
– हेमप्रभास
आऊ, हामी सँगै गाऔं
यो शताब्दीको अन्त्यका लागि
एक अँजुली गीत ।
गर्जनेहरू सबै वीर हुँदैनन्
घन बोक्नेहरू
घनजस्तै कठोर मनका हुँदैनन्
आगो ताप्नेजति सबै
आगो हुँदैनन्
बुद्धको तस्बिर अगाडि उभिँदैमा
बुद्ध हुने हो र ?
अन्तिम पलमा
कसैको शरीर मैलो हुने छैन
आफ्नै आँखाबाट बगेको नदीमा
नुहाउने छन् दुनियाले ।
मान्छेको रगत पोखिएर
सडकमा फुल्ने छ गुराँस
रुँदारुँदै एकछिन रुन बिर्सिएको
बेघर बालकजस्तो हुने छ बस्ती
धानका बालाहरू बजाउँदै
सुइँसुइँती बहेको हावाले
उडाइदिने छ युगको लाज
बादल ओढेर बाँच्ने छन् पर्वतहरू
कपासजस्तो देखिँदैमा
बादलको कपडा नहुने रहेछ
र, निर्वस्त्र हुने छन् पर्वतहरू ।
सबै सबै हराइसक्दा पनि
उस्तै रहने छ सृष्टिको संरचना
पग्लिरहने छ हिउँ
तर, होचिने छैनन् हिमालहरू
अलमलको तार जेलेर मस्तिष्कमा
पातला ध्वजापताकाले
सिँगारिएको परिवेशमा
सुस्तरी बज्ने छ
एक अँजुली गीत ।
दिनभरिको मेलो भ्याएर
साँझमा घर गएको खेतालो घामजस्तो
ऊ निदाउनै लाग्यो
निदाउन देऊ ।
प्रकृतिले बनाएको मान्छे पनि
प्रकृति जति सुन्दर नहुने रहेछ ।
***
प्रतिक्रिया
-
४