै सिँढी चढ्दै चढ्दै नै पुगिन्छ एबीसी!

त्यहाँका होटल साना भए पनि सफा, सुविधाजनक थिए।होटललाई टी हाउस पनि भनिदो रहेछ।

दोस्रो दिन: छाम्रोङ्ग – दोभान

बिहान उठ्दा अन्नपूर्ण हिमाल सुनौलो देखियो। बिहान ८ बजे दोभानतर्फ लाग्यौँ। बाटोभरि देश-विदेशका यात्रुहरूको चहलपहल थियो। केही आफ्नै बोकेर , केही खच्चरमार्फत सामान लैजाँदै थिए। बाटो भरि साइनबोर्डहरूले दिशानिर्देश गरिरहेका थिए।

बाटोमा हिमाली तहर, लगुर बाँदर, लालीगुराँस, झरनाहरू देख्न पाइयो। बराह देवीको मन्दिरमा दर्शन गरेर अघि बढ्यौं।

बराह देवीको मन्दिर नजिक पुग्दा यात्रुहरू रोकिए। स्थानीय विश्वास अनुसार, यो मन्दिरपछि रहेका होटलहरूमा मासु काट्न निषेधित छ। अपर सिनुवा, ब्याम्बो हुँदै दोभान पुग्दा शरीर निकै थाकेको थियो,थियो। तर वातावरण शान्त र प्राकृतिक सौन्दर्यले भरिएको

तेस्रो दिन: दोभान – माछापुच्छ्रे आधार शिविर  र हिउको चुनौती

बढ्दै जाँदा यात्रा कठिन बन्दै गयो

तेस्रो दिन बिहान माछापुच्छ्रे आधार शिविर (MBC) जाने तय गर्‍यौं। हिमाल भन्ने ठाउँमा कफी पिउँदै आराम गर्‍यौं। देउरालीबाट एक घण्टा हिँडेपछि हिन्कु गुफा पार गर्यौँ। देउरालीबाट हिँडेपछि हिमपहिरो गएको क्षेत्रहरू पार गर्नुपर्ने भयो। सन् २०२३ मा यहीँ आएको पहिरोले छजना कोरियन यात्रु बगाएको थियो। घटनास्थलमा उनीहरूको नाम कुँदिएको शिलालेख देख्दा मन भारी भयो।

यात्रा भने रोक्न सक्दैनथ्यौं। साहस जुटाएर अगाडि बढ्यौं। हिमपहिरो पार गर्ने क्रममा हामीले अत्यन्तै होशियारी अपनायौं। बाटो साँघुरो, एकातर्फ पहिरो, अर्कोतर्फ खोल्सो। यस्तो अवस्थामा यात्रा गर्नुपर्दा मनमा डर लाग्नु स्वाभाविक थियो।

बाटोमा पानी र चमलका दानाजस्तो हिऊँले निकै छुट्यों। तर हामी हिम्मतका साथ हिडी रहयौं।

करिब दुई घण्टाको ठाडो उकालो चढेपछि MBC पुग्यौँ। हिउँ परिरहेको थियो। होटलमा पुगियो तर जाडो यति थियो कि लुगा फेर्ने आँटसमेत आएन।तर पानीले भजाएको लुगा त फेर्नै पर्यो ।तातोपानी किन्न पाइए पनि नुहाउने हिम्मत आएन।

चौथो दिन: अन्नपूर्ण आधार शिविर (ABC) को यात्रा र ब्लिजार्ड र कठिनाइको चरम सीमा

MBC बाट, बिहान ४ बजे निस्कने योजना थियो, तर भारी हिमपातका कारण रोकियो। बिहान ९ः३० बजे आकाश खुल्ला देखेपछि हामी ABC तर्फ लाग्यौं।

एक घण्टा उकालो हिँडेपछि हिउँसँगै भीषण हावा (ब्लिजार्ड) चल्न थाल्यो। यात्रा अत्यन्त कठिन हुँदै गयो। गाइडले “अब फर्कनु उचित हुन्छ” भने, तर मलाई पन्छिन मन लागेन। “माथि नै जाउँ” भनेर हिम्मत जुटाएँ।

तीव्र हावाले कहिलेकाहीं आधार शिविरमा रहेका होटलहरूको छतसमेत उड्ने डर हुने रहेछ।

हामी ढिलो भए पनि बिस्तारै अघि बढ्यौं। हावाको वेग अझै बढ्दै गयो, गोडा हिउँमा धस्सिन थाले। बेलाबेला आफूलाई सम्हाल्दै, गहिरा सास फेर्दै अघि बढिरहेँ। करिब १२:३० बजेतिर, जब आँखा अगाडि “Welcome to Annapurna Base Camp” लेखिएको बोर्ड देखेँ, त्यही क्षण सबै थकान, दुखाइ, सास्ती बिर्सिएर गयो। मनमा एक किसिमको अद्भुत उत्साह र आनन्द छायो।

हिउँको थुप्रो पार गर्दै अन्ततः अन्नपूर्ण आधार शिविरको होटल पुग्यौँ।हामीले दुई घण्टामा पुग्ने सोचेको यात्रा तीन घण्टा लाग्यो।चारैतिर सेताम्य हिउँले ढाकिएको थियो।लाग्यो सेतो धर्ति भनेको यही हो।होटल पुगेर तातो चिया खायौँ। हाम्रो ध्येय पूरा भएको महसूस गर्यौ।

अगाडि हेर्दा चारैतिर सेताम्य हिउँ। हिमालको विशालता अनुभव गर्दा थकान बिर्सियौं।

पाचौ दिन फर्किने यात्रा:अन्नपूर्ण आधार शिविरको अनुपम दृश्य

अन्ततः हामी आधार शिविर पुग्यौं , रात पनि बितायौं र फर्कने क्रम भयो। अर्कोदिन अबेर गरेर सूर्यले दर्शन दिए।आसपास हेर्दा हिमालहरूले हामीलाई चारैतिरबाट घेरेका थिए। अन्नपूर्ण प्रथम, दक्षिण, माछापुच्छ्रे, हिमचुली—यी सबै अग्ला शिखरहरू एकसाथ देख्न सकिने यो ठाउँ साँच्चिकै स्वर्गजस्तो लाग्यो। हिमालको टुप्पामा हावाले उडाएको हिउँ स-साना बादलजस्ता देखिन्थे। सासै रोकिने गरी सुन्दर दृश्य थियो त्यो! सबै एकसाथ देख्दा अनौठो अनुभूति भयो।

हामीले केही तस्बिरहरू खिच्यौं, आधार शिविरको बोर्डमा उभिएर खुसी साट्यौं। हाम्रो ध्येय पूरा भएको थियो।हामीले केही बेर त्यो हिमाली सौन्दर्यलाई मनभरि पर्यौ। आँखामा र फोटोमा हिमालको अनुपम दृश्य कैद गर्यौ। तर त्यहाँ धेरै बेर बस्ने स्थिति थिएन। मौसम भन्दा हिउँ पग्लिएर हिउँपैरो जाने डर थियो। त्यसैले आधा घण्टा बसेर तल झर्ने निर्णय गर्यौं। करिब साँढे दुई  घण्टाको यात्रा पछि हामी फेरि माछापुच्छ्रे आधार शिविर पुग्यौ।  थकानले शरीर लट्ठ परिसकेको थियो, तर मन भने गजबले प्रशन्न थियो।

मौसमको कारणले भन्दा हिउँ पैरले गर्दा हामीले हाम्रो पैला छिटो चाल्न थियो । झर्ने क्रममा हिउँपहिरो पार गर्दा अझै होशियार रहनु पर्‍यो।अगिल्ला दिनहरूमा परेको भारी हिमपातका कारण यात्रा कठिन बनेको थियो । तिन देखि चार फिटको हिउँमा कुनै ठाउँ बाटो थिएन् । बाटो बनाउदै हिड्नु पर्ने पनि भयो । दुई ठाउँमा  हिउँपैरोको सामना गर्नु पर्दा । त्यसदिन बाचिन्छ कि बाचिन्न भन्ने सबैको मनमा पसेकै थियो । तर यात्रा न हो साहस बटुल्नै पर्यो ।

हामी ‘हराएको’ हल्ला!

बाटोमा आधार शिविर जाँदै गरेका थुप्रै मानिसहरू भेटिए। हिँड्दै गर्दा एउटा रोचक कुरा सुनियो।

हामी दुई दिन आधार शिविरमा बस्दा इन्टरनेट नहुने र सम्पर्क गर्न नसकिने कुरा आफ्ना छोराछोरीलाई भनेका थियौँ। तर, शुभचिन्तक र आफन्तहरूलाई भने जानकारी दिन भ्याएका थिएनौँ।

ठीक त्यही समयमा काठमाडौंमा भुइँचालो गएको रहेछ। अन्नपूर्ण क्षेत्रमा पनि भीषण हिमपात भएको समाचार बाहिर आएको रहेछ। यी सबै कारणले केही आफन्तहरूले हामीलाई सम्पर्क गर्न खोजेछन्। तर, फोनको कुनै अत्तोपत्तो नलागेपछि टुर गाइडहरूको समूहमा हल्लाखल्ला मच्चिएछ।

हाम्रो खोजी सुरु भयो, र हाम्रो समूहका छ जनाको फोटो जताततै प्रचार भयो! बाटोमा भेटिएका सबैजसो टुर गाइडहरूले हामीलाई ‘हराइरहेको’ सूचीमा परेको जानकारी दिए। हामी भने आधार शिविरको खराब मौसमका कारण इन्टरनेट नचलेर सम्पर्कविहीन मात्र भएका थियौँ!

त्यो बेला मात्र थाहा भयो—टुर गाइडहरूसँग पनि त्यस्तो विशेष सम्पर्क साधन हुँदैन रहेछ। आधार शिविरमा एउटा रेडियो फोन रहेछ, तर सायद त्यसमा कसैले सम्पर्क गरेनन् कि!

साँचो माया र चिन्ता

ब्याम्बोभन्दा अघि पर्ने हिमाली क्षेत्रका होटल सञ्चालकहरू र देउरालीका स्थानीयहरू हामीलाई देखेर छक्क परे।

केही दिनअघि मात्रै भेटेका हामी ‘हरायौँ’ भन्ने सुनेर उनीहरूलाई साँच्चै चिन्ता लागेको रहेछ। हामी सुरक्षित फर्किएको देख्दा उनीहरू दंग परे।

अहिले सम्झँदा यस्तो लाग्छ—त्यो विकट ठाउँमा पनि मानिसहरू एक-अर्काको कति धेरै ख्याल गर्छन्!

केही घण्टाका यात्रुहरूको पनि उनीहरू यसरी हेरचाह गर्छन्, सम्मान गर्छन्। यो कुनै सानो कुरा होइन।

निष्कर्ष: “पिस अफ केक?”

हाम्रो यात्राको हिडाई कठिन थियो ।तर सकुसल सफलताको हिडाई थियो । फर्कदा हिउँ माथिको लामो ओरालो हिँड्दा घुँडामा निकै दबाब पर्‍यो, तर यात्रा सन्तोषजनक थियो,दुखेन।पोखरा पुगेपछि फेरि तातो पानी र भोजनले स्वागत गर्‍यो। अन्नपूर्णको त्यो अनुभव सपनाजस्तै लाग्दै थियो।

हाम्रो समूहले हिमपात, ब्लिजार्ड, हिमपहिरो क्षेत्र पार गर्दै लक्ष्यमा पुगेका थियौँ। शरीरले असह्य चिसो सह्यो, घुँडाले धेरै कष्ट भोग्यो। तर, जब सफलता मिल्छ, ती सबै कष्टहरू बिर्सदो रहेछ।

शायद, त्यसैले नै, श्रीमान्को लागि यो “पिस अफ केक” थियो!

तर, मेरो लागि?

यो यात्रा मात्र थिएन, यो आत्मअनुभूति थियो। आत्मबलको परीक्षा थियो। हिमाललाई नजिकबाट हेर्ने सपना पूरा भएको क्षण थियो।यात्रा कठिन थियो, तर अविस्मरणीय पनि। Himalayas ले फेरि बोलायो भने, शायद म नाइँ भन्न सक्दिन! यो यात्रा संघर्ष, प्रकृतिसँगको निकटता, र आत्मबलको परीक्षा थियो। म यसलाई “पिस अफ केक” भन्दा पनि, जीवनकै अविस्मरणीय अनुभव” भन्न चाहन्छु।

आजकल निदाउनुअघि आफैंलाई सोच्दै छु । यात्रा सस्तो हुँदैन, थकान बिनाको अनुभव मीठो हुँदैन, अनि संघर्षबिनाको सफलता त झन् सफलता नै होइन!

अन्नपूर्ण आधार शिविरको यात्राले मलाई एउटा कुरा सिकायो—शरीरभन्दा ठूलो मनको बल हो। एकपटक मनले चाह्यो भने, संसारको जुनसुकै उचाइ चढ्न सकिन्छ!

***

प्रतिक्रिया

सम्बन्धित खवर